काठमाडौं । कांग्रेसका ६ पूर्वपदाधिकारीले पार्टीको भावी नेतृत्व संस्थापनपक्षबाटै अघि सार्न पार्टीका सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेका छन् ।
संस्थापनइतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापामध्ये कुनै एकलाई देउवाले रोज्ने हुन् कि भन्ने आशंका बढिरहेका बेला पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र शशांक कोइरालाले संयुक्त अभियानमार्फत देउवामाथि दबाब बढाएका हुन् ।
विधानमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था रहेकाले देउवा १५ औं महाधिवेशनदेखि पार्टी नेतृत्वबाट निवृत्त हुँदैछन् । देउवाले दोस्रो कार्यकाल सुरुयता गुटको बैठकसमेत बोलाउन छाडेका छन् । उनले केही सीमित निकटस्थबाहेक पार्टी र सत्ता राजनीतिका विषयमा संस्थापनपक्षकै नेताहरूसँग परामर्शसमेत गर्न छाडेका छन् । यसले पनि पूर्वपदाधिकारीलाई अन्योलमा पारेको छ ।
देउवाको पछिल्लो भूमिकाले संस्थापनभित्रै अन्योल खडा भएको र संस्थापननिकट कतिपय नेताहरू नै शेखर र महामन्त्री गगनतिर नजिकिन थालेपछि ६ पूर्वपदाधिकारीको सक्रियता बढेको हो । उनीहरू देउवामाथि निरन्तर दबाब बढाएर आफूहरू मध्येबाटै एक जना उम्मेदवार बन्ने कसरतमा जुटेका छन् ।
आ–आफ्नो निवासमा आलोपालो लन्च र डिनर गर्दै आएका उनीहरूले गत बिहीबार लोकतन्त्र दिवसका अवसरमा पूर्वमहामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा सन्देशमूलक चियापान आयोजना गरेका थिए । चियापानमा पार्टीका धेरै नेताहरू अनुपस्थित रहे पनि ६ पूर्वपदाधिकारीहरूले पार्टी राजनीतिमा आफूहरूको सान्दर्भिकता कमजोर नभएको सन्देश दिन खोजेको एक पूर्वपदाधिकारीले बताए । उनका अनुसार सुरुवातमा सिंह, निधि र शशांकबीच गठजोड बनेको थियो । त्यसमा अरू तीन पूर्वपदाधिकारी थपिएका हुन् ।
पूर्वउपसभापति श्रेष्ठले ६ पूर्वपदाधिकारी आगामी महाधिवेशनसम्म सँगै जाने बताए । विभिन्न कालखण्डमा देउवालाई प्रधानमन्त्री र सभापति बनाउन सहयोग र समर्थन गर्नेहरू मध्येबाटै देउवाको उत्तराधिकारी तय हुने उनको दाबी छ ।
‘६ जनाको यो गठजोड १५ औं महाधिवेशनसम्मै जान्छ, त्यसमा अरू पनि थपिन्छन्’ श्रेष्ठले भने, ‘उम्मेदवार हुन त सबैले पाउने नै भए तर हामी बीचबाट मिलेरै नेतृत्वका लागि एक जनाको उम्मेदवारी पर्छ, सभापतिका लागि त्यस्तो व्यक्ति अघि सारिन्छ,जसको मातहतमा अरूलाई समेत चुनाव सहज हुन्छ ।’
संस्थापनपक्षबाट नेतृत्व लिन ६ जना नै आकांक्षी देखिएका छन् । संस्थापनपक्षबाट वर्तमान उपसभापति पूर्णबहादुर खड्का सभापतिका लागि आफूलाई स्वाभाविक दाबेदार ठान्छन् । ६ पूर्वपदाधिकारीमध्ये सिंह र निधिले १४ औं महाधिवेशनमै देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि सबैभन्दा बढी मत ल्याउने देउवा र इतरपक्षका नेता कोइरालाबीच दोस्रो चरणको निर्वाचनमा दुवै पूर्वपदाधिकारीले देउवालाई साथ दिएका थिए ।
पोखरामा सम्पन्न पार्टीको दसौं महाधिवेशनदेखि नै देउवालाई साथ दिएका निधिले १४ औं महाधिवेशनमा देउवा समूहबाटै विद्रोह गरेर उम्मेदवार दिएका थिए । पार्टी विभाजनका बखत देउवालाई साथ दिएका सिंह एकीकरणपश्चात् भने कोइराला समूहमा प्रवेश गरेका थिए । १२ औं महाधिवेशनमा सुशील कोइरालालाई र १३ औंमा रामचन्द्र पौडेललाई साथ दिएका सिंहले १४ औं महाधिवेशनमा भने ‘कोइराला’ समूहबाट विद्रोह गरेर आफैं सभापति उठेका थिए ।
१२ औं महाधिवेशनमा सुशील कोइरालालाई साथ दिएका सिटौलाले उनको निधनपछि कोइराला समूहको विरासत आफूले लिने भन्दै १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई समर्थन नगरी आफैं उम्मेदवार बनेका थिए । पहिलोपल्ट महामन्त्रीको प्रतिस्पर्धा गर्दा गगन थापासमेत सिटौला समूहबाटै उम्मेदवार बनेका थिए ।
१३ औं अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच चलेको मुख्य प्रतिस्पर्धामा पहिलो चरणमा कसैले पनि पचास प्रतिशत मत प्राप्त गर्न सकेनन् । दोस्रो चरणको निर्वाचनमा सिटौलाले देउवालाई साथ दिएकै कारण देउवा सभापतिमा निर्वाचित भएका थिए । त्यसयता सिटौला देउवा पक्षमा रहँदै आएका छन् ।
पूर्वउपसभापति गच्छदारले आफूले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीलाई ०७४ को निर्वाचनअघि कांग्रेसमा विलय गराएका थिए । त्यसपछि संस्थापनपक्षमै रहेका उनी बालुवाटारको ललिता निवासको सरकारी जग्गा प्रकरणमा तानिएपछि गुमनाम जस्तै छन् । पूर्वपदाधिकारीकै समूहमा जोडिएर उनले पनि पछिल्लो समय सक्रियता बढाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर सभापतिको संस्थापनपक्ष एक ढिक्का राखिराख्ने चाहनाका कारण पनि पूर्वपदाधिकारीहरूको सक्रियता बढेको हुन सक्ने बताउँछन् । त्यस्तो सक्रियता देउवाकै ग्रिन सिग्नलबाटै भएको हुन सक्ने बुझाइ उनको छ ।
‘संस्थापनपक्षकै कतिपय नेताहरू यताउता गर्न थाले, भोलि नेतृत्वमा आफूले चाहेको मान्छे होस् भन्ने चाहना शेरबहादुर दाइलाई पक्कै पनि होला । आफ्नो टिमलाई एक ढिक्का राख्न सकिएन भने नेता/कार्यकर्ता यताउता गर्न सक्छन् । पछि फर्काउन कठिनाइ हुन्छ भन्ने होला’ महर भन्छन्, ‘सभापतिलाई आफू जितेको टिमबाट उत्तराधिकारी होस् भन्ने चाहना हुन सक्छ । त्यसका लागि आफ्नो टिम ‘इन्ट्याक्ट’ होस् भन्ने पक्कै होला ।’
पूर्वपदाधिकारीले पार्टीको भावी नेतृत्वका विषयमा केही दिनभित्रै बुद्धिजीवी र नागरिक समाजका अगुवासँग राजधानीमा छलफल गर्ने तयारीसमेत गरेका छन् । संस्थापनपक्षको बैठक राखेर भावी उत्तराधिकारी आफ्नै टिमबाट हुने सन्देश दिनका लागि पूर्वपदाधिकारीले निरन्तर दबाब बढाइरहे पनि देउवा आफू प्रधानमन्त्री नभएसम्म उम्मेदवारको विषयमा प्रस्ट नहुने धेरैको बुझाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: