Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ

खबरडबली संवाददाता

मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए। मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो।

राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ। राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ।

समुद्री सतहको करिब तीन हजार मिटरभन्दा माथि उचाइको भिरालो स्थान चाखोपानी खोलाको भिरको थुम्कोमा सिमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा इन्द्रप्रसाद थकाली बताउँछन्।

सुरुवाती चरणमा यहाँ सिमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई बस्ती बसालेर स्थानान्तरण गरेको उनको भनाइ छ। त्यस समय यहाँ बस्ती बसालेर सिमाना रक्षाका खटिएका समूहलाई दुःख, बिरामी हुँदा झारफुक गर्ने र दैवी तथा प्राकृतिक प्रकोपबाट मुक्त गराउन पूजापाठका लागि ठिनीका राजाले त्यहीका झाँक्री फोपे समूहलाई पनि चिमाङ गाउँमै स्थानान्तरण गरेका अगुवा थकालीको भनाइ छ। त्यसपछि यहाँ ठिनीका राजाको सिमाना कुर्न ध्याकल र झाँक्री फोपेको संयुक्त बस्ती बसेको बताइन्छ ।

यहाँको चिमाङ गाउँ राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकबाट कालीगण्डकीपारि अग्लो स्थानमा अवस्थित रहेको कृषि गाउँका रूपमा परिचित छ। यहाँ सुरुवाती चरणमा ३५ घरपरिवारको बसोबास रहेकामा पछिल्लो समय यो बस्ती मिश्रित बस्तीका रूपमा परिणत भएको छ।

सीमा रक्षाका लागि त्यस समय बसेको चिमाङ बस्तीका एक तिहाइ घरपरिवारले बस्ती छाडिसकेको चिमाङका अगुवा इन्द्रप्रसाद थकाली बताउँछन् । उनका अनुसार यहाँका कतिपय घरपरिवार वैकल्पिक व्यापार व्यवसाय र रोजगारीका लागि पोखरा–काठमाडौँलगायत सहरमा पलायन भएका छन्।

गाउँमा कृषिबाहेक अन्य सम्भावना नरहेको र भौगोलिक रूपले समेत विकट स्थानमा रहेकाले बस्तीमा पुराना मानिसको सङ्ख्या घट्दै गएको छ।

त्यसो त यहाँको पुरानो बस्ती चिमाङमा स्थानीय घरपरिवारले बस्ती त्यागे पनि रुकुम, धादिङ र म्याग्दीबाट मानिस यहाँ आएर बस्न थालेका छन्। यहाँ स्थानीय दलित समुदायको पनि करिब पाँच–छ घर रहेको उनको भनाइ छ। तीन गाउँले थकाली समुदायका रूपमा यहाँको घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ र चिमाङ गाउँ रहेका छन्।

यहाँको चोखोपानी खोला नजिकै भिरालो पाखोमा बसेको चिमाङ गाउँमा परम्परागत पुराना सांस्कृतिक घरहरूको बनावट निकै लोभलाग्दो र आकर्षक देखिन्छन्। निलगिरी हिमालको फेदैमा अवस्थित घना जङ्गलको मुनि चिमाङ गाउँ अवस्थित छ । यो गाउँ थकाली समुदायको सांस्कृतिक गाउँका रूपमा समेत परिचित छ।

भौगोलिक जटिलता भएको स्थानमा त्यस समय ठिनीका राजाले बस्ती बसालेका भए पनि त्यहाँ बसोबास गर्नेहरूको दैनिकी निकै कष्टकर नै थियो। नागरिकको आधारभूत सेवा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र प्रशासनिकलगायतका सेवा निकै असहज थियो । गाउँसम्म पुग्ने सडक, सञ्चार, विद्युत् र कालीगण्डकी नदीमा पुल नहुँदा यहाँका नागरिक विभिन्न प्रकार सास्ती भोग्न बाध्य थिए।

पछिल्लो समय यस गाउँको स्वरूपमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको छ । गाउँमा आधारभूत तह (१–५) सम्मको शिक्षा उपलब्ध गराउन विद्यालय खुल्यो । तर यहाँ बस्ती विस्थापित हुने क्रम, जन्मदर घट्दो हुनु र केही हुनेखानेले सुगम विद्यालयमा पढाउनेलगायत कारण यहाँका विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम छ।

त्यसैगरी, यहाँको चिमाङ गाउँमा स्थानीय नागरिकको स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । सेवाबाट चिमाङका नागरिकले साधारण उपचार गाउँमै पाएको अगुवा इन्द्रबहादुर थकालीको भनाइ छ । गाउँमा विद्युत्, सञ्चार, सडकलगायत सेवाको पहुँच विस्तार भएकाले चिमाङमा सम्भावना ढोका खुलेको उनले बताए । हालै कालीगण्डकी नदीमा पक्की पुल बनेको र गाउँसम्म जाने कच्ची सडक विस्तार भएकाले गाउँसम्म मोटर पुग्न थालेको छ।

जलवायु परिवर्तन र वन्यजन्तुको आतङ्कले चिमाङ गाउँका स्थानीयलाई निकै हैरानी बनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ बगैँचा व्यवस्थापन गर्ने समयमा हिउँ नपर्दा कृषि उत्पादनमा प्रतिकूल असर पुगेको अगुवा थकाली बताउँछन् । यहाँ स्याउलगायत अन्नबालीलाई पर्याप्त चिस्यान चाहिने र अनुकूल समयमा हिउँ नपर्दा उत्पादन कम हुने अन्नबालीमा विभिन्न रोगकीराको सङ्क्रमण देखिएको उनले बताए।

त्यसैगरी, चिमाङका किसानले मेहेनतले गरेको खेती पनि संरक्षित वन्यजन्तु हिमाली कालो भालुले रातिको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको छ । यहाँका किसानले स्याउ र अन्य अन्नबाली जोगाउन रातिको समय थाल, टिन र ढ्याङ्गो ठटाएर भालु धपाउने काम गर्दै आइरहेका छन् । यहाँ किसानले उत्पादन गरेको अन्नबाली जोगाउन वैज्ञानिक रणनीति अख्तियार गर्नुपर्ने अगुवा थकालीले सुझाए।

यहाँ केही वर्षअघि भालु धपाउने यन्त्र प्रयोग गरिएको भए पनि त्यो सफल नभएको उनको भनाई छ। एक्यापले यहाँको खेतीयोग्य जमिनमा तारबार लगाएको भए पनि भालुको आतङ्क नरोकिएको उनी बताउँछन्।

यहाँको प्राचीन बस्ती चिमाङ पर्यटकीय गन्तव्यका रूपमा पनि निकै सम्भावना बोकेको गाउँका रूपमा लिने गरिएको छ। चिमाङ गाउँबाट धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, मानापाथी हिमाल र निलगिरी हिमाल निकै मनमोहक र आकर्षक देखिन्छ।

त्यसैगरी यहाँबाट कालीगण्डकी करिडोर, स्याउ बगानदेखि स्याङ, मार्फा, छैरो, टुकुचे, कोवाङ र नाउरीकोटलगायत आधा दर्जन गाउँ सुन्दर देखिन्छ।

चिमाङ गाउँ जङ्गल सफारीका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो। गाउँबाट केही माथिसम्म जङ्गल सफारीका लागि पदमार्ग निर्माण भएको छ। गाउँमाथिको जङ्गलमा गुफा अवस्थित छ। यहाँ राउण्ड अन्नपूर्ण चक्रीय पदमार्ग रहे पनि पछिल्लो समय पदमार्गमा पर्यटक हिँड्न छाडिसकेका र पदमार्ग पनि जीर्ण बन्दै जान थालेको छ।

गाउँमा रहेका पुराना घरहरू अहिले जोखिममा छन् । जलवायु परिवर्तनका कारण वर्षा धेरै हुन थालेपछि भिरालो सतहमा अवस्थित यहाँको चिमाङ गाउँ जोखिममा रहेको अगुवा थकालीले बताए। “पहिलापहिला त ठिकै थियो, अहिले त बढी पानी पर्न थालेको छ, वर्षाले भिर नै भासियो भने त बस्ती नै नरहने पो हो कि भन्ने चिन्ता छ”, उनले भने।

गाउँका पुराना परम्परागत गुजमुज्ज घर पनि वर्षौँवर्षदेखिको घामपानीका असरले जीर्ण बन्दै जान थालेका छन् । परम्परागत घरको संरक्षण गर्न चासो नपुगेकै कारण कतिपय घरको अवस्था दयनीय रहेको उनले बताए । सरकारले सांस्कृतिक मौलिकता झल्काउने यस प्रकारका पुराना घर जोगाउन अनुदानका कार्यक्रम ल्याउन सकेमा राम्रो हुने उनले बताए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending