Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

दुबईबाट फर्किएको अर्जुनको सपना टाउकोमा लागेकाे प्रहरीको गोलीसँगै चकनाचुर

खबरडबली संवाददाता

दुबईको तातो घाम, धुलाम्मे सडक र काँडेतारले घेरेका भवनहरूबीच सेक्युरिटी गार्डको पोसाकमा उभिएका २८ वर्षीय अर्जुन भट्टको मनमा एकै सपना पल्थ्यो—“म एक दिन फर्किन्छु, बुबाआमाको काँध समात्छु, परिवारसँग रमाउँछु अनि आफ्नै देशमा केही गरेर देखाउँछु।”

गोरखा गण्डकी–४, ढावेका अर्जुन पढाइ बीचमै छोडेर डेढ वर्षअघि खाडी गएका थिए। स्नातक अधुरै छाडेर उनले विदेश रोज्नुको कारण थियो—घरको आर्थिक बोझ हलुक बनाउन र भविष्यलाई सुरक्षित बनाउन। टन्टलापुर घाममा पसिना चुहाउँदै उभिँदा पनि उनी भित्रभित्रै भन्थे, “यो सबै मेहनत, भोलिको उज्यालोका लागि हो।”

सात दिनको खुसी

एक साताअघि मात्रै अर्जुन नेपाल फर्किए। हातमा बिदाको टिकट, मनमा आफ्ना गाउँ–घर र बुबाआमासँग बिताउने मीठा क्षणहरूको सूची थियो। कीर्तिपुरस्थित सानो होटल चलाउँदै आएका उनका बुबाआमा छोराको आगमनले हरपल मुस्कान भरेका थिए।

उनको जीवनका नयाँ अध्यायको योजना बुबाआमाले कोरेका थिए— केही महिनापछि बिहे गर्ने, फेरि दुबई फर्काउने, अनि वर्षको अन्त्यमा स्थायी रूपमा नेपाल फर्केर बसेर होटललाई ठूलो बनाउने। तर यो योजना धेरै लामो टिकेन।

आन्दोलनको आह्वान

सोमबार टेलिभिजनमा खबर आयो— जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १९ युवाको मृत्यु भयो। त्यो खबरले अर्जुनलाई भित्रैदेखि हल्लायो।
भिनाजु सन्तोषसँग उनले आफ्नो मन खोले, “यो त अति भयो। अब चुप लागेर बस्न मिल्दैन। म पनि जान्छु भोलि आन्दोलनमा।”

सन्तोषले धेरै सम्झाए,
“विदेशमा कति दुःख गरेर फर्किएको छौ। राजनीति तिम्रो बाटो होइन।”  तर अर्जुनले निर्णय गरिसकेका थिए। उनको स्वरमा पीडा मात्रै थिएन, कर्तव्यबोध मिसिएको थियो। “म निस्किनँ भने ती सहिद आत्माले मलाई सराप्छन्। युवाहरू ढलिरहेका छन्, हामी चुप लागेर बस्ने? म जान्छु, जसरी पनि।”

अन्तिम यात्रा

मंगलबार बिहान उनले बुबाआमालाई केही नभनी घरबाट निस्किए। कालिमाटी प्रहरी वृत्त अगाडिको सडक भीडले भरिएको थियो। एकातिर आन्दोलनकारीको नाराबाजी, अर्कोतिर प्रहरीले लगातार गोली चलाइरहेको थियो। धुवाँ र धुलोबीच भीड अराजक बन्दै गइरहेको थियो।

अर्जुन अग्रपंक्तिमा थिएनन्, तर आन्दोलनको बीचतिर उभिएका थिए। सन्तोषका अनुसार प्रहरीहरू पछाडि हट्दै गर्दा गोली चलेको थियो। त्यसै क्रममा एक गोली सीधा अर्जुनको टाउकोमा लाग्यो।

एकै क्षणमा उनी लडे—त्यससँगै विदेशमा पसिना बगाएर कमाएको, घर फर्केर बुबाआमालाई खुसी दिने सपना पनि ढल्यो।

अधुरो योजना

दिउँसो दुई बजे अर्जुनका बुबालाई फोन आयो— “तपाईंको छोरालाई गोली लागेको छ।” विश्वास गर्न गाह्रो थियो। सात दिनअघि मात्रै घर फर्किएको छोरो, अहिले अस्पतालको शीतल बेडमा जीवनरहित शरीर बनेर लडिरहेको थियो।

बल्खुस्थित बयोधा अस्पताल पुगेपछि परिवारलाई थाहा भयो— अब अर्जुनसँग कुरा गर्ने अवसर कहिल्यै नआउने भयो। अर्को बिहान मात्र उनको शव टिचिङ अस्पताल महाराजगञ्ज पुर्‍याइयो।

अविवाहित अर्जुनका लागि बुबाआमाले गरेको सबै योजना— बिदापछि फर्काउने, बिहे गरिदिने— सबै अधुरै रह्यो। कीर्तिपुरको सानो होटल अहिले ढोका बन्द छ। घरभित्र चुप्पी छाएको छ।

सन्तोष भन्छन्, “उहाँहरूको एउटै कुरा छ— हाम्रो छोराको टाउकोमै किन गोली हान्नुपर्‍यो?”

आँसु र प्रश्न

अर्जुनको निधनले परिवारलाई मात्र होइन, आन्दोलनमा उत्रिएका हजारौं युवाको हृदय चिरिएको छ। उनीहरूलाई लाग्छ— अर्जुन एउटा नाम मात्रै होइन, त्यो आवाज हो जुन अन्यायविरुद्ध उठ्यो तर बन्दुकको आवाजमा थामियो।

कालिमाटीमै उदयपुरका २३ वर्षीय देवकुमार सुवेदी पनि ढले । स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार मंगलबारसम्म प्रहरी दमनबाट मारिएका संख्या ३४ पुगेका छन् । सोमबार सुरु भएको शान्तिपूर्ण आन्दोलन, अत्यधिक बल प्रयोगपछि भड्किएको थियो।

अधुरो सपना, जीवित स्मृति

अर्जुन भट्ट अब यस पृथ्वीमा छैनन्। तर उनका सपनाहरू बाँकी छन्— न्याय खोज्ने युवाको सपना, समानताको सपना, उज्यालो भविष्यको सपना। परिवारले राज्यसँग एउटै अपेक्षा राखेको छ— अर्जुनलाई सहिद घोषणा गरोस्, उनको बलिदानलाई इतिहासमा उचित स्थान दिओस्।

किनकि अर्जुन मात्र आफ्ना बुबाआमाको छोरा थिएनन्, उनी हजारौं युवाको प्रतीक थिए— जो आफ्नो जीवन भन्दा ठूलो भविष्यको लागि सडकमा उत्रिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending