काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरे।
“दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।”
उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तै, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरिन्।
परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छन्।
“नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ”, एक्समा लेखेकी छन्।
परराष्ट्रमन्त्री डा देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताइन्।
प्रतिकृया लेख्नुहोस्: