Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले लिइन् नाम फिर्ता

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले आफ्नो नाम फिर्ता लिएकी छन्।

सोलो ट्राभलमार्फत पर्यटन प्रवर्द्धन गर्दै आएकी उनले फेसबुकमार्फत नाम फिर्ता लिइसकेको जानकारी दिएकी हुन्। यात्रामा रहेकाले र प्राविधिक कारणले जानकारी दिन ढिला भएको उनले स्पष्ट पारेकी छन्।

सिर्जना ‘५० प्रभावशाली महिला–२०८०’ मा चयन भएकी थिइन्। उनको नाम फिर्तासँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या आठ पुगेको छ।

यस्तो छ सिर्जनाको प्रष्टीकरणसहितको स्टाटस –

जीवनका सबै निर्णयहरूले सधैं न्याय पाउँदैनन्

हामी तीन महिनादेखि छ वटा गन्तव्यको एक्स्प्लोरेसन यात्रामा थियौँ।

यात्रा सकिएलगत्तै टिमसँग सल्लाह गरेर यसपालि म सोलो ट्राभलमा ढोरपाटनतर्फ निस्किएकी थिएँ । यसपटकको यात्रा भिडियो बनाउने उद्देश्यका लागि थिएन । ढोरपाटनमा ट्राभल र टुरिजम सेक्टरमा अंझै केही नयाँ, केही फरक काम गर्न सकिन्छ कि भन्ने कुरा बुझ्नु थियो । यही क्रममा कहिले रुकुम पूर्व, कहिले चुङ्री बुकि, कहिले बुर्तिबाङ, कहिले ढोरपाटन गर्दै थिएँ।

त्यही क्रममा रुकुम पश्चिम घर जानुपर्ने भयो । समस्या के थियो भने बुर्तिबाङबाट डाइरेक्ट गाडी रुकुम पश्चिम (खलङ्गा) जाँदैनन् । बीच–बीचमा तीन–चार वटा गाडी फेर्नुपर्छ । तर एउटा विकल्प थियो – बुर्तिबाङ बजार बाट 10/15 मिनेट हिडेर मध्यपहाडी लोकमार्ग  गएर बिहान तीन–चार बजे बसियो भने नाइट गाडी भेटिन्छ, जुन चौरजहारीसम्म जान्छ । त्यही गाडी भेट्न बिहानै मध्यपहाडी पुगे।

गाडीवालाले झुक्याएछ । गाडी रुकुमकोट सम्ममात्र जाने भए पनि चौरजहारीसम्म जान्छ भन्यो । रुकुमकोट पुगेपछि थाहा भयो गाडी यहीँसम्म रहेछ। रुकुम पश्चिम जान अर्को गाडी चढ्नुपर्‍यो । यस्ता नयाँ गाडीवाल पुरानो गाडीका यात्रुलाई मन नपर्ने पराई झैँ व्यवहार गर्छन् । हुनत उनीहरूको पनि आफ्नै केही बाध्यता होला ।

चुपचाप सोचें – अझै पनि मध्यपहाडी लोकमार्गमा चल्ने गाडीहरूको अवस्था यस्तो छ । टुरिजम हब भनेर चिनिएको यो लोकमार्ग साना–साना समस्याले भरिएको छ । सुधार साना–साना कुराबाट सुरु गर्न आवश्यक छ ।

म आफुले सक्दो गर्नेछु ।

यसै सोचेर रुकुम पश्चिम पुग्दै गर्दा गाडीमै फोन आयो।

“हामी बालेन टिमबाट बोल्दैछौं “तपाईंलाई समानुपातिक सूचीमा राख्ने विषय छ। आजै ३ बजे नाम पठाउनुपर्नेछ। अनुमति दिनुहुन्छ?”

मैले भनेँ, “सर, म यात्रामा छु। मलाई निर्णयका लागि समय चाहिन्छ। अहिलेसम्म केही सोचेकी छैन।”

योभन्दा अघि मेरो कसैसँग पनि राजनीतिक विषयमा कुनै कुरा भएको थिएन।

केही बेरपछि फेरि फोनमा कुराकानी भयो । देशको लागि योगदान दिने अवसर थियो । मैले हतारमा केवल यही एउटा कुरा मात्र सोचेर “नाईँ” भन्न सकिँन ।

त्यसपछि रुकुम खलङ्गाबाट गाडी फेरेर सिम्ली पुगेँ । त्यहाँ बल्ल बुवालाई भेटेँ। बुवासँग म के कामले ढोरपाटन आएको भन्ने विषयमा छलफल भयो । बुवाले सुन्तला र किवीको आम्दानीबारे सुनाउनुभयो। अन्य खास कुरा भएन।

घर आएँ, दुई–तीन दिन बसेँ। घरमा माहोल अलि फरक थियो । सुन्तला टिप्ने काम चलिरहेको थियो। त्यसमै ब्यस्त भैइयो।

मेरो ध्यान यता समानुपातिक सूचितिर गएन ।

बीचमा कसैको फोन पनि आएन, मैले पनि गरिनँ।

म फेरि बुर्तिबाङ फर्किएँ।

काममा निकै व्यस्त थिएँ । भोलिपल्ट तमु ल्होसारका कारण सरकारी कार्यालय बन्द हुने भएकाले कामको चाप झनै थियो । त्यही बेला फेरि फोन आयो नागरिकताको प्रतिलिपि चाहियो भनेर । चिनेकै साथी भएकाले धेरै नसोधी पठाएँ । बेलुका अत्यन्त थकित थिएँ, कसैसँग कुरा भएन।

भोलिपल्ट बिहान बन्दसूचीमा नाम आयो।

ठेगानामा त्रुटि थियो। “सायद म होइन होला” भन्ने लाग्यो।

त्यही दिन ढोरपाटन निस्कनु थियो। बिहानै हिँडेँ। दिनभर व्यस्त रहेँ।

बेलुका बुर्तिबाङ फर्केर सामाजिक सञ्जाल हेर्दा कतै बधाइ, कतै जिज्ञासा, कतै गाली देखेँ।

मेरो जीवनका धेरै महत्वपूर्ण निर्णयहरू यात्रामै भएका छन्।

ती निर्णयहरू प्रायः सही नै साबित भए।

तर यो निर्णयचाहिँ अलि हतारमा भएछ कि जस्तो लाग्यो।

केही दिन बुर्तिबाङमै काम थियो । काम सकेर काठमाडौं फर्कँदा गाडीमै धेरै कुरा सोच्ने मौका पाएँ । त्यतिन्जेल केही साथीहरूले बधाइ लेखिसकेका रहेछन्। कतिपयले बुवाको राजनीतिक पृष्ठभूमिसँग जोडेर टिप्पणी गर्नुभएको थियो ।

आजसम्म मैले जीवनमा गरेका सबै निर्णयहरू म आफैंले गरेकी छु। बरु पछि परिवारसँग सल्लाह लिन्छु । तर निर्णय गर्ने जिम्मेवारी र अधिकार सधैं आफ्नो हातमै राख्छु ।

अब राजनीति सम्बन्धी कुरा स्पष्ट पारौँ ।

म जन्मिनुअघि देखि नै मेरा बुवा राजनीतिमा संलग्न हुनुहुन्थ्यो ।

मेरो हुर्काइ–बढाइ त्यो बेला रुकुम जिल्लाको विकट ठाउँ मानिने अर्मा–धनारामा भयो।

गाउँमै पढेँ, गाउँमै हुर्किएँ ।

गाउँ अझै पनि गाउँ नै छ जहाँ राजनीतिक बहस सामाजिक सञ्जालमा हुँदैन । गाउँमा सहरका एजेन्डा सुनिँदैनन्, जसरी सहरले गाउँका एजेन्डा सुन्दैन।

सारा बहस वनको बैठक, आमा समूहको बैठक, घर बनाउने ठाउँ, सानो बजार, मेलापात, पानी पँधेरोमै हुन्छ।

हुर्कदै गर्दा बुवाको राजनीतिक जीवनलाई नजिकबाट देख्ने र बुझ्ने अवसर पाएकी छु। पार्टीभित्रका आन्तरिक द्वन्द्व, ठूला मान्छेको रजगज, नातावाद–परिवारवाद पनि बुझेकी छु । मसँग राजनीतिक चेतना र ज्ञान दुवै छ । कूटनीति राजनीति भित्र छिरेपछि बुझिने कुरा हो।

मेरो परिवारको राजनीतिक पृष्ठभुमि यही हो । बस् मैले कहिल्यै सार्वजनिक रूपमा प्रस्तुत गरिन । किनकी परिवारको नाम बेचेर अघि बढ्न मलाई आवश्यक र उचित दुवै लागेन । बाजेले राजनीति गरे, बुवाले गरे अब मैले पनि राजनीति गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन। बुवाले पनि कहिल्यै दबाब दिनुभएन।

न मैले बुवाको बाटो रोजे न आमा–हजुरआमाहरुको बाटो ।

हाम्रो घरमा सबैलाई आफ्नो बाटो आफै तय गर्ने स्वतन्त्रता छ।

सायद यही स्वतन्त्रताले मलाई ट्राभलर बनायो।

मेरो बुवाको राजनीतिक जीवनलाई लिएर प्रश्न गर्नुको कुनै औचित्य छैन।

हो, हामीले समाजलाई कतै न कतैबाट योगदान दिएका छौँ।

तर बुवाको योगदान र मेरो योगदान फरक–फरक धारका छन्।

मैले वन विज्ञानमा स्नातक गरेँ।

सोलो ट्राभल सुरु गरेँ।

पर्यटनको क्षेत्रमा केही गर्नुपर्छ, लुकेका गाउँ–गन्तव्य चिनाउनुपर्छ भनेर कर्णालीबाट यात्रा सुरु गरेँ । अहिले देशका विभिन्न स्थान घुम्दैछौँ ।

आज समानुपातिक सूचीमा नाम देखिएपछि केही प्रश्न उठे

“भिजन के हो?”

“एजेन्डा के हो?”

“अवसरवादी हो?”

“ठाउँ किन ओगटेको?”

तपाईंहरूका प्रश्न नाजायज होइनन् ।

मेरो भिजन, एजेन्डा र अभियान बिस्तारमा बुझ्न चाहनुहुन्छ भने-

हुम्लाको लिमी भ्यालीका जनतालाई सोध्नुहोस् १६/१७ घण्टा ट्याक्टर चढेर लिमि पुगेर १०/१५  दिन हिड्नुको उदेश्य के थियो भनेर ..

बाजुरा हुम्लाको सिमानामा पर्ने रानिसैनामा तिर्पालले बेरेर होटल चलाइरहेका खगाल गाउँका बासिन्दालाई सोध्नुहोस् हामी बर्खामासको झरिमा किन त्यहाँ पुगेको थियौं भनेर ..

मुगु–हुम्ला, कर्णाली करिडोरमा ट्रक चलाउने, तुइन चढ्ने स्थानीयलाई सोध्नुहोस् ..

डोल्पाको कागमारामा बैशाख–जेठमा हिउँमाथि यार्सागुम्बा टिप्नेहरूलाई सोध्नुहोस् – कति दिन यार्सा टुरिजम हबको सपना सुनाइयो भनेर।

ढोरपाटनका गोठालाहरूलाई सोध्नुहोस् – २२ दिन लगातार फागुने धुरी, ढुक बुक्की, पुपाल  सुनदह सम्म पुगेर बुक्कीमा अब टेन्ट हाउस, गोठ–स्टे, गर्नु पर्छ यि पाटनमा मान्छे घुमाउन पर्छ भन्दै बोल्ने को थियो भनेर ।

रुकुम पूर्व चुङ्री बुक्की, तकसेरा, मैकोटका होमस्टे सञ्चालन गरिरहेका गाउँहरूलाई सोध्नुहोस्। बर्खामा फुल्ने फुल मात्र हेर्न कति मानिस आए र रुकुमकोट बाट बुर्तिबाङ सम्मका होटल ब्यवसाय कति नाफामा गए भनेर्।

भोजपुर–खोटाङका बासिन्दालाई सोध्नुहोस् मुन्धुम ट्रेलमा कति दिन भोकै हिँडेर भिडियो बनाउने को थियो र अहिले कति पर्यटक आउँछ्न त्यहाँ भनेर्।

इलाम सन्दकपुर–पानीटारलाई सोध्नुहोस् एक महिना एक्लै घुमेर कति प्रचार गरियो भनेर।

गोर्खाको नागेपोखरी पुगेर सोध्नुहोस् हामीले गरेको गन्तव्य प्रवर्द्धनको भिजन कस्तो थियो भनेर ।

जुम्ला सिंजा उपत्यका लाई सोध्नुहोस २०/२५  दिन सम्म सिंजाको लुट्कु गाउँमा बसेर ढ्लेका भत्किएका ईतिहास खोज्दै को हिडेको थियो भनेर

बर्दिया र कोशिलाई सोध्नुहोस हाम्रो सानो भिडियोको योगदान के छ पर्यटनमा भनेर

२०७९  सालको भुकम्पले घर ढल्दा २ दिन सम्म थाहा नपाउने म सिन्धुपालचोकको पाँचपोखरि तिर किन घुमिरहेको थिए त्यो पनि सोध्नुहोस

यी सबले जवाफ दिन समय लाग्छ ।  त्यसैले अहिले यति आफै भन्छु –

हामीले अहिल्यै लाखौँलाई देशमै बस्न सक्ने वातावरण बनाउन नसकेका होउँला । तर हजारौँलाई “देशमै केही गर्न सकिन्छ” भन्ने आशा देखाइरहेका छौँ। विदेशमा बस्नेहरूलाई केवल भावनाले होइन, पर्यटन क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छौँ।

सयौँले लुकेका गन्तव्यमा होटल, होमस्टे, व्यवसाय सुरु गरेका छन्।

हामी उनीहरूको साथमा उभिएका छौँ।

भिडियो र प्रचार–प्रसारमार्फत आन्तरिक पर्यटनलाई अघि बढाएका छौँ।

दिगो पर्यटनको अवधारणा स्थानीय स्तरमै सिकाइरहेका छौँ।

माटो टेकेका छौँ, गाउँ–बस्ती डुलेका छौँ।

सहरमा बसेर चिल्ला भाषण गर्नु र यात्रा गर्नु एउटै हुँदैन।

पुरानालाई गाली गर्नु र नयाँलाई वाह–वाह गर्नु अबको एजेन्डा हुनु हुँदैन।

नेतालाई गाली गरेर चुनाव लड्नु, तर आफ्नै एजेन्डा नहुनु त्यसले केही बदलिँदैन । सामाजिक सञ्जालका एजेन्डाले हुम्ला, जुम्ला, डोल्पा जाजरकोट मनाङ मुस्ताङ कर्णाली, सुदूर, कञ्चनजंघा, ताप्लेजुङसम्म काम गर्छन् कि गर्दैनन् यो बुझ्न जरुरी छ।

राजनीति रहरले मात्र, राज्यसत्ताको पावरले मात्र हुने कुरा होइन।

आत्तिनुभएको छ भने नअत्तिनुहोस् । म अहिले राजनीतिमा आउँदिन।

तर यसको अर्थ यो होइन कि म राजनीति बुझ्दिनँ, गर्न सक्दिनँ, वा मसँग भिजन छैन।

म कुनै ठाउँ ओगटेर बसेकी छैन।

कयौँ रात निलो आकाश सिरानी बनाएर सुतेकी छु।

ओडारको भित्तामा टाँसिएर रात काटेकी छु।

खुला चौरमा थकाइ मारेकी छु।

गोठमा बास बसेकी छु।

घर–घरमा बास मागेर बसेकी छु।

पुगेका ठाउँ जति सबै मेरा आफन्त भएका छन्।

मलाई साँघुरो ठाउँ ओगट्न आवश्यक छैन।

यति बुझ्नुहोस् म कर्णाली हुँ, जो सधैं दिन्छ, पाउने आशा नराखी।

कर्णालीबाट अब्बल प्रतिनिधि पठाउन सहयोग गर्नुहोस्।

म सधैं साथमै छु।

अन्त्यमा,

कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको हो । यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो । यसका लागि म आभारी छु ।

नयाँ आउने सबैलाई शुभकामना।

तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु।

यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो।

हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैं काम गर्न तयार छौँ ।

आवश्यक परेको खण्डमा ।

अब आउने पर्यटन टिम, पर्यटन मन्त्रीले देशको GDP पर्यटनबाट दोब्बर बनाउने लक्ष्य लिएर आउनुहोला।

पर्यटन संवेदनशील क्षेत्र हो यहाँ ठूला होइन, साना–साना कामले परिवर्तन ल्याउनुपर्छ ।

पर्यटनले रोजगारी छिटो सिर्जना गर्छ र ग्रामीण अर्थतन्त्रसँग जोडिन्छ । हाम्रो देशको आर्थिक पाटो बलियो बनाउने सबैभन्दा ठोस आधार पर्यटन नै हो भन्ने कुरामा दुईमत छैन। हामी पनि आउँदा दिनमा पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउने दिशामा निरन्तर लाग्नेछौँ ।

मेरा प्यारो शुभचिन्तकहरू,

तपाइँहरूको सदासयतालाई मेरो सम्मान छ । तर अहिले मलाई राजनीतिमा आउन दबाब नदिनुहोस् । कृपया मैले गरिरहेकै कर्ममा साथ दिनुहोस्।

जब सबथोक सही हुन्छ, कुनै समय, सायद तपाईंले सोचेको जस्तै पनि हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत, ४० दिनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना हुने

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...

गगन थापाको प्रतिबद्धता: बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...

रास्वपाको समानुपातिक सूचीबाट डा. रामजी रामले लिए नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...

रास्वपाबाट लमजुङमा धर्म केसी एकल उमेदवार सिफारिस

लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...

धनकुटामा दुई व्यक्ति मृत फेला

हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...

कोशी प्रदेशबाट कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...

हर्क साम्पाङ सुनसरी–१ बाट चुनाव लड्ने

विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...

कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग गरे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...

कांग्रेसको विशेष महाधिवेशन तयारीका लागि १८ उपसमिति गठन

काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...

कांग्रेसका विशेष महाधिवेशन पुस २७–२८ मा गर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending