Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

यी हुन् इजरायलमा आक्रमण गर्ने हमास समूहका प्रमुख नेता

खबरडबली संवाददाता

काठमाडौं । हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरेलमा आक्रमण सुरु गरेदेखि "अपरेशन अल-अक्सा फ्लड" नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन्।

सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरेललाई आश्चर्यचकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन्। गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह हमासका धेरै उच्च श्रेणीका व्यक्तिहरू सञ्चारमाध्यममा मुखौटो लगाएर मात्रै देखिन्छन्।

यसका अरू नेताहरूले पनि आफ्नो जीवनको धेरै समय इजरेलको हत्या प्रयासबाट जोगिँदै कटाएका छन्। यहाँ हामी अहिलेका सबैभन्दा प्रख्यात हमासका राजनीतिक नेताहरू र उसको इज्ज अल-दिन अल-कसम ब्रिगेडका सैन्य कमान्डरहरूबारे चर्चा गर्दैछौँ।

मोहम्मद डेफ

मोहम्मद डेफउनको पूरा नाम मोहम्मद दैयब एल-मसरी हो। उनले आफ्नो नाम अबु खालिद पनि राखेका छन् जसको बोलाउने नाम अल डेफ हो। सन् १९६५ मा गाजामा जन्मिएका उनले हमासको सैन्य सङ्गठन इज्ज अल-दिन अल-कसम ब्रिगेडको नेतृत्व गरिरहेका छन्।

प्यालेस्टिनीहरूमाझ उनी योजनाकारका रूपमा र इजरेलीहरूमाझ 'मृत्युका मान्छे' भनेर चिनिन्छन्। उनले गाजाको स्लामिक विश्वविद्यालयबाट जीवविज्ञानमा स्नातक गरेका छन्। नाटक घरमा अभिनयमा रुचि भएका उनले सुरुमा कलाकारहरूको एउटा समूह गठन गरेका थिए।

त्यहीबाट हमासको स्थापना घोषणा भयो। उनले कुनै आनाकानी बिना यो समूहमा सहभागी हुने निर्णय लिए। उनलाई सन् १९८९ मा इजरेली प्रशासनले पक्राउ गरेको थियो। हमासको सेनाका लागि काम गरेको आरोपमा १६ महिना जेलमा बिताएका उनी पछि रिहा भए।

उनी जेलमा रहेका समयमा इजरेली सैनिकहरूलाई समाउने हमास भन्दा भिन्न अभियान सुरू गर्ने प्रतिबद्धता जनाएका थिए। जसअनुसार उनले अल-कसम ब्रिगेड गठन गरे। उनी थुनामुक्त भएपछि इज्ज अल-दिन अल-कसम ब्रिगेड देखा पर्‍यो र संस्थापकका रूपमा अरू नेताहरूसँगै डेफ देखिए।

डेफले हमास विद्रोहीहरूका लागि सुरुङहरू बनाउने कामको परिकल्पना गरे जसले उनीहरूलाई गाजाबाट इजरेलमा प्रवेश गर्ने बाटो बनाइदियो। इजरेलमा एक साथ ठूलो सङ्ख्यामा रकेट प्रहार गर्ने रणनीतिका पनि उनी पैरवीकर्ता हुन्।

उनी माथिका सबैभन्दा गम्भीर आरोपहरूमा हमासका एक जना बम निर्माता मारिएपछि चलाइएको बदलाको अभियानमा ५० जना इजरेलीहरू मारिने गरी बम आक्रमण गरेको र तीन जना इजरेली सैनिकलाई नियन्त्रणमा लिएको जस्ता छन्।

इजरेलले सन् २००० मा उनलाई पक्राउ गरेको थियो। तर उनी एउटा विद्रोहको मौकामा इजरेलको पञ्जाबाट उम्कन सफल भएपछि उनी कहाँ छन् भन्ने प्रमाण विरलै छोड्ने गरेका छन्। उनका जम्मा तीन वटा तस्बिर छन्।

एउटामा उनी धेरै बुढो देखिन्छन्। अर्कोमा उनले मुखौटो लगाएका छन् भने तेस्रोमा उनको छायाँतस्बिर मात्रै छ। उनी सन् २००२ मा एउटा गम्भीर हत्या प्रयासबाट अचम्मगरी उम्कन सफल भए। त्यसमा उनले एउटा आँखा गुमाए। इजरेलले उनले एउटा हात र खुट्टा पनि गुमाएको बताउँदै आएको छ।

सन् २०१४ मा इजलेलले गाजा माथि गरेको ५० दिन लामो आक्रमणमा पनि इजरेली सेनाले उनको असफल हत्या प्रयास गर्‍यो। उनी उम्किए पनि उनकी श्रीमती र दुई जना बच्चाहरू मारिए। 

उनको नामसँग जोडिएको डेफको अर्थ आफैँमा पाहुना हो। जसको अर्थ पाहुना एक ठाउँमा लामो समयसम्म बसिरहँदैन। उनी इजरेलबाट हुनसक्ने आफ्नो हत्याबाट जोगिन हरेक रात नयाँ नयाँ ठाउँमा सुत्ने गरेका छन्।

मारवान इसा

मारवान इसामारवान इसालाई मोहम्मद डेफको दाहिने हात मानिन्छ। उनी इज्ज अल-दिन अल-कसम ब्रिगेडका उप-कमाण्डर-इन-चीफ हुन् र हमास आन्दोलनको राजनीतिक र सैन्य इकाइका सदस्य हुन्।

इजरेली सुरक्षा बलले उनलाई प्यालेस्टाइनको पहिलो विद्रोहको समयमा पक्राउ गरेको थियो। हमासका गतिविधिमा सक्रिय भएको आरोपमा इजरेलले उनलाई पाँच वर्षसम्म हिरासतमा राखेको थियो। उनी युवावस्थामै हमासमा सामेल भएका हुन्। इजरेलले उनी बाँचुन्जेल हमाससँगको ‘मस्तिष्क युद्ध’ जारी रहने बताएको छ।

इसा एक प्रतिष्ठित बास्केटबल खेलाडीको रूपमा चर्चा कमाएका व्यक्ति हुन्। तर खेलकुद उनको पेसा बन्न सकेन किनभने इजरेलले उनलाई हमासमा सामेल भएको आरोपमा १९८७ मा गिरफ्तार गर्‍यो।

प्यालेस्टिनी प्रशासनले पनि उनलाई सन् १९९७ मा पक्राउ गरेको थियो। सन् २००० ‘अल-अक्सा इन्तिफादा’ नामले चिनिने विद्रोह सुरु नभएसम्म उनी रिहा भएनन्। जेलबाट रिहा भएपछि इसाले इज्ज अल-दिन अल-कसम ब्रिगेडहरूमा सैन्य प्रणालीहरू विकास गर्न महत्त्वपूर्ण भूमिका खेले।

हमासमा उनको महत्त्वपूर्ण भूमिकाका कारण इसाको नाम इजरेलले ‘मोस्ट वान्टेड’ भनिने खोजी गरिएका व्यक्तिको सूचीमा राखेको छ। सन् २००६ मा इजरेलले इज्ज अल-दिन अल-कसम ब्रिगेडका प्रमुख नेताहरूको बैठक चलिरहेका समयमा डेफसँगै उनको पनि हत्या गर्ने प्रयास गर्‍यो।

उक्त आक्रमणमा उनी घाइते भएका थिए। तर उनीहरूलाई हत्या गर्ने इजरेली प्रयास सफल भएन। इजरेली लडाकु विमानहरूले गाजामा सन् २०१४ मा आक्रमण गर्दा उनको घर ध्वस्त भएको थियो। यसबेला उनका एक जना भाइको मृत्यु भएको थियो।

सन् २०११ सम्म उनको अनुहार कसैले देखेका थिएनन्। त्यो वर्ष खिचिएको एउटा सामूहिक तस्बिरमा उनी देखिएका छन्। यो तस्बिर इजरेली सिपाही ग्लाड शालितको रिहाइको बदलामा रिहा भएका प्यालेस्टिनी बन्दीहरूको स्वागत गर्ने क्रममा लिइएको थियो।

उनलाई अबु अल-बारा भनेर पनि चिनिन्छ। घुसपैठको योजनाकारका रूपमा उनलाई इजरेलले खोजिरहेको छ। 
सन् २०१२ को 'शेल स्टोन्स' देखि २०२३ को 'अल-अक्सा फ्लड' जस्ता हमासका गतिविधिमा उनी संलग्न भएको इजरेली आरोप छ।

याह्‍या सिनवार

याह्वा सिनवार

सिनवार हमासका नेता हुन्। उनी गाजा क्षेत्रमा हमासको राजनीतिक इकाई प्रमुख हुन्। सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा 'मजद'का संस्थापक समेत हुन्।

माजदले गाजामा आन्तरिक सुरक्षा हेर्छ। यसमा सन्दिग्ध इजरेली एजेन्टहरूको अनुसन्धान गर्ने जस्ता कार्यहरू समावेश छन्। उनी आफैँ पनि इजरेली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि नजर राख्छन्।

सिनवार तीन पटक पक्राउ परेका छन्। सन् १९८२ मा इजरेली सुरक्षा बलले उनलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यति बेला उनलाई चार महिना जेलमा राखिएको थियो।

सिनवार सन् १९८८ मा तेस्रो पटक पक्राउ परेका थिए। यसपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। उनी जेलमै रहेका समयमा हमासको क्षेप्यास्त्रले इजरेली सैनिक ग्लाड शालितको ट्याङ्क ध्वस्त पार्‍यो र ती सैनिकलाई हमासले बन्धक बनायो।

सन् २०११ मा इजरेलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फताहका कैदीहरूलाई रिहा गरेको थियो। जसमा याह्या सिनवार पनि परेका थिए। इजरेली कैदबाट मुक्त भएपछि सिनवार हमासमा आफ्नो पुरानो स्थानमा फर्किए। सन् २०१७ मा सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक इकाई प्रमुख चुनिए।

अब्दुल्लाह बरगुटी

अब्दुल्लाह बरगुटीबरगुटीको जन्म सन् १९७२ मा कुवेतमा भएको थियो। दोस्रो खाडी युद्धपछि सन् १९९० मा उनी जोर्डनमा बस्न गएका थिए। उनले दक्षिण कोरियाली विश्वविद्यालयमा तीन वर्षसम्म इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन नसक्दासम्म जोर्डनको नागरिकता लिएका थिए।

त्यहीँबाट उनले विस्फोटक पदार्थ बनाउन सिके। प्यालेस्टाइनमा प्रवेश गर्ने अनुमति पाएकाले उनले आफ्नो पढाइ पूरा गर्न सकेनन्।
उनको वरपरका मानिसहरू मध्ये कसैलाई पनि उनको विस्फोटक बनाउने क्षमताको बारेमा थाहा थिएन।

एक दिन उनले आफ्नो भाइ बिलाल अल बरगुटीलाई पश्चिम तटीय दुर्गम क्षेत्रमा लिएर गए। त्यहाँ उनले आफ्नो सीप देखाए। बिलालले आफ्नो सेनापतिलाई आफूले देखेको कुरा बताए। अब्दुल्लाह बरगुटीलाई त्यसपछि इज्ज अल-दिन अल-कसाम ब्रिगेडमा सामेल हुन आमन्त्रित गरियो।

अब्दुल्लाह बरगुटीले आफ्नो सहरको गोदाममा सैन्य उत्पादनका लागि विशेष कारखाना स्थापना गरेका थिए। बरगुटीलाई सन् २००३ मा इजरेली सुरक्षा बलले संयोगवश पक्राउ गरेको थियो। उनलाई तीन महिनासम्म सोधपुछ गरिएको थियो।

दर्जनौँ इजरेलीको मृत्युको लागि बरगुटीलाई जिम्मेवार मानिन्छ। उनीमाथि दोस्रो पटक मुद्दा चल्दा मृतकका आफन्त पनि सुनुवाइमा उपस्थित थिए। उनलाई इजरेलको इतिहासमा सबैभन्दा लामो सजाय सुनाइएको थियो। उनलाई ६७ वर्ष आजीवन कारावास र ५,२०० वर्षको जेल सजाय सुनाइएको थियो।

उनलाई केही समय एकान्त कारागारमा राखिएको थियो। त्यसको विरोधमा उनले अनशन सुरु गरे। यसपछि उनको एकान्त कारावासको अन्त्य भयो।  

बरगुटीलाई ‘छाया राजकुमार’ पनि भनिन्छ। जेलभित्र लेखिएको सोही नामको किताबबाट उनलाई ‘प्रिन्स अफ द स्याडो’ उपनाम दिइएको हो। यस पुस्तकमा उनले आफ्नो जीवन र अन्य कैदीहरूसँग मिलेर चलाएका अभियान बारेमा वर्णन छ।

इस्माइल हानिया

इस्माइल हानियाउनको अर्को नाम अबु अल-अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो। उनी सन् २००६ देखि प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा काम गर्दै आएका छन्।

सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो। यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको ‘नो-म्यान्स ल्यान्ड’को रूपमा रहेको मार्ज अल-जुहुरमा निर्वासनमा पठाइयो।

आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किए। सन् १९९७मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो।

हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो। तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए।

इज्ज अल-दिन अल-कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए। त्यसक्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए।

हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे। उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताए।

त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपिल पनि गरिसकेका छन्। सन् २०१७ मा हमासको राजनीतिक इकाई प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो।

खालिद मशाल

Khaled Meshaalमशालको पूरा नाम 'अबु अल-वालिद' हो र उनको जन्म सन् १९५६ मा वेस्ट ब्याङ्कको सिलवाड गाउँमा भएको थियो। उनले प्राथमिक शिक्षा त्यहीँ प्राप्त गरे। पछि उनको परिवार कुवेत गयो र त्यहाँ उनले माध्यमिकसम्मको शिक्षा पूरा गरे।

मशाल सन् १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक इकाईको अध्यक्ष पनि थिए। सन् २००४ मा शेख अहमद यासिनको मृत्यु पछि मशाललाई यसको नेता नियुक्त गरिएको थियो।

इजरेलको गुप्तचर सेवा मोसादले सन् १९९७ मा उनलाई निशाना बनाएको थियो। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा उनको हत्या गर्ने प्रयास गरिएको थियो। नेतान्याहुले मोसादका प्रमुखलाई मशालको हत्याको योजना बनाउन निर्देशन दिएका थिए।

मोसादका १० जना एजेन्ट नक्कली क्यानेडेली राहदानीमा जोर्डन प्रवेश गरेका थिए। खालेद मशालसँग त्यति बेला जोर्डनको नागरिकता थियो। राजधानी अम्मानको सडकमा हिँड्दै गर्दा उनलाई विषाक्त पदार्थको सुई लगाइएको थियो।

जोर्डनका अधिकारीहरूले यो हत्या प्रयास पत्ता लगाए। उनीहरूले यसमा संलग्न दुई मोसाद एजेन्टलाई पक्राउ गरेका थिए। त्यस बेला जोर्डनका राजा हुसेनले इजरेली प्रधानमन्त्रीसँग मशाललाई दिइएको विषाक्त पदार्थको औषधि मागेका थिए। तर नेतान्याहुले सुरुमा यो अनुरोध अस्वीकार गरे।

उनको हत्याको प्रयासले राजनीतिक विवादको रूप लियो। यसमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले हस्तक्षेप गरेका थिए। उनले नेतान्याहुलाई औषधी दिन बाध्य पारे। मशालले डिसेम्बर सन् २०१२ मा पहिलो पटक गाजा क्षेत्रको भ्रमण गरेका थिए। उनी ११ वर्षको हुँदा प्यालेस्टाइन छोडेका थिए। त्यसपछि प्यालेस्टिनी क्षेत्रमा उनको यो पहिलो भ्रमण थियो।

राफा क्रसिङमा प्यालेस्टिनी नेताहरूले उनलाई स्वागत गरेका थिए। गाजा सहरमा पुगेपछि उनलाई स्वागत गर्न प्यालेस्टिनीहरुको भीड सडकमा जम्मा भएको थियो।

महमूद जहर

महमूद जहरजहरको जन्म गाजामा सन् १९४५ मा भएको थियो। उनका बुबा प्यालेस्टिनी र आमा इजिप्सियन थिए। उनको बाल्यकाल इजिप्टको इस्माइलिया सहरमा बित्यो। उनले गाजामा माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका थिए।

उनले सन् १९७१ मा कायरोको ऐन शम्स विश्वविद्यालयबाट जनरल मेडिसिनमा स्नातक गरे।

त्यसपछि १९७६ मा जनरल सर्जरीमा स्नातकोत्तर गरे। पढाइ सकेपछि उनले गाजा र खान योनिसको अस्पतालमा डाक्टरको रूपमा काम गरे। उनको राजनीतिक गतिविधिको कारण पछि उनी त्यहाँबाट बर्खास्त भएका थिए।

जाहर हमासका प्रमुख नेता मानिन्छन्। उनलाई हमास आन्दोलनको राजनीतिक नेतृत्वको सदस्य मानिन्छ। सन् १९८८ मा हमासको स्थापना भएको छ महिनापछि महमूद जहरलाई छ महिनासम्म इजरेली जेलमा राखिएको थियो। इजरेलले उनलाई सन् १९९२ मा अन्य नेताहरूसँगै उनलाई मार्ज अल-जुहुरमा निर्वासन पठाएको थियो। उनी एक वर्ष त्यहाँ बसे।

सन् २००५ मा भएको निर्वाचनमा हमासले बहुमत प्राप्त गरेपछि जहरले प्रधानमन्त्री इस्माइल हनियाको सरकारमा विदेश मन्त्रीको रूपमा काम गरे। त्यसपछि राष्ट्रपति महमूद अब्बासले सरकार बर्खास्त गरेपछि प्यालेस्टिनीहरूबीच विभाजन निम्तियो।

इजरेलले सन २००४ मा जहरको हत्या गर्ने प्रयास गरेको थियो। गाजा सहर नजिकैको रिमालमा रहेको जाहरको घरमा एफ–१६ लडाकू विमानले बम खसालेको थियो। यो बम पाँच क्विन्टलको रहेको बताइएको छ। यस आक्रमणमा उनी सामान्य घाइते भए। तर उनका जेठा छोरा खालिदको मृत्यु भयो।

उनका अर्का छोरा होसाम पनि २००८ मा गाजाको पूर्वी क्षेत्रमा इजरेली सेनाको कारबाहीमा मारिएका थिए। यस हमलामा होसाम सहित १८ जनाको मृत्यु भएको थियो। होसाम कसम ब्रिगेडका सदस्य पनि थिए।

जहरले बौद्धिक, राजनीतिक र साहित्यिक कार्यहरू लेखेका छन्। यसमा 'द प्रब्लम अफ आवर कन्टेम्परेरी सोसाइटी... अ कुरानिक स्टडी', 'नो प्लेस अन्डर द सन' समावेश छन्। यी बेन्जामिन नेतान्याहुको पुस्तकको जवाफमा लेखिएका हुन्। उनले ‘अन द पेभमेन्ट’ नामक उपन्यास पनि लेखेका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE