Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

ताप्लेजुङकी भीमा पाैडेल, अब उनका बाआमासँग अब छोरीको तस्बिर मात्रै

खबरडबली संवाददाता

ताप्लेजुङ । माओवादीको सशस्त्र द्वन्द्वमा सहभागी भएर पहिलो महिला सहिद बनेकी भीमा पौडेल बाँचेकी भए सांसद, मन्त्री बन्थिन् होला । उनको परिवारका सदस्यलाई यस्तै लाग्छ । नेकपा माओवादी ‘जनयुद्ध’मा सहभागी भएको ६ महिनामा नै वीरगति प्राप्त गरेकी थिइन् उनले । उनको नासो अहिले परिवारका लागि २५ रोपनी २ आना जग्गा, एउटा घर र बाबुआमाले सँगालेर राखेको फ्रेमसहितको तस्बिर मात्रै बाँकी छ ।

स्कुल पढ्न गएकी छोरी ‘पार्टीमा लागें’ भनेर दुई महिनापछि घर फर्किएकी थिइन् । त्यसपछि एकदिन बेलुका दुई जना साथी लिएर खाना खान आइन् । त्यसको नौ महिनापछि उनले वीरगति प्राप्त गरेको पत्र भीमाका बुवाका हातमा परेको थियो ।

२००८ सालमा मेरिङदेन गाउँपालिका–५ थुकिम्वामा जन्मिएका खगेन्द्र पौडेल र २०१५ सालमा जन्मिएकी कृष्णकुमारी न्यौपानेले ३३ सालमा लगनगाँठो कसे । बाबुआमासँगै फुङलिङ नगरपालिका–२ देबलिङ्गेमा बसाइँ सरे । आफ्नो नभएकाले बराल थरका व्यक्तिको जग्गा अँधियाँमा कमाउन थाले । ०३७ सालमा उनीहरूका कोखबाट पहिलो सन्तान जन्मिएका थिए । न्यापाने दम्पतीका आठ छोरी र एक छोरा जन्मिए । २०३९ साल मंसिर २३ मा जन्मिएकी माइली छोरी भीमाले २०५९ सालमा सशस्त्र द्वन्द्वमा रहेको माओवादी जनयुद्ध रोजेकी हुन् । मंसिरमा २० वर्ष लाग्ने उनी त्यसको तीन महिनाअघि नै माओवादी युद्धमा सरिक भएकी थिइन् ।

वीरेन्द्र मावि देवलिङ्गेबाट एसईई उत्तीर्ण गरेकी उनी ११ कक्षा पढ्न त्यही विद्यालय जान्थिन् । उनीसँग मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु घर भएकी शिक्षा गौतम साथीका रूपमा कहिलेकाहीं आउँथिन् । ताप्लेजुङ सदरमुकाम ओहोरदोहोर गर्दा त्यहीं निस्कन्थिन् । पारिवारिक नाता–सम्बन्ध नभएका उनीहरू साथीका रूपमा हिंड्ने गरेका थिए । शिक्षासँगै पार्टीमा हिंडी भनिदिनु भनेर बहिनीहरूलाई घरमा खबर पठाएर भीमा माओवादी आन्दोलनमा लागेकी थिइन् । शिक्षा भूमिगत माओवादी रहिछन् भन्ने जानकारी परिवारले भीमा माओवादी आन्दोलनमा सरिक भएपछि मात्रै थाहा पाएका थिए ।

अर्काको जमिन अँधिया कुतमा कमाएर छोराछोरीको शिक्षादीक्षा तथा पालनपोषण गर्दै आएका खगेन्द्र दम्पतीलाई छोरी हिंडेपछि निकै दिन चिन्ता भयो । खगेन्द्रको तुलनामा आमा कृष्णकुमारी निकै चिन्तित बनिन् । मेलापात, घाँस–दाउरा गर्दा डँडाल्नोमा बोकेर हुर्काएका छोराछोरी यसरी घर छोडेर कहिल्यै हिंडेका थिएनन् । खगेन्द्र भने पञ्चायतकालदेखि नै कम्युनिस्ट विचारधारामा आबद्ध थिए । पञ्चायतमा पनि रातीराती गाउँको वामपन्थी संगठनमा हिंड्थे । साहुमहाजनले हेपेको, थिचोमिचो गरेको अन्याय सहेर बस्नुपर्दा विद्रोहका आवाज निकाल्नु परेको कुरा परिवारसँग कहिलेकाहीँ सुनाउने गरेका थिए । उनले जान्दा साहुमहाजनले डाँडामा निस्किएर ‘आज मेरो घरमा काम छ, फलानो फलानो आउनु है’ भनेर उर्दी गरेपछि जानुपर्ने प्रचलन थियो । नगए बेलुका घरमै आएर हप्कीदप्की गर्थे । त्यसरी नजाँदा साहुले हप्की गरेको र ऋण माग्न जाँदा नपाएको पीडा खगेन्द्र स्वयंले पनि सहेका छन् ।

‘हुनेखानेले हेलाहोचो गरेको, आफूले प्रतिवाद गरेको कुरा घर–परिवारमा सुनाउथेँ पनि,’ छोरी हिँड्दाको बखत स्मरण गर्दै खगेन्द्रले भने, ‘सायद यस्तै कुराले उसलाई छोयो होला, छोरी त थाहै नदिइ माओवादीमा हिँडिछिन् ।’

बहिनीहरूले दिदी माओवादीमा गएको खबर ल्याएको साँझ घरमा सबै जना स्तब्ध भएको आमा कृष्णकुमारीले सुनाइन् । परिवारका सबैजसो सदस्यले अघिल्ला दिनको जस्तो खाना खान सकेनन् । ‘आमाचाहिँ (श्रीमती) लयमा फर्कन त महिना दिनजस्तै नै लाग्यो, खगेन्द्रले भने, ‘त्यसबेला छोरी हिँडी भन्यो, कसैले थाहा पायो भने आफू पनि असुरक्षित हुने, उनीहरू (माओवादी)सँग सम्पर्क गर्ने पनि कुनै उपाय थिएन ।’

५९ भदौ २८ मा माओवादी युद्धमा हिंडेकी छोरी त्यसै वर्षको दसैंपछि तिहार लाग्नै लाग्दा एक दिन ‘आमा।।।’ भन्दै आइपुगेकी थिई,’ उनले भनिन्, ‘दुई जना साथी पनि सँगै लिएर आएकी थिई । एक्कासि आमा।।। भन्दा म त बेहोसजस्तै भएँ । ‘हजुर।।।’ भन्न खोजेँ, तर बोली नै आएन, आँसु आउन खोज्यो तर त्यो पनि झरेन ।’

छोरीले आफूलाई राम्रो छ नआत्तिनु भनेपछि बल्ल सम्हालिएको कृष्णकुमारी सुनाउँछिन् । उनीसँगै आएका साथीले पनि सम्झाएका थिए । बेलुकाको खाना खाएपछि भीमा साथी छोड्न मिल्दैन भनेर छिमेकी गणेश न्यौपानेको घरमा उनीहरूको टोलीसँगै गएर सुतिन् । सेनाको गस्ती चलिरहने भएकाले भोलिपल्ट बिहान घर नआई आफ्नो गन्तव्यतर्फ लागिन् ।

त्यसपछि फागुन ७ गते बेलुका आएकी थिइन् । त्यस रात आमाको छेउमा बसेर खाना खाइन् । सेना आउला भनेर बेलुका ११ बजेतिरै साथीहरूसँग हिँडिन् । ‘बेलुका १०र११ बजेतिर हिँडेकी छोरी फेरि फर्कनु परेन, खै बाबु कर्म त्यस्तै लिएर त आएकी थिइन् होला नि,’ कृष्णकुमारीले चित्त बुझाउँदै भनिन्, ‘घरको अन्तिम पाइलो त्यही रातको भयो ।’

फागुन १७ गते दिउँसोतिर हाङपाङको फुवामा गोती चलेको आवाज भीमाका बाबुआमाले पनि सुनेका थिए । बन्दुकको त्यो निशाना आफ्नै छोरीको शरीरका लागि भएको कल्पना उनीहरूले गरेनन् । तर छोरी पनि उतैतिर भएकाले मनमा चिसोचाहिँ पसेको थियो । ‘त्यतिबेला हाङपाङ, दोभान, देबलिङ्गेमा बन्दुकका आवाज आइरहन्थे, अहिलेजस्तो फोन गरेर सोध्ने उपाय थिएन,’ खगेन्द्रले भने ।

माओवादी केन्द्र ताप्लेजुङ जिल्ला समन्वय समिति सचिव सागर गौतमका अनुसार आठराईत्रिवेणी–३ हाङपाङको फुवामा भीमा र शिक्षा बिहानको खाना पकाउँदै थिए । लिम्बू थरका व्यक्तिको घरमा सदरमुकाम फुङलिङबाट गएको सेनाले घेरा हालेको उनीहरूले पत्तै पाएनन् । ‘रातभरि कतै हिँडेर आएका थिए होलान् । घामले तातिएपछि सेन्ट्री बसेकाहरूले सूचना पाएनन् वा कता भागे । सेनाले बन्दुक देखाएपछि शिक्षा गाउँतिर भागिछन् । भीमा अलैंची बगानतिर दौडिछन् । अलैंची बगानतिर भागेपछि सेनाले गोलीजति त्यतैतिर बर्साएछन् र ढालेछन्,’ सागरले भने ।

गाउँतिर भाग्न सकेको भए आफ्नो छोरी पनि बाँच्थिन कि जस्तो आभास खगेन्द्रलाई अहिले पनि हुन्छ । उनले भने, ‘गाउँमा धेरै क्षति हुन्छ भनेर सेनाले त्यतातिर गोती चलाएनछ, त्यसले गर्दा साथी बाँचिन्, छोरी ढलिन् । खै कुरा सुन्दा गोली त कति कति भन्छन्, संख्या जानेर पनि के गर्नू र π छोरी बितिहालिन् ।’

फागुन १७ गते बितेकी छोरीको खबर उनले जेठ महिनामा मात्रै पाए । चन्द्र मगर नाम गरेका व्यक्तिले पार्टीको चिठी आएको छ भनेर उनलाई छोरी वियोगान्तको पत्र बुझाएका थिए । परिवारका सदस्य भेला भएर रुवावासी गरे पनि त्यस बेला गाउँ–समाजलाई सुनाउने अवस्था थिएन । दिदीको मृत्युको सूचनापछि उनका काइली र अन्तरी बहिनी पनि घर छोडेर माओवादीमा हिँडे । त्यतिबेलासम्म खगेन्द्र स्वयं भने एमाले पार्टीमा आबद्ध थिए ।

बितेको डेढ महिनापछि खगेन्द्रले छोरीको मृत्यु भएको स्थलमा पुगेर हेरे । ‘आफ्नी छोरी ढलेको ठाउँ देखाइ माग्न मलाई डेढ महिना लाग्यो,’ खगेन्द्रले भने, ‘मेरो संस्कार अनुसार काजकिरिया गर्छु भन्दा जनयुद्धमा मरेको गर्नु पर्दैन भनेर अनुमति दिएनन् ।’

मैवाखोलाको तेल्लाबुङमा माओवादीको ठूलो फोर्स आएका बेला त्यहीँ गएर मेरी छोरीको किरिया कर्म गर्न किन नपाउने भनेर आवाज उठाएपछि बल्ल गर्नुहोस् भनेको उनले स्मरण गरे ।

घरदेखि एकरडेढ घण्टामा पुगिने ठाउँमा गोली लागेर ढलेकी छोरीको सूचना पाउन तीन महिना लागेको, ढलेको ठाउँमै लास छोडेर लामो समय नआएपछि स्थानीयले प्रतिरोध गरेको र बल्ल सामान्य खाल्टो खनेर पुरेको जस्ता सूचनाले उनलाई प्रताडित बनाएको थियो । कुशको लास बनाएर १३ दिनसम्म काजकिरिया गरेका उनलाई गाई दान गर्दा माओवादीले आक्रोश पोखेका थिए ।

त्यसपछि भने दिदी–वियोगको बदला लिन हिँडेका उनका दुई बहिनी निशा र निर्जलालाई पार्टीमा नजान भने र घर फर्काए । ‘त्यतिबेला शान्ति प्रक्रिया पनि सुरु भएको थियो । माओवादीलाई मान्छे चाहिन पनि छोडेको थियो,’ खगेन्द्रले भने, ‘छोरीहरूलाई फेरि लैजान बलजफ्ती पनि गरेनन् ।’ अहिले सबै छोराछोरी विवाह गरेर आ–आफ्नो घरमा गरिखान थालेको खगेन्द्रले सुनाए ।

सहिद परिवारका नाममा उनले संघ सरकारबाट १० र कोशी प्रदेश सरकारबाट १ गरी ११ लाख रुपैयाँ पाए । पहिलो किस्ता एकमुष्ट ५ लाख रुपैयाँ आयो । त्यसपछिको पैसा किस्ताबन्दीमा पाएको खगेन्द्रले सुनाए । ‘त्यो पाँच लाखमध्ये तीन लाख रुपैयाँले आफू बसेको जमिन किनेँ र बाँकी पैसाले तीन तलाको जस्ता पाताको ढुंगा र काठको घर बनाएँ,’ खगेन्द्रले थपे, ‘त्यसले मात्रै नपुगेपछि हुलाकमा जागिर पनि खाएँ ।’ छोरीका नाममा आएको पैसाले गरेको भन्नेचाहिँ केही नभएको उनले सुनाए ।

छोरीको सम्झनाका नाममा एउटा तस्बिर सिवाय केही नभएको आमा कृष्णकुमारीले सुनाइन् । ‘त्यसबेला उतिधेरै फोटो खिच्ने चलन थिएन,’ उनले भनिन्, ‘छोरीले स्टुडियोमा गएर खिचेको एउटा तस्बिर थियो । त्यही तस्बिर सँगालेर राखेकी छु ।’

माओवादी पार्टीकै सिफारिसमा उनले जिल्ला हुलाक कार्यालयमा डाँक बोक्ने काम गरे । ६० वर्षे उमेर हदका कारण त्यो जागिर पनि ५ वर्ष चलेको खगेन्द्र बताउँछन् । अरू सत्ता चलाउने ठाउँमा हुँदा र आफ्नो छोरी गुम्दा घर–परिवारमा नमिठो लाग्ने उनले सुनाए । हक्की स्वभाव, निडर भएर प्रस्तुत हुने र केही गर्नुपर्दा म गर्छु भनेर अघि सर्ने भएकाले बाँची राखेको भए छोरी पनि सांसद, मन्त्री हुन्थिन् होला । नभए पनि मेयररउपमेयर त पक्कै बन्थिन् होला जस्तो अनुभूति बाबुआमालाई लाग्ने गरेको छ ।

‘दिवंगत नै हुँदा पनि हामीलाई सुकुम्वासी–मुक्त बनाइन्,’ खगेन्द्रले थपे, ‘अर्काको पाखो जग्गा कमाएर बसेका थियौं, मोहीयानी दाबी गर्दा ६ लाख मूल्यांकन भयो । त्यही छोरीका नाममा आएको पैसाबाट तीन लाख दिएर जग्गा निखने र बाँकीले घर बनाएँ ।’ गाईभैसी लगायतका पशु चौपाया पाल्ने र खेती किसानी गर्ने खगेन्द्र भने अहिले माओवादी पार्टीमा आबद्ध छैनन् ।

‘पार्टीका केही नेताले हप्कीदप्की गरेपछि पार्टी नै छोडें,’ उनले भने । पुराना वामपन्थी उनी अहिले मूल पार्टी एमालेमै फर्किएको बताउँछन् । ‘तर एमालेमा पनि कहिलेकाहीं जुनियर कार्यकर्ताले जथाभावी कुरा गर्दा चित्त दुख्छ,’ उनले भने  । कान्तिपुर दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending