काठमाडौं । पटक–पटक र लामो छलफलपछि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘एकता सहमति’ भएको छ।
तर यो सहमतिमा भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टी (उनेपा) का संरक्षक कुलमान घिसिङ भने समेटिएनन्।
आइतबार बिहान उज्यालो नहुँदै भएको सातबुँदे सहमतिअनुसार एकतापछि दल र सभापति रास्वपाकै रहनेछन् भने भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने उल्लेख छ। सहमतिपत्रमा हस्ताक्षर हुनुअघि मध्यरातसम्म भएको छलफलमा कुलमान पनि सहभागी थिए।
तर अन्ततः उनी किन एकताबाहिर परे? जबकि रवि लामिछाने नक्खु कारागारमा रहँदा उनलाई रास्वपामा ल्याउन स्वयं लामिछानेसहित पार्टीका नेताहरूले प्रयास गरेका थिए।
बालेनको चाहना अनुसार कुलमानलाई रास्वपाको कार्यकारी सभापति बनाएर चुनावमा जाने प्रस्ताव अघि सारिएको थियो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा रवि २०८१ कात्तिक २ गतेदेखि थुनामा थिए। त्यसबीच जेन–जी आन्दोलनपछि कांग्रेस–एमाले सरकार ढलेको थियो।
जेन–जीको मागअनुसार गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको घोषणा गरेका थिए।
रवि जेलमा रहेका बेला रास्वपाको नेतृत्व कुलमानलाई दिएर चुनावमा जाने योजनाअनुसार बालेनका विश्वासपात्र कुमार बने नक्खु कारागार पुगेर कुलमानलाई सभापति बनाउने प्रस्ताव लगेका थिए। तर रविले त्यो प्रस्ताव अस्वीकार गरे।
त्यसपछि कार्यवाहक सभापति बनाउने प्रस्ताव पनि अघि सारियो, तर त्यसमा पनि सहमति जुट्न सकेन। रविले पार्टी कब्जा गर्न खोजिएको ठानेपछि कुलमानले अन्ततः अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराए।
हाल उनेपाले देशभर संगठन विस्तार गरिरहेको छ र पार्टी प्रचारमा कुलमान स्वयं सक्रिय देखिएका छन्। यसैबीच रवि जेलमुक्त भएपछि राजनीतिक गतिविधिमा सक्रिय भए तर उनले कुलमानसँग भेट नगरी बालेनसँग निरन्तर छलफल थाले।
गत सोमबारदेखि जारी छलफलका लागि बनेको कार्यदलमा रास्वपाबाट शिशिर खनाल र असिम साह तथा बालेन पक्षबाट भूपदेव यादव र कुमार व्यञ्जनकार समेटिए। तर कुलमान पक्षलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै उनका निकट नेताहरू असन्तुष्ट देखिएका छन्।
शनिबार बालेनसँगको भेटपछि कुलमानले पहिलोपटक सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’ भनेका थिए। उनले उज्यालो नेपाल पार्टीलाई समेट्न नसकिएकोप्रति पनि अप्रत्यक्ष असन्तुष्टि जनाए।
‘मैले मात्र एकता चाहेर हुँदैन, सबैले जनताको चाहना बुझ्नुपर्छ,’ उनले भने। उनले आफूहरूसँग रविको भन्दा बढी जनविश्वास रहेको दाबीसमेत गरे।
‘उहाँहरूसँग संरचना होला, तर हामीसँग जनताको विश्वास छ,’ कुलमानले भने, ‘जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।’ सबैको अस्तित्व स्वीकारेर गरिएको एकता मात्रै दीर्घकालीन हुने उनको भनाइ छ।
रवि र बालेनको एकताप्रति असन्तुष्ट देखिएका कुलमानले पार्टीको केन्द्रीय समिति बैठक बोलाएर अन्य पार्टीमा विलय नहुने निर्णय गराएका छन्।
उनेपाले अब आफ्नै नेतृत्वमा वैकल्पिक र अग्रगामी शक्तिहरूलाई एक ठाउँमा ल्याउने पहल गर्ने निर्णय गरेको छ। पार्टीका एक नेताका अनुसार रास्वपालगायत सबै शक्तिलाई मिलेर जान आह्वान गरिएको छ, र आवश्यक परे सभापति तथा प्रधानमन्त्री पदसमेत छोड्न तयार रहेको सन्देश दिइएको छ।
‘हामीलाई पूर्ण रूपमा बेवास्ता गरियो,’ कुलमान निकट एक नेताले भने, ‘हामी धेरै लचक हुँदा रविले फाइदा उठाउन खोजे।’
अब उज्यालो नेपाल पार्टी संगठन विस्तार र चुनाव केन्द्रित रणनीतिमा अघि बढ्ने तयारीमा छ। पार्टीले समानुपातिक उम्मेदवारको नाम आइतबारसम्म टुंगो लगाउने जनाएको छ।
प्रतिकृया लेख्नुहोस्: