Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

स्ववियुको नर्सरीबाट राज्यशक्तिको नेतृत्वसम्म

खबरडबली संवाददाता

काठमाडौं ।  मुलुकको सबैभन्दा उच्च ओहदा, कार्यकारी प्रमुख र पार्टी नेतृत्व गर्नेको राजनीतिक अभ्यास र सिकाइको मुख्य आधार ‘विद्यार्थी राजनीति’ भए पनि पछिल्लो समय त्यसको प्रजातान्त्रिक अभ्यास गर्ने प्रक्रिया स्ववियु निर्वाचन भने ओझेलमा पर्दै गएको छ । निर्वाचन नगर्ने वा हुन नदिने, ढिलाइ गर्ने, अवरोध गर्नेजस्ता प्रवृत्तिले विद्यार्थीको राजनीतिक नेतृत्व विकास ठप्प बनेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल हुन् वा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वसभामुख दमननाथ ढुंगाना, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, लोसपा अध्यक्ष महन्थ ठाकुर र माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा विद्यार्थी राजनीतिबाटै खारिएर आएका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, कांग्रेसका अन्य नेताहरू विमलेन्द्र निधि, एनपी साउद, दीपक गिरी, बालकृष्ण खाँण, आनन्द ढुंगाना, गोविन्दबहादुर शाह, सुरेन्द्र पाण्डे, सुरेन्द्र चौधरी, युवराज खाती, किशोरसिंह राठौर र महेन्द्र यादवलगायत पनि स्ववियु राजनीतिकै ‘उत्पादन’ हुन् ।

एमाले नेताहरू कोशीका मुख्यमन्त्री हिक्मत कार्की, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमन्त्री योगेश भट्टराई, खगराज अधिकारी, पदम गिरी र ठाकुर गैरे पनि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दै यहाँसम्म आइपुगेका हुन् । एकीकृत समाजवादीका नेता कोशीका पूर्वमुख्यमन्त्री राजेन्द्र राई पनि स्ववियु सभापति थिए ।

काठमाडौंमा ६ दशकअघि २२ विद्यालयका विद्यार्थीले स्ववियुको माग गर्दै आन्दोलन गरेका थिए, त्यसको अग्रपंक्तिमा रामचन्द्र पौडेल थिए । पछि सरस्वती बहुमुखी क्याम्पस, ठमेलमा अध्ययन गर्दा २०२३ मा उनी स्ववियु सभापति बने । उनी अहिले राष्ट्रपति छन् ।

पूर्वराष्ट्रपति भण्डारी महेन्द्र मोरङ क्याम्पसकी पूर्वस्ववियु कोषाध्यक्ष हुन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा २०२७/२८ मा केन्द्रीय क्याम्पस कीर्तिपुरमा भएको स्ववियु चुनावमा सभापति पदको प्रतिस्पर्धी थिए । त्यति बेला उनले चुनाव हारे तर त्यसैको जगमा राजनीतिमा उदाएका उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । दुई पटक संविधानसभा अध्यक्ष र पटक–पटक सभामुख भएका एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङ २०२९ मा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापति थिए । पूर्वसभामुख ढुंगाना २०१९ सालमै केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति भएका थिए ।

विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थीको हकहित रक्षाका लागि आवाज उठाउने साझा निकायका स्ववियुलाई चिन्ने गरिन्छ । त्यही स्ववियुको राजनीतिबाट उदाएर मूलधारका दलमा प्रवेश गर्दै राज्यका महत्त्वपूर्ण पदमा पुगेका नेता दर्जनौं छन् । एमाले महासचिव पोखरेल, कांग्रेस महामन्त्री थापा, लोसपा अध्यक्ष ठाकुरले स्ववियु हुँदै दलीय राजनीति अघि बढाएका हुन् । पोखरेल केन्द्रीय क्याम्पस तथा ठाकुर राराब क्याम्पस जनकपुरका पूर्वस्ववियु सभापति हुन् । माओवादी उपाध्यक्ष महराको राजनीतिक पृष्ठभूमि पनि स्ववियुमा जोडिन्छ । एक पटक सभामुख र पटक–पटक मन्त्री भएका उनी पीएन क्याम्पस पोखरामा स्ववियु कोषाध्यक्ष भएका थिए ।

कांग्रेसका महामन्त्री थापा २०५५ मा काठमाडौंको त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । अर्का महामन्त्री शर्मा पनि स्ववियु चुनावका प्रतिस्पर्धी हुन् । शर्मा मेची बहुमुखी क्याम्पसमा २०४३ सालमा स्ववियु सदस्य र २०४५ मा सहसचिव पदका उम्मेदवार थिए । तर दुवै पटक उनले चुनाव हारे । राजनीतिक यात्रा अघि बढ्दै गयो । शर्मा २०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बने । उनी विद्यार्थी राजनीतिको एउटै र साझा प्लाटफर्म स्ववियु रहेको बताउँछन् । ‘विद्यार्थी राजनीतिबाट सिक्दै नेतृत्व विकास हुने हो,’ उनले भने ।

स्वास्थ्यमन्त्री पौडेल र संस्कृति तथा पर्यटनमन्त्री पाण्डे पनि पूर्वस्ववियु सभापति हुन् । पौडेल २०५३ मा अमृत साइन्स क्याम्पस (अस्कल) मा र पाण्डे २०५५ मा वाल्मीकि क्याम्पसमा नेविसंघबाट स्ववियु सभापति निर्वाचित भएका थिए । २२ वर्षको उमेरमै स्ववियु सभापति बनेका पौडेल त्यति बेला विज्ञान अध्ययनका लागि देशैभरको केन्द्र मानिने अस्कलमा हुने स्ववियु चुनावले ठूलो महत्त्व राख्ने गरेको सम्झिन्छन् । ‘विद्यार्थी आन्दोलन राष्ट्रिय तहको शक्ति लाग्थ्यो,’ उनले भने, ‘चुनावमा भौतिक रस्साकसी पनि हुन्थ्यो । तर विषयगत बहस तथा शैक्षिक माग चर्चाका विषय हुन्थे ।’ त्यति बेला स्ववियुमाथि विद्यार्थी, अभिभावक र कलेज प्रशासन सबैतिरको भरोसा देखिने गरेको पौडेलले सम्झिए ।

कांग्रेसका नेता निधि, साउद, गिरी, खाँण, ढुंगाना, शाह, पाण्डे, सुरेन्द्र, खाती, राठौर र यादवलगायत पनि स्ववियुको राजनीतिबाट आएका हुन् । २०३७ मा सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा स्ववियु सचिव रहेका पूर्वपरराष्ट्रमन्त्री साउद राजनीतिक दल प्रतिबन्धित रहेका बेला चुनावी राजनीतिको केन्द्र नै स्ववियु हुने गरेको बताए ।

एमाले नेता कोशीका मुख्यमन्त्री कार्की, गण्डकीका पूर्वमुख्यमन्त्री अधिकारी, गैरेलगायतका नेता स्ववियुबाटै मूलधारको राजनीतिमा स्थापित भएका हुन् । पूर्वमन्त्री दिवंगत रवीन्द्र अधिकारी पनि स्ववियुबाटै राजनीतिमा उदाएका थिए । कोशीका पूर्वमुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राई २०४९ मा रत्नराज्य क्याम्पसको स्ववियु सभापति भएका थिए । एमाले सचिव एवं पूर्वमन्त्री भट्टराई महेन्द्ररत्न क्याम्पस ताहाचलका पूर्वस्ववियु सभापति हुन् ।

पीएन क्याम्पस पोखराका पूर्वस्ववियु सभापति एमाले सांसद तथा पूर्वमन्त्री पदम गिरी विगतमा स्ववियुको निर्वाचन राजनीतिक परिवर्तनमा केन्द्रित हुने गरेको बताउँछन् । ‘ठूलो बलिदानीबाट प्राप्त स्ववियुको उपलब्धिको मर्मलाई अहिले नबुझेको देखिन्छ । स्ववियुमा आफूले जित्ने भए ठीक, नजित्ने भए बिथोल्ने काम भइरहेको छ,’ उनले भने, ‘अब शिक्षा क्षेत्रको विकासमा बहसतर्फ केन्द्रित हुनुपर्छ । क्याम्पसमा शैक्षिक वातावरण अनुशासित, मर्यादित, वैचारिक हुनुपर्छ ।’

राष्ट्रिय सभाकी पूर्वउपाध्यक्ष उर्मिला अर्याल ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जकी पूर्वस्ववियु सभापति हुन् । माओवादीका नेता तथा पूर्वमन्त्री बिना मगर, हिमाल शर्मा पनि स्ववियु राजनीतिबाट अगाडि आएका हुन् । मगर सरस्वती क्याम्पसकी पूर्वस्वविय सभापति हुन् । मधेशकेन्द्रित मुद्दाबाट राजनीतिमा पहिचान बनाएका मधेश प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव तथा पूर्वसांसद प्रमोद साह दुवै रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरका पूर्वस्ववियु सभापति हुन् ।

जनकपुरका पूर्वमेयर वृषेशचन्द्र लाल र लालकिशोर साह, प्रदेशका पूर्वमन्त्रीहरू शैलेन्द्र साह, महेश यादव, योगेन्द्र राय यादवलगायतका नेता स्ववियु हुँदै दलीय राजनीतिमा आएका छन् । तमलोपा अध्यक्ष लाल २०३० मा राराब क्याम्पसमा स्ववियु सभापतिमा प्रतिस्पर्धी थिए । लालका अनुसार त्यही कलेजबाट लोसपा अध्यक्ष ठाकुर २०२५ ताका स्ववियु सभापति निर्वाचित भएका थिए । कांग्रेस नेता निधि भने २०२९/३० तिर स्ववियु सचिव भएको उनी सम्झिन्छन् ।

पछिल्लो पुस्तामा मानुषी यमी भट्टराई, प्रतिमा गौतमसहितका नेता पनि स्ववियु राजनीतिबाट दलीय राजनीतिमा प्रवेश गरेका हुन् । भट्टराई अहिले नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी उपाध्यक्ष छिन् । गौतम कांग्रेसबाट प्रतिनिधिसभा सदस्य छिन् । स्ववियु राजनीतिका पृष्ठभूमि भएका व्यक्तिहरू समाजका अन्य क्षेत्रमा पनि स्थापित भएका छन् । कोही प्राध्यापक छन्, कोही राजदूत भएका छन् ।

पीएन क्याम्पस पोखराका पूर्वस्ववियु सभापति एवं विश्लेषक झलक सुवेदीका अनुसार निरंकुश राजतन्त्रका बेला कठिनाइ सामना गर्ने माध्यम स्ववियु थियो । ‘वामपन्थीले नयाँ जनवादी क्रान्ति गर्न र उदारवादीले संसदीय प्रणालीमा जान स्ववियु निर्वाचनलाई माध्यम बनाएका थिए,’ उनले भने ‘२०६२/०६३ को आन्दोलनमा पनि स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले मिसनका रूपमा प्रयोग गरेका थिए । तर पछिल्लो समय स्ववियु निर्वाचनका नाममा मण्डले चरित्र देखिन थालेको छ । जसको शक्ति जहाँ छ, त्यहाँ कमजोरमाथि आक्रमण हुने गरेको छ ।’ स्ववियु निर्वाचनमा शैक्षिक क्षेत्रका गफ भए पनि व्यवहारमा कार्यान्वयनमा नआउने गरेको उनले बताए ।

कांग्रेस महामन्त्री शर्मा अबको विद्यार्थी आन्दोलन शैक्षिक, सामाजिक र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुनुपर्ने बताउँछन् । पूर्वस्ववियु सभापति एवं स्वास्थ्यमन्त्री पौडेल स्ववियुलाई लिएर पछिल्लो समय नकारात्मक टीकाटिप्पणी बढ्दै जानु चिन्ताको विषय रहेको बताए । ‘कलेजभित्र शैक्षिक वातावरण बनाउने, बेथितिविरुद्ध बोल्ने दबाब समूहका रूपमा स्ववियु स्थापित हुनुपर्छ,’ उनले भने । कान्तिपुर दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending