भोजपुर । जिल्लामा यस वर्ष अलैँचीले उत्साहजनक मूल्य पाउन थालेपछि किसानहरू निकै खुशी भएका छन् । केही वर्षयता मूल्यमा देखिएको निरन्तर सुधारसँगै यसपटक प्रतिमन (४० किलो) अलैँची रु ९८ हजार सम्ममा कारोबार भइरहेको छ। टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टका अनुसार यस्तो मूल्यले गाउँभरि नयाँ उत्साह छाएको छ ।
विष्टले यस वर्ष झण्डै साढे सात मन अलैँची उत्पादन गरेका छन् । उनका अनुसार गाउँका धेरै किसान अहिले पनि बजारमूल्य अझै उक्लेलान् कि भन्ने अपेक्षामा उत्पादन भण्डारण गरेर राखिरहेका छन् । “गाउँघरमै ९८ हजारमा कारोबार भइरहेको छ,” विष्टले बताए, “कसैले बेचिसके, कसैले अझै राखेर बसेका छन् । बजार हेरेर मात्रै बिक्री गर्ने चलन बढेको छ ।”
चोलन्ती : अलैँची उत्पादनको ‘हटस्पट’
टेम्केमैयुङ–५ चोलन्ती अलैँची खेतीका लागि जिल्लाकै एक प्रमुख क्षेत्र मानिन्छ । यहाँका ८०–९० घरधुरी किसान व्यावसायिक रूपमा अलैँची उत्पादनमा निर्भर छन् । व्यवसायिक अलैँची व्यावसायी महासङ्घका अध्यक्ष राजेश विष्टका अनुसार विगत वर्षको तुलनामा चोलन्ती क्षेत्रमा उत्पादन वृद्धि भएको छ ।
उनले भने, “देशभर समग्र उत्पादन केही घटेको देखिए पनि चोलन्तीमा यस वर्ष राम्रो उत्पादन भयो । रोगकीरा केही देखिए पनि मूल्य बढेकाले किसान खेती विस्तारमा झनै सक्रिय भएका छन् ।”
जिल्लाभर अलैँचीखेती विस्तार हुँदै
कृषि ज्ञान केन्द्रका अनुसार हाल भोजपुर जिल्लामा करीब ५९७ हेक्टर क्षेत्रमा अलैँचीखेती भइरहेको छ । रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची मुख्य रूपमा खेती हुने गर्दछन् ।
चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत क्षेत्रमा अलैँची प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको केन्द्रले जनाएको छ । यी क्षेत्रमा किसानले वर्षौंदेखि उत्पादन, भण्डारण र विपणनबारे विकसित गरेको अनुभवले अलैँची खेतीलाई थप दिगो बनाइरहेको छ ।
गाउँमा आर्थिक गतिविधि रोनक
मूल्य बढेपछि पछिल्लो एक महिनायता गाउँमा आर्थिक गतिविधि उल्लेख्यरूपमा बढेको स्थानीय किसानहरूको भनाइ छ । परिवारको खर्च, स्वास्थ्योपचार, छोराछोरीको पढाइदेखि मनग्य आम्दानी चाहिने अन्य योजनामा पनि अलैँची नै आधार बनेको उनीहरू बताउँछन् ।
किसान नारायण खत्री भन्छन्, “अलैँचीले भाउ पाएपछि गाउँमा फेरि चहलपहल बढेको छ । सामान किन्न, ऋण तिर्न, घर मर्मत गर्न सबैलाई सहज भएको छ ।”
समस्या भने कायम—रोगकीरा, हावापानी र मूल्य अस्थिरता
यद्यपि खेतीमा आउने रोगकीरा, वर्षा र तापक्रमको अनियमितता, बजार मूल्यको उतारचढाव जस्ता चुनौती भने यथावत् छन् । किसानले माग अनुसार गुणस्तर उत्पादन, प्रशोधन तथा भण्डारणका लागि अझै पर्याप्त सुविधाको अभाव रहेको बताउँछन् ।
कृषि ज्ञान केन्द्रले रोग रोकथाम, प्रविधिमैत्री खेती, उन्नत जात वितरण, गुणस्तर सुधार र किसान क्षमतावृद्धिका लागि विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रम नियमित रूपमा चलाइरहेको जनाएको छ ।
उत्पादनसँगै आशा पनि बढ्दै
अलैँची खेतीबाट आय भएको पैसा घर–गृहस्थी सुधार, नयाँ बगान विस्तार र सिंचाइ तथा श्रम व्यवस्थापनमा लगानी गर्न किसानले सुरु गरेका छन् । मूल्य स्थिर रह्यो भने आगामी वर्षहरूमा अलैँची खेतीबाट भोजपुरमा झनै ठूलो आर्थिक परिवर्तन देखिने स्थानीय स्तरमा आशा गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: