काठमाडौं । नेकपा (एकीकृत माओवादी) केन्द्रको पहलमा तीन कम्युनिस्ट दलबीच एकता प्रक्रियाले गति लिएको छ । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादी तत्कालै एकतासम्म पुग्नेगरी थप नजिक भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष बनाउने र विप्लवलाई महासचिव बनाएर एकता प्रक्रियालाई टुंगोमा पु-याउनेगरी छलफललाई निष्कर्षउन्मुख बनाएको तीनवटै दलका नेताको दाबी छ । यो प्रक्रिया आगामी भदौ मसान्तसम्ममा टुंग्याउने नेताहरूको तयारी छ ।
नेताहरूले यसअघि असफल भएको एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै राख्नेगरी छलफललाई अघि बढाएका छन् । कानुनी झमेला नदेखिए तीनवटै दलका नेताहरू एकीकृत पार्टीको नाम नेकपा राख्न लगभग सहमत भएको स्रोतको दाबी छ ।
केही दिनअघि सम्पन्न नेकपा माओवादी केन्द्रको स्थायी समिति वैठकको म्यान्डेटअनुसार पार्टी एकताको वातावरण बनाउन भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले विप्लव नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादीसँग बराबर संवाद बढाइरहेका छन् ।
एकता माहोलका परिदृश्य
– प्रचण्ड–माधवः जसरी पनि मिल्नेगरी छलफलमा
– नारायणकाजीः सम्झाउने, फकाउने अभियानमा
– झलनाथः परिआए जबजको सिद्धान्त त्याग्ने
– विप्लवः बाहिर शंका फाल्ने, भित्र मिल्न जाने
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपाका अध्यक्ष विप्लवले साझा शक्ति निर्माण गर्नुपर्नेमा पटकपटक सहमति जनाइसकेको र त्यसलाई मूर्तरूप दिन दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइसकेका छन् ।
दोस्रो तहका नेताहरूले एक–दुई चरण बसेर केन्द्र र प्रदेश तहसम्मको एकताको खाकासमेत तयार पारिसकेका छन् । तर, एकताका लागि पदीय र सैद्धान्तिक विषय सबै टुंगो नलाग्दै एकताको विषय बाहिर ल्याए एमालेलगायतका बामदलले भाँड्नसक्ने भन्दै नेताहरूले ‘कोर राजनीतिक टिम’बाहेकसँग तत्काल एकताको विषय हल्ल मात्र भएको बताउँदै आएका छन् ।
नेकपाका अध्यक्ष विप्लव पनि एकता प्रक्रिया टुंगोेमा नपुगेसम्म पार्टीका शीर्षस्थ नेताबाहेकको आन्तरिक फोरमहरूमा तल्काल सम्भावना नभएको बताइरहेका छन् ।
तर, उनको पार्टीले आगामी भदौ तेस्रो साता एकताको निर्णय गर्नेगरी पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेकपा एसले पनि भदौ अन्तिम साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
विगतमा एमाले र माओवादी केन्द्रबीचको एकता हतारमा भएकाले टिक्न नसकेको भन्दै शीर्ष तहका नेताहरू यसपटक नेताहरूको पदीय व्यवस्थापन, सैद्धान्तिक विषय मात्र होइन, नेताहरूको मन माझामाझसमेत गराएपछि मात्र एकता प्रक्रियालाई मूर्त रूप दिने तयारीमा जुटेका छन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई डल्लुस्थित निवासमा भेटेर पार्टी एकताको विषयमा संवाद गरेका छन् ।
श्रेष्ठनिकट एक नेताका अनुसार यसअघि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच शुक्रबार हात्तिवनमा भेटवार्ता भएको छ । अमेरिका जानुअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठले फर्किएपछि एकीकृत समाजवादी र नेकपाका नेताहरूसँग निरन्तर भेटिरहेका छन् ।
‘नारायणकाजीले निवासमै र बाहिर पनि अरू वाम दलका नेताहरूसँग भेट गरिरहनुभएको छ, वाम आन्दोलनलाई एकीकृत र विस्तारित बनाउन कसरी सकिन्छ भन्नेमा परामर्श गरिरहनुभएको छ,’ श्रेष्ठनिकट नेताहरू बताउँछन् ।
माओवादीसँग पार्टी एकता गर्ने सम्बन्धमा सैद्धान्तिक रूपमा निकै टाढा रहेको नेकपा एकीकृत समाजवादी व्यावहारिक रूपमा निकट छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सैद्धान्तिक रूपमा जबजलाई छोड्नै नसकिने भन्छन्, तर माओवादी केन्द्रसँग मिलेर बलियो शक्ति बनाउन निरन्तर संवादमा छन् ।
‘सांगठनिक शक्ति सन्तुलनमा कुरा मिल्यो भने माधवजीसँग राजनीतिक लाइनमा समस्या छैन, झलनाथजी पनि जबज छोडौं भन्ने कुरामै हुनुहुन्छ, त्यसकारण एकीकृत समाजवादीसँग पार्टी एकता असहज छैन,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।
व्यावहारिक विषय मिलाउनकै लागि नेकपा एस र माओवादी केन्द्रका नेताहरू पटकपटक छलफलमा जुटेको बताउँदै ती नेताले दुई अध्यक्ष र विप्लवलाई महासचिव बनाउनेगरी छलफल अघि बढिरहेको दाबी गरे ।
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक गतिविधिमा नेकपा एमालेले अवरोध सिर्जना गरेको बुझाइमा रहेका प्रचण्डसहितका साना वाम दलले भण्डारीसँग भित्री परामर्श गर्दै पार्टी एकता बढाउने र एमालेलाई गलाउने नीति लिएको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।
प्रतिकृया लेख्नुहोस्: