Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

वन संरक्षक खुमबहादुर भन्छन्-“जिन्दगीले मलाई वनसँग बाँधिदियो । जबसम्म सास छ, यो बन्धन छुट्दैन ।”

खबरडबली संवाददाता

कैलाली । कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये यहाँको भजनी नगरपालिका(२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनिक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबिचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय बिताएका छन् ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । गाउँ, सहरमा मात्र नभएर जिल्लाभरि उनले वन संरक्षणमा पुर्‍याएको भूमिकाको चर्चा हुने गरेको छ । 

उमेरले ७० वर्ष पार गरिसकेका खुमबहादुरले आफ्नो जीवनलाई प्रकृतिसँगको अनन्त सम्बन्धमा समर्पित गरिसकेका छन् । उनले जीवनको सुरुवातमा ‘ड्राइभर’ को पेसा अपनाए । करिब २८ वर्षसम्म गाडी चलाएका उनले एक पटक डडेलधुरामा डिभिजन वन कार्यालय प्रमुख (डिएफओ) सँगको यात्राले जीवनको मार्ग बदलेको बताए । 

“यात्रा गरिरहँदा रेडियोमा सामुदायिक वनको चर्चा चलिरहेको थियो । त्यही क्षणमा सामुदायिक वन भनेको के हो ? भनेर प्रश्नमा आएको उत्तरले वन संरक्षणप्रति चासो जगाएको हो”, खुमबहादुरले भने ।

विसं २०५० मा भजनीमा गाउँ विकास समितिमा सामुदायिक वनका लागि सहपाठीलाई निवेदन दर्ता गर्न भनी खुमबहादुर आफ्नो पेसाका लागि भजनी घरबाट धनगढी फर्किए । उनलाई बोलाउन उनका सहपाठी धनगढी पुगेपछि उनी फर्किए  । सुरुमा सल्लाहकारका रूपमा संलग्न भए। भजनी क्षेत्रभरिका अन्य वनमा खटिएको अनुभवले उनलाई थप जिम्मेवार र तयार बनायो ।

विसं २०५८ मा खुमबहादुरको पहलमा राधाकृष्ण, पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भएका थिए । उनी राधाकृष्ण सामुदायिक वनको अध्यक्ष भए, त्यसपछि सुरु भयो खुमबहादुरको वन संरक्षणको यात्रा । “गाउँ, टोलटोलमा गएर मानिसलाई वन संरक्षणको महत्त्व बुझाउने काम सजिलो थिएन । धेरैले पहिलो पटक वन संरक्षणको कुरा सुन्ने हुँदा शङ्का देखाउँथे । तर धैर्यता, सरलता र लगनशीलताले विश्वास दिलाउन सके सफल भइँदो रहेछ”, खुमबहादुरले भने ।

विसं २०५६ मा राधाकृष्ण सामुदायिक वनको प्रस्तावित अध्यक्ष भएका उनी २०५८ सालमा वन दर्ता भएपछि हालसम्म अध्यक्ष छन् । “बीचमा दुई जना अध्यक्ष आउनुभएको थियो”, उनले भने, “तर गाउँलेले फेरी मलाई नै अध्यक्ष बनाए ।”  

खड्काको जीवनमा चुनौती कम थिएनन् । “सङ्कटकालको समयमा, अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मर्‍यो भनेर छोडिदिए । त्यो दिन मेरो शरीरले सक्दैन जस्तो लाग्यो । सबै भागे तर म भागिनँ । मेरो जिम्मामा वन थियो, त्यसलाई छोड्न सकिनँ”, उनले सम्झे । 

खुमबहादुरको दिनचर्या घरमा बित्दैन । उनलाई खोज्न परे वनमा जानुपर्छ । बर्सेनि वृक्षारोपण गर्ने, वन क्षेत्रमा निगरानी गर्ने र स्थानीय समुदायलाई वन संरक्षणमा संलग्न गराउने काम उनका लागि जीवनको अभिन्न हिस्सा बनेको छ । उनले भने, “म पैसा कमाउन आएको थिएन, मनको सन्तुष्टि पाउन वनसँग जोडिएको हुँ ।”

उनको योगदान केवल राधाकृष्ण सामुदायिक वनमा सीमित छैन । भजनी, लालबोझि, खैलाड, थापापुर र जोशीपुरका गाउँ–टोलमा पनि उनका प्रयासले समुदायलाई वन संरक्षणको महत्त्व बुझाएको छ । अहिले भजनीमा ४३ वटा सामुदायिक वन दर्ता भइसकेका छन् । यसका लागि खुमबहादुरको भूमिका अमूल्य रहेको स्थानीय बताउँछन् । गाउँले उनीसँग धेरै समय जङ्गलमा भेट्छन् । अतिथि आउँदा पनि जङ्गलमै लगेर खुमबहादुर वृक्षारोपण गराउँछन् । 

स्थानीय अर्जुन सोवले भने, “हामीले वन संरक्षणको महत्त्व उहाँबाटै बुझ्यौँ । उहाँ हाम्रो गुरु हो । उहाँ नभए वन यति सुरक्षित हुँदैनथ्यो ।” खुमबहादुरले वन संरक्षण र व्यवस्थापनका लागि विभिन्न पाटो अपनाउनुभएको उनको बुझाइ छ ।

पानीको स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका स–साना बाँध, ढलान र तालले वनलाई अधिक जीवन्त बनाएका छन् । वृक्षारोपणमा मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि उनी अघि बढेका छन् । वनमा लोहटिवा ताल छ । तालमा वन्यजन्तु पानी खानका लागि आउने गर्दछन् । ताललाई पर्यापर्यटनसँग पनि जोडिएको छ । जसलाई व्यवस्थापन गरी पिकनिकस्थल, बोटिङ सञ्चालन गरिएको छ । अतिक्रमण हटाइ व्यवस्थापन गरिएको ताल अहिले पर्यटकको नयाँ गन्तव्य बनेको छ । संरक्षणसँगै पर्यापर्यटनलाई अघि बढाइरहेको खुमबहादुरले बताए । 

संरक्षणमा बिताएको उनको जीवनले अन्तर्राष्ट्रिय ध्यान पनि खिच्यो । निरन्तर प्रयास र योगदानका कारण उनलाई सन् २००३ मा ‘अब्राहम अवार्ड’ प्रदान गरियो । त्यो पुरस्कारले उनको नाम मात्र होइन, गाउँ र देशलाई पनि गौरवान्वित बनाएको छ । पुरस्कारको दिनको सम्झना गर्दै उनले भने, “त्यो मेरो व्यक्तिगत जित होइन, त्यो त हाम्रो वनको जित हो ।”

खुमबहादुरसँग कुरा गर्दा उनको आँखामा वनप्रतिको माया स्पष्ट देखिन्छ । आज पनि राधाकृष्ण वनमा वृक्षारोपण, वृक्षको सुरक्षा, माटो संरक्षण र वन्यजन्तुको संरक्षणका कार्यक्रम खुमबहादुरको नेतृत्वमा सम्पन्न हुन्छ । उनको उमेर आराम गर्ने भइसकेको छ । उनले भने, “जिन्दगीले मलाई वनसँग बाँधिदियो । जबसम्म सास छ, यो बन्धन छुट्दैन ।”

उनले वन देखाउँदै भने, “पहिले यो ठाउँ रुखविहीन थियो । तर आज हेर्नुस्, सबै फिर्ता आएका छन् ।” उनका आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: