Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

दुर्घटनाको ‘इपिसेन्टर’ बन्दै मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड

पछिल्लो आठ महिनामा १०९ दुर्घटना, १२ को मृत्यु, २११ घाइते

तस्विरः बिदुर कटुवाल, उदयपुर
खबरडबली संवाददाता

उदयपुर । गत १० फागुनमा मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ अँधेरी–झर्ना–जोगीटोल खण्डमा एउटा तीनपांग्रे अटो रिक्सा दुर्घटना भयो । तीनजना घाइते भए । त्यसको दुई दिनअघि ८ फागुनमा जोगीटोलमै ट्रक र बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु, २६ जना घाइते भए । 

दुई दिनअघिपछि भएका दुई दुर्घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । पूर्व–पश्चिम नेपाललाई जोड्ने मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा सप्तकोशीको चतरादेखि कटारीको ककुरखोलासम्म झन्डै १०९ किलोमिटर पर्छ । जसमा उदयपुरमा हुने अधिकांश सवारी दुर्घटनाको तथ्यांकमा मदन भण्डारी लोकमार्ग खण्ड अगाडि छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार लोकमार्गको उदयपुर खण्डमा हुने सवारी दुर्घटनाको अवस्था भयावह छ । चालू आर्थिक वर्ष ०८१/८२ को १० फागुनसम्म उदयपुरमा १४६ वटा दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । २९३ घाइते भएका छन् । मदन भण्डारी लोकमार्गमा मात्र १०९ दुर्घटना समावेश भएका छन् । जसमा १२ को मृत्यु हुँदा २११ जना घाइते भएका छन् ।

गत आर्थिक वर्ष ०८०/८१ मा उदयपुरमा २०९ दुर्घटनामा ३२ को मृत्यु र ४२० जना घाइते भएका थिए । जसमा मदन भण्डारी लोकमार्गमा १६९ सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु र १९८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ । आव ०७९र८० मा उदयपुरमा ३३७ दुर्घटनामा ४१७ जना घाइते हुँदा १९ जनाको मृत्यु भएको थियो । जसमध्ये मदन भण्डारी लोकमार्गमा १३२ दुर्घटनामा परी १६७ घाइते र १६ जनाको मृत्यु भएको थियो । यसरी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकलको संख्या धेरै छ । तीनै आर्थिक वर्षको तथ्यांक हेर्दा मोटरसाइकल २६४ वटा दुर्घटना हुँदा ३३ जनाको मृत्यु, ३८१ जना घाइते भएका छन् । 

उदयपुरमा सगरमाथा लोकमार्ग त्रियुगा नगरपालिकाको लालपत्ताबाट रौतामाई गाउँपालिकाको फोक्सिनटारसम्म खण्ड पर्दछ । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड, मदन भण्डारी लोकमार्गको सप्तकोशी–चतरा–कटारी–ककुरखोला खण्ड, बेतेनी–रूपाटार सडक, मुकुर्ची, लिम्चुङबुङलगायत दर्जनौँ ग्रामीण सडक छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का भन्छन्, ‘उदयपुरमा हुने सवारी दुर्घटनामध्ये मदन भण्डारी लोकमार्गमा धेरै हुने गरेको पाइन्छ । कुल दुर्घटनामा ७८ प्रतिशतभन्दा बढी मदन भण्डारी लोकमार्ग खण्डमा हुने गरेको छ ।’

मदन भण्डारी लोकमार्गको सप्तकोशी चतरादेखि कटारी ककुरखोला खण्डमध्ये उदयपुरगढी गाउँपालिका– ७ अँधेरीको झर्नादेखि जोगीटोल खण्डमा धेरै सवारी दुर्घटना हुने गरेको छ । सो खण्डमा जम्मा तीन किलोमिटर सडक पर्दछ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्यांकअनुसार ३ मंसिर ०७८ देखि १० फागुनसम्म अँधेरीको झर्नादेखि जोगीटोल खण्डमामा २४ वटा दुर्घटना भएका थिए । जसमा १० जनाको मृत्यु र १५६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयुरका प्रमुख खड्का भन्छन्, ‘मदन भण्डारी लोकमार्गअन्तर्गत झर्नादेखि जोगीटोल खण्डमा धेरै दुर्घटना हुने गरेको पाइन्छ । भौगोलिक रूपमा सडक उकालो र ओरालो, घुम्ती पर्छ । जहाँ ठुला चारपांग्रे सवारी ब्रेक फेल भएर र दुईपांग्रे मोटरसाइकल र साना चारपांग्रे तीव्र गति भएका कारण दुर्घटना हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।’ झर्ना–जोगीटोल खण्ड दुर्घटनाको इपिसेन्टरका रूपमा दर्ज भएको छ । जोगीटोलमा धेरै सवारी दुर्घटना भएर मान्छेको मृत्यु हुन थालेपछि स्थानीयले मन्दिरसमेत बनाएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा पर्ने झन्डै दुई दर्जन ठाउँलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरेको छ । जसमा बेलका नगरपालिकामा पर्ने बाकुन्द्रे खोला, मुस्कानचोक, घुम्ने, चौदण्डीगढी नगरपालिकामा पर्ने द्ववार खोला पुल, इक्राहा, फुलजोर, त्रियुगा नगरपालिकाका चुरे, भातीखर्क, झिल्केटोल, झोडा खण्ड, उदयपुरगढी गाउँपालिकामा पर्ने अँधेरी–जोगीटोल खण्ड, तीनचोके खण्ड, कटारी नगरपालिकाको बिजुले मोड, भुल्के र डाङडुङेमाड पर्छन् । 

दुर्घटना न्यूनीकरणका लागि के–के गर्दै छ ट्राफिक प्रहरी ?
०७७ पछि दुई लेन भएको मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको हो । अहिले पूर्वी नेपाल र काठमाडौंको दूरी छोटो बनेको छ । दैनिक हजारौँ सवारीसाधन गुड्ने गरेका छन् । उदयपुरको भित्री मधेशका लागि आर्थिक समृद्धिको मार्ग कोर्ने सडक पनि हो यो । यही सडकमा सवारीसाधनलाई प्रतिघण्टा ४० किलोमिटर स्पिड कायम गरिएको छ । 

भित्री मधेशमा पर्ने बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकालाई मदन भण्डारी लोकमार्गले देशका ठुला सहरसँग जोेडेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङ भन्छन्, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षालाई मजबुत बनाउने गरी ट्राफिक गस्ती बढाएका छौँ । दुर्घटनाग्रस्त क्षेत्रमा दुर्घटना सचेतनासम्बन्धी बोर्ड राखेका छौँ ।’ उनले विभिन्न संघसंस्थाको सहयोगमा घुम्तीमा प्लास्टिक, टिनका ड्रम, कन्भेक्स मिरर, गाईघाट बजार क्षेत्रमा ट्राफिक लाइटको व्यवस्था गरिएको बताए ।

सडकको भौगोलिक अवस्था अध्ययन गर्न माग

अत्यधिक सवारी दुर्घटना हुन थालेपछि सरोकारवालाले सडकको भौगोलिक अवस्थाको अध्ययन गर्न जरुरी रहेको बताउन थालेका छन् । केही दिनअघि कोशी प्रदेश सभा सदस्य नारायण बुर्जामगरले लोकमार्गको उदयपुर खण्डमा धेरै दुर्घटना भएर अकालमै मानिसको ज्यान जाने गरेको भन्दै संघीय सरकारलाई ध्यानकर्षण गराएका थिए । ‘सडक पिच र ठुलो छ । तर, घुम्ती नै घुम्ती भएकाले दुर्घटना हुने गरेको छ । 

सीधा हुनुपर्ने सडक पनि घुम्ती बनाइएको छ । यो के कारणले भएको हो ?  संघीय सरकारले यसतर्फ ध्यान दिन माग गर्दछु,’ उनले भने । माओवादी जिल्ला समन्वय समिति उदयपुरका संयोजक विनोद कटुवालले मदन भण्डारी लोकमार्ग उदयपुर खण्ड हाइवे मापदण्डविपरीत भएकाले दुर्घटना हुने गरेको बताए । ‘प्रशस्त भूगोल भएका ठाउँमा पनि घुमाउरो सडक बनाइएको छ । धेरै स्थानमा बांगोटिंगो छ । मोड धेरै छन् । जसकारण दुर्घटना बढ्ने गरेको छ । सडकको भौगोलिक अवस्थाको अध्ययन हुन जरुरी छ,’ उनले भने । यो समाचार उदयपुरबाट विदुर कटुवालले नयाँ पत्रिकामा लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending