विद्यार्थी नेता नैनसिंह महर, नवीना लामा र नरेन्द्र न्यौपानेको सम्बन्ध
फाल्गुन ७ गते, २०७३ शनिवार 18th February, 2017 Sat०७:५५:२१ मा प्रकाशित
नेपालका सबै राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका छ । ०६२-६३ को जनआन्दोलन अघिसम्म विद्यार्थी संगठनहरू आन्दोलनका पर्याय मानिन्थे । तर, पछिल्लो समय विद्यार्थी संगठनहरूको मुद्दा फेरिएको छ । यति नै वेला लामो समयसम्म हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लाग्दै छ । त्यसैले मुलुकका प्रमुख तीन राजनीतिक दलनिकट विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरू क्रमशः नैनसिंह महर, नवीना लामा र नरेन्द्र न्यौपाने आ–आफ्ना संगठनलाई विजयी गराउन कस्सिएका छन् । निर्वाचनमा होमिएका यी संगठनबीचको चुनावी प्रतिस्पर्धा निकै कसिलो छ । त्यसैले प्रतिस्पर्धी संगठनहरूका कतिपय गतिविधि एक–अर्काविरोधी पनि देखिन्छन् । तर, यी तीनवटै संगठनका अध्यक्षबीचको सम्बन्ध भने निकै सरल र सुमधुर छ । फरक–फरक राजनीतिक विचारधाराको प्रतिनिधित्व गरिरहेका तीन अध्यक्ष व्यवहारमा भने समानता बोक्छन् ।
तीनै नेताको नाम ‘न’ बाट
संयोग नै मान्नुपर्छ, तीन ठूला पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षको नाम ‘न’ बाटै सुरु भएको छ । नैनसिंह महर नेविसंघका अध्यक्ष हुन् । नवीना लामा अनेरास्ववियु र नरेन्द्र न्यौपाने अखिल क्रान्तिकारीका अध्यक्ष हुन् । नाममा मात्र संयोग होइन, यी तीन नेताको स्वभावमा समानता छ । समान्यतया विद्यार्थी नेता आक्रामक स्वभावका हुन्छन् । अझ प्रतिस्पर्धी विद्यार्थी संगठनका नेताहरूविरुद्ध अझै बढी आक्रामक । तर, यी तीन संगठनका नेताले भने भलाद्मी स्वभावको परिचय बनाएका छन् । तीनैजना एकअर्काको अस्तित्वलाई सहज रूपमा स्वीकार गर्छन् । तीनवटै अध्यक्ष सरल र रसिक छन्, औपचारिक बैठकको सुरुवात पनि हाँसो–ठट्टाबाटै सुरु गर्छन् ।
विद्यार्थी राजनीतिक यात्रा
नवीना र नरेन्द्रको उमेरमा मात्र समानता छैन, दुवैले राजनीतिक यात्रा करिब–करिब उस्तै समयमा सुरु गरेका हुन् । नवीना ३३ वर्षकी भइन् भने नरेन्द्र ३५ का भए । तर, नैनसिंह भने ४२ वर्षका भइसकेका छन् ।
नेविसंघका अध्यक्ष महरले ०४६ सालमा डडेल्धुराको रूपालस्थित असिग्राम माविमा अध्ययन गर्दाबाटै विद्यार्थी राजनीति यात्रा सुरु गरेका थिए । उनले संघको एकाइ अध्यक्षबाट यात्रा सुरु गरेका हुन् । त्यसपछि ०५६ सालमा नेविसंघको डडेल्धुरा अध्यक्ष, ०५७ मा केन्द्रीय सदस्य, ०६४ सालमा केन्द्रीय उपाध्यक्ष र ०७३ मा नेविसंघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
नवीनाले ६ कक्षामा पढ्दै गर्दा ०५२ सालबाट विद्यार्थी राजनीति सुरु गरिन् । काभ्रेको मादनकुडारी गाविसमा रहेको तत्कालीन महेन्द्र माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट उनको विद्यार्थी राजनीति सुरु भएको थियो । उनी भन्छिन्, ‘मेरा बाबा पनि एमाले नेता भएकाले उहाँकै प्रेरणाले सानै उमेरमा अनेरास्ववियुमा लागेकी हुँ ।’ उनी सोही माविमा प्राक अध्यक्ष, काभ्रे जिल्ला कमिटी सदस्य हुँदै जिल्ला उपाध्यक्ष भइन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र पनि ०५२ सालदेखि नै विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । जुम्लाको चन्द्रनाथ माविमा अखिल क्रान्तिकारी एकाइ सदस्यबाट सांगठनिक यात्रा सुरु गरे । ०५३ मा उनी सोही विद्यालयमा एकाइ अध्यक्ष भए । अहिले अध्यक्षसम्म आइपुग्दा उनले धेरै जिम्मेवारी सम्हालेका छन् । ०५४ सालमा जुम्ला जिल्ला कमिटी सदस्य, ०५८ मा अध्यक्ष भए । ०६० मा उनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, ०६३ मा केन्द्रीय सचिवालय सदस्य भए । ०६७ मा केन्द्रीय सचिव, ०७२ मा वरिष्ठ उपाध्यक्ष हुँदै ०७३ को एकताको भेलाबाट अध्यक्षको जिम्मेवारी सम्हाले ।
तीनै नेताको एउटै पृष्ठभूमि
समयको हिसाबले तीन अध्यक्षमध्ये सबैभन्दा पहिले नेविसंघका अध्यक्ष नैनसिंह विद्यार्थी राजनीतिमा लागेका हुन् । समय केही अघि–पछि भए पनि उनीहरूको पारिवारिक पृष्ठभूमि भने एउटै रहेको छ । तीनजना अध्यक्ष मध्यमवर्गीय परिवारबाट राजनीतिमा आएकाले जीवनशैली पनि उस्तै छ । नेविसंघका अध्यक्ष नैनसिंह भन्छन्, ‘हामी तीनजना नेता ग्रासरुटबाट आएकाले, जीवनशैलीसमेत मिल्छ ।’
नैनसिंह र नरेन्द्रको फरक यात्रा
नैनसिंह र नरेन्द्रले विद्यार्थी राजनीति गरिरहँदा फरक पहिचान पनि बनाएका थिए । नैनसिंहले केही समय पत्रकारिता पनि गरेका थिए । ०५२ सालमा नेविसंघको जिल्ला अध्यक्ष हुँदा उनले राजधानीबाट प्रकाशित हुने एउटा राष्ट्रिय दैनिकमा डडेलधुरा संवाददाता भएर काम गरेका थिए । तर, केन्द्रीय राजनीतिमा आएपछि पत्रकारिता छाडे । त्यतिवेलाको अनुभव सुनाउँदै उनले भने, ‘अरूका समाचार बनाएर मात्र हुँदैन, अब आफ्नै समाचार बन्ने गरी काम गर्छु भनेर पत्रकारिता छोडेर विद्यार्थी राजनीतिमा लागेँ ।’
नरेन्द्रले विद्यार्थी राजनीति गर्दै गर्दा जनयुद्धको फरक अनुभवसमेत बटुलेका छन् । न्यौपाने ०५६ देखि माओवादीको पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा हिँडेका थिए । जनयुद्धका वेला उनको देब्रे खुट्टामा दुईवटा गोलीसमेत लागेको थियो । ३ फागुन ०५८ मा आफ्नै जिल्ला जुम्लाको गर्जेङकोटमा उनीमाथि गोली हानिएको थियो ।
तीन नेताको भेट
नवीनाले अरू दुई अध्यक्षलाई चिनेको झन्डै एक दशक भयो । नैनसिंह र नरेन्द्रको राम्रोसँग चिनजान भएको जम्मा सात महिना भएको छ । एकता भेलाबाट नरेन्द्र क्रान्तिकारीको अध्यक्ष भएपछि राम्रोसँग चिनजान भएको थियो । दुई अध्यक्षको चिनजानको समय छोटो भए पनि सम्बन्ध भने सुमधुर रहेको छ । नवीना बानेश्वर क्याम्पसमा स्ववियु सभापति हुँदा अहिलेका दुई अध्यक्षसँग छुट्टाछुट्टै भेट भएको थियो ।
जेलले नजिक्यायो नैनसिंह र नवीनाको सम्बन्ध
०६२-०६३ सालको जनआन्दोलनमा तीनै विद्यार्थी नेता होमिएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको १९ माघ ०६१ को सैनिक कुविरुद्धकोे आन्दोलनले नैनसिंह र नवीनालाई नजिक बनायो । १९ माघको विरोध गर्ने क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो । दुवैजनालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी बानेश्वर प्रहरी चौकीमा पुर्याइएको थियो । पछि दुवैजनालाई खरिपाटी लगियो । त्यहाँ अरू नेताहरूसहित उनीहरू झन्डै एक महिना एउटै जेल बसेका थिए । जेलमा राजनीतिक शासन प्रणालीका मात्र होइन, अनौपचारिक क्रियाकलाप गरेर रमाइलो पनि गर्ने । जेलमा नैनसिंह राम्रो गीत गाउँथे, नाच्थे । नवीना नाच्न अघि सरे पनि गाउन भने चाहँदैनथिन् । जेलको बसाइ मात्र होइन, केही समय पहिले दिल्ली भ्रमण पनि दुईजनाले सँगै गरे ।
अनौपचारिक गफमा जिस्क्याउँछन्
औपचारिक कार्यक्रम र छलफलमा विद्यार्थी नेता राजनीति र शैक्षिक एजेन्डाका विषयमा कुरा गर्छन् । तुलनात्मक रूपमा नैनसिंह र नवीनाबीच नजिकको सम्बन्ध छ । त्यसैले दुवैबीच अनौपचारिक गफ बढी हुने गर्छ । नवीना अविवाहित छिन् । त्यसैले नैनसिंह वेलावेला नवीनालाई जिस्क्याउँछन् । ‘नैनसिंह दाइ कहिलेकाहीँ जिस्क्याउनुहुन्छ,’ अनौपचारिक कुराकानी के हुन्छन् भन्ने प्रश्नमा अध्यक्ष लामा भन्छिन्, ‘के छ ? कहिले हो बहिनीको बिहे भनेर सोध्नुहुन्छ ।’
नैनसिंह नवीनालाई ‘तिमी’ भनेर सम्बोधन गर्छन् । नवीना भने नैनसिंहलाई ‘दाइ’ भनेर सम्बोधन गर्छिन् । अनौपचारिक रूपमा नैनसिंह र नरेन्द्रबीच पनि व्यक्तिगत कुरा हुने गरेका छन् । पारिवारिक जीवनबारे पनि उनीहरूबीच कुराकानी हुने गरेको छ । वैचारिक रूपमा कम्युनिस्ट पार्टीनिकटका संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी नजिक भए पनि व्यक्तिगत सम्बन्ध भने फरक छ ।
परिपक्व नैनसिंंह
पदका हिसाबले तीनवटै संगठनका अध्यक्षको उस्तै हैसियत हो । तर राजनीतिमा पहिलेदेखि लागेको र अरूलाई उत्तिकै सम्मान गर्ने भएकाले नवीना र नरेन्द्र दुवैले नैनसिंहलाई परिपक्क नेता मान्ने गरेका छन् । राजनीनिक रूपमा एकले अर्कालाई पछि पार्न खोजे पनि त्यसबाहेकका कुरामा भने एक–अर्कालाई सहयोग गर्छन् । नैनसिंहको प्रशंसा गर्दै नवीना भन्छिन्, ‘नैनसिंह दाई कुशल अभिभावकजस्तो लाग्छ, राजनीतिक रूपमा उहाँले अखिललाई पछि पार्न खोज्नुहोला, म नेविसंघभन्दा अखिल अगाडि बढाउन चाहन्छु, तर त्यसबाहेकका कुरामा विश्वासिलो र भदपर्दो नेता लाग्छ ।’ नरेन्द्रसमेत नैनसिंहलाई परिपक्व नेता मान्छन् ।
नैनसिंह र नरेन्द्रले भने नवीनालाई निडर नेताका रूपमा हेर्ने गरेका छन् । नरेन्द्र भन्छन्, ‘नवीना निडर छात्रा लिडर हुनुहुन्छ, उहाँ सहज र सामान्य लाग्छ ।’ नरेन्द्रले नवीनालाई कहिलेकाहीँ पार्टीका कुरा विद्यार्थी संगठनको बैठकमा लाद्न खोज्ने नेताका रूपमा समेत लिने गरेका छन् । ‘उहाँ कहिलेकाहीँ आफ्ना पार्टी लाइनका कुरालाई प्राथमिकता दिनुहुन्छ, तर कन्भिन्स पनि छिटो हुनुहुन्छ,’ नैनसिंह भन्छन्, ‘हामी समान धारणा बनाउने प्रयास गर्छौं ।’
नरेन्द्रलाई पनि नवीना र नैनसिंह दुवैले इमान्दार र मिजासिलो नेताका रूपमा लिने गरेका छन् । न्यौपानेलाई सीधा र स्पष्ट बोल्ने नेताका रूपमा नवीना र नैनसिंहले लिने गरेका छन् ।
स्ववियु चुनावले बनायो नजिक
त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावले तीन नेतालाई धेरै नजिक बनाएको छ । तीन अध्यक्षको एक स्वरले अरू संगठनलाई समेत चुनावमा आउन सहज वातावरण बनाउने काम गरेको छ । स्ववियु चुनावका कारण यी तीन अध्यक्षको आजकल प्रत्येक दिनजस्तो बैठक हुने गरेको छ । यसपटक स्ववियु चुनाव नभए स्ववियु नै नरहने चिन्ताले तीन नेता सानातिना कुरामा सम्झौता गरेर अघि बढेका छन् । स्ववियु चुनाव कसरी सम्पन्न गर्नेदेखि आचारसंहिता ल्याउने कुरामा समेत एकमत भएर लागे । तल्ला कमिटीमा कतै विवाद भए पनि केन्द्रका तीन अध्यक्ष एक ठाउँमा बसेर समाधान गर्दै आएका छन् । विद्यार्थी आन्दोलनका साझा एजेन्डा बनाउने कुरामा पनि एकमत रहेका छन् ।
शैक्षिक कर्जाको एजेन्डामा विवाद
धेरै कुरामा तीन अध्यक्षको सम्बन्ध राम्रो भएपछि एउटा एजेन्डाको जस कसले लिने भन्नेमा विवाद रहेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई ऋण दिने सरकारको कार्यक्रममा कुन संगठनले जस लिने भन्नेमा झगडासमेत हुने गरेको छ । केही दिनअघि एउटा टेलिभिजन कार्यक्रममा नवीना र नरेन्द्रले आ–आफ्नो संगठनले उठाएको मुद्दा भन्दै दाबी गरेपछि भनाभनसमेत भएको थियो ।
०६५ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ६० बुँदे ज्ञानपनपत्रमार्फत् आफ्नो संगठनले उठाएको नरेन्द्रको दाबी छ । तर, नवीना भने सबैभन्दा पहिले आफूहरूले सो मुद्दा उठाएको दाबी गर्छिन् ।
शैक्षिक योग्यतामा विविधता
तीन अध्यक्षको शैक्षिक योग्यतामा विविधता रहेको छ । नैनसिंहले राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरिसकेका छन् । उनले चारवटा पुस्तकसमेत लेखेका छन् । जुनसुकै विषय पढे पनि नैतिकतामा आधारित मानवतावादी शिक्षा हुनुपर्छ भन्ने मान्यता उनको छ । नवीना भने बानेश्वर क्याम्पसबाट समाजशास्त्रमा एमए गर्दै छिन् । न्यौपानेले त्रिविबाट राजनीतिशास्त्रमा एमए गरिसकेका छन् भने उनी एलएलबी प्रथम वर्षका विद्यार्थी हुन् ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: