Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

चुनावपछि को बन्ला प्रधानमन्त्री ?

खबरडबली संवाददाता

काठमाडौं । फागुन २१ गते हुने मतदानबाट प्रतिनिधिसभामा २७५ सांसद निर्वाचित हुने छन्। जेन जी आन्दोलनपछि उत्पन्न राजनीतिक र संवैधानिक रिक्तता हटाउन व्यवस्थापिकाका नवनिर्वाचित सदस्यहरूले कार्यपालिका हाँक्न नयाँ प्रधानमन्त्री छान्ने छन्।

नेपालमा प्रत्यक्ष जनमतमार्फत् देशको कार्यकारी प्रमुख छानिँदैन। प्रधानमन्त्री बन्न पहिला प्रतिनिधिसभाको सांसद निर्वाचित हुनुपर्छ।

यसपालि केही प्रमुख दलहरू आफ्नो दलले सरकार बनाउने अवसर पाए त्यसको नेतृत्व गर्ने दाबेदारका रूपमा सम्भावित प्रधानमन्त्रीको नाम घोषणा गरेरै चुनावी अभियानमा सहभागी भएका छन्।

नेपालको संविधानको धारा ७६ मा प्रधानमन्त्री नियुक्तिको प्रक्रिया उल्लेख छ। प्रतिनिधिसभामा कुनै पार्टीले स्पष्ट बहुमत पाएमा त्यसको संसदीय दलका नेता राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन्छ।

कुनै पार्टीको बहुमत नआएमा बहुमत दलको समर्थन जुटाउने सांसदलाई प्रधानमन्त्री बन्ने बाटो खुल्छ। त्यसका लागि संसदीय दलको नेता भइराख्नुपर्दैन। कसैले बहुमत जुटाउन नसके सबैभन्दा ठूलो पार्टीको संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुन्छन्।

यहाँ दलहरूले प्रधानमन्त्री पदको दाबेदारका रूपमा चुनावमा अघि सारेका व्यक्तिहरूबारे चर्चा गरिएको छ।

केपी ओली, अध्यक्ष, नेकपा एमाले

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली अहिले ७४ वर्षका भए। उनी केपी ओली भनेर बढी चिनिन्छन्। उनी फेरि झापा ५ बाट प्रतिनिधिसभामा उम्मेदवार छन्।

यो निर्वाचनमा "प्रधानमन्त्रीको उम्मेदवार"मा अघि सारिएका नेतामध्ये ओली सबैभन्दा पाका हुन्। औपचारिक शिक्षा धेरै नभएका ओलीले इतिहास, दर्शन र शास्त्रबारे मौलिक व्याख्या गर्ने गरेका छन्।

नेपालमा कम्युनिस्ट राजनीतिको उदय गराउने प्रमुख घटना मानिने 'झापा आन्दोलन'बाट राजनीतिमा होमिएका ओलीले पञ्चायतकालमा १४ वर्ष जेल सजाय भोगेका थिए।

लामो समय पार्टीभित्रै प्रतिपक्ष जस्तो भूमिकामा रहेका ओली पार्टीको कुनै पदाधिकारी नभई एकै पटक अध्यक्ष बनेका थिए।

विद्यमान संविधान जारी गर्ने क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँगै प्रमुख भूमिका निर्वाह गरेका ओली त्यसपछि प्रधानमन्त्री बने। भारतले लगाएको भनिएको अघोषित नाकाबन्दीको प्रतिवाद गरेर ओलीले कुनै समय राष्ट्रवादी छवि बनाएका थिए। तर उनका आलोचकहरूले उनीमाथि देशभित्रका असन्तुष्ट पक्षप्रति अनुदार नेताको आरोप लगाउने गरेका छन्।

दोस्रो कार्यकालमा भारतले समेत दाबी गर्दै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ नक्सा जारी गरेका कारण ओली लोकप्रिय बने। तर पार्टीभित्रको आन्तरिक विवादमा अदालतको आदेशपछि उनको दल मात्रै फुटेन, उनले प्रधानमन्त्री पद पनि गुमाउनुपर्‍यो।

चौथो पटक प्रधानमन्त्री भएका ओली भदौको जेन जी आन्दोलनबाट पदच्युत भए। नेकपा एमालेको मङ्सिरमा भएको महाधिवेशनले उनलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको थियो।

‌ओलीले प्रधानमन्त्री हुनुअघि परराष्ट्र र गृहमन्त्रीका रूपमा काम गरेका थिए।

गगन थापा, सभापति, नेपाली कांग्रेस

नेपाली कांग्रेसका सभापति गगन थापा विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा स्थापित भएका हुन्। उनी अहिले ४९ वर्षका भए। गएको पुस महिनामा पार्टीको विशेष महाधिवेशनबाट सबैभन्दा पुरानो राजनीतिक दलको सभापति चुनिएका थापालाई उनको दलले "प्रधानमन्त्रीको उम्मेदवार"का रूपमा अघि सारेको छ।

कांग्रेसको भ्रातृसङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री बनेका थापा विसं २०६२-६३ को आन्दोलनपछि राष्ट्रिय राजनीतिमा परिचित नेता बने।

उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन्।

काठमाण्डू क्षेत्र नम्बर ४ बाट दुई पटक प्रत्यक्ष र एक पटक समानुपातिक प्रणालीबाट गरी तीन पटक सांसद निर्वाचित भएका थापा यो पटक सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका छन्। विसं २०७३ सालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएर केही समय काम गरेको अनुभव थापासँग छ।

उनले त्यसअघि संसद्‌को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका रूपमा पनि काम गरेका थिए।

जेन जी प्रदर्शनलगत्तै नवयुवाहरूको मागप्रति ऐक्यबद्धता जनाउने पुराना दलका सीमित नेतामध्ये थापा पनि थिए।

लगत्तै पुस्तान्तरणको माग गर्दै उनले पार्टीमा विशेष महाधिवेशनको अभियान चलाए। तर पार्टीभित्र भने सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवामाथि भएको आक्रमणको आलोचना नगरी बरु आत्मकेन्द्रित भएको आरोप उनीमाथि लाग्यो।

बालेन्द्र शाह 'बालेन', वरिष्ठ नेता, रास्वपा

चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका बालेन्द्र शाह उक्त दलमा दोस्रो वरीयतामा रहेका वरिष्ठ नेता हुन्। उनी अहिले ३६ वर्षका भए। उनी बालेन उपनामले बढी परिचित छन्। स्वतन्त्र उम्मेदवार बनेर काठमाण्डू महानगरको प्रमुखमा निर्वाचित बालेन स्ट्रकचरल इन्जिनिअर तथा र्‍यापर पनि हुन्।

आफ्नो लिङ्क्डइन प्रोफाइलमा बालेनले भारतबाट इन्जिनिअरिङमा स्नातकोत्तर अध्ययन गरेको उल्लेख गरेका छन्।

रास्वपामा प्रवेश गर्दा उनी पार्टी सभापति रवि लामिछानेसँग लिखित सहमति गरेरै "प्रधानमन्त्रीको उम्मेदवार" का रूपमा अघि सरेका हुन्।

उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको उम्मेदवार छन्। त्यहाँ उनको प्रतिस्पर्धा एमाले अध्यक्ष केपी ओलीसँग हुँदै छ।

काठमाण्डू महानगर प्रमुखका रूपमा साढे तीन वर्ष काम गरेको अनुभव भएका शाहको दलगत राजनीतिक अनुभव उनका प्रतिस्पर्धीहरूको तुलनामा कम छ।

तर स्थानीय निर्वाचनको समयताका नै विशेषगरी युवापुस्ता माझ उनको लोकप्रियता निकै चर्को रहेको देखिएको थियो।

उनका समर्थकहरू महानगर प्रमुखका रूपमा रहँदा उनले गरेका शिक्षा, सरसफाइ, सम्पदा संरक्षण लगायतका कामहरूको प्रशंसा गर्दछन्।

स्थानीय कार्यपालिकामा निर्वाचित भए पनि कार्यकाल पूरा नगरी प्रतिनिधिसभामा जान खोजेको भन्दै केहीले उनको आलोचना गर्ने गर्छन्। महानगर प्रमुख हुँदा नगर प्रहरी परिचालन गरेर सडक व्यापारी र सुकुम्बासीमाथि दमन गरेको आरोप उनीमाथि लागेको थियो।

सामाजिक सञ्जालमा दल र नेताहरूलाई उनले यसअघि गरेका आलोचना र सिंहदरबारमा आगो लगाउने आशयको पोस्टलाई लिएर बालेनको आलोचना हुने गरेको छ।

उनले भदौ २४ को आन्दोलनका क्रममा संयमित हुन र आगजनी नगर्न आह्वान पनि गरेको उनका समर्थकहरू बताउँछन्। उनले आन्दोलनकारीहरूलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन गर्ने पक्षमा उभिन आह्वान गरेका थिए।

पुष्पकमल दाहाल 'प्रचण्ड', संयोजक, नेपाली कम्युनिस्ट पार्टी

पुष्पकमल दाहाल तात्कालिक नेकपा माओवादीसहित विभिन्न वामपन्थी दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक हुन्। उनी अहिले ७० वर्षका भए।

नेपालमा माओवादी पार्टीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धमा उनी प्रचण्ड भनेर बढी चिनिन्थे। उनी अहिले पनि सोही उपनाम प्रयोग गर्न रुचाउँछन्।

उनी लुम्बिनी प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।

तीन पटक प्रधानमन्त्री बनिसकेका दाहाललाई पार्टीले औपचारिक निर्णय गरेर प्रधानमन्त्रीको उम्मेदवार त भनेको छैन तर सो दलका नेताहरूले आफ्नो दलले अवसर पाएमा उनलाई भावी प्रधानमन्त्रीको दाबेदार मान्ने गरेका छन्।

कृषिविज्ञानमा स्नातक गरेका दाहालले चुनावअघि मात्रै एक दर्जन दलसँग पार्टी एकता गरेर दलको नाम नेकपा राखेका थिए।

उनी शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका हुन्। सशस्त्र द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेर निर्वाचनमा भाग लिएको माओवादी पार्टी पहिलो संविधानसभामा सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको थियो।

प्रधानमन्त्री बनेको छोटो समयमै तात्कालिक सेना प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि विवादमा परेका दाहालले पदबाट राजीनामा दिएका थिए।

संविधानसभाको दोस्रो निर्वाचन भएदेखि उनको दल तेस्रो स्थानमा सीमित भयो। तर दाहाल त्यसयता पनि दुई पटक प्रधानमन्त्री बनिसकेका छन्।

पार्टीको नाम फेरिए पनि दाहाल ३५ वर्षदेखि दलको नेतृत्वमा छन्। विसं २०६४ बाट निरन्तर सांसद बनिरहेका थोरै नेताहरूमध्ये दाहाल पनि एक हुन्।

अरू उम्मेदवार को छन्?

प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सरेका व्यक्ति प्रतिनिधिसभा निर्वाचनमै पराजित भए निजको प्रधानमन्त्री बन्ने बाटो त्यहीँ अन्त्य हुन्छ।

उदाहरणका लागि, झापा क्षेत्र नम्बर ५ का दुई जना उम्मेदवार प्रधानमन्त्रीका दाबेदार छन्। सो क्षेत्रबाट केपी ओली र बालेन्द्र शाहमध्ये कुनै एक जना वा दुवै जना पराजित भएको अवस्थामा उनीहरूको दलले बहुमत ल्यायो वा जुटायो भने पनि उनीहरू प्रधानमन्त्री बन्न पाउँदैनन्।

पार्टीको बहुमत आयो तर प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका नेता निर्वाचनमा पराजित भए भने अर्कै नेताले प्रधानमन्त्री बन्ने अवसर पाउँछ।

सांसद निर्वाचित भएपछि पनि पार्टीको आन्तरिक समीकरण फेरिँदा वा अन्य कारणले अरू व्यक्तिले अवसर पाउने सम्भावना यथावत् रहन्छ।

भावी प्रधानमन्त्रीको नाम घोषणा गरेका कुनै पनि दलले प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार अघि सारेका छैनन्।

चार मुख्य पार्टीबाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि आफू प्रधानमन्त्रीको दाबेदार भएको बताउने गरेका छन्।

अन्तरिम सरकारका पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि कार्यकारी पदमा बसेर काम गर्ने आफ्नो इच्छा भएको बताउने गरेका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: