Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

सन्तोष गौतम/रासस

म्याग्दी। प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।     

संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ मिटरको उचाइमा रहेको छ भने १०औँ अग्लो हिमाल अन्नपूर्णको उचाइ आठ हजार ९१ मिटर छ । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले पहिलोपटक सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रचेका थिए । अरु थुप्रै मनमोहक हिमालको जिल्ला पनि हो म्याग्दी । यहाँ नीलगिरि, चुरेन, गुर्जा, मानापाथीलगायत हिमाल छन् ।     

साहसिक मुटु भएकाहरू हिमाल चढ्छन् । पदयात्राका लागि पनि यहाँ राम्रा पदमार्ग छन् । धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ निस्कने धौलागिरि चक्रिय, धौलागिरि आइसफल र सेञ्चुरी पदमार्ग । धेरैजसो पर्वतारोही र पदयात्री नाउरा, बगर, दोभान, इटाली आधार शिविर हुँदै मुस्ताङको मार्फा निस्कन सकिने चक्रीय धौलागिरि पदमार्गमा हिँड्छन् ।   

अन्नपूर्णका प्रथम आरोही सम्मानमा मौरिस हर्जोग पदमार्ग सञ्चालनमा ल्याइएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँदेखि अन्नपूर्ण प्रथमको आधार शिविर जोडिन्छ यो पदमार्ग । नारच्याङ हुँदै एकै दिनमा आधारशिविर पुग्न सकिन्छ । यो पदमार्ग रमणीय, मनमोहक र प्राकृतिक सौन्दर्ययुक्त छ । नारच्याङदेखि हुमखोलासम्म गाडी र हुमखोलादेखि फुतफुते, भुसकेत हुँदै आधारशिविर पुग्न सकिन्छ ।     

अन्नपूर्ण आधारशिविर फराकिलो र समथर भूगोलमा छ । आधारशिविर नजिकैको नारच्याङ पञ्चकुण्ड ताल यहाँको अर्को विशेषता हो । पदयात्रामा फुतफुतेलगायतका झरनाका साथै विभिन्न जातका गुराँस, वन्यजन्तु, पक्षी तथा वनस्पति अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा होटल तथा लज सुविधा छैन । त्यसैले पर्वतारोही तथा पदयात्रीले क्याम्पिङ गर्नुपर्छ ।     

अक्करे पहाड, जङ्गल, ग्रामीण जीवनशैली, स्थानीय कला संस्कृति, प्राकृतिक तातोपानी कुण्ड, वनजङ्गल अवलोकन गर्न पाउनु धौलागिरि पदमार्गका आकर्षण हुन् । भोङभोङे, मिस्तुङ कुना, लामो छहरा, कुलिवाङ, तातोपानी र झुम्टोगोठ छहराको रमणीय दृष्यावलोकन गर्न पनि पाइन्छ । पदमार्गको इटालियन क्याम्पदेखि माथि होटल तथा लज सुविधा नभएकाले पदयात्रा गर्दा क्याम्पिङ गर्नु पर्ने बाध्यता छ ।     

धवलागिरि गाउँपालिकाको ताकम, बेनी नगरपालिकाको ज्यामरुककोट, बेनीबजारको बेनी कोत, रघुगङ्गा गाउँपालिकाको भगवती कोत म्याग्दीका ऐतिहासिक कोतघर हुन् । चौबिसे राज्यका पालाका हातहतियार र सामग्री राखिएका कोतघरमा दसैंको समयमा विशेष पुजाआजा हुने गर्छ । पहाडी भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने उच्च स्थानमा रहेका कोतघरका हतियार इतिहासका साक्षी हुन् ।     

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर पश्चिमको पशुपतिनाथका रुपमा परिचित छ । सत्ययुगमा सतीदेवीको गला पतन भएकाले गलेश्वर नाम रहेको किम्बदन्ती छ । यहाँ शिवालय, राधाकृष्ण मन्दिर, कहिल्यै नसुक्ने जलबराह कुण्ड पनि छन् । पौलस्त्य ऋषिका नाति लंकाका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य–पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) छ ।     

बेनी नगरपालिकाको गाजनेमा रहेको नेपालमै फरक स्वरूपको पाँच सय वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्ति छन । ऋषिमुनि र माताहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको बेनी नगरपालिकाको स्वर्गाश्रममा आन्तरिक र बाह्य पर्यटक जाने गर्छन् । जनैपूर्णिमा पर्वका अवसरमा विशेष पूजाआजा हुने रघुगङ्गा गाउँपालिकाको रिखार पनि म्याग्दीको प्रसिद्ध धार्मिकस्थल हो ।     

तीन हजार ४०० मिटर उचाइमा अवस्थित म्याग्दीको धार्मिकस्थल मालिका धुरी प्राकृतिक रुपमा सुन्दर र रमणीय छ । मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मालिकामा चण्डी, ज्येष्ठ र कात्तिक पूर्णिमामा विशेष पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्छ । बिम, बिमवाङ, दुखु, हिदी, टोड्के र ठाडाखानीको बाटो भएर पुगिने मालिकाबाट २० भन्दा बढी हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । बिम हँुदै मालिका धुरीमा जाने बाटोमा पर्ने बराह ताल र प्रभुचेला आश्रम पनि यस क्षेत्रका आकर्षण हुन् ।     

धवलागिरि गाउँपालिका–१ मा अवस्थित गुर्जा गाउँलाई ‘लुकेको वस्ती’, ‘दुरवस्ती’, ‘एकल वस्ती’ तथा जीवित मानव सङ्ग्रहालय पनि भन्ने गरिन्छ । गुचुमुच्च बस्ती । परम्परागत ढुङ्गा र माटोबाट बनेका परम्परागत घरहरू । छन्त्याल जातिको जीवनशैली, सभ्यता र संस्कृति बुझ्ने आँखीझ्याल हो गुर्जा । चुरेन, पुथा र गुर्जा हिमालको जरामा बसेको बस्तीले पर्यटकलाई लोभ्याउँछ ।     

जडीबुटीको भण्डार पनि हो गुर्जा गाउँ । यहाँ यार्सागुम्बा, जटामसी, निरमसी, सतुवा, कुट्कीलगायत धेरै थरिका बहुमुल्य जडीबुटी पाइन्छ । त्यसैले त गुर्जालाई ‘हर्बल हव’ उपमा समेत दिइन्छ । मुना–लुलाङ हुदै एक दिन पुरै हिँडेर गुर्जा गाउँमा पुगिन्छ । पर्यटकका लागि गाउँमा होमस्टे सुविधा छ । त्यहाँदेखि गुर्जा हिमालको आधारशिविर पुग्न चार घण्टा, चुरेन पुग्न २ दिन र पुथाको आधारशिविर पुग्न २ दिन ४ घण्टा लाग्छ ।     

गुर्जा माथि बस्ती नभएकाले क्याम्पिङ गर्नुपर्ने हुन्छ । हिमाल आरोहणका अतिरिक्त वन्यजन्तु, पंक्षि, झरना, ग्रामीण बस्ती, जीवनशैली, वनस्पति र जडीवुटीको अवलोकन गर्न पाउनु धौलागिरि, गुर्जा, चुरेन र पुथा हिमालको आधारशिविरको आकर्षण हो । गुर्जा हुँदै डोल्पा जोड्ने पश्चिम धौलागिरि र ढोरपाटन शिकार आरक्ष जोड्ने पदमार्ग पहिचान भएको छ । बसन्त ऋतुमा गरिने महसिकार गुर्जाको थप आकर्षण हो ।     

म्याग्दीको घोडेपानी, पुनहिल, मोहरेडाँडा र फूलबारी क्षेत्रमा लालीगुराँसको घना जङ्गल छ । नेपालमा पाइने ३२ मध्ये ८ प्रजातिका गुराँस यहाँ पाइन्छन् । गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमाल र सूर्योदयका दृश्यमा रम्न पाउँदा बेग्लै आनन्दको अनुभूति हुन्छ । म्याग्दीको पोखरेबगरदेखि गाडी र कास्कीको नयाँपुल, घान्द्रुक भएर पुगिने घोडेपानीमा आमा समूहले संग्रहालय पनि सञ्चालन गरेका छन् । पर्यटकका लागि घोडेपानीमा सुविधायुक्त होटल छन् । 

घोडेपानीबाट करिब एक घण्टा उकालो चढेपछि पुनहिल (तीन हजार २१० मिटर) पुगिन्छ । पुनहिलबाट हिमालको लामो लर्कन देखिन्छ । त्यसैगरी पुनहिलबाट करिब चार घण्टा हिँडेपछि पुगिने अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत तीन हजार ३०० मिटर उचाइको मोहरेडाँडाबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल देखिन्छन् ।

घोडेपानीका साथै नागी, हम्पाल, लेसपार, राम्चे हँुदै पुगिने मोहरेडाँडामा सामुदायिक लज सञ्चालन गरिएको छ । प्यारीभारानी ताल, फुलबारी, कालीसार, करवाकेली थान र संग्रहालय, आलडाँडा, करबाकेली पदमार्ग, टिकोट घोडेपानी–पुनहिल आसपासका सहायक गन्तब्य हुन् । तीन हजार ६६० मिटर उचाईको सुन्दर हिलस्टेशन खोपाराबाट हिमालको लामो लर्कन, सूर्योदय र सूर्यास्तको मिठास देखिन्छ ।

हिमचुली, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, बराह शिखर, निलगिरि साउथ, टुकुटे पिक, मानापाथी हिमाल र धौलागिरि हिमशृङखला देखिने खोपारामा भेडाबाख्रा र चौरी गाईको गोठ थप आकर्षण हुन् । खोपाराबाट एक दिन र एक बिहान हिँडेपछि पुगिने चार हजार ६३० मिटर उचाईमा, बराह शिखर हिमालको फेदीमा रहेको खयर भारानी प्रख्यात शक्तिपिठ हुन् ।   

मनोकामना पूरा हुने विश्वासका हरेक बर्ष जनै पूर्णिमाका दिन यहाँ मेला लाग्छ । पाउद्वार गाउँदेखि खोपारा हुँदै खयरतालसम्म व्यवस्थित पदमार्ग छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट एकै दिनमा पुग्न सकिने खोपारामा पाउद्धार पर्यटन सहकारी संस्थाले सामुदायिक होटल सञ्चालन गरेको छ । बयली र ढाडँखर्क खोपाराका सहायक गन्तब्य हुन् । 

बेनी–जोमसोम सडकमै पर्ने महभिर र दानाको रुप्से झरना म्याग्दी हुँदै मुस्ताङ जाने आउनेका लागि रमाउने थलो हुन् । धवलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने, शालिग्राम पाइने विश्वको एकमात्र, कालीगण्डकी नदीले निर्माण गरेको विश्वकै गहिरो अन्धगल्छी रुप्से झरनाको नजिकै छ । बेनी–जोमसोम सडकअन्तर्गत नागढुङ्गादेखि पाँच मिनेट गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना पनि पर्यटकीय सम्भावना बोकेको प्राकृतिक स्थल हो । छङछङ सुसाउँदै झर्ने सुन्दर र आकर्षक देखिने झरनामा पर्ने इन्द्रेणीले मनै हराउँछ ।   

बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रुपमा परिचित छ । बिरे नुनको गन्धमा निस्कने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको भएको बिरामीहरू बताउँछन् । बेनी बजारदेखि आठ किलोमिटर टाढा रहेको सिंगा तातोपानी बजारमा पाहुनाका लागि आरामदायी होटल सुविधा छ ।     

अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएका दुईओटा पोखरी र धारामा स्नान गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि विश्रामस्थल बनेको भुरुङ्ग तातोपानीमा सुविधासम्पन्न होटल तथा लज छन् । अन्नपूर्णको पाउद्वार, रातोपानी, सेकार्कु, रघुगङ्गाको दर्मीजा, धवलागिरिको बगर र गुर्जाको तातोपानी कुण्ड पनि पर्यटकीय हिसाबले सम्भावनायुक्त छन् ।   

रघुगगा गाउँपालिकाको रुइसेमा भुमे मन्दिर, नौलि बराह, देउराली मन्दिरलगायतका धार्मिक स्थल छन् भने घनाजङ्गल र जडीबुटी पाइन्छ । रुइसेदेखि ४५ मिनेट उकालो पैदलयात्रापछि पुगिने करिब २६ सय मिटर उचाईमा अबस्थित भेडीओडारबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, निलगिरि, मनास्लु हिमाल, सूर्योदय, पहाडी भूगोल, गुरासे जङ्गलको अवलोकन गर्न सकिन्छ । धौलागिरि आइसफल पदमार्गको प्रवेशबिन्दुमा रहेको रुइसे गलेश्वरदेखि एक घण्टा गाडीको यात्रा गरेपछि पुगिन्छ । भगवती मैदानमा रहेको ऐतिहाँसिक कोत मन्दिरको धार्मिक महत्व छ ।     

दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन दुबै चङ्गा बनाउँछ । गुराँसे जङ्गलको टाकुरामा रहेको टोड्केबाट धौलागिरि, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेर लमजुङ हिमालको लामो लस्कर देखिन्छ । टोड्केमा स्वर्गद्वारी मन्दिर र सिद्धथान छन् । मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभूले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । झिँ, पूर्णगाउँ र बाखेतको बाटो भएर पुगिने धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशद्वार टोड्केमा रिसोर्र्ट तथा होमस्टे सञ्चालन भएको छ ।     

बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको घुस्तुङ र बार्से ब्लकसहित १५ प्रतिशत क्षेत्रफल म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्छ । वन्यजन्तुको सिकार, समथर भूगोल, चरन क्षेत्र, बुकी पाटन, पक्षी, वनस्पति, हिमशृङ्खलाको अवलोकनका लागि ढोरपाटन परिचित छ । म्याग्दीको धारापानी–ताकम–मुना–लमसुङ–मरेनी हुँदै एक दिन र लमसुङ–गुर्जा–गुर्जाघाट हुँदै दुई दिन पैदल हिँडेर ढोरपाटन पुगिने पदमार्गमा पर्ने नर्जा झरना थप आकर्षण हो । ढोरपाटन सिकार आरक्ष जाने र गुरिल्ला पदमार्गमा पर्ने ३४१० मिटर उचाइमा जलजलाबाट पहाडी भूगोल, सूर्योदय र प्राकृतिक सौन्दर्यको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।     

नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारदेखि धवलागिरि हिमालसम्मको दृश्य देखिने खबराको लभ्लीहिल (मायालु डाँडा) बेनी बजार नजिकैको नयाँ गन्तव्य हो । त्यसैगरी बेनी नगरपालिकाको भकिम्ली र काठेखोला गाउँपालिकाको सिमानामा रहेको बेलको जस्तो आकारको रुप भएको बेलढुङ्गा पहाडी भूगोल, सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि गन्तव्य बनेको छ । यिनै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको उपयोगमा नै म्याग्दीको समृद्धि जोडएको छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending