ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडक खण्डमा लत्रिएको विद्युतको तारका कारण करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागी घटनामा परी मृत्यु भएका चार जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।
प्रहरीका अनुसार मृतकका शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार मृतकमध्ये तीन जनाको शव सोमबार साँझ नै र एक जनाको शव मङ्गलबार बिहान पोष्टमार्टम सकेर आफन्तको जिम्मा लगाइएको हो ।
ललितपुर महानगरपालिका–१० का १६ वर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का पौडेल दम्पत्ती ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरीता पौडेलको शव सोमबार साँझ आफन्तलाई बुझाएको रावलले जानकारी दिए । रावलका अनुसार सवारी चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराईको शव भने पोष्टमार्टमपछि मङ्गलबार आफन्तको जिम्मा लगाइएको छ । पाथीभरा दर्शनमा आएका तीर्थयात्री सवार मे १ ज ३०११ नम्बरको बोलेरो जिपमा लत्रिएको विद्युतीय तारले छोएर करेन्ट प्रवाह भई आगलागी भएको थियो ।
सोमबार बिहान ५ बजेको समयमा सुकेटार–पाथीभरा सडकअन्तर्गत सेवारोचौक खण्डमा भएको सो दुर्घटनामा चार जनाको जलेर घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सविना आचार्य र १० वर्षीय बालक सविनाकी छोरा भविमय आचार्य घाइते भएका छन् । चालक भट्टराईबाहेक मृत्यु हुने र घाइते दुई जना एकै परिवारका हुन् । मृतक आध्या सविना आचार्यकै छोरी हुन् ।
प्रतिकृया लेख्नुहोस्: