Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रदीप पौडेलले स्वीकार गर्ने ९ गल्ती

\"\"नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल युवाहरूले आशा गरेका नेतामध्ये एक हुन् । विद्यार्थी राजनीतिबाट उदाएका पौडेलसँग राजनीतिक जीवनका अनेक सम्झना छन् । किनकि, विद्यार्थी राजनीतिमै हुँदा उनी अनेकौँ आन्दोलनमा सहभागी भए, केहीको नेतृत्व पनि गरे । अहिले खरो टिप्पणी गर्ने नेताका रूपमा पनि चिनिने पौडेल आखिर आफ्ना गल्तीलाई कसरी लिन्छन् ? कस्ता गल्तीहरूको कन्फेस गर्न चाहन्छन् त ? यस्तो छ आफूले नर्बिसिने गल्ती र गल्तीप्रति पछुतोबारे उनले गरेका कुरा : १. नाम फेरेँ, बेतुकको काम रहेछ खासमा सानोमा मेरो नाम नवीन थियो । गाउँ छिमेकमा र आफन्तजनमा धेरैले मलाई नवीन भनेर नै चिन्न थालिसक्नुभएको थियो । तर, मैले यही नाम गाउँघरमा वरपर अरूको पनि थुप्रै सुनेँ । अनि मलाई लाग्यो, मेरो नाम त फरक हुनुपर्छ । त्यसैले मैले नाम परिवर्तन गर्ने निणर्य गरेँ र स्कुलको रजिस्टरमा नयाँ नाम चढाएँ– प्रदीप । चार कक्षामा गरेको यो परिवर्तनबारे मलाई निकै पछि मात्र महसुस भयो । नवीन नामबाट म परिचित भइसकेको थिएँ, त्यसैले मैले नाम परिवर्तन गर्नु खासै कुनै उपलब्धि होइन रहेछ । यो त बेतुकको काम पो रहेछ । अहिले पनि मलाई यो कुराको थकथकी लाग्छ । मलाई अहिले पनि महसुस हुन्छ, अभिभावकसरहका धेरै मानिसले नवीन भनेर चिनिसकेका थिए, किन नाम परिवर्तन गर्ने निणर्य गरेछु ? यो अपरिपक्व निर्णय हो जस्तो पनि लाग्छ, पहिचान नै फेरेको यो गल्ती म बिर्सिन सक्दिनँ । २. बुबा जेलमा हुँदा रोएँ, उहाँलाई कमजोर बनाएँ २०४२ सालको सत्याग्रहमा मेरो बुवा (डिल्लीरमण पौडेल) जेल पर्नुभयो । खासमा हाम्रो घरमा पहिलेदेखि नै कांग्रेसको भेला भइरहेको हुन्थ्यो । त्यस्ता भेलामा मानिसहरू पञ्चायतविरुद्ध कुरा गरिरहेका हुन्थे । १० वर्षको भए पनि मलाई त्यतिवेला पञ्चायत गलत हो भन्ने परिसकेको थियो । यस्तो किन पनि भने घरमा हुने ती ठूला भेलामा यही विषयमा मात्र चर्चा भइरहेको हुन्थ्यो । त्यही समयमा बुवालाई एक दिन प्रहरीले लिएर गयो, उहाँ जेल पर्नुभयो । त्यतिवेला मेरो राजनीतिक चेतना केही पनि थिएन । मलाई लागेको थियो, गाउँका केही पञ्चहरूले नै बुवालाई मबाट अलग बनाएका हुन्, जेल पुर्‍याएका हुन् । मलाई पञ्चायत कुनै शासन प्रणाली हो भन्ने पनि थाहा थिएन । त्यसैले मैले गाउँका केही पञ्चहरूलाई सम्झिएँ र सोचेँ– यिनीहरूले गर्दा मेरो बुवा जेल पर्नुभयो, ठूलो भएपछि म तिनीहरूलाई ठीक पार्छु । एक दिन बुवालाई भेट्न मलाई लिएर ठूलोबुवा दमौली जेलमा जानुभयो । त्यहाँ जाँदा मैले संकल्प गरेको थिएँ, बुवालाई भेटेर म कन्फिडेन्सका साथ ‘ती पञ्चहरूलाई ठीक पार्छु’ भन्नेछु । तर, जेलमा पुगेपछि मेरो त्यो कन्फिडेन्स कहाँ हरायो, हरायो । त्यहाँ प्रहरीहरू पनि भएकाले डरले त्यो कन्फिडेन्स हराएको हुन सक्छ । पर्खालभित्र हुनुभएका बुवालाई मैले एउटा सानो झ्यालबाट मात्र हेरिरहेको थिएँ । उहाँसँग केहीबेर कुरा भएपछि छुट्टिने भन्ने भयो । त्यसपछि म रुन थालेँ । बुवाले मलाई १० रुपियाँ दिनुभयो । तर, पनि मेरो मन मानेन । म रुँदै थिएँ, एक प्रहरीले मलाई उचालेर बुवाको काखमा पुर्‍याइदिए । जेलभित्र बुवाका थुप्रै साथीले पनि मलाई माया गर्नुभयो, केहीले पैसा पनि दिनुभयो । त्यहाँ भएको फलफूल पनि दिनुभयो । केहीबेर त्यहाँ भुलेपछि उनीहरूले मलाई निकाल्न खोजे । मलाई बुवासँग छुट्टिन मन थिएन । त्यसमाथि जेलभित्र बुवाका साथीहरूको पनि माया पाएको थिएँ । बाहिर जाने कुरा गरेपछि फेरि मलाई रुन मन लाग्यो । बाहिर पनि म धेरैबेर रोएँ । बाहिर निस्किएपछि मलाई सम्झाउन ठूलोबुवाले भन्नुभएको थियो– तेरो बाले राम्रो काम गर्न लागेको हो, महान् काम गर्न लागेको हो । उहाँले मैले पहिले अनुमान गरेका पञ्चहरूका नाम पनि लिनुभयो । अनि मैले ठूलोबुवालाई भनेँ– कहाँ त्यसरी कोठाभित्र बसेर हुन्छ त, ड्यामड्याम ती मान्छेहरूलाई ठोक्नुपर्छ नि ! ठूलोबुवाले महात्मा गान्धीको नाम लिएर त्यो आन्दोलनको महत्व बुझाउनुभएको थियो । त्यतिवेला त मलाई महसुस भएन । तर, धेरैपछि मैले त्यो दिन सम्झिँदा लाग्यो, त्यो दिन म रोएर बुवालाई झन् कमजोर बनाएको रहेछु । म त्यो दिन रुनुहुँदैनथ्यो भन्ने थकथकी अहिले पनि लागिरहन्छ, मैले रोएर त्यसरी प्रजातन्त्रका लागि लड्न हिँडेको मेरो बुवालाई कमजोर महसुस गराउन हुँदैनथ्यो । ३. काठमाडौंमा पढ्नुभन्दा गाउँमै पढेको भए हुन्थ्यो सत्याग्रहको त्यो आन्दोलनपछि बुवाले मलाई पढाउन काठमाडौं ल्याउनुभयो । म त्यतिवेला चार÷पाँच कक्षामा मात्र पढ्थेँ । काठमाडौं आएपछि मलाई होस्टेलमा राख्ने बुवाको निर्णय रहेछ । तर, बुवाले मलाई छाडेर जाने कुरा गर्दा म निकै रोएँ । म अति नै रोएपछि बुवाले मलाई फिर्ता लिएर जानुभयो । तर, २०४४ सालमा त म काठमाडौं आउनैपर्ने भयो । बुवाले मलाई काठमाडौंको स्कुलमा भर्ना गरेर फर्किनुभयो । एक वर्षपछि त दाइ पनि काठमाडौंमै आउनुभयो । त्यतिवेला मैले बुवालाई आफ्ना कुरा भन्न सकिनँ । तर, बुवा–आमा नहुँदा काठमाडौंमा हामीलाई साइकोलोजिकल्ली अत्यन्त धेरै पीडा हुन्थ्यो । बुवा–आमाको न्यानो स्पर्शबाट टाढा हुनुपर्दाको मानसिक पीडाकै कारण मैले पढाइमा जति राम्रो गर्न सक्थेँ, त्यति गर्न सकिनँ कि भन्ने पनि लाग्छ । बुवालाई आफू घरगाउँकै स्कुलमा पढ्छु भन्न नसक्नु मेरो गल्ती हो भन्ने लाग्छ । अनि सँगसँगै मनमा खेल्छ, थप दुई–चार वर्ष उतै पढेको भए मैले थप केही राम्रो गर्न सक्ने थिएँ । ४. गल्ती मैले गरेँ, साथीहरूले सजाय भोगे म काठमाडौंमा सिद्धार्थ वनस्थलीमा पढिरहेको थिएँ । नौ कक्षा पास भएर १० कक्षाको सुरुवातमै २०४६ सालको आन्दोलन सुरु भयो । घरको वातावरणले गर्दा म त्यो आन्दोलनको समर्थनमा थिएँ । तर, अलिक सोझो पनि थिएँ, एग्रेसिभ हुने कुरामा मलाई डर लाग्थ्यो । तर, अचम्म १ २०४६ सालको त्यो आन्दोलनमा मैले मेरो स्वभावविपरीत एक्टिभ भएर काम गरेँ । कतिसम्म भने मैले स्कुलमा कक्षाका साथीहरूलाई पनि आन्दोलनको पक्षमा कन्भिन्स गरेँ र परिचालन गरेँ । ब्ल्याकबोर्डमा पञ्चायतविरुद्ध लेख्ने, कालो झन्डा राख्ने काम हामीले ग¥यौँ । यो सब भएपछि हामीलाई शिक्षकले नराम्रोसँग कुट्नुहुन्थ्यो । एकदिन त्यस्तै भयो । क्लास टिचरले एउटा मसिनो लठ्ठी ल्याएर सबैलाई कुट्नुभयो । त्यो खासमा मेरो काम थियो, तर त्यो दिन मैले यो कुरा ती शिक्षकलाई भन्न सकिनँ । त्यतिवेला शिक्षकलाई मैले गरेको काम हो भनेको भए झन् धेरै पिटाइ खाइन्छ भन्ने डर ममा सवार भएको थियो । धेरै पछि मलाई महसुस भयो, त्यसरी आफ्नो उद्देश्यका कारण साथीहरूले पनि पिटाइ खानु मेरो गल्ती थियो । मेरो अभियानका कारण निरपराध ती साथीले पनि धेरै कुटाइ खाएका थिए । ‘मैले गरेको हुँ’ भनेको भए ती साथीले कुटाइ खाँदैनथे । पछिसम्म पनि मलाई यो कुराले पोलिरह्यो । त्यसो त केहीपछि स्कुलले मलगायत केही साथीलाई रेस्टिकेट नै गर्‍यो । म पो आन्दोलनबारे कन्भिन्स्ड थिएँ, उनीहरू त थिएनन् । स्कुलले रेस्टिकेट गरिसकेपछि उनीहरूलाई आफ्ना बुवा–आमासँग फेस गर्न पनि गाह्रो भएको थियो । हुन त स्कुलले त्यो निर्णय केहीपछि विथड्र गर्‍यो, तर मलाई अहिले पनि लागिरहन्छ, मैले त्यो गल्ती गर्नुहुँदैनथ्यो । मैले स्कुलमा भएको त्यो आन्दोलनको जिम्मेवारी लिनुपथ्र्यो र साथीहरूलाई सजायबाट जोगाउन सक्नुपथ्र्यो । ५. अपरिपक्व थिएँ,पूरै संगठनलाई घाटा भयो म विज्ञान विषय अध्ययन गर्न अस्कल क्याम्पसमा भर्ना भएको थिएँ । यो २०५३ सालको कुरा हो । त्यतिवेलाको स्ववियु निर्वाचनमा मैले अस्कलमा सभापति पदमा जितेँ । स्ववियु सभापति भएपछि मैले क्याम्पसमा धेरै पक्षमा सुधारका लागि पहल गर्न थालेँ । होस्टेल सुधार, कलेजको निर्माण समितिमा हुनुपर्ने पारदर्शिता, स्ववियुले ड्रेस बाँड्न नपाउने, क्यान्टिन राम्रो हुनुपर्ने, शिक्षकहरूले प्राइभेट सेन्टर खोलेर पढाउन नपाउनेलगायतका अनेक मुद्दा उठाएँ । तर, यी सबै मुद्दा मैले एकैपटक उठाएको थिएँ । खासमा म त्यतिवेलासम्म एउटा संगठनलाई नै नेतृत्व गर्न अपरिपक्व रहेछु । यी सबै मुद्दा एकैपटकमा उठाएकाले तीसँग सरोकार राख्ने सबै मविरुद्ध खनिए । त्यसैले, त्यो दबाबमा मैले कार्यसम्पादन राम्रोसँग गर्न सकिनँ । खासमा म त मैले त्यतिवेला सामाजिक पहिचान निर्माण गर्न त्यो अवसरलाई क्यास गर्नुपर्ने हो रहेछ । तर, मेरो अपरिपक्वताका कारण पछिसम्म पनि त्यहाँ नेपाल विद्यार्थी संघलाई घाटा भयो । त्यसैले पनि २०५५ सालको स्ववियु निर्वाचनमा फेरि नेविसंघले जित्न सकेन । मेरो चाहना त प्रदीप पौडेलले सुरुवात गरेपछि नेविसंघले जित्यो भन्ने इतिहास बनोस् भन्ने थियो । तर, मेरै कारणले ०५५ को स्ववियु निर्वाचनमा एक सिटमा पनि नेविसंघले जित्न सकेन । त्यस्तै, त्यतिवेला गुटगत कुराहरू पनि प्रधान थिए । ०५५ को निर्वाचनमा नेविसंघका उम्मेदवार साथी छान्दा पनि मैले थोरै गुटका कुरा ख्याल गरेँ । यसले पनि निर्वाचन प्रभावित बन्यो । यो कुराको मलाई अहिलेसम्म पनि पछुतो भइरहन्छ । यदि म परिपक्व भएको भए वा निर्वाचनमा गुटका कुरालाई ध्यान नदिएको भए अहिले इतिहास बन्थ्यो, म त्यो इतिहासको एउटा पक्ष हुन पाउँथे भन्ने कुरा मनमा खेलिरहन्छ । ६. साथीहरूलाई सुरक्षा दिन सकिनँ, साथीले आँखै गुमाउनुप¥यो ज्ञानेन्द्र शाह राजा भएको समयमै शेरबहादुर दाइ प्रधानमन्त्री हुनुभयो । यही समयमा सात विद्यार्थी संगठनले चाहिँ आन्दोलन सुरु गर्ने तयारी गर्दै थिए । यही सन्दर्भमा सभागृहमा नेविसंघको एउटा कार्यक्रम थियो । त्यसको उद्घोषण मैले गर्ने भएँ । कार्यक्रम सुरु भयो । विद्यार्थी साथीहरू आउने(जाने क्रम चलिरहेको थियो । कार्यक्रमको अन्त्यतिर केही साथीहरू बाहिर निस्किएछन् । सडकमा पुगेर डिभाइडरले हानेर सरकारी गाडी तोडफोड पनि गरेछन् । कार्यक्रम पनि त्यसको केही समयमा नै सकियो । बाहिर साथीहरूले त्यस्तो गरेपछि त्यहाँ आएका प्रहरी सबै सभागृहभित्रै आए । मैले केही साथीलाई ‘मेरो काम सकिएपछि सँगै चिया खाउँला, पर्खनू है’ भनेको थिएँ । उनीहरू सभागृहको कम्पाउन्डभित्रै बसिरहेका थिए । म पनि त्यहाँ पुगेँ । प्रहरी आए पनि उनीहरूले सोचेछन्– यो नेता हो, हामीलाई जोगाइहाल्छ नि ! मैले पनि उनीहरूलाई ‘भाग’ भन्न बिर्सिएछु । प्रहरी त्यहाँ के आएको थियो, हामीलाई नराम्रोसँग कुट्न थाल्यो । बुटवलका एकजना भाइ ज्योति पाण्डेलाई त प्रहरीले आँखैमा लठ्ठी कोचिदिएछ । उनले आँखा नै गुमाउनुपर्‍यो । मलाई त्यहीवेलादेखि यो घटनामा आफ्नो ठूलो गल्ती भएको लाग्छ । मैले ती साथीलाई ‘भाग, यहाँ नबस’ भन्नुपर्ने थियो । तर, भनिनँ । मलाई अहिले पनि पछुतो लाग्छ, म ती भाइलाई सम्झिन्छु । र, त्यो गल्तीको जिम्मेवारी पनि मैले नै लिनुपर्छ भन्ने लाग्छ । ७. इन्स्पेक्टरलाई रुवाएँ, निकटस्थहरूको दिल दुखाएँ सात विद्यार्थीले संयुक्त आन्दोलन गर्ने र पाठ्यपुस्तकमा राखिएको राजपरिवारको फोटो फाल्ने कुरा भयो । नेविसंघबाट मैले मैले नेतृत्व लिएँ । हामीबीच छलफल हुँदा अन्य साथीले भन्नुभयो– मूल सडकमा गरौँ, मिडियामा मेसेज रिले गरौँ, प्रहरीको पहुँच नहुने ठाउँ छानौँ । तर, मैले जिद्दी गरेँ– आन्दोलन बानेश्वर चोकमै गरौँ । लामो छलफलपछि रत्नराज्य स्कुलको अगाडि चौतारामा आन्दोलन गर्ने भइयो । मलगायत सात संगठनका विद्यार्थी नेता चौतारामा उभियौँ । सात पुस्तक हातमा लियौँ र व्यक्ति पूजा मान्देनौँ भन्दै राजपरिवारको फोटो भएको पाना च्यात्न थाल्यौँ । त्यही समयमा प्रहरी आयो । पछाडिबाट प्रहरीले हानेको लात्ताको जोडले म सडकमा पछारिएँ । त्यतिवेला प्रहरीले तीन राउन्ड फायर गरेको थियो । संयोगले कसैलाई पनि गोली भने लागेन । त्यहाँ हामीलाई पक्राउ गरेर प्रहरीले तीनकुने प्रहरी बिटमा पुर्‍यायो । केही दिनमा प्रहरीले हामीलाई त्यहाँबाट बानेश्वर र बानेश्वरबाट अनामनगर लग्यो । अनामनगरका प्रहरी इन्स्पेक्टर अत्यन्त भलाद्मी हुनुहुन्थ्यो । उहाँले हामीलाई बन्दीजस्तो व्यवहार गर्नुभएन । उहाँले भन्नुहुन्थ्यो, ‘तिमीहरू आस्थाका लागि लडेका हौ, मलाई थाहा छ, तर मैले समर्थन देखाउन मिल्दैन । अन्तर्मनदेखि चाहिँ मेरो समर्थन छ, माया छ ।’ एउटा प्रहरी इन्स्पेक्टरले देखाउन सक्ने हदैसम्मको लचकता उहाँले देखाउनुभएको थियो । एकदिन उहाँले भन्नुभयो, ‘अब नोमिनल धरौटीमा छुट्नुस् । यसमा मान्नुहोस् ।’ मैले बाहिर विश्वप्रकाश शर्मा दाइलगायतलाई यो कुरा भनेँ । उहाँहरूले ‘त्यसो नगर्नू’ भन्नुभयो । तर, मैले ती इन्स्पेक्टरलाई केही भनिनँ । उहाँ हामीलाई लिएर सिडिओ कार्यालय पुग्नुभयो । सिडिओ कार्यालयमा सिडिओले भन्नुभयो, ‘तपाईंहरू विद्यार्थी हो, आवेगमा नआउनुहोला । पाँच सय धरौटी तोकेको छु, तिर्नुहोस् र बाहिर निस्कनुहोस् ।’ मैले त्यहाँ भनेँ, ‘हामी अपराधी होइनौँ सिडिओ साब ! धरौटी तिरेर रिहा हुने । अपराध नगरेकाले पाँच सय त के पाँच पैसा पनि तिर्दैनौँ । हामी न्यायका लागि लडेका हौँ ।’ सिडिओले भन्नुभयो, ‘नत्र तपाईंहरू जेल जानुपर्छ ।’ मैले भनेँ, ‘जेल जान मात्र होइन, गोली खान पनि तयार छौँ, तर अपराधीले जस्तो हामी धरौटी तिर्दैनौँ ।’ यी कुरा हुँदा सिडिओले इन्स्पेक्टरलाई हेर्नुभएको थियो । त्यहाँबाट हामीलाई भद्रगोल जेल लगियो । हामी प्रहरी भ्यानमा चढ्यौँ । मलाई थाहा थियो, अगाडि बसेका सिडिओको आँखामा आँसु थियो । केहीपछि उहाँ अनामनगरबाट सरुवा हुनुभएछ । त्यसको चार महिनापछि त उहाँले जागिर नै छाड्नुभएछ । मलाई यो कुरामा अहिले पनि ग्लानी महसुस हुन्छ । हामीलाई ती इन्स्पेक्टरले माया गर्नुभएको थियो । उहाँलाई मैले हामी धरौटीमा छुट्न नहुने कुरा प्रहरी बिटमै भनिदिनुपथ्र्यो । मलाई लाग्छ, दिलदेखि स्नेह गर्नेलाई त्यसरी रुवाउन हुँदैनथ्यो । ८. सानो मनोविज्ञानले काम गर्‍यो निर्वाचनमा पराजित भएँ २०६७ सालको कांग्रेस महाधिवेशनमा मैले केन्द्रीय सदस्यमा निर्वाचन लड्ने भएँ । नेविसंघका साथीहरूले पनि मलाई यसमा प्रोत्साहन गर्नुभयो । पदाधिकारी साथीहरू नै बसेर यो निणर्य गर्नुभएको थियो । मैले उम्मेदवारी सार्वजनिक गरेपछि केहीले मलाई सुझाब पनि दिनुभएको थियो– नेविसंघबाट राजीनामा दिएर आऊ अनि यो चुनाव लड । तर, मैले नेविसंघबाट राजीनामा दिइनँ । यता, महाधिवेशनमा पनि म २९ मतले पराजित भएँ, २७औँ नम्बरमा आएँ । पछि मलाई थाहा भयो, जो–जसले मलाई भोट दिनुहुन्छ भन्ने मैले सोचेको थिएँ, उहाँहरूले नै भोट दिनुभएनछ । मैले उहाँहरूलाई यो कुरा सोधेँ । उहाँहरूले भन्नुभयो, ‘भोटरको पनि विवेक हुन्छ नि ! तिमी अहिले नै जिम्मेवारीमा छौ । दुईतिर जिम्मेवारी बोझ हुन्छ भनेर हामीले भोट दिएनौँ ।’अनि मलाई लाग्यो, मैले नेविसंघबाट राजीनामा दिएको भए जित्ने रहेछु । अर्कोतिर म नेविसंघमै भएँ भने केही साथीलाई प्रमोट गर्न सक्छु भन्ने पनि थियो । यो मेरो सुसुप्त मनोविज्ञान पो रहेछ । यो स्वार्थबाट पनि म निर्देशित रहेछु । यो मेरो गल्ती थियो । अहिले पनि मलाई यसको पछुतो लाग्छ । ९. ढिलो विवाह गरेँ,परिवारको खुसीबारे सोचिनँ परिवारले धेरै पहिलेदेखि नै मलाई विवाह गर्ने दबाब दिइरहेको थियो । तर, मैले करिअरमा ध्यान दिएँ । त्यो दबाब नै झेलेँ । र, धेरैपछि, केहीअघि मात्र विवाह गरेँ । तर, म त गलत पो रहेछु । विवाहले त झन् करिअरलाई अगाडि बढाउन पो सहयोग गर्ने रहेछ । यति कुरा थाहा नपाएकाले मैले परिवार तथा आफन्तको खुसीलाई बेवास्ता गरेँ भन्ने लाग्छ । फेरि अर्कोतिर के पनि लाग्छ भने पहिले विवाह गरेको भए अहिलेकी जस्ती समझदार श्रीमती (एन्जिला) पो पाउँदिनथेँ होला कि ! नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy