फाल्गुन १८ गते, २०७३ बुधवार 1st March, 2017 Wed०८:१९:०७ मा प्रकाशित
[caption id=\"attachment_120158\" align=\"alignleft\" width=\"750\"] प्रदीप नेपाल नेता, एमाले[/caption]
मलाई मंसिर ०३३ मा नख्खु जेल सारे । त्योभन्दाअघि सेन्ट्रल जेलमा थिएँ । नख्खुमा पहिलेदेखि नै झापालीहरूलाई राखिएको थियो । धेरैजसो ०२९–३० तिरै पक्राउ परेका थिए । विराटनगर, वीरगन्जलगायतका जेल सार्दै नख्खु ल्याइएको थियो ।
नख्खुमा हामी १८ जना वामपन्थी भयौँ । विभिन्न पार्टीका । स्वतन्त्र वामपन्थी पनि हुनुहुन्थ्यो । म माक्र्सवादी अध्ययन केन्द्रसँग आबद्ध थिएँ । झापाली साथीहरू कोअर्डिनेसन केन्द्र बनाएर आन्दोलन गरिरहनुभएको थियो । म झापाली भइसकेको थिइनँ । तर, झापालीसँग सम्बन्ध भएको ठानेर अध्ययन केन्द्रका हामी चारजना म, माधव पौडेल, गोपाल शाक्य र वीरबहादुर लामालाई पनि कडा निगरानीमा राखेका थिए ।
जेल परे तोड्नुपर्छ भन्ने झापाली मान्यता
झापालीहरूको मान्यताचाहिँ जेल परियो भने तोड्नुपर्छ भन्ने रै’छ । जेल पर्नेबित्तिकै कसरी भाग्ने भन्ने योजना बनाउन थालिहाल्ने । सुरुङ खन्ने, पर्खाल चढेर हामफाल्नेलगायतका विकल्पमा छलफल गर्दा रहेछन् । उनीहरूलाई काठमाडौंको भूगोल थाहा थिएन । जेल ब्रेक गरेपछि कहाँ जाने भन्ने अन्योलका कारण कुनै योजना बनाउन सकेका रहेनछन् ।
हामी चारजना भने काठमाडौंकै भूगोलमा काम गरेका थियौँ । जेल ब्रेकपछि कहाँ जाने भन्ने समस्या थिएन । काठमाडौंमै पनि चार–पाँच महिना लुक्न सक्ने संगठन बनाएका थियौँ । उपत्यकामा हाम्रो संगठन राम्रै थियो ।तर, हामी झापालीबाट प्रभावित भयौँ । पूर्वतिरै गएर काम गर्ने योजना बन्यो । काठमाडौं कटाउने जिम्मा हामीले लियौँ ।
नख्खुमा भएका झापालीहरू सिपी मैनाली, घनेन्द्र बस्नेत, नरेश खरेल, भीष्म धिमाल, धर्म घिमिरे, हर्क खड्का, मोहनचन्द अधिकारी, राजन राजवंशी हुनुहुन्थ्यो । स्वतन्त्र वामपन्थीहरू सूर्य कन्दङ्वा, मोहन उप्रेती, अशोक न्यौपाने पनि हामीसँगै हुनुहुन्थ्यो । अशोक न्यौपानेले आफू पनि जेल ब्रेकमा लाग्ने बताउनुभयो । सूर्य कन्दङ्वाले ब्रेक नगर्ने भन्नुभयो । मोहनजीले चाहिँ आफ्नो छुट्ने समय आउन लागेकाले लफडामा नफस्ने बताउनुभयो । १८ मध्ये १५ जना जेल ब्रेक गरेर भाग्ने योजनामा लाग्यौँ ।
चीनको सुरुङयुद्धको प्रभाव
योजना बनाउन छलफल भयो । साथीहरूले अनेक जुक्ति निकाल्नुभयो । अलि उग्र प्रकारका साथीहरूले ढोकामा लात्तीले ड्यांगै हानेर फोड्ने र कुद्ने प्रस्ताव गर्नुभयो । कोहीले चाहिँ यताबाट पर्खालबाहिर डोरी फ्यालेर उता एकजना समात्ने मान्छे राख्ने र चढेर नाघ्ने योजना सुनाउनुभयो । अन्तिममा भने सुरुङ खनेर भाग्नेमा सबैको सहमति भयो ।
हामी काठमाडौंमा बसेर माक्र्सवादी अध्ययन केन्द्रमा काम गरिरहेकाहरू चीनको सुरुङयुद्धबाट प्रभावित थियौँ । हामी विश्व कम्युनिस्ट आन्दोलनका विभिन्न आयामबारे खुब धेरै अध्ययन र बहस गथ्र्यौं । खासगरी चिनियाँहरूले जापानी आक्रमणविरुद्ध गरेको सुरुङयुद्धले हामीलाई प्रभावित गरेको थियो । यो प्रकारको अनौठो युद्धमा उनीहरूले विजय पनि पाएका थिए । त्यसैले हामी काठमाडौंकाले सुरुङ खनेर भाग्ने प्रस्ताव गरेका थियौँ । झापाली साथीहरू हाम्रो प्रस्तावमा सहमत पनि हुनुभयो ।
पुलिस झुक्याउन अनेक काइदा
नख्खु जेलमा दुईवटा ब्लक थिए । बीचमा एउटा साँघुरो खालको ढोका थियो । एउटा ब्लकमा कांग्रेसीहरूलाई राखिएको थियो । अर्कोमा वामपन्थीलाई । कांग्रेसी राखेको ब्लकमा कृष्णप्रसाद भट्टराई पनि थिए । कांग्रेसीले पनि हामीले जेलब्रेक गर्दैछौँ भन्ने थाहा पाउनु खतरनाक हुन सक्थ्यो । निकै गोप्य ढंगले यो काम गर्नु थियो ।
जेलभित्र हामीले खरायो पालेका थियौँ । छेउमा फूलबारी पनि बनाएका थियौँ । हामी त्यतैतिर काम गरिरहन्थ्यौँ । जेल प्रशासन र कांगे्रसहरूलाई पनि वामपन्थी मिहिनेती हुन्छन् भन्ने परेको थियो । खरायो पालेको ठाउँ निकै फोहोर थियो । खासमा खरायोको बिस्टा एकदमै गनाउने । त्यतातिर कोही नजाने । हामी भने त्यहीछेउमा फूल गोड्ने, पानी हाल्ने, खरायोलाई खुवाउनेलगायत काम गरिरहन्थ्यौँ । त्यसैले खरायो पालेकै ठाउँबाट सुरुङ खन्ने निर्णय गर्यौँ ।
सुरुङ खन्नका लागि हामीले तीन समूह बनायौँ । तीन समूहले २४ घन्टै काम गथ्र्यौँ । कसले के काम गर्ने भन्ने जिम्मेवारी पनि विभाजन गरेका थियौँ । मचाहिँ गफ गरेर, गीत गाएर कृष्णप्रसाद भट्टराईलाई भुलाउने गर्थेँ । मेरो जिम्मेवारी नै त्यहाँ रमाइलो वातावरण बनाउने थियो । जसले गर्दा यिनीहरू भाग्दै छन् भन्ने कसैले शंका नगरोस् भन्ने थियो ।
पुलिसले शंका गरेपछि झन्डै फसियो
खन्ने औजार पन्यु थियो । पछाडिको भागले खन्ने काम गर्यौँ । झन्डै ६ फुट गहिरो खाडल बनायौँ । त्यसपछि एकजना मान्छे घस्रन मिल्ने गरी सुरुङ बनायौँ ।
एक दिन पुलिसले शंका गर्यो । भित्र गएर बन्दुकको कुन्दाले भुइँमा ढ्याङढ्याङ ठोक्यो । जहाँ प्वाल थियो, त्यहाँ फोहोर थुपारेका थियौँ । त्यसैले त्यहाँ भने ठोकेन । संयोगले बचियो ।
चैत १२ को दिन थियो । खन्न थालेको १९–२० दिन भइसकेको थियो । करिब ८ बजेको हुनुपर्छ । खन्दाखन्दै आलुको जरा भेटियो । सुरुङ पर्खालबाहिर पुग्यो भन्ने थाहा पायौँ । त्यहीँबाट बाहिर निस्कने प्वाल बनायौँ । त्यही दिन बाहिर निस्कनुपर्छ भन्नेमा एकमत भइयो । सूर्यमान कन्दङ्वा र मोहन उप्रेतीलाई हामीले कुनै पनि दिन हामी भाग्न सक्छौँ भनेका थियौँ । जेलबाट निस्कने वेला भने उहाँहरूलाई केही भनेनौँ । उहाँहरूले पनि भोलिपल्ट मात्र थाहा पाउनुभएछ ।
लुगा बागमतीमा बगाएर भाग्यौँ
जेलबाट निस्कनुअघि बत्ती निभाउनुपर्ने थियो । नारद वाग्ले र अशोक न्यौपानेले मुख्य लाइनको तार जुधाइदिनुभयो । ट्रान्सफर्मर नै पड्केछ । बाहिर पनि अन्धकार भयो । जेलबाट १५ जना पालैपालो निस्कियौँ । काठमाडौंको भूगोल थाहा पाउने एक–एकजनाचाहिँ सुरु र अन्तिममा निस्कने योजना थियो । बाहिर निस्किएपछि १५ जना नै एउटा ठाउँसम्म सँगै जाने र छुट्टिने योजना थियो ।
सबैभन्दा अगाडि माधव पौडेल हनुहुन्थ्यो । म पछाडिबाट तेस्रोमा थिएँ । अन्तिममा गोपाल शाक्य हुनुहुन्थ्यो । बाहिर निस्कँदा हिलैहिलो भइयो । लुगा हेरिनसक्नु थियो । यस्तो हुन्छ भन्ने हामीलाई सुरुङ खन्दादेखि नै अनुमान थियो । हिलो लुगा लगाएर हिँडे शंका हुन्थ्यो । त्यसैले भित्र अर्को पनि लुगा लगाएका थियौँ । नख्खुबाट अलि तल झरेपछि दोभान छ, बागमती र नख्खुको दोभान । सबैले बाहिर लगाएको लुगा फुकालेर बागमतीमा फ्याँक्यौँ र अघि बढ्यौँ ।पहिलो दिन हामी चन्द्रागिरिपारि गयौँ । त्यहाँ १३ जना मात्र भयौँ । हर्क खड्का र नारद वाग्ले हराउनुभयो ।
रक्सौल पुग्न ६ दिन पैदल
हामीले झापा गएर संगठनको काम गर्ने योजना बनाएर जेल तोडेका थियौँ । तर, चन्द्रागिरिपारि पुगेपछि थाहा पायौँ कि झापाली साथीहरूको संगठन एकदमै कमजोर रहेछ । त्यता त वामपन्थीलाई कसैले खान पनि दिँदैन भन्ने थाहा पायौँ । संगठन नै धराशायी रहेछ भन्ने थाहा पाएपछि योजना बदल्यौँ । बनारस जाने भयौँ । म मुक्ति मोर्चासँग एकता गर्न गएँ ।
मुक्ति मोर्चाको वरिष्ठ नेता मोदनाथ प्रश्रित हुुनुहुन्थ्यो । तर, संगठक भने जीवराज आश्रित । उहाँहरू बनारस हुनुहुथ्यो । हामीले पैदलै वीरगन्ज काटेर भारत छिर्नु थियो । अर्को रात हामी फाखेल पुग्यौँ । त्यहाँका स्थानीयलाई हामी आउँदैछौँ भन्ने थाहा थियो । किनभने दिउँसै पुलिस गएर छापा मारिसकेको थियो । वीरबहादुर लामा त्यही गाउँको हुनुहुन्थ्यो । ‘तिमीहरूको गाउँको डाका भागेको छ,’ भनेर पुलिसले तर्साएको रहेछ । त्यसैले गाउँ नपस्न स्थानीयले सचेत गराए । दिउँसो जंगलमा बसेर रातभरि हिँड्ने गथ्र्यौँ । दिउँसो हेलिकोप्टर घुम्ने हुनाले हिँड्न सकिँदैन थियो ।
दोस्रो रात वीरबहादुरजीको दिदीको घर पुगियो । त्यहाँ ढिँडो खाएर हिँड्यौँ । तेस्रो रात उहाँकै मामाको घर पुगियो । ढिँडो नै खाएर हिँड्यौँ । चौथो रात केही खान पाइएन । दिनभर जंगलमा बसेर रातभर हिँडियो । पाँचौँ रात अनकन्टार गाउँमा पुग्यौँ । तराईको गाउँ थियो त्यो ।
‘वीरगन्ज हिँडेको, बाटो भुलेर यता आइपुगियो’ भन्यौँ । पहाडिया केटा भएकाले बाटो भुले भन्ने कुरा विश्वास गरे । खानेकुरा दिए । हामी खाएर हिँडिहाल्यौँ । भोलिपल्ट बिहानै वीरगन्ज पुग्यौँ । त्यसपछि रक्सौल छिर्यौँ ।
गज्जब साप्ताहिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: