Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

ताप्लेजुङकी भीमा पाैडेल, अब उनका बाआमासँग अब छोरीको तस्बिर मात्रै

खबरडबली संवाददाता

ताप्लेजुङ । माओवादीको सशस्त्र द्वन्द्वमा सहभागी भएर पहिलो महिला सहिद बनेकी भीमा पौडेल बाँचेकी भए सांसद, मन्त्री बन्थिन् होला । उनको परिवारका सदस्यलाई यस्तै लाग्छ । नेकपा माओवादी ‘जनयुद्ध’मा सहभागी भएको ६ महिनामा नै वीरगति प्राप्त गरेकी थिइन् उनले । उनको नासो अहिले परिवारका लागि २५ रोपनी २ आना जग्गा, एउटा घर र बाबुआमाले सँगालेर राखेको फ्रेमसहितको तस्बिर मात्रै बाँकी छ ।

स्कुल पढ्न गएकी छोरी ‘पार्टीमा लागें’ भनेर दुई महिनापछि घर फर्किएकी थिइन् । त्यसपछि एकदिन बेलुका दुई जना साथी लिएर खाना खान आइन् । त्यसको नौ महिनापछि उनले वीरगति प्राप्त गरेको पत्र भीमाका बुवाका हातमा परेको थियो ।

२००८ सालमा मेरिङदेन गाउँपालिका–५ थुकिम्वामा जन्मिएका खगेन्द्र पौडेल र २०१५ सालमा जन्मिएकी कृष्णकुमारी न्यौपानेले ३३ सालमा लगनगाँठो कसे । बाबुआमासँगै फुङलिङ नगरपालिका–२ देबलिङ्गेमा बसाइँ सरे । आफ्नो नभएकाले बराल थरका व्यक्तिको जग्गा अँधियाँमा कमाउन थाले । ०३७ सालमा उनीहरूका कोखबाट पहिलो सन्तान जन्मिएका थिए । न्यापाने दम्पतीका आठ छोरी र एक छोरा जन्मिए । २०३९ साल मंसिर २३ मा जन्मिएकी माइली छोरी भीमाले २०५९ सालमा सशस्त्र द्वन्द्वमा रहेको माओवादी जनयुद्ध रोजेकी हुन् । मंसिरमा २० वर्ष लाग्ने उनी त्यसको तीन महिनाअघि नै माओवादी युद्धमा सरिक भएकी थिइन् ।

वीरेन्द्र मावि देवलिङ्गेबाट एसईई उत्तीर्ण गरेकी उनी ११ कक्षा पढ्न त्यही विद्यालय जान्थिन् । उनीसँग मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु घर भएकी शिक्षा गौतम साथीका रूपमा कहिलेकाहीं आउँथिन् । ताप्लेजुङ सदरमुकाम ओहोरदोहोर गर्दा त्यहीं निस्कन्थिन् । पारिवारिक नाता–सम्बन्ध नभएका उनीहरू साथीका रूपमा हिंड्ने गरेका थिए । शिक्षासँगै पार्टीमा हिंडी भनिदिनु भनेर बहिनीहरूलाई घरमा खबर पठाएर भीमा माओवादी आन्दोलनमा लागेकी थिइन् । शिक्षा भूमिगत माओवादी रहिछन् भन्ने जानकारी परिवारले भीमा माओवादी आन्दोलनमा सरिक भएपछि मात्रै थाहा पाएका थिए ।

अर्काको जमिन अँधिया कुतमा कमाएर छोराछोरीको शिक्षादीक्षा तथा पालनपोषण गर्दै आएका खगेन्द्र दम्पतीलाई छोरी हिंडेपछि निकै दिन चिन्ता भयो । खगेन्द्रको तुलनामा आमा कृष्णकुमारी निकै चिन्तित बनिन् । मेलापात, घाँस–दाउरा गर्दा डँडाल्नोमा बोकेर हुर्काएका छोराछोरी यसरी घर छोडेर कहिल्यै हिंडेका थिएनन् । खगेन्द्र भने पञ्चायतकालदेखि नै कम्युनिस्ट विचारधारामा आबद्ध थिए । पञ्चायतमा पनि रातीराती गाउँको वामपन्थी संगठनमा हिंड्थे । साहुमहाजनले हेपेको, थिचोमिचो गरेको अन्याय सहेर बस्नुपर्दा विद्रोहका आवाज निकाल्नु परेको कुरा परिवारसँग कहिलेकाहीँ सुनाउने गरेका थिए । उनले जान्दा साहुमहाजनले डाँडामा निस्किएर ‘आज मेरो घरमा काम छ, फलानो फलानो आउनु है’ भनेर उर्दी गरेपछि जानुपर्ने प्रचलन थियो । नगए बेलुका घरमै आएर हप्कीदप्की गर्थे । त्यसरी नजाँदा साहुले हप्की गरेको र ऋण माग्न जाँदा नपाएको पीडा खगेन्द्र स्वयंले पनि सहेका छन् ।

‘हुनेखानेले हेलाहोचो गरेको, आफूले प्रतिवाद गरेको कुरा घर–परिवारमा सुनाउथेँ पनि,’ छोरी हिँड्दाको बखत स्मरण गर्दै खगेन्द्रले भने, ‘सायद यस्तै कुराले उसलाई छोयो होला, छोरी त थाहै नदिइ माओवादीमा हिँडिछिन् ।’

बहिनीहरूले दिदी माओवादीमा गएको खबर ल्याएको साँझ घरमा सबै जना स्तब्ध भएको आमा कृष्णकुमारीले सुनाइन् । परिवारका सबैजसो सदस्यले अघिल्ला दिनको जस्तो खाना खान सकेनन् । ‘आमाचाहिँ (श्रीमती) लयमा फर्कन त महिना दिनजस्तै नै लाग्यो, खगेन्द्रले भने, ‘त्यसबेला छोरी हिँडी भन्यो, कसैले थाहा पायो भने आफू पनि असुरक्षित हुने, उनीहरू (माओवादी)सँग सम्पर्क गर्ने पनि कुनै उपाय थिएन ।’

५९ भदौ २८ मा माओवादी युद्धमा हिंडेकी छोरी त्यसै वर्षको दसैंपछि तिहार लाग्नै लाग्दा एक दिन ‘आमा।।।’ भन्दै आइपुगेकी थिई,’ उनले भनिन्, ‘दुई जना साथी पनि सँगै लिएर आएकी थिई । एक्कासि आमा।।। भन्दा म त बेहोसजस्तै भएँ । ‘हजुर।।।’ भन्न खोजेँ, तर बोली नै आएन, आँसु आउन खोज्यो तर त्यो पनि झरेन ।’

छोरीले आफूलाई राम्रो छ नआत्तिनु भनेपछि बल्ल सम्हालिएको कृष्णकुमारी सुनाउँछिन् । उनीसँगै आएका साथीले पनि सम्झाएका थिए । बेलुकाको खाना खाएपछि भीमा साथी छोड्न मिल्दैन भनेर छिमेकी गणेश न्यौपानेको घरमा उनीहरूको टोलीसँगै गएर सुतिन् । सेनाको गस्ती चलिरहने भएकाले भोलिपल्ट बिहान घर नआई आफ्नो गन्तव्यतर्फ लागिन् ।

त्यसपछि फागुन ७ गते बेलुका आएकी थिइन् । त्यस रात आमाको छेउमा बसेर खाना खाइन् । सेना आउला भनेर बेलुका ११ बजेतिरै साथीहरूसँग हिँडिन् । ‘बेलुका १०र११ बजेतिर हिँडेकी छोरी फेरि फर्कनु परेन, खै बाबु कर्म त्यस्तै लिएर त आएकी थिइन् होला नि,’ कृष्णकुमारीले चित्त बुझाउँदै भनिन्, ‘घरको अन्तिम पाइलो त्यही रातको भयो ।’

फागुन १७ गते दिउँसोतिर हाङपाङको फुवामा गोती चलेको आवाज भीमाका बाबुआमाले पनि सुनेका थिए । बन्दुकको त्यो निशाना आफ्नै छोरीको शरीरका लागि भएको कल्पना उनीहरूले गरेनन् । तर छोरी पनि उतैतिर भएकाले मनमा चिसोचाहिँ पसेको थियो । ‘त्यतिबेला हाङपाङ, दोभान, देबलिङ्गेमा बन्दुकका आवाज आइरहन्थे, अहिलेजस्तो फोन गरेर सोध्ने उपाय थिएन,’ खगेन्द्रले भने ।

माओवादी केन्द्र ताप्लेजुङ जिल्ला समन्वय समिति सचिव सागर गौतमका अनुसार आठराईत्रिवेणी–३ हाङपाङको फुवामा भीमा र शिक्षा बिहानको खाना पकाउँदै थिए । लिम्बू थरका व्यक्तिको घरमा सदरमुकाम फुङलिङबाट गएको सेनाले घेरा हालेको उनीहरूले पत्तै पाएनन् । ‘रातभरि कतै हिँडेर आएका थिए होलान् । घामले तातिएपछि सेन्ट्री बसेकाहरूले सूचना पाएनन् वा कता भागे । सेनाले बन्दुक देखाएपछि शिक्षा गाउँतिर भागिछन् । भीमा अलैंची बगानतिर दौडिछन् । अलैंची बगानतिर भागेपछि सेनाले गोलीजति त्यतैतिर बर्साएछन् र ढालेछन्,’ सागरले भने ।

गाउँतिर भाग्न सकेको भए आफ्नो छोरी पनि बाँच्थिन कि जस्तो आभास खगेन्द्रलाई अहिले पनि हुन्छ । उनले भने, ‘गाउँमा धेरै क्षति हुन्छ भनेर सेनाले त्यतातिर गोती चलाएनछ, त्यसले गर्दा साथी बाँचिन्, छोरी ढलिन् । खै कुरा सुन्दा गोली त कति कति भन्छन्, संख्या जानेर पनि के गर्नू र π छोरी बितिहालिन् ।’

फागुन १७ गते बितेकी छोरीको खबर उनले जेठ महिनामा मात्रै पाए । चन्द्र मगर नाम गरेका व्यक्तिले पार्टीको चिठी आएको छ भनेर उनलाई छोरी वियोगान्तको पत्र बुझाएका थिए । परिवारका सदस्य भेला भएर रुवावासी गरे पनि त्यस बेला गाउँ–समाजलाई सुनाउने अवस्था थिएन । दिदीको मृत्युको सूचनापछि उनका काइली र अन्तरी बहिनी पनि घर छोडेर माओवादीमा हिँडे । त्यतिबेलासम्म खगेन्द्र स्वयं भने एमाले पार्टीमा आबद्ध थिए ।

बितेको डेढ महिनापछि खगेन्द्रले छोरीको मृत्यु भएको स्थलमा पुगेर हेरे । ‘आफ्नी छोरी ढलेको ठाउँ देखाइ माग्न मलाई डेढ महिना लाग्यो,’ खगेन्द्रले भने, ‘मेरो संस्कार अनुसार काजकिरिया गर्छु भन्दा जनयुद्धमा मरेको गर्नु पर्दैन भनेर अनुमति दिएनन् ।’

मैवाखोलाको तेल्लाबुङमा माओवादीको ठूलो फोर्स आएका बेला त्यहीँ गएर मेरी छोरीको किरिया कर्म गर्न किन नपाउने भनेर आवाज उठाएपछि बल्ल गर्नुहोस् भनेको उनले स्मरण गरे ।

घरदेखि एकरडेढ घण्टामा पुगिने ठाउँमा गोली लागेर ढलेकी छोरीको सूचना पाउन तीन महिना लागेको, ढलेको ठाउँमै लास छोडेर लामो समय नआएपछि स्थानीयले प्रतिरोध गरेको र बल्ल सामान्य खाल्टो खनेर पुरेको जस्ता सूचनाले उनलाई प्रताडित बनाएको थियो । कुशको लास बनाएर १३ दिनसम्म काजकिरिया गरेका उनलाई गाई दान गर्दा माओवादीले आक्रोश पोखेका थिए ।

त्यसपछि भने दिदी–वियोगको बदला लिन हिँडेका उनका दुई बहिनी निशा र निर्जलालाई पार्टीमा नजान भने र घर फर्काए । ‘त्यतिबेला शान्ति प्रक्रिया पनि सुरु भएको थियो । माओवादीलाई मान्छे चाहिन पनि छोडेको थियो,’ खगेन्द्रले भने, ‘छोरीहरूलाई फेरि लैजान बलजफ्ती पनि गरेनन् ।’ अहिले सबै छोराछोरी विवाह गरेर आ–आफ्नो घरमा गरिखान थालेको खगेन्द्रले सुनाए ।

सहिद परिवारका नाममा उनले संघ सरकारबाट १० र कोशी प्रदेश सरकारबाट १ गरी ११ लाख रुपैयाँ पाए । पहिलो किस्ता एकमुष्ट ५ लाख रुपैयाँ आयो । त्यसपछिको पैसा किस्ताबन्दीमा पाएको खगेन्द्रले सुनाए । ‘त्यो पाँच लाखमध्ये तीन लाख रुपैयाँले आफू बसेको जमिन किनेँ र बाँकी पैसाले तीन तलाको जस्ता पाताको ढुंगा र काठको घर बनाएँ,’ खगेन्द्रले थपे, ‘त्यसले मात्रै नपुगेपछि हुलाकमा जागिर पनि खाएँ ।’ छोरीका नाममा आएको पैसाले गरेको भन्नेचाहिँ केही नभएको उनले सुनाए ।

छोरीको सम्झनाका नाममा एउटा तस्बिर सिवाय केही नभएको आमा कृष्णकुमारीले सुनाइन् । ‘त्यसबेला उतिधेरै फोटो खिच्ने चलन थिएन,’ उनले भनिन्, ‘छोरीले स्टुडियोमा गएर खिचेको एउटा तस्बिर थियो । त्यही तस्बिर सँगालेर राखेकी छु ।’

माओवादी पार्टीकै सिफारिसमा उनले जिल्ला हुलाक कार्यालयमा डाँक बोक्ने काम गरे । ६० वर्षे उमेर हदका कारण त्यो जागिर पनि ५ वर्ष चलेको खगेन्द्र बताउँछन् । अरू सत्ता चलाउने ठाउँमा हुँदा र आफ्नो छोरी गुम्दा घर–परिवारमा नमिठो लाग्ने उनले सुनाए । हक्की स्वभाव, निडर भएर प्रस्तुत हुने र केही गर्नुपर्दा म गर्छु भनेर अघि सर्ने भएकाले बाँची राखेको भए छोरी पनि सांसद, मन्त्री हुन्थिन् होला । नभए पनि मेयररउपमेयर त पक्कै बन्थिन् होला जस्तो अनुभूति बाबुआमालाई लाग्ने गरेको छ ।

‘दिवंगत नै हुँदा पनि हामीलाई सुकुम्वासी–मुक्त बनाइन्,’ खगेन्द्रले थपे, ‘अर्काको पाखो जग्गा कमाएर बसेका थियौं, मोहीयानी दाबी गर्दा ६ लाख मूल्यांकन भयो । त्यही छोरीका नाममा आएको पैसाबाट तीन लाख दिएर जग्गा निखने र बाँकीले घर बनाएँ ।’ गाईभैसी लगायतका पशु चौपाया पाल्ने र खेती किसानी गर्ने खगेन्द्र भने अहिले माओवादी पार्टीमा आबद्ध छैनन् ।

‘पार्टीका केही नेताले हप्कीदप्की गरेपछि पार्टी नै छोडें,’ उनले भने । पुराना वामपन्थी उनी अहिले मूल पार्टी एमालेमै फर्किएको बताउँछन् । ‘तर एमालेमा पनि कहिलेकाहीं जुनियर कार्यकर्ताले जथाभावी कुरा गर्दा चित्त दुख्छ,’ उनले भने  । कान्तिपुर दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending