Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

डुबानकाे त्रासमा तराई

खबरडबली संवाददाता

महाेत्तरी । देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै खोला र नदीहरूमा पानीको सतह बढ्न थालेपछि स्थानीयवासी त्रसित छन् । चुरे शृंखलाबाट निस्कने खोलाहरूमा बालुवा र गेग्य्रान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका बासिन्दा डुबान र कटानबाट हुन सक्ने सम्भावित क्षतिबाट त्रसित बनेका हुन् ।

‘ऊ हेर्नोस् न, खोलामा बालुवा थुप्रिएर पुल बराबरजस्तो भइसक्यो,’ पूर्व–पश्चिम राजमार्गको जिल्लामा पर्ने जंघा खोलाको पुलनजिक देखाउँदै बर्दिबास– ८ खजुरियाटोलका विश्वराज आले भन्छन्, ‘यही अवस्था रहे त हाम्रो बस्तीमा पानी पस्न ठूलो बाढी पनि चाहिँदैन । यस वर्ष भारी वर्षा हुने मौसमविद्हरूको भनाइ सुन्दा ठूलै बाढी आई कतिवेला बस्ती नै उठ्ने हो थाहा छैन ।’ बर्खामा आउने खोलाको बाढीले चुरे पहाड र खोल्साखोल्सीको गेग्य्रान नदी सतहमा थुप्रिँदै जाँदा अहिले कैयौँ बस्ती खोलाको सतहभन्दा गहिरोमा परेका छन् ।

जिल्लाका जंघा, बेलगाछी, मरहा, टुटेश्वर, ढोलनखोला र खयरमारासहितका खोला अहिले बालुवा थुप्रिएर उँचा हुँदै गएपछि बस्ती डुबानको जोखिममा परेका सर्वसाधारणको चिन्ता बढेको हो । ‘हेर्दाहर्दै  खोला माथि देखिन थाल्यो, कसैलाई चिन्ता छैन,’ राजमार्ग क्षेत्रमै बेलगाछी, मरहा र ढोलन खोलामा थुप्रिएको बालुवा देखाउँदै गौशाला– ८ बेलगाछीका मीन रहपाल भन्छन्, ‘हामीकहाँ नपरी नचेत्ने बानी परेको छ, क्षति हुन थालेपछि दौडधुप गर्ने ।’

यी नदीहरूको व्यवस्थापन गर्नु जरुरी भएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको निष्कर्ष छ । प्रजिअ गेलाल भन्छन्, ‘धेरैजसो नदी नजिकका बस्तीभन्दा उँचो भएका छन्, राजमार्गनजिक खोलामा बालुवा र गेग्रान थुप्रिँदै गएको छ, यसको समुचित व्यवस्थापन आवश्यक देखिन्छ ।’ राजमार्ग दायाँबायाँको पाँच सय मिटर क्षेत्रको संरक्षणको मुख्य जिम्मा भएको सडक विभाग, वनसम्बद्ध कार्यालय र सम्बद्ध स्थानीय तहको निर्णायक पहल हुनुपर्ने उनको भनाइ छ ।

कतिपय खोलामा पूर्व–पश्चिम राजमार्गका पुल बराबरजस्तो बालुवा, गेग्रानको थुप्रो छ, कैयन बस्ती अहिलेको खोला सतहभन्दा तल रहेका छन् । जिल्लामा कतिपय ठाउँमा मापदण्डको अटेर गर्दै उत्खनन गरिएको र कतिपय नदीमा थुप्रिएको बालुवा, गेग्रानको उचित व्यवस्थापन नगरिँदा जोखिम बढेको छ । गेलाल भन्छन्, ‘नदीसहितका प्राकृतिक सम्पदाको संरक्षण र उपयोगको नीति अवलम्बन गर्ने मुख्य जिम्मेवारी स्थानीय तहको हो भने वनसम्बद्ध कार्यालय र सडक विभागले यस कार्यमा तदारुकता देखाउन आवश्यक छ ।’ खासमा बालुवा, गेग्रान थुप्रिएको ठाउँमा उत्खननका स्थापित नियम, कार्यविधि, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विज्ञहरूको सुझावको पालना गर्दै यसको व्यवस्थापन जिम्मेवार निकायले गर्नुपर्ने हुन्छ ।

रातु नदीमा अनियन्त्रित उत्खननले तटबन्ध, सडक, पुलपुलेसा, जलाधार क्षेत्र र बस्तीहरू बाढीको जोखिममा परेका छन् । रातु नदीमा बढेको अनियन्त्रित उत्खननविरुद्ध बर्दिबासका अधिकांश राजनीतिक दलले सर्वोच्च अदालतमै रिट दायर गरेका छन् । अनियन्त्रित उत्खनन रोकेर यसलाई प्रचलित कानुन, विधि, प्रक्रिया र यसका लागि निर्धारित मापदण्डको पूर्ण परिपालना गर्न–गराउन रिटमार्फत माग गरिएको निवेदकमध्येका नेपाली कांग्रेस महासमिति सदस्य बर्दिबास– १४ का बासिन्दा चिरञ्जीवी हमाल बताउँछन् । दलहरूको सो रिट अहिले अदालतमा विचाराधीन छ । यद्यपि, अन्तिम निर्णय नआउन्जेल रातु नदीको उत्खनन हाललाई रोक्न अदालतले प्रारम्भिक आदेश दिएको निवेदकमध्येका नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य शंकर महतोले बताए । जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि यस्तो आदेश आएको पुष्टि गरेको छ ।

खासगरी बर्दिबासमा रातु नदी उत्खननको विषय सधैँजसो विवादित रहँदै आएको छ । रातुको अनियन्त्रित उत्खनन नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीकै जोडबल र राजनीतिक हैसियतको दुरुपयोगबाट हुने गरेको दलका प्रतिनिधिको कडा आरोप छ । अहिले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जनमत, लोसपा नेपाल र जसपा नेपालसहित बर्दिबासका राजनीतिक दलका प्रतिनिधिले नगर क्षेत्र हुँदै बग्ने नदीहरूको कुशल व्यवस्थापनको सट्टा रातु खोलामा ठूला खाल्डा बनाएर नदी क्षेत्र कुरूप बनाउँदै लगिएको आरोप लगाउँदै आएका छन् ।

नदीजन्य वस्तु उत्खननका स्थापित नियम र विधि भए पनि त्यसको पालना नभएपछि समस्या बढेको नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज बर्दिबास–१ का बासिन्दा राजु खड्काको गुनासो छ । बर्सेनि खोलामा थुप्रिने बालुवा, गेग्रान दुवै किनारतर्फ निश्चित नाप छाडेर बहाव क्षेत्रमा तीन फिट गहिरोसम्म खनेर निकाल्न सकिने व्यवस्था छ । उत्खनन गर्नुपूर्व अनिवार्य रूपमा विज्ञको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अध्ययन गरेर त्यसको परिपालना गर्दै अघि बढे कतै समस्या नआउने नेता खड्का बताउँछन् । उत्खनन गरिँदा ससाना यान्त्रिक उपकरणसम्म प्रयोग गर्न सकिने व्यवस्था भए पनि रातु नदीमा ठूला–ठूला उपकरण प्रयोग हुँदै आएका खड्काको भनाइ छ ।

यता बर्दिबासका नगर प्रमुख क्षेत्री नगर क्षेत्रका नदीमा भएका उत्खनन अनियन्त्रित वा मापदण्डविपरीत नभएको दाबी गर्छन् । केही व्यक्तिहरू नगर क्षेत्रमा भइरहेका विकास प्रयत्नमा राजनीतिक आग्रह सााध्न रोक्न चाहिरहेका क्षेत्रीको भनाइ छ । उत्खननका लागि सबै कानुनी प्रक्रिया पुर्‍याएर ठेक्का बन्दोबस्त गरिएको, उत्खनन कार्य मापदण्डअनुसार छ–छैन नियमित अनुगमन गरिएको उनको भनाइ छ । अहिले उत्खननविरुद्ध भएका कामकारबाहीले यहाँका विकास कार्यहरू अवरुद्ध भएको र ठाउँठाउँमा बालुवा, गेग्रान थुप्रिएर नदीको सतह बस्ती र सडकभन्दा उँचो हुँदा बर्खामा डुबानसँगै उर्वर जग्गामा बालुवा पुरिएर मरुभूमि बन्ने जोखिम बढेको क्षेत्रीको स्वीकारोक्ति छ ।

रातुबाहेकका अन्य केही नदीमा बालुवा, गेग्रान थुप्रिँदै गएर सतह उठ्दै जाँदा कैयन बस्ती, वन क्षेत्र, राजमार्ग र अन्य कैयन संरचना होचिँदै गएका छन् । पूर्व–पश्चिम राजमार्गकै खयरमारा, ढोलन खोला, टुटेश्वर, ढुङ्ग्रे र गढन्ता खोलाका पुलनजिक राजमार्ग छुइने गरी बालु, गेग्रान थुप्रिँदै गएको छ । यसले नजिकका बस्ती, सघन वन क्षेत्र, पुल र सडकसहितका संरचना बर्खाकालको बाढीको जोखिममा परेका छन् ।

यता उत्खनन गर्नेहरू रातुमा केन्द्रित हुँदा यहाँ खनिएका ठूला–ठूला खाल्डाले जमिनमुनिको पानीको सतह गहिरिँदै गएको, नदी क्षेत्र कुरूप बनेको, जथाभावी खनिएका खाडलमा बर्खामा जम्ने पानीमा परेर बर्सेनि मानवीय क्षति बढाएको र माथिल्लो भेगमा कटान र मध्य र तल्लो भेगमा डुबान समस्या बढेको चुरे तथा जलाधारविज्ञ बताउँछन् । ‘नदी क्षेत्रमा बर्सेनि उत्खनन गरिनुपर्छ, तर यसका निश्चित मापदण्ड छन् । यो मापदण्ड पालना नहुँदा उत्खनन गरिँदा वा नगरिँदा समस्या बढ्ने हो,’ जिल्लाकै भंगाहा– ७ का बासिन्दा चुरेविज्ञ डा. विजयकुमार सिंह भन्छन्, ‘सम्बद्ध स्थानीय तह यसको मुख्य जिम्मेवार हो ।’

चुरे र जलाधार क्षेत्र संरक्षणका क्षेत्रमा लामो अनुभव सँगालेका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव राजमार्ग नजिक आएर यसको व्यवस्थापन सोचिनु अवैज्ञानिक हुने बताउँछन् । जिल्लामा राजमार्ग छिचोल्दै तलतिर झर्ने खोलाहरूमा पाँच सयभन्दा माथि संख्याका खोल्साखोल्सी पहाडी शृंखला वरपर मिसिएका छन् । यी खोल्साखोल्सीले बर्खामा बगाएर ल्याउने गेग्रानको माथि नै व्यवस्थापन गरिनुपर्ने यादवको भनाइ छ । खोलामा मिसिनुअघि नै खोल्साखोल्सी बाँधेर गेग्रान माथि नै थुन्नु वैज्ञानिक हुने यादवले बताए ।

‘हामीले रातु नदी क्षेत्रमा राजमार्गमाथि काम गरेका छौँ, रातुमा मात्रै एक सय आठवटा खोल्साखोल्सी मिसिएका छन्,’ उनले भने, ‘रातुमा मिसनुअघि नै हामीले ६७ वटा खोल्साखोल्सीमा छड्के बाँध बनाएर त्यसको व्यवस्थापन गरेका छौँ, ती बाँधिएका खोल्साखोल्सीबाट बाढीमा बग्ने गेग्रानमाथि नै रोकिन्छ, खोलामा झर्न पाउँदैन ।’ यसले नदी प्रणाली व्यवस्थापनमा निकै सहज भएको यादवको भनाइ छ । जिल्लाका सबै खोल्साखोल्सीमा यस्तो छड्के बाँध बनाउन सकिए बर्सेनि तलतिरका उर्वर जग्गामा बालुवा थुप्रिने क्रम नियन्त्रण हुँदै जाने उनी बताउँछन् । यस्ता छड्के बाँधले छानिएर तल झर्ने पानी चुरे क्षेत्रमै जम्मा गर्न सके यसले तल्लो भेगसम्म पानी पुनर्भरणमा सघाउने उनको भनाइ छ ।

विज्ञहरूले नदी प्रणाली व्यवस्थापन र नदीजन्य पदार्थको वैज्ञानिक उपयोग नीति अवलम्बनको कुरा उप्काए पनि यहाँ भने त्यसतिर ध्यान कम पुगेको सामाजिक क्षेत्रका अगुवा बताउँछन् । ‘विज्ञहरूले चुरे क्षेत्रमै खोल्साखोल्सी व्यवस्थापन गर्न सुझाउँछन्, तर यहाँ मुद्दा उत्खननको मात्र बन्छ,’ बर्दिबास– १४ का सामाजिक कार्यकर्ता हरि दाहाल भन्छन् । चुरे संरक्षणका क्षेत्रमा प्रभावकारी काम गर्न तीनै तहका सरकारले समन्वय गर्नसके ठूलो उपलब्धि हासिल हुने उनको धारणा छ ।

नदीहरूमा उत्खननका लागि नदीजन्य पदार्थको निकासी ठेक्का बन्दोबस्त समयमा हुन नसक्दा नगरपालिकाले संकलन गर्ने राजस्व गुमेको छ । कैयौँ सरकारी योजनाका निर्माण कार्य समयमा बालुवा, गिट्टी र ढुंगा आपूर्ति नहुँदा अलपत्र परेका छन् । यसबाहेक सर्वसाधारणका निजी निर्माण काम पनि बालुवा, गिट्टीको अभावमा रोकिएका छन् । नदी उत्खननको वैधानिक बाटो नचालिँदा नदीजन्य पदार्थ मनपरी मूल्यमा तस्करले बेचिरहेका छन् । नदी उत्खननसँग जोडिएर देखिने विरोध र विवादको वैज्ञानिक समाधान नखोजिँदा समस्या झन् बल्झने गरेको बर्दिबास– १४ का पूर्ववडाध्यक्ष भरतबहादुर हमाल बताउँछन् । अब चाहेर पनि यसपालि असोजअघि बालुवा थुप्रिएका ठाउँको उत्खनन गर्न सकिन्न । असार १ गतेदेखि भदौ मसान्तसम्म नदी उत्खनन कानुनले नै वर्जित रहेको हुँदा यो समस्या यथावत् नै रहन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending