रुकुमपश्चिम । रुकुमपश्चिमका विभिन्न विद्यालयहरुले वैशाख २ देखि हुने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । शिक्षा ऐनको माग गर्दै काठमाडौंमा भइरहेको आम शैक्षिक हड्तालका कारण विद्यालयमा भर्ना अभियान लगायतका कार्यक्रमहरु स्थगित गरिएको विद्यालयले जनाएका छन् ।
जिल्लाको मुसीकोट नगरपालिका –१ खलङगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले एक सूचना जारी गर्दै भर्ना अभियान स्थगित गरिएको जानकारी दिए । उनले गत चैत २० गतेदेखि शिक्षक महासंघको नेतृत्वमा राजधानीकेन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल चलिरहेकोले आजदेखि हुने भनिएको भर्ना अभियान स्थगन गरिएको बताए । प्रधानाध्यापक केसीले अर्को सूचना जारी नभएसम्मका लागि विद्यार्थी भर्ना अभियान लगायतका सम्पूर्ण कार्यक्रमहरु नहुने उल्लेख गरे ।
त्यसैगरी, त्रिवेणी गाउँपालिका –७ मुरुडाँडामा रहेको साधारण माध्यमिक विद्यालयले पनि भर्ना अभियान स्थगित गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक भीमबहादुर बुढाथोकीले वैशाख २ गतेबाट हुने भनिएको विद्यार्थी भर्ना अभियान लगायतका कार्यक्रममहरु शिक्षकहरुको आन्दोलन तथा अनिश्चितकालिन आम हड्तालका कारण स्थगन गर्नुपरेको जनाए ।
जिल्लाका अन्य विद्यालयहरुले पनि भर्ना अभियान सञ्चालन गरेका छैनन् । देशभरबाट राजधानीकेन्द्रित शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन चर्काउने उनीहरुको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: