सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक्स्काभेटर प्रयोग गरेर ढुंगा झिक्ने क्रममा पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ । नवलपरासी जिल्ला घर भएका अन्दाजी २५ वर्षका रमेश दराईको मृत्यु भएको हो ।
पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क गाउँस्थित बेलबहादुर श्रेष्ठको पाखोबारीमा ढुंगा झिकिरहेको अवस्थामा दुई सय मिटरमाथिबाट एक्कासी पहिरो आउँदा एक्स्काभेटर पुरिएको थियो । मेलम्ची नगरपालिका–८ केउरिनी निवासी १७ वर्षीय सहचालक उमेश गिरीले भागेर ज्यान बचाएका छन् ।
बिहान १० बजे पहिरोले पुरेको एक्स्काभेटरलाई दिउँसो ४ बजे जेसीबीको सहायताले निकालिएको थियो । प्रहरी चौकी तिपेनीका प्रहरी सहायक निरीक्षक गणेश थापाले दिएको जानकारीअनुसार एक्स्काभेटरले विद्यालयका लागि ढुंगा झिक्दै थियो । जेसीबीले ढुंगा पन्छाएर एक्स्काभेटर निकाल्दा चालकसिटमै दराईलाई मृत अवस्थामा फेला पारेको उनले बताए । एक्स्काभेटर पनि काम नलाग्ने गरी क्षतिग्रस्त बनेको छ ।
यता चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० काँडेमा ६० वर्षीय नुर्बु तामाङलाई गाउँकै एक युवाले खुर्पा प्रहार गरी घाइते बनाएका छन् । उनको गर्धनमा गहिरो चोट लागेको छ । अवस्था गम्भीर भएकाले उपचारका लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए ।
मानसिक सन्तुलन बिग्रिएको सोही गाउँका ३० वर्षीय सोमबहादुर तामाङले खेत जोतिरहेका नुर्बुलाई खुर्पाले प्रहार गरेका थिए । घटनालगत्तै भागेका दोषीलाई वडा नं. १३ बोक्सेबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिकृया लेख्नुहोस्: