काठमाडौँ । पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ । एक दशक अघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैँ अगावै देखिने लिङ्गे, पिर्कै, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन् ।
यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिँदै खेल्ने युवायुवती समेत देखिन मुस्किल भएको छ । पिङ दसैँ तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ । पिङले दसैँ तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उँचो बनाउँछ । तर, पछिल्लो दशकमा नत सहरमा नत गाउँघरमा नै पिङ देखिन्छ । बुढापाकाले दसैँको दिन त एक पटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाको भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँ गाउँमा पिङ हाल्ने प्रचलन थियो । तर, एक दशकयता दसैँ तिहारमा पिङ हाल्ने प्रचलन निरन्तर घटिरहेको छ । युवापुस्ता बैदेशिक राेजगार र अध्ययनका लागि भन्दै शहर र विदेश पलायन भए सँगै अहिले गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिँदै खेल्ने पिङ नै छ ।
बर्सेनि पिर्कै (रोटे) पिङ मच्चिने ठाउँहरुमा यसपालीमात्र हैन धेरै वर्ष देखी सुनसान भएको छ । केही वर्षदेखि ती स्थानहरूमा पिङ हाल्न छाडिएको छ । गाउँ रित्तिँदो छ, बुढापाका मात्रै गाउँमा भएका कारण पनि गाउँमा पिङको रौनक नभएको बुढापाकाले बताउँछन् । युवा सबै सहर बजार र विदेशमा भएका कारण पनि पिङ हाल्न सम्भव नभएको उनीहरूको भनाइ छ । गाउँमा पिङ नहुँदा दसैँ खल्लो भएको जस्तो र पिङ नभएपछि त दसैँ दसैँ जस्तो नै नभएको पाका मान्छेहरुको भनाइ छ । पिङ हुँदा रमाइलो हुने गरेको भए पनि अहिले खल्लो भइरहेको र पिङ नहुँदा दसैँको महत्व कम भएको छ ।
हरेक गाउँहरूका टोल–टोलमा पिर्कै (रोटे) पिङ हालिने भए पनि अहिले यो कतै देखिन छाडेको छ । पिर्कै (रोटे) पिङ नहालेको गाउँमा लिङ्गे र जाते पिङ अनिवार्य हुन्थे तर, अहिले त्यो पनि पाइन्न ।हरेक जसो घरको आँगनमा बाबियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दसैँदेखि तिहारसम्म खेलिरहन्थे । त्यो दृश्य अहिले एकादेशको कथा जस्तै बनेको छ । अहिले गाउँमा युवा नहुँदा पिङ हाल्न कठिन भएको बुढापाकाहरूको भनाई छ ।
गाउँमा युवाहरू नभएपछि पछिल्लो समय पिङ हाल्ने संस्कृति हराउँदै गइरहेको छ । जङ्गलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिने हुँदा पनि पिर्कै (रोटे) पिङ गाउँघरमा देखिन छाडेको हो । बसाइसराइ, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको गाउँमा दसैँ तिहारमा केही चहलपहल देखिए पनि गाउँमा पिङ भने देखिन छाडेका छन् ।
बडो कष्टपूर्ण तरिकाले गाउँका केही स्थानमा यसपालिको दसैँमा संस्कृति जोगाउनकै निम्ति पिर्कै (रोटे) पिङ हालिने गरिएको छ । एकाध स्थानमा लिङ्गे पिङ ठडिएको देखिन्छ । जाते पिङ भने लोप भइसकेको छ । संस्कृति जोगाउनैका निम्ति हालिएका पिङ खेल्नेको सङ्ख्या पनि कम भएको छ । गाउँघरमा कहीँ कतै हालिएका पिङ पनि कोही खेल्न आउनेको प्रतीक्षामा रहेका हुन्छन् । गाउँमा पिङ हाले पनि पहिला जस्तो पिङ खेल्नेहरू नआएको र संस्कृति जोगाउनलाई कहिँकतै पिङ हालिएको गाउँमा रहेका पाका मान्छेहरू बताउँछन् । छिटपुट मात्र पिङ खेल्न आउने भए पनि पहिलाको जस्तो माहौल देखिँदैन ।
पहिला पहिला एक गाउँबाट अर्को गाउँमा पिङ खेल्न जाने आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको भए पनि गाउँ गाउँबाट पिङ खेल्न आउने जानेको भिड पनि हुन छाडेको छ । मेला महोत्सवका पिङले पनि दशेैं तिहारमा गाउँमा पिङमा आकर्षण कम गराई दिएको छ । यति बेला हरेक गाउँघरमा पुग्दा आधुनिकतामा रमाउँदा युवापुस्ताले मौलिक संस्कृतिलाई बिर्सेको बुढापाकाहरू बताउँछन् । पछिल्लो समय त पिङ हाल्ने र खेल्ने संस्कृति मात्रै होइन समग्र दसैँको मौलिकता र रौनकता समेत गुम्दै गएको छ ।
प्रतिकृया लेख्नुहोस्: