नवलपरासी । पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेका छन् । परम्परागत सिप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ । आयातित सामान प्रयोग गर्दा आत्मनिर्भरभन्दा परनिर्भर बन्नु परेको छ भने पुर्ख्यौली पेसा लोप हुन थालेका छन् ।
पूर्वी नवलपरासी कावासोती नगरपालिका–२ का ६५ वर्षीय तेजबहादुर विकले आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आउनुभएको छ । ४० वर्षदेखि परम्परागत आरन पेसा सञ्चालन गरेर आफ्नो सात जनाको परिवार पाल्दै आएका उनी परम्परागत पेसा सङ्कटमा पर्न लागेकोमा चिन्ता व्यक्त गर्छन् ।
आफूले १०र१२ वर्षको उमेरदेखि नै आरनमा काम गर्न सिकेको जनाउँदै अहिलेका कुनै पनि युवाले यस पेसाप्रति चासो नदिएको उनको भनाइ छ । अचेल बजारमा हँसिया, खुकुरीदेखि सबै प्रकारका फलामका औजार पाइने भएपछि गाउँमा आरन व्यवसाय बन्द गर्ने स्थितिमा पुगेको विकले बताए । उनले भने, “हिजोआज वनमा गोल (कोइला) पाउनै मुस्किल छ । गोल नभएपछि काम बन्द हुन्छ । काम नहुँदा आम्दानी हुँदैन ।” केही वर्षअघिसम्म परम्परागत आरन पेसाबाट राम्रो आन्दानी हुने र घरखर्च चलाउन सहज भए पनि अहिले घरखर्च चलाउनै धौ धौ परेको उनदे बताए ।
एकातर्फ गोल पाउन मुस्किल अर्कातर्फ टाढा टाढाबाट ग्राहक आउने गरे पनि अहिले सिजनमा एक दुई पटक मात्र आफ्नो आरनमा धार लगाउन आउने गरेको उनले बताए । वनबाट गोल पाउनै छाड्दा आफूहरूको पेसा नै सङ्कटमा पर्न थालेको उनको गुनासो छ । देवचुलीका आरन व्यवसायी शङ्कर विकले बाउबाजेले गरेको पेसालाई आफूले निरन्तरता दिए पनि कोइला अभाव हुँदा पुर्ख्यौली कामलाई निरन्तरता दिन कठिन भइरहेको बताए ।
गाउँघरमा समेत ग्यास प्रयोग बढ्दा धेरैले कोइला बनाउन छाडेको उहाँको भनाइ छ । उनले भने, “हामीहरूले हाम्रा बाउबाजेले गरेको काम सिकेर गर्दै आयौँ, हामीपछिका युवा पुराना पुस्ताको सिप सिक्न मान्दैनन् ।” सहज रूपमा सामग्री नपाइने र बनेका सामग्री बिक्री नहुने भएकाले वैकल्पिक पेसाको खोजीमा रहेको उनीहरूको भनाइ छ ।
परम्परागत आरन व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष गणेश विक सामुदायिक वनबाट सहज रूपमा गोल पाउनै नसकिने, पाए पनि महँगो पर्ने हुँदा आफूहरूको पेसा धान्नै गाह्रो भएको बताए । पछिल्लो समय फलामका औजार घर घर आउने भएकाले सुविधा भए पनि आफ्नो पेसा सङ्कटमा पर्न थालेको उनले बताए ।
जिल्लामा धेरै जसो दलित समुदायबाट र जिल्लाको पहाडी क्षेत्रमा मगर समुदायबाट समेत परम्परागत रूपमा आरन व्यवसाय सञ्चालन गर्ने व्यवसायी रहेको अध्यक्ष विकले बताए । पुर्ख्यौली पेसालाई जोगाउन चाहेर पनि समय परिवेशले जोगाउनै मुस्किल भएको सम्बन्धित समुदायको भनाइ छ । पुख्र्यौली पेसाले जीविकोपार्जन गर्न मुस्किल पर्ने हुँदा यो पेसा लोप हुने अवस्थामा पुगेको विकले बताए ।
प्रतिकृया लेख्नुहोस्: