काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारमा दीपक मनाङे पनि समावेश भए । उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले यो मन्त्रालयको जिम्मेवारी तेस्रो पटक सम्हालेका हुन् ।
गण्डकी प्रदेशमा पटकपटक मन्त्री भइरहने अनुहार हो मनाङे । २०७८ वैशाख १६ मा पहिलो पटक मन्त्री बनेका उनी त्यसयताका तीन वर्षमा ६ पटक मन्त्री भइसकेका छन् । उनले तीन पटक युवा तथा खेलकुद र तीन पटक भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्न पाएका छन् ।
गण्डकी प्रदेशमा पटकपटक हुने गरेको सत्ता परिवर्तनको लाभ मुख्यमन्त्री र मनाङेले नै बढी उठाउने गरेको घटनाक्रमले देखाउँछ । ६० सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ठूला दलबाट मुख्यमन्त्री बनेकाहरूलाई एकएक सिटको पनि आवश्यकता पर्ने गरेको छ । जसबाट मनाङेको लाभको ढोका खुल्ने गरेको हाे ।
गुरुङदेखि पाण्डेसम्म
उनी २०७४ सालको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका थिए । पछि एमाले प्रवेश गरे । बीचमा एमाले र माओवादी केन्द्रबीच एकता भयो, विभाजन पनि भयो । लगत्तै २०७८ वैशाखतिर एमालेभित्रको किचलो उत्कर्षमा पुगेको थियो । र तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भयो ।
गुरुङले प्रदेश सभामा बहुमत पुर्याउने आधार खोजिरहँदा गुरुङले वैशाख १३ मा एमाले छाडे । तर उनलाई आफ्नै पक्षमा राखिराख्ने गुरुङको रणनीति अनुसार वैशाख १६ मै युवा तथा खेलकुद मन्त्री बनाइदिए । मनाङेलाई मन्त्री बनाउनैका लागि उनले सामाजिक विकास मन्त्रालय विभाजन गरेका थिए ।
यद्यपि, अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा मतदान हुन पाएन । गुरुङले वैशाख २६ गते राजीनामा दिए । गुरुङ पनि पदमुक्त भए । तर त्यतिञ्जेल गैरराजनीतिक छविका सांसदको रुपमा चिनिएका र राजनीतिक सन्दर्भबाट खासै चर्चामा नआउने गुरुङले मन्त्री भएपछि थप चर्चा पाए । सत्ता अंकगणितप्रति चासो राख्नेहरूको ध्यानमा परे ।
त्यसपछि भने गुरुङ हरेक मुख्यमन्त्री/भावी मुख्यमन्त्रीका निम्ति रोजाइका सांसद बने । उनी पनि सहजै फरकफरक गठबन्धनसँग जोडिए । राजीनामा दिए पनि गुरुङ प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा पुनः मुख्यमन्त्री बने । गुरुङले सुरुमै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाए।
संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री गुरुङले भएकाले २०७८ जेठ २७ मा विश्वासको मत लिँदै थिए । तर प्रदेश सभाको त्यस दिनको बैठकमा मन्त्री मनाङे नै अनुपस्थित भइदिए । परिणामतः मनाङे र मुख्यमन्त्री गुरुङ दुवैले पद गुमाए ।
गुरुङपछि मुख्यमन्त्री बन्दै थिए कांग्रेसका कृष्णचन्द्र पोखरेल । उनले मुख्यमन्त्रीमा दाबी पेश गर्दा मनाङेले पनि समर्थन गरे । पोखरेलको सरकारमा उनी तत्काल बिना विभागीय र पछि युवा तथा खेलकुद मन्त्री भए ।
त्यो सरकार २०७९ को निर्वाचनसम्मै कायम रह्यो । निर्वाचनपछि एमालेका खगराज अधिकारी मुख्यमन्त्री भए । मनाङे पनि नेकपा एकीकृत समाजवादी प्रवेश गरे । तर अधिकारी सरकार केही महिनामै ढल्यो । त्यसपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बने ।
पाण्डेको मन्त्रिपरिषद्मा मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीले सुरुदेखि नै जोड गरेको थियो । तर उनले बेवास्ता गरिदिएका थिए । त्यतिबेला संघमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको गठबन्धन थियो ।
तर जब २०८० फागुनमा संघीय गठबन्धनमा परिवर्तन आयो, पाण्डेको पद धरापमा पर्यो । यता, २०७९ मंसिर २४ मा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले २०८० चैत ४ गते सो पार्टी त्यागे ।
अनि पाण्डेले भोलिपल्टै मनाङेलाई मन्त्री बनाए । यसअघि संघीय गठबन्धनमा रहेको दल एकीकृत समाजवादीले दबाब दिँदा पनि मनाङेलाई मन्त्री बनाउन अस्वीकार गरेका पाण्डेले जब आफ्नो पद धरापमा परेको बुझे, तब हतारहतार मनाङेलाई मन्त्री बनाए । मनाङे पनि कतिदिन मन्त्री भइन्छ भन्ने वास्ता नै नगरी शपथ लिन गए ।
तर विश्वासको मत नपाउने निश्चित भएका मुख्यमन्त्री पाण्डेले राजीनामा दिए । मनाङे पनि पदमुक्त भए ।
नयाँ सरकारका लागि आह्वान हुँदा एमालेका खगराज अधिकारीले मनाङेको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र मुख्यमन्त्रीमा नियुक्त पनि भए । यो सरकारमा मनाङे सुरुमै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री भए । यद्यपि, सरकार लामो समय भने टिकेन । २०८० चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारी सर्वोच्चको परमादेशबाट २०८१ जेठ १४ मा पदमुक्त भए । मनाङे पनि पदमुक्त भए ।
गत जेठ १६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पाण्डे दोस्रो पटक मुख्यमन्त्री भए । सुरुका दुई हप्ता त उनले आफ्नै पार्टीका दुई मन्त्रीको साथमा सरकार चलाएका थिए । तर जेठ २८ (सोमबार) विश्वासको मत लिँदा मनाङेको पनि साथ लिन सफल भए । त्यसको लाभ मुख्यमन्त्री पाण्डे र मनाङे दुवैलाई पुगेको छ । कारण, पाण्डेको पद जोगियो, मनाङेले मन्त्री पद पाएका छन् ।
६ पटक मन्त्री भइसकेका भए पनि एकपटक बाहेक मनाङेको पदावधि केही दिन वा हप्ताको रहने गरेको छ । उनी स्वयंले पनि मन्त्री बन्नुअघि सरकारको आयु कति होला भनेर ख्याल गर्ने गरेको देखिँदैन । कहिले उनी ‘यो दश दिन टिक्ने सरकार हो’ भन्दै मन्त्री बन्न जान्छन्, कहिले ‘रिस्क लिन सक्नुपर्छ’ भन्दै ।
गत चैत ५ मा पाण्डेकै मन्त्रिपरिषद्मा मन्त्रीको शपथ लिएपछि मनाङेले पत्रकारहरूसँग साह्रै गाह्रो हुँदाचाहिँ आफूले लड्ने बताएका थिए । अर्थात्, मुख्यमन्त्रीलाई एकदमै गाह्रो परेको बेलामा आफूले सघाउने हो भन्ने उनको धारणा थियो । जुन घटनाक्रमले पनि पुष्टि गर्छ ।
उनको भनाइ थियो, ‘म युथ पोलिटिक्सबाट आएको मान्छे हो । एकदम गाह्रो हुँदा म रिस्क लिन्छु । अरुले रिस्क लिन सक्दैनन् । रिस्क लिन पनि सक्नुपर्छ ।’
मनाङे कहिलेकहिले मन्त्री भए ?
२०७८ वैशाख १६- युवा तथा खेलकुद मन्त्री (मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ)
२०७८ जेठ ५ (सपथ जेठ ९)- युवा तथा खेलकुद (मुख्यमन्त्री- पृथ्वीसुब्बा गुरुङ)
२०७८ जेठ २९- बिना विभागीय / २०७८ असार २७- युवा तथा खेलकुद (मुख्यमन्त्री- कृष्णचन्द्र पोखरेल)
२०८० चैत ५- भौतिक पूर्वाधार विकास (मुख्यमन्त्री- सुरेन्द्रराज पाण्डे)
२०८१ वैशाख ८- भौतिक पूर्वाधार विकास तथा यातायात । (मुख्यमन्त्री- खगराज अधिकारी)
२०८१ जेठ २९- भौतिक पूर्वाधार तथा यातायात व्यवस्था (मुख्यमन्त्री- सुरेन्द्रराज पाण्डे)
प्रतिकृया लेख्नुहोस्: