काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै हुन्छ । तर त्यो मासु यहाँसम्म आइपुग्नुअघि पशुले कस्तो यात्रा पार गरेर आयो भन्ने प्रश्नमा भने धेरैको ध्यान जाँदैन ।
राजधानी छिर्ने अधिकांश राजमार्गमा रात परेपछि एउटा अर्को संसार चलिरहेको हुन्छ । अँध्यारो सडकमा गुडिरहेका ट्रकभित्र कोचिएका हुन्छन् खसी, बाख्रा, गोरु, राँगा र भैँसी । उनीहरूलाई सास फेर्नसमेत मुस्किल हुने गरी बाँधिएको हुन्छ । कतै खुट्टा मोडेर राखिएको हुन्छ, कतै घाँटी कसिएको हुन्छ । घण्टौँसम्म पानी नपाएर तड्पिरहेका पशुहरू एउटै प्रश्न सोधेजस्तो लाग्छ—मानिस यति निर्दयी किन भयो ?
नेपालमा पशु ढुवानी अहिले व्यापारको एउटा सामान्य प्रक्रिया बनेको छ, तर त्यसको भित्री दृश्य असाधारण रूपमा क्रूर छ । वीरगन्ज, विराटनगर, नेपालगन्ज वा काँकडभिट्टाबाट राजधानी आउने धेरै ट्रकहरूमा क्षमता भन्दा दोब्बर पशु कोचिन्छन् । बसका डिकीमा समेत खसीबाख्रा हालेर ल्याइन्छ । कतिपयलाई बोराबित्र हालेर ढुवानी गरिन्छ ।
पशुहरूका लागि त्यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन, पीडा, डर र मृत्युको यात्रा हो । कतिपय पशु गन्तव्य पुग्नुअघि नै मर्छन् । केही थला परेका अवस्थामा झारिन्छन् । तर त्यो दृश्य सार्वजनिक हुँदैन । किनकि बजारमा पुगिसकेपछि उनीहरू “मासु” बन्छन्, जीवित प्राणी होइन ।
केही समयअघि कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा अड्किएका खच्चडहरूको दृश्यले देशलाई केही दिन स्तब्ध बनाएको थियो । पुलको तार चुँडिएपछि तड्पिरहेका खच्चडलाई बचाउन नदीमा खसालिएको घटना सामाजिक सञ्जालभर फैलियो । धेरैले दुःख व्यक्त गरे । सरकारमाथि प्रश्न उठे ।
तर त्यो घटना कुनै अपवाद थिएन । नेपालमा पशुमाथि हुने क्रूर व्यवहारको एउटा सानो झलक मात्र थियो । फरक यति थियो, त्यो दृश्य क्यामेरामा कैद भयो । सडकमा दैनिक भइरहेका हजारौँ पीडाहरू भने क्यामेराबाहिरै हराइरहेका छन् ।
नेपालमा पशु कल्याणसम्बन्धी कानुन कमजोर छैन । पशु ढुवानीसम्बन्धी मापदण्ड छ । पशु कल्याण निर्देशिका छ । मुलुकी अपराधसंहिताले पशुमाथि हुने क्रूर व्यवहारलाई अपराध मानेको छ । कानुनले लामो समय भोकै राख्न, अमानवीय तरिकाले बाँध्न वा पीडा दिन नपाइने स्पष्ट उल्लेख गरेको छ । तर सडकमा देखिने दृश्यले एउटा कठोर सत्य बताउँछ—नेपालमा कानुनभन्दा शक्तिशाली बेवास्ता छ ।
राजमार्गमा गुडिरहेका ट्रकहरू कमै मात्र जाँचिन्छन् । रातको समयमा हुने ढुवानीमा निगरानी झन् कमजोर हुन्छ । क्वारेन्टाइन कार्यालयहरू छन्, तर प्रभावकारी अनुगमन छैन । पशु अधिकारकर्मीहरूका अनुसार धेरैजसो अवस्थामा नियम उल्लङ्घन गर्नेलाई सामान्य जरिबानामै छाडिन्छ । जब सजाय कमजोर हुन्छ, क्रूरता सामान्य बन्छ ।
सबैभन्दा ठूलो समस्या हाम्रो सोचमा छ । हामी पशुलाई संवेदनशील जीवभन्दा बढी उपभोग्य वस्तुका रूपमा हेर्छौँ । बजारमा मासुको मूल्य बढ्दा चिन्ता हुन्छ, तर त्यही मासु बन्नुअघि पशुले भोगेको पीडाले हामीलाई छोइरहेको हुँदैन ।
धर्म र संस्कृतिमा करुणाको पाठ पढ्ने समाजमै पशुमाथि यस्तो व्यवहार हुनु गम्भीर विरोधाभास हो । गाईलाई पूजा गर्ने समाजमा गोरुहरू ट्रकभित्र रगताम्य भइरहेका छन् । करुणा र दयाको कुरा गर्ने मानिसहरूकै बीचमा खसीबाख्रा बोरामा कोचिएर यात्रा गरिरहेका छन् ।
पशु चिकित्सकहरू भन्छन् पशु पनि डराउँछन्, पीडा महसुस गर्छन्, भोक र प्यासले तड्पिन्छन् । उनीहरू पनि सुरक्षित रहन चाहन्छन् । तर हाम्रो व्यवहारले उनीहरूलाई जीवित प्राणीभन्दा सामानजस्तो बनाइदिएको छ ।
वास्तवमा पशुमाथिको क्रूरता केवल कानुनी विषय होइन, यो समाजको नैतिकताको ऐना हो । कमजोर र बोल्न नसक्ने जीवसँग कस्तो व्यवहार गरिन्छ भन्ने कुराले समाजको सभ्यता मापन हुन्छ ।
यदि सडकमा कोचिएका पशुको चिच्याहट हामीलाई अझै सुनिँदैन भने समस्या कानमा होइन, संवेदनामा छ ।
प्रतिकृया लेख्नुहोस्: