Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सर्वोच्चको प्रश्न : विश्वासको मत नलिएकाले सरकार कामचलाउमा परिणत भएको हो कि होइन ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारमा सहभागी दलले औपचारिक रूपमा सरकार छाडेको जानकारी गराइसकेपछि पनि विश्वासको मत नलिएकामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कानुनी हैसियतलाई लिएर संवैधानिक प्रश्न खडा भएको छ । नागरिक उन्मुक्ति पार्टीले औपचारिक रूपमा सरकार छाडेको जानकारी संसद्लाई गराइसकेको अवस्थामा ओली सरकारले विश्वासको मत नलिएको विषयलाई सर्वोच्चले न्यायिक निरूपणको प्रक्रियामा लगेको छ । 

सरकारमा सहभागीमध्ये उन्मुक्तिले २२ असारमा समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । संविधानको धारा १०० को उपधारा (२) मा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव पेस राख्नुपर्नेछ ।’ यो व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले १९ साउनभित्र विश्वासको मत नलिएमा सरकारको वैधानिकता सकिएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको ३० दिन नाघेपछि फेरि समर्थन दिएको भन्दै संसद्मा पत्र पठाएको छ । तर ३० दिनको म्याद सकिएपछि फेरि समर्थन दिएकाले स्वतः त्यसको मान्यता नहुने तर्क उठेको छ । संविधानले व्यवस्था गरेको व्यवस्थाविपरीत प्रधानमन्त्री विश्वासको मत लिन संसद् नगएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सर्वोच्चले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चले प्रधानमन्त्री र सभामुखसहितलाई चार संवैधानिक प्रश्नमा लिखित जवाफ माग्दै निवेदकलाई बोलाएको छ ।

रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेन तर सरकारलाई विश्वासको मत नलिनुको कारण लिखित रूपमा पेस गर्न भनेको छ । ‘नेपालको संविधानको धारा १०० को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम विपक्षी प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको र सोको ३० (तीस) दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत नलिएको अवस्थामा सरकारको वैधानिकतामा प्रश्न खडा हुन्छ कि हुँदैन ?’ आदेशमा भनिएको छ, ‘त्यस्तो सरकारलाई कामचलाउ सरकारमा परिणत गर्न अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन ?’

त्यस्तै सर्वोच्चले उठाएको दोस्रो प्रश्न जसपाले लिएको समर्थन फिर्ताबारे छ । ‘प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारमा सहभागी नभएको तर सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो समर्थन फिर्ता लिएको अवस्थामा समेत संविधानको धारा १०० को उपधारा (२) को संवैधानिक व्यवस्था आकर्षित भई सोको परिपालनाको अभावमा अन्तरिम आदेश जारी हुन सक्ने हो वा होइन ?’ दोस्रो प्रश्नमा उल्लेख छ ।

तेस्रोमा सर्वोच्चले पहिला सरकारलाई दिएको समर्थन फिर्ता लिएको अनि फेरि समर्थन गर्न मिल्छ कि मिल्दैन भनी प्रश्न उठाएको छ । ‘सरोकारवाला कायम गरिपाऊँ भनी छलफलमा सरिक हुन आएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको निवेदनसाथ प्रतिनिधिसभाको सभामुखलाई लेखिएको पत्रको प्रतिलिपि व्यहोराबाट उक्त दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भनी २२ असारमा पत्र लेखेको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘पत्र लेखेको ३० दिनपश्चात् उक्त पत्र बदर गरी पार्टीको लेटरहेडमा ३० साउनको निर्णयबमोजिम वर्तमान सरकारलाई समर्थन रहेको भन्ने उल्लिखित व्यहोरासमेतले प्रधानमन्त्रीका विरुद्ध संविधानको धारा १०० को उपधारा (२) को संवैधानिक व्यवस्था आकर्षित भई वैधानिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’

सर्वोच्चले अन्तरिम आदेशअघि व्याख्या हुनुपर्ने भनी उठाएको चौथो प्रश्न संसद्को अंकगणितसम्बन्धी कुरा फैसला हुँदा किन अन्तरिम आदेशको निर्णय गर्दा नै निरूपण गर्ने भनी प्रश्न उठाएको छ । ‘संविधानको धारा १०० को उपधारा (२) को व्यवस्था बाध्यात्मक प्रकृतिको हो वा सरकारमा सहभागी दलहरूको प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत वा अल्पमतको अंकगणितको सापेक्षता मात्र आकर्षित हुने हो ?’ आदेशमा भनिएको छ, ‘यसले अन्तरिम आदेश जारी हुन सक्ने/नसक्ने के कस्तो अवस्था हो ? यी संवैधानिक प्रश्नका सम्बन्धमा दुवै पक्षको कुरा सुनी अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा अर्को सुनुवाइमा निर्णय हुनुपर्ने देखिन्छ ।’

सर्वोच्चले अन्तरिम आदेशको सुनुवाइका लागि ११ भदौमा पेसी तोकेको छ । उक्त दिन सरकार र रिट निवेदक दुवैको बहस सुनेर अदालतले निर्णय दिनेछ । विश्वासको मत नलिई प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको ठहर भएमा सरकार कामचलाउ हुनेछ । वरिष्ठ अधिवक्ता शम्भु थापा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा पनि प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव नराखेर संविधानको व्यवस्था उल्लंघन गरेको टिप्पणी गर्छन् । संविधानको धारा १०० को उपधारा (२) ले स्पष्ट रूपमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेकाले यसमा तलमाथि गर्ने छुट नहुने उनको भनाइ छ ।

‘संविधानको धारा १०० को उपधारा (२) ले स्पष्ट रूपमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र संसद्मा गएर प्रधानमन्त्रीले आफूसँग विश्वास छ भनेर प्रमाणित गर्नुपर्छ भनेको छ,’ थापा भन्छन्, ‘यो अवधि कायम हुँदासम्म विश्वासको मत नलिनु भनेको प्रधानमन्त्रीले संविधान मानेको देखिएन भन्ने हो ।’

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ संविधानले पहिला समर्थन गरेको दल वा सरकारमै सहभागी भएको दलले समर्थन फिर्ता लिन्छ भने संसद्मा फ्लोर परीक्षणमा जानुपर्ने बताउँछन् । ‘संविधानको स्पिरिट हेर्ने हो भने प्रधानमन्त्रीले विश्वासको मत ३० दिन नपुग्दै लिनुपर्ने थियो,’ श्रेष्ठ भन्छन्, ‘संविधानले तोकेको अवधिभित्र विश्वासको मत नलिएपछि संविधान नमान्ने कार्य भयो ।’

विगतमा माओवादी नेतृत्वमा सरकार हुँदा पुष्पकमल दाहालले एउटा दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने कि नपर्ने विवाद हुँदा आफूले महान्यायाधिवक्ताका रूपमा लिनुपर्ने भनी सुझाव दिएको र संसद्मा गएर प्रधानमन्त्रीले विश्वासको मत लिएको उनले स्मरण गरे । ‘संविधान मान्ने हो भने विश्वासको मत लिनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘संविधानले सरकारसँग बहुमत छ कि छैन भनेर हेर्दैन । पालना अक्षरशः भयो कि भएन भनेर हेर्ने भएकाले यसमा लिनुपर्दैन भनेर बस्न मिल्दैन ।’ तर सरकारको तर्क भने कुनै पनि दलले सरकार नछोडेकाले विश्वासको मत लिने प्रक्रिया नै अपनाउन नपर्ने छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारबाट कुनै दल बाहिरिएको सरकारलाई कुनै औपचारिक धारणा केही नआएको दाबी गर्छन् । ‘सरकारलाई औपचारिक रूपमा कसैले सरकार छोडेको जानकारी छैन, त्यस्तै सरकारमा यसबारेमा छलफल पनि भएको छैन,’ प्रवक्ता गुरुङ भन्छन्, ‘त्यही कारण केही भन्न मिल्दैन । सर्वोच्च अदालतले के निर्णय सुनाउँछ । सर्वोच्चको निर्णयअनुसार सरकार कार्यान्वयन गरी अघि बढ्छ ।’

सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडाल सरकारमा सहभागी दल आजसम्म सरकारमै भएकाले विश्वासको मत लिनुपर्ने प्रश्न नै नउठ्ने तर्क गर्छन् । ‘सरकारमा सहभागी भएको नागरिक उन्मुक्तिका मन्त्री अहिले पनि सरकारमै छन्, सरकारबाट बाहिरिएका छैनन्, राजीनामा पनि दिएका छैनन्,’ बडाल भन्छन्, ‘सरकारमा सहभागी दलको मन्त्री अहिलेसम्म सरकारमै छ भने कसरी विश्वासको मत लिने प्रक्रियामा जाने ?’

सरकारले यस्तो दाबी गरे पनि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय नागरिक उन्मुक्ति प्रतिपक्षी दल भएको बताउँछन् । नागरिक उन्मुक्तिले यसअघि समर्थन फिर्ता लिँदै प्रतिपक्ष दलका रूपमा संसद्मा राखिपाऊँ भनेर सभामुख र संसद् सचिवालयलाई निवेदन दिएको र त्यहीअनुसार निर्णय भएको तर पछि समर्थन नै रहेको भनेकाले अब सत्ता पक्षतिर कायम गराउने संसदीय प्रक्रिया बाँकी रहेको जानकारी उनले दिए । ‘नागरिक उन्मुक्ति आजको दिनसम्म प्रतिपक्षको सिटमा कायम छ, सरकारलाई समर्थन छ भनेर पत्र आएको छ, त्यसमाथि निर्णय भइसकेको छैन,’ पाण्डेय भन्छन् ।

काठमाडौंमा २१ असारमा संसदीय दल नेता गंगाराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा नागरिक उन्मुक्तिका चार जना सांसदले नै सर्वसम्मतिले सरकारलाई दिएको समर्थन फिर्ता लिने, प्रतिपक्षको बेन्चमा बस्ने र पार्टीबाट पर्यटन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

‘नागरिक उन्मुक्ति हालसम्म सरकारको सत्ता पक्षमा बसेर समर्थन गरिरहेकाले सरकारबाट राखेको अपेक्षाबमोजिम काम नभएको हुनाले आजको मितिदेखि नेपाल सरकारको संघीय र प्रदेशलगायत सबै ठाउँहरूमा समर्थन फिर्ता लिई प्रतिपक्षको बेन्चमा बस्ने,’ सभामुखलाई पठाइएको उन्मुक्तिको उक्त निर्णयमा भनिएको छ, ‘नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको राज्यमन्त्री रहेका माननीय अरुणकुमार चौधरीज्यूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय सर्वसम्मतबाट पारित गरियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेकोे छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending