काठमाडौं । मुलुकको सबैभन्दा उच्च ओहदा, कार्यकारी प्रमुख र पार्टी नेतृत्व गर्नेको राजनीतिक अभ्यास र सिकाइको मुख्य आधार ‘विद्यार्थी राजनीति’ भए पनि पछिल्लो समय त्यसको प्रजातान्त्रिक अभ्यास गर्ने प्रक्रिया स्ववियु निर्वाचन भने ओझेलमा पर्दै गएको छ । निर्वाचन नगर्ने वा हुन नदिने, ढिलाइ गर्ने, अवरोध गर्नेजस्ता प्रवृत्तिले विद्यार्थीको राजनीतिक नेतृत्व विकास ठप्प बनेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल हुन् वा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वसभामुख दमननाथ ढुंगाना, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, लोसपा अध्यक्ष महन्थ ठाकुर र माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा विद्यार्थी राजनीतिबाटै खारिएर आएका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, कांग्रेसका अन्य नेताहरू विमलेन्द्र निधि, एनपी साउद, दीपक गिरी, बालकृष्ण खाँण, आनन्द ढुंगाना, गोविन्दबहादुर शाह, सुरेन्द्र पाण्डे, सुरेन्द्र चौधरी, युवराज खाती, किशोरसिंह राठौर र महेन्द्र यादवलगायत पनि स्ववियु राजनीतिकै ‘उत्पादन’ हुन् ।
एमाले नेताहरू कोशीका मुख्यमन्त्री हिक्मत कार्की, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमन्त्री योगेश भट्टराई, खगराज अधिकारी, पदम गिरी र ठाकुर गैरे पनि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दै यहाँसम्म आइपुगेका हुन् । एकीकृत समाजवादीका नेता कोशीका पूर्वमुख्यमन्त्री राजेन्द्र राई पनि स्ववियु सभापति थिए ।
काठमाडौंमा ६ दशकअघि २२ विद्यालयका विद्यार्थीले स्ववियुको माग गर्दै आन्दोलन गरेका थिए, त्यसको अग्रपंक्तिमा रामचन्द्र पौडेल थिए । पछि सरस्वती बहुमुखी क्याम्पस, ठमेलमा अध्ययन गर्दा २०२३ मा उनी स्ववियु सभापति बने । उनी अहिले राष्ट्रपति छन् ।
पूर्वराष्ट्रपति भण्डारी महेन्द्र मोरङ क्याम्पसकी पूर्वस्ववियु कोषाध्यक्ष हुन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा २०२७/२८ मा केन्द्रीय क्याम्पस कीर्तिपुरमा भएको स्ववियु चुनावमा सभापति पदको प्रतिस्पर्धी थिए । त्यति बेला उनले चुनाव हारे तर त्यसैको जगमा राजनीतिमा उदाएका उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । दुई पटक संविधानसभा अध्यक्ष र पटक–पटक सभामुख भएका एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङ २०२९ मा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापति थिए । पूर्वसभामुख ढुंगाना २०१९ सालमै केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति भएका थिए ।
विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थीको हकहित रक्षाका लागि आवाज उठाउने साझा निकायका स्ववियुलाई चिन्ने गरिन्छ । त्यही स्ववियुको राजनीतिबाट उदाएर मूलधारका दलमा प्रवेश गर्दै राज्यका महत्त्वपूर्ण पदमा पुगेका नेता दर्जनौं छन् । एमाले महासचिव पोखरेल, कांग्रेस महामन्त्री थापा, लोसपा अध्यक्ष ठाकुरले स्ववियु हुँदै दलीय राजनीति अघि बढाएका हुन् । पोखरेल केन्द्रीय क्याम्पस तथा ठाकुर राराब क्याम्पस जनकपुरका पूर्वस्ववियु सभापति हुन् । माओवादी उपाध्यक्ष महराको राजनीतिक पृष्ठभूमि पनि स्ववियुमा जोडिन्छ । एक पटक सभामुख र पटक–पटक मन्त्री भएका उनी पीएन क्याम्पस पोखरामा स्ववियु कोषाध्यक्ष भएका थिए ।
कांग्रेसका महामन्त्री थापा २०५५ मा काठमाडौंको त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । अर्का महामन्त्री शर्मा पनि स्ववियु चुनावका प्रतिस्पर्धी हुन् । शर्मा मेची बहुमुखी क्याम्पसमा २०४३ सालमा स्ववियु सदस्य र २०४५ मा सहसचिव पदका उम्मेदवार थिए । तर दुवै पटक उनले चुनाव हारे । राजनीतिक यात्रा अघि बढ्दै गयो । शर्मा २०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बने । उनी विद्यार्थी राजनीतिको एउटै र साझा प्लाटफर्म स्ववियु रहेको बताउँछन् । ‘विद्यार्थी राजनीतिबाट सिक्दै नेतृत्व विकास हुने हो,’ उनले भने ।
स्वास्थ्यमन्त्री पौडेल र संस्कृति तथा पर्यटनमन्त्री पाण्डे पनि पूर्वस्ववियु सभापति हुन् । पौडेल २०५३ मा अमृत साइन्स क्याम्पस (अस्कल) मा र पाण्डे २०५५ मा वाल्मीकि क्याम्पसमा नेविसंघबाट स्ववियु सभापति निर्वाचित भएका थिए । २२ वर्षको उमेरमै स्ववियु सभापति बनेका पौडेल त्यति बेला विज्ञान अध्ययनका लागि देशैभरको केन्द्र मानिने अस्कलमा हुने स्ववियु चुनावले ठूलो महत्त्व राख्ने गरेको सम्झिन्छन् । ‘विद्यार्थी आन्दोलन राष्ट्रिय तहको शक्ति लाग्थ्यो,’ उनले भने, ‘चुनावमा भौतिक रस्साकसी पनि हुन्थ्यो । तर विषयगत बहस तथा शैक्षिक माग चर्चाका विषय हुन्थे ।’ त्यति बेला स्ववियुमाथि विद्यार्थी, अभिभावक र कलेज प्रशासन सबैतिरको भरोसा देखिने गरेको पौडेलले सम्झिए ।
कांग्रेसका नेता निधि, साउद, गिरी, खाँण, ढुंगाना, शाह, पाण्डे, सुरेन्द्र, खाती, राठौर र यादवलगायत पनि स्ववियुको राजनीतिबाट आएका हुन् । २०३७ मा सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा स्ववियु सचिव रहेका पूर्वपरराष्ट्रमन्त्री साउद राजनीतिक दल प्रतिबन्धित रहेका बेला चुनावी राजनीतिको केन्द्र नै स्ववियु हुने गरेको बताए ।
एमाले नेता कोशीका मुख्यमन्त्री कार्की, गण्डकीका पूर्वमुख्यमन्त्री अधिकारी, गैरेलगायतका नेता स्ववियुबाटै मूलधारको राजनीतिमा स्थापित भएका हुन् । पूर्वमन्त्री दिवंगत रवीन्द्र अधिकारी पनि स्ववियुबाटै राजनीतिमा उदाएका थिए । कोशीका पूर्वमुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राई २०४९ मा रत्नराज्य क्याम्पसको स्ववियु सभापति भएका थिए । एमाले सचिव एवं पूर्वमन्त्री भट्टराई महेन्द्ररत्न क्याम्पस ताहाचलका पूर्वस्ववियु सभापति हुन् ।
पीएन क्याम्पस पोखराका पूर्वस्ववियु सभापति एमाले सांसद तथा पूर्वमन्त्री पदम गिरी विगतमा स्ववियुको निर्वाचन राजनीतिक परिवर्तनमा केन्द्रित हुने गरेको बताउँछन् । ‘ठूलो बलिदानीबाट प्राप्त स्ववियुको उपलब्धिको मर्मलाई अहिले नबुझेको देखिन्छ । स्ववियुमा आफूले जित्ने भए ठीक, नजित्ने भए बिथोल्ने काम भइरहेको छ,’ उनले भने, ‘अब शिक्षा क्षेत्रको विकासमा बहसतर्फ केन्द्रित हुनुपर्छ । क्याम्पसमा शैक्षिक वातावरण अनुशासित, मर्यादित, वैचारिक हुनुपर्छ ।’
राष्ट्रिय सभाकी पूर्वउपाध्यक्ष उर्मिला अर्याल ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जकी पूर्वस्ववियु सभापति हुन् । माओवादीका नेता तथा पूर्वमन्त्री बिना मगर, हिमाल शर्मा पनि स्ववियु राजनीतिबाट अगाडि आएका हुन् । मगर सरस्वती क्याम्पसकी पूर्वस्वविय सभापति हुन् । मधेशकेन्द्रित मुद्दाबाट राजनीतिमा पहिचान बनाएका मधेश प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव तथा पूर्वसांसद प्रमोद साह दुवै रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरका पूर्वस्ववियु सभापति हुन् ।
जनकपुरका पूर्वमेयर वृषेशचन्द्र लाल र लालकिशोर साह, प्रदेशका पूर्वमन्त्रीहरू शैलेन्द्र साह, महेश यादव, योगेन्द्र राय यादवलगायतका नेता स्ववियु हुँदै दलीय राजनीतिमा आएका छन् । तमलोपा अध्यक्ष लाल २०३० मा राराब क्याम्पसमा स्ववियु सभापतिमा प्रतिस्पर्धी थिए । लालका अनुसार त्यही कलेजबाट लोसपा अध्यक्ष ठाकुर २०२५ ताका स्ववियु सभापति निर्वाचित भएका थिए । कांग्रेस नेता निधि भने २०२९/३० तिर स्ववियु सचिव भएको उनी सम्झिन्छन् ।
पछिल्लो पुस्तामा मानुषी यमी भट्टराई, प्रतिमा गौतमसहितका नेता पनि स्ववियु राजनीतिबाट दलीय राजनीतिमा प्रवेश गरेका हुन् । भट्टराई अहिले नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी उपाध्यक्ष छिन् । गौतम कांग्रेसबाट प्रतिनिधिसभा सदस्य छिन् । स्ववियु राजनीतिका पृष्ठभूमि भएका व्यक्तिहरू समाजका अन्य क्षेत्रमा पनि स्थापित भएका छन् । कोही प्राध्यापक छन्, कोही राजदूत भएका छन् ।
पीएन क्याम्पस पोखराका पूर्वस्ववियु सभापति एवं विश्लेषक झलक सुवेदीका अनुसार निरंकुश राजतन्त्रका बेला कठिनाइ सामना गर्ने माध्यम स्ववियु थियो । ‘वामपन्थीले नयाँ जनवादी क्रान्ति गर्न र उदारवादीले संसदीय प्रणालीमा जान स्ववियु निर्वाचनलाई माध्यम बनाएका थिए,’ उनले भने ‘२०६२/०६३ को आन्दोलनमा पनि स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले मिसनका रूपमा प्रयोग गरेका थिए । तर पछिल्लो समय स्ववियु निर्वाचनका नाममा मण्डले चरित्र देखिन थालेको छ । जसको शक्ति जहाँ छ, त्यहाँ कमजोरमाथि आक्रमण हुने गरेको छ ।’ स्ववियु निर्वाचनमा शैक्षिक क्षेत्रका गफ भए पनि व्यवहारमा कार्यान्वयनमा नआउने गरेको उनले बताए ।
कांग्रेस महामन्त्री शर्मा अबको विद्यार्थी आन्दोलन शैक्षिक, सामाजिक र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुनुपर्ने बताउँछन् । पूर्वस्ववियु सभापति एवं स्वास्थ्यमन्त्री पौडेल स्ववियुलाई लिएर पछिल्लो समय नकारात्मक टीकाटिप्पणी बढ्दै जानु चिन्ताको विषय रहेको बताए । ‘कलेजभित्र शैक्षिक वातावरण बनाउने, बेथितिविरुद्ध बोल्ने दबाब समूहका रूपमा स्ववियु स्थापित हुनुपर्छ,’ उनले भने । कान्तिपुर दैनिकबाट
प्रतिकृया लेख्नुहोस्: