Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

दशगजा वारिपारि पहेँलपुर तोरीबारी, छेकेन सीमाले

चन्द्रकला भण्डारी

झापा । मेचीनगर नगरपालिका-७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल-भारत सीमाकाे दशगजा क्षेत्रमा पुग्छिन्।

उनको घरनजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ। त्यही सीमास्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको पहेँलपुर तोरीबारीमा पुग्ने गर्छ।

चार वर्षअघि नेपाल र भारत दुवै मुलुकले दशगजा क्षेत्र खाली राख्ने निर्णय गरेसँगै गैरीगाउँको दशगजा क्षेत्र बालबालिकाका लागि खेलमैदान जस्तै भएको छ भने स्थानीयवासीको गाईबाख्रा चराउने चरन बनेको छ। तीन दशकअघि सीमा अद्यावधिक गर्ने क्रममा ९०/२ पिपी ५० नम्बरको सीमास्तम्भ गाडिएको थियो।

गैरीगाउँको माझमा गाडिएको सो सीमास्तम्भले स्थानीय बासिन्दालाई दुई देशको फरक भूगोलमा बाँडिदियो। अहिले गाउँको आधा भाग भारततिर परेको छ।

स्थानीय कुलप्रसाद तिवारीको डेढ बिगाहा जग्गा त्यही बेलादेखि सीमा पारि भारतमा पर्‍यो । नेपाल र भारत दुवैतिर उनको खेतीपाती चलिरहेको छ । सीमा अद्यावधिक हुनुअघि दुवैतिरको जग्गाको उनीसँग नेपाली धनीपुर्जा थियो।

उसबेला तिवारीले सरकारी मालपोत नेपालमै बुझाउनु हुन्थ्यो । तर, गैरीगाउँको माझमा सीमा स्तम्भ ठडिएपछि उनको जस्तै दर्जनौँ बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय भूभाग ठहरियो।

तिवारीको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । तोरीबारीको माझमा रहेको दशगजामा स्थानीय बालबालिका विद्यालय छुट्टी हुनासाथ क्रिक्रेट, फुटबल, भलिबल र कबड्डी खेल्न दिनहुँ झुत्तिन्छन्। ‘खेल्दाखेल्दै कहिलेकाहीँ भारततिरका एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्षा बल)का अङ्कलहरु आउनुहुन्छ, कहिले नेपालका सशस्त्रको अङ्कलहरु आउनुहुन्छ,’ काँकडभिट्टा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ठकुरी भन्छिन्, ‘दशगजा होस् कि बीसगजा होस्, हामीलाई खेल्न पाए भयो। अङ्कलहरुले राम्ररी खेल्नु भनेर हौस्याउनुहुन्छ । हामीलाई त उहाँहरुसँग केही डर लाग्दैन।’

गैरीगाउँमा नेपाली धनीपुर्जा भएको पचासौँ बिगाहा जग्गा सीमा अद्यावधिकका कारण भारतीय भूमिमा परेको विवादास्पद प्रसङ्गले बेलाबेला सञ्चारमाध्यममा चर्चा पाउने गरेको छ । तर गाउँमा भने विवाद र भएको कुनै छनक छैन। नेपाली नागरिकता, जग्गा धनीपुर्जा र बिजुलीका मिटर रहेका दर्जनभन्दा बढी स्थानीयवासीको घर अहिले पनि भारतीय भूमिमा छ।

‘चार वर्ष अघिसम्म दशगजा क्षेत्रमा यतिबेला तोरीको फूलले पिल्लर नै छोपिएला जस्तो हुन्थ्यो,’ गैरीगाउँको दशगजामै आँगन जोडिएका ५१ वर्षीय श्याम बाँतर भन्छन्, ‘अहिले दशगजा खाली गराइएको छ । मेरो घरको आँगन नै दशगजामा परेको छ । मानिसहरुले दशगजामा खेतीपाती गर्न छाडेका छन्।’

गैरीगाउँमा ३० वर्षदेखि बसोबास गर्दै आएका उनले रिक्सा चलाएर आर्जेको पैसाले जोडेको १० धुर जग्गामध्ये अढाई धुर दशगजामा परेको बताए ।

दशगजाको दुवैतर्फ ३०/३० फिट जग्गा खाली गराउने दुवै देशबीच सहमति भएको छ। सरकारी अधिकारीहरुले दशगजामा परेको आँगन पनि खाली गरिदिन आग्रह गरिरहेको उनको भनाइ छ ।

भारततिरबाट एसएसबीको गस्ती नियमित रुपमा दशगजा क्षेत्रमा आउने गरेको र घर कसको भनेर सोध्ने गरेको उनले जानकारी दिए। दशगजामा आँगन जोडिएको बाँतर परिवारलाई सीमाको बसोबास शान्त नै लागेको छ। कहिलेकाहीँ वारिपारि धन्धा गर्नेहरुसँग नेपाली सुरक्षाकर्मीहरुको घम्साघम्सी पर्नेबाहेक सीमावर्ती गैरीगाउँका बासिन्दाले अन्तरदेशीय भूगोलका कारण कुनै सकस अनुभव गरेका छैनन्।

गैरीगाउँका ३१ वर्षीय टीका चौधरी हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरुको घर खेत सबै भारततिर परेको बताउँछन् ।

भारतीय भूमिमा परेको गैरीगाउँका बासिन्दाका बालबालिका पढ्नका लागि काँकडभिट्टाको सरकारी र निजी विद्यालय नै धाउने गर्छन् । चौधरी दिनहुँ दशगजा पार गरेर मेची भन्सार कार्यालयमा ‘लोड अनलोड’को मजदुरी गर्न आउने गर्छन् । भारततिर घर र जग्गा परे तापनि नेपालकै विद्युत् र पानी प्रयोग गरिरहेको चौधरीले बताए ।

दश वर्षअघि झापाको दक्षिणी गाउँ पृथ्वीनगरबाट सस्तोमा घडेरी खोज्दै गैरीगाउँमा सपरिवार बसोबास गर्न आएकी देवी पाण्डेले भारतीय सुरक्षा बल एसएसबीको गस्ती दशगजा नाघेर कहिल्यै पनि नेपालतिर नआएको बताइन् ।

पाण्डेको घर दशगजामै जोडिएको छ । ‘एसएसबीहरु दशगजा पारि नै डुल्छन्, प्यास लाग्यो भने सीमापारिबाटै पानी माग्छन्’, उनले भनिन्, ‘बोतलमा पानी भरेर लगिदिन्छौँ। नराम्रो कहिल्यै गरेका छैनन्।’

नेपाली सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको एउटा टोलीले उनको घर छेउमै टहरा बनाएर रातोदिन पहरा दिने गरेको छ ।

सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले रातदिन पहरा दिएका कारण गैरीगाउँका बासिन्दाले सुरक्षित अनुभूति गरेको पाण्डेले बताइन्। उनका तीन छोराछोरी काँकडभिट्टा माध्यमिक विद्यालयमा पढ्ने गर्छन् । उनका पति भाडाको सवारी साधन चलाउने गर्छन् ।

‘बसाइँ सरेर आएको बेला दशगजा भन्ने नै थाहा थिएन,’ उनले भनिन्, ‘घडेरीको पूर्वी सीमामा बडेमानको पिल्लर ठडिएको देख्दा सुरुमा निकै डर लागेको थियो । घडेरी त भारतमा पर्‍यो कि भनेर सोध्न जाँदा दशगजाबाट पश्चिमतिर नेपाल नै हो भनेर छिमेकीले मलाई आश्वस्त बनाएका थिएँ।’

दशगजामै घर जोडिएको गैरीगाउँकी ६५ वर्षीया होमादेवी खनालले गाउँका बासिन्दा भारत र नेपाल जतातिर घरजग्गा परे तापनि मिलेर बसिरहेको बताइन्। ‘हिँड्ने बाटो र सौदा किन्ने बजार एउटै छ,’ उनले भनिन्, ‘भारततिर घर भएकासँग ऐँचोपैँचो चलिरहेकै छ। आउजाउमा कुनै अप्ठेरो छैन। खेतीपाती दुवैतिरकाले जता गएर पनि गरिरहेकै छन्। कुन भारत, कुन नेपाल भन्ने सीमा पिल्लरले मात्रै छुट्याएको छ।’

गैरीगाउँका अधिकांश बासिन्दा खेतीपाती र मजदुरी गर्छन् । नेपालतिर बसोबास गर्दै आएका ७७ वर्षीय टङ्कबहादुर राई दिनहुँ दशगजा पार गरेर भारतीय भूमितिर परेको आफ्नो जग्गामा तरकारीखेती गोडमेल गर्न जान्छन्। उनले नेपाली धनीपुर्जा भएको आफ्नो १२ कट्ठा नम्बरी जग्गामध्ये सात कट्ठा मात्र दशगजा वारि रहेको र पाँच कट्ठा भारतीय भूमिमा परेको बताए ।

भारतीय भूमिमा रहेको जग्गामा उनले अहिले टमाटर र सिमी रोपेका छन् । मेचीको बगरमा रहेको उनको वर्षौंदेखिको भोगचलनको आठ कट्ठा बगरखेत समेत भारततिरै परेको छ । उक्त बगरखेतमा धानखेती हुँदै आएको छ। ‘जग्गाको धनीपुर्जा नेपालकै थियो, माझमा पिल्लर गाडिएपछि एकै रातमा सिमाना बदलिएर मेरो जग्गा भारततिर पर्‍यो,’ उनले भने, ‘ ‘अहिलेसम्म खनजोत गरेर खाइरहेकै छु । कसैले केही भनेको छैन । एकपटक एसएसबीहरु खेतमा आएर एउटा टमाटर खान पर्‍यो भनेका थिए । मैले एउटा मात्र किन दुई चारवटै खानुहोस् भनेको थिएँ।’

सीमा क्षेत्रमा उत्पन्न हुने समस्याहरुको निराकरणका लागि सशस्त्र प्रहरी बलले स्थानीय वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गर्दै आएको छ। स्थानीयवासीले आफ्ना गुनासा र समस्याहरु समितिमार्फत सशस्त्र प्रहरी बलमा पुर्‍याउने गरेको मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन्।

झापामा भारतसँग सीमा जोडिएका २३ वटा वडाहरु छन् । बेलाबेलामा सशस्त्र प्रहरी बलको २ नं गण चन्द्रगढीले वडाध्यक्षहरुलाई सीमाका गुनासाहरुको सम्बोधन गर्नका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको छ ।

‘झापाको कचनकवल जस्ता केही सीमा क्षेत्रमा खेतीपाती गर्ने र बाली उठाउने विषयमा वारिपारिका बासिन्दाबीच विवाद हुने गरेको सुनेका छौँ,’ वडाध्यक्ष ओलीले भने, ‘तर, हाम्रो गैरीगाउँमा खेतीपातीका विषयमा भारततिरबाट समस्या आएको गुनासो सुनिएको छैन। त्यस्तो कुनै समस्या आइहालेछ भने पनि हामी सशस्त्र प्रहरी बलसँग मिलेर समाधानका लागि तत्कालै सहजीकरण गर्छौं।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिडमा गाडी जोतेर अमेरिकामा कैयौँको ज्यान लिने व्यक्ति को हुन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मान...

आज ६ संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संसद्‌का ६ वटा समितिका बैठक आज बस्दै छन्। प्रतिनिधि सभाका ४ र राष्ट्रिय सभाका २ समितिका बैठक आज बस्न लागेका हुन्।  प्रतिनिधि सभाअन्तर...

केन्दीय कमिटी बैठकको एजेण्डा तय गर्न बस्दैछ माओवादीको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी  बैठक आज बस्दै छ।  बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको होे ।  बैठकले पुस ...

मधेसमा उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था

महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उ...

एमालेले सचिवालय बैठक किन बोलायो ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो। बैठकमा आगामी २१...

संसद् धकेलेर साना दल फुटाउन अध्यादेश ल्याउने मूडमा ओली

काठमाडौं । संघीय संसद्मा २० विधेयक अलपत्र परे पनि सरकारले संसद् बैठक बोलाउन आलटाल गरिरहेको छ । संसद् अधिवेशन धकेलेर दल विभाजन सहज पार्ने अध्यादेश ल्या...

प्रहरीको फरेन्सिक रिपोर्ट- सहकारीमा लामिछानेको हस्ताक्षर नै नक्कली

काठमाडौं । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै ...

सन् २०२४- विमान दुर्घटनाको दुःखद् वर्ष,विश्वव्यापी घटनाले हवाई सुरक्षामा तेर्सियो प्रश्न

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती द...

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अ...

कुबेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकद्वय कुबेर कडायत र रवीन्द्र केसी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy