श्रावण २९ गते, २०७४ आइतवार 13th August, 2017 Sun०९:४७:२० मा प्रकाशित
जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले केही दिनअघि देशका अधिकांश स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको थियो । मौसमको पनि एउटा सिस्टम हुन्छ, जुन शुक्रबारदेखि नै आएर बसेको थियो । त्यसकै आधारमा हामीले भारी वर्षा हुन्छ भन्ने कुरा टिभी, रेडियो र हाम्रो वेबसाइटमार्फत जानकारी गराएका थियौँ । र, शनिबार तराई तथा मध्य पहाडी क्षेत्रमा भारी वर्षा भयो । वर्षाकै कारण जिउधनको क्षति पनि भएको छ । यसमा हामीले दिएको सूचनाका आधारमा सम्बन्धित निकाय र जनसमुदाय स्वयंले सतर्कता अपनाउन सक्नुपर्ने थियो । तर, त्यसो भएन, यो आफैँमा दुःखद कुरा हो । गृह मन्त्रालयलगायतका निकायले वर्षापछि उद्धारमा महत्वपूर्ण भूमिका निभाएका छन्, त्यसमा कुनै दुईमत छैन । तर, पूर्व सतर्कता अपनाउने विषयमा भने हामी कहीँकतै चुकेका पक्कै हौँ ।
यसरी हुन्छ नेपालमा मनसुन
नेपालमा हिन्द महासागरदेखि बंगालको खाडी हुँदै मनसुन छिर्ने गर्छ । जुन नेपालको पूर्वी भेग, मध्य पहाडी हुँदै पश्चिमसम्म पुग्छ । नेपालको पश्चिम भागबाट भारतसम्म पुग्ने गर्छ । शनिबारको मनसुन पनि बंगालबाट भारतको पूर्वी र उत्तरी भूभाग हुँदै नेपालको पूर्वी र उत्तरी भू–भागमा आएको हो । सामान्यतया दक्षिण एसियामा सक्रिय पश्चिमी वायुका कारण नेपालमा वर्षा हुने गर्छ ।
विशेषगरी जुलाई महिनालाई मनसुनको महिनाका रूपमा लिइन्छ । तर, यस वर्ष जुलाईमा राम्रोसँग वर्षा भएन अर्थात् औसतभन्दा कम भयो । यो अहिलेसम्मको रेकर्ड नै हो । तराई क्षेत्रमा धान रोप्नुपर्ने समयमा वर्षा नहुँदा किसानहरूमा निराशा छाएको थियो । नेपालको पश्चिमी क्षेत्रभन्दा पूर्वी तराईमा कम वर्षा भएको रेकर्ड हामीसँग छ । जुलाईमा कम वर्षा भएका पूर्वी क्षेत्रमा अगस्टमा वर्षा भएको छ । वर्षा तराईका सबै जिल्लामा र मध्य पहाडी भेगमा पनि भयो ।
शनिबार मनसुन हुनुको कारण
शनिबार भारी मात्रामा मनसुन हुनुको कारण न्यून चापीय केन्द्र हो । यसलाई अझ प्रस्ट रूपमा भन्नुपर्दा वायुमण्डलीय चाप कम हुँदै गयो भने विभिन्न ठाउँबाट वर्षा हुन्छ । न्यून चाप भएको ठाउँमा चारैतिरबाट हावा, हुरी, बतास आउने र पानी पर्ने हुन्छ । अहिले बंगालको खाडीमा न्यून चाप भएका कारण त्यहाँ बादल लाग्यो, पानी पर्यो र वर्षा भयो । त्यही वर्षा बंगाल हुँदै नेपालसम्म आइपुग्यो । यसको अन्य कुनै विशेष कारण छैन । यो स्वाभाविक प्रक्रिया नै हो ।
दुई घन्टाअघि नै पाउन सकिन्छ जानकारी
मनसुन र बाढी, पहिरोको पूर्वानुमान हुने हुँदा त्यसबाट सावधानी अपनाउन सकिन्छ । मौसम विभागले गर्ने भनेको पूर्वानुमान मात्र हो । जलवायु विभागले यस्तो किसिमको वर्षा हुन्छ, भोलि बाढी आउँछ भन्ने जानकारी दिन्छ । हामीले एउटा वायुमण्डल र अर्को खोलासम्बन्धी जानकारी दिन्छौँ । अहिले त हामी दुई घन्टाअघि नै बाढीबारे जानकारी पाउन सक्छौँ । हामीसँग भएको ‘माउ कास्टिङ सिस्टम’ले यसको जानकारी दिन्छ । विश्वव्यापी रूपमा नै यस प्रक्रियालाई अपनाउने गरिन्छ । र, नेपालमा पनि यो सिस्टम लागू भएको छ । यो सिस्टम नेपालभर नै उपलब्ध छ । यो भूउपग्रह हेर्न सक्ने सिस्टम हो । यसबाट बादललाई मजासँग देख्न सकिन्छ । वर्षा हुनुअघि बादल मडारिने हुँदा हामी यही सिस्टमद्वारा पूर्वानुमान गर्न सक्छौँ । साथै, यस सिस्टमबाट नेपालभर कहाँबाट वर्षा कहाँ सरिरहेको छ भन्ने दुई घन्टाअघि नै हेर्न सक्छौँ । जस्तै : तराई भागमा आधा बादल छ भने आधा नेपालसँग सीमा जोडिएको भारतीय भूभागमा हुन सक्छ । यसको जानकारी हामीले सोही सिस्टमबाट थाहा पाउने हो । त्यसका आधारमा हामीले यसको सबै जानकारी हाम्रो वेबसाइटमा दिने गर्छौं । यसकै आधारमा सूचना दिन, सचेतना जगाउन सकियो भने जनधनको क्षति कम हुन्छ ।
त्यस्तै, बाढी आउनुपूर्व बेलुन उडाउने र गणितीय विधि विश्वमा प्रचलित छन् । जुन अहिलेसम्म नेपालमा लागू भएका छैनन् । ‘माउ कास्टिङ सिस्टम’बाट दुई घन्टाअघि मनसुन हुने र बाढी आउने कुरा थाहा हुन्छ भने गणितीय विधिद्वारा दुई घन्टापछि कहाँ, के हुन्छ भन्ने थाहा पाउन सक्छौँ । त्यसैले यो विधि निकै उपयोगी छ । भविष्यमा नेपालमा पनि यसको प्रयोग हुनेछ । हामीले त्यसका लागि पहल गरिरहेका छौँ । तर, विश्वभर प्रचलनमा रहेको र प्रभावकारी विधि भने माउ कास्टिङ सिस्टम नै हो ।
मनसुनको पनि बाटो हुन्छ
हामी हिँड्नेजस्तै मनसुनको पनि आफ्नै बाटो हुन्छ । र, यो त्यही बाटो हुँदै प्रवाह हुने गर्छ । नेपालको सन्दर्भमा यसको बाटो भनेको तराई क्षेत्र हो । यो बाटोको कुनै विशिष्ट नाम नभएकाले यसलाई वर्षाको ट्र्याक नै भन्दा गलत नहोला जुन सधैँ फिक्स्ड नै हुने गर्छ । वायुमण्डलीय चाप कम हुने कारणले बंगालको खाडीबाट आउने मनसुन पूर्वबाट पश्चिमतिर सर्दै जान्छ । जुन दक्षिण भारत हुँदै, पूर्वी भारत र बंगलादेश हुँदै नेपालसम्म आउँछ र उत्तर पश्चिमतिर दिल्ली र पाकिस्तान पुग्छ । यही नै मनसुनको बाटो हो । नेपालको भिन्न भौगोलिक कारणले मौसमको पूर्वानुमान गर्न र त्यसपछिको उद्धारका लागि हामीले केही कठिनाइ भोग्दै आएका छौँ । तराईमा समथर नै समथर भूभाग र हिमालमा हिमाल नै हिमाल भएकाले समस्या देखिएको हो ।
यदि भारी वर्षा भइहाले…
भूकम्प, वर्षा, बाढी, पहिरोजस्ता विषय नितान्त प्राकृतिक विषय भएकाले हामी यसको रोकथाम गर्न सक्दैनौँ । तर, समयमै सचेतना अपनाएर त्यसबाट बच्न भने पक्कै सक्छौँ । आकस्मिक वर्षा र त्यसबाट आउने बाढी, पहिरोको सन्दर्भमा हामी केही सावधानी अपनाउन सक्छौँ । यसमा सम्बन्धित निकायको आ–आफ्नो रोल हुन्छ । र, सम्बन्धित निकायका जिम्मेवार व्यक्ति आफ्नो भूमिका निर्वाह गर्न चुक्नुहुन्न । हाम्रो महाशाखाले वर्षा, बाढी तथा अन्य प्रकोपको विषयमा समयमै जानकारी दिने हुँदा सकेसम्म त्यसलाई नै आधार मानेर सावधानी अपनाउन सकिन्छ । तर, त्यसको पहुँचबाट टाढा रहेको अवस्थामा यदि बाढी, पहिरो आइहाले गाउँघरमा साइरन बजाउने, आफू सुरक्षित हुने र अरूलाई पनि अलर्ट गर्ने, मोबाइलमा म्यासेज पठाएर सचेत बनाउने, सम्बन्धित निकायले तत्काल उद्धारका लागि पहल गर्ने, सुरक्षित स्थान पहिल्याएर त्यहाँ जाने गर्नुपर्छ ।
सम्बन्धित निकायले अपनाउनुपर्ने सतर्कता
टिभी, रेडियो र अनलाइनमा मनसुनबारे पूर्वसूचना दिँदैमा त्यो सूचना सबै जनतासामु पुग्छ भन्ने छैन । त्यसका लागि सञ्चार सिस्टम प्रभावकारी हुनुपर्छ । उदाहरणका लागि हामी रेडक्रसलाई लिन सक्छौँ । उनीहरू सूचना प्रवाह गर्ने सवालमा निकै अघि छन् । कुनै गाउँको सूचना क्षेत्र, जिल्ला र जिल्ला हुँदै केन्द्रसम्म एकैछिनमा आइपुग्छ । मौसम विभागले दिएको सूचनाका आधारमा सम्बन्धित पक्षले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । यसका लागि साइरन बजाउने, मोबाइलमा म्यासेज पठाउने काम मौसम विभागले गरिरहेको छ । त्यसबाहेक सुरक्षा र सचेतना अपनाउने काम सम्बन्धित मन्त्रालय र विभागले गर्न सक्छन् । त्यस्तै, कतै बाढी, पहिरोले क्षति पुर्याइहाले पनि तत्काल उद्धार गर्न सक्ने संयन्त्र तयार गर्नुपर्छ । त्यसो भएमा जनधनको क्षति कम हुने सम्भावना हुन्छ । अर्कोतर्फ ‘जब पर्यो राति तब बुढी ताती’ भन्दा पनि बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपको विषयमा पहिल्यैदेखि जनमानसमा सचेतना जगाउने, त्यस्तो अवस्था आइहाले अपनाउनुपर्ने सतर्कताबारे शिक्षा दिने, सुरक्षित स्थानबारे जानकारी दिने र बढी प्रभाव पार्न सक्ने क्षेत्रमा घरदैलो अभियान नै चलाउने काम गर्न सक्नुपर्छ । यसतर्फ सबैले ध्यान पुर्याउनैपर्छ ।
जनसमुदाय कसरी सचेत बन्ने ?
मुख्यतः जनताले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई नियमित रूपमा हेर्ने गर्नुपर्छ । नियमित हेर्न सम्भव छैन भने पनि मौसमको बदलिँदो अवस्थालाई हेरेर हामीलाई टेलिफोन गरी वा हाम्रो वेबसाइटमा हेरेर जानकारी लिन सकिन्छ । हामीलाई मनसुनबारे दुई घन्टाअघि विस्तृत जानकारी हुने हुँदा यो समयभित्र सचेतना अपनाउन सकियो भने पनि क्षति कम हुन्छ । त्यसका लागि सबैभन्दा पहिला आफैँ नै सक्रिय हुनुपर्छ । यदि बाढी आयो भने बस्ने सुरक्षित स्थान पहिल्यै निर्धारण गर्न सकिन्छ । अर्को कुरा, योभन्दा पहिला बाढी आउँदा कुन–कुन ठाउँमा आयो, पहिरो गयो र कुन–कुन स्थान जोखिमपूर्ण छन् भन्ने कुरा जानकारी लिएर सावधानी अपनाउन सकिन्छ । त्यस्तै, सम्बन्धित निकायले बस्न नहुने, जोखिमपूर्ण भनिएका स्थानमा सकेसम्म बस्नुहुँदैन । यसमा केही बाधा–व्यवधान पनि होलान् । उनीहरूलाई सुरक्षित स्थानमा सार्न सरकारले पहल र सहयोग गर्नुपर्छ ।
अब कति दिनमा हुन्छ मनसुन ?
अब तत्काल मनसुन हुने सम्भावना छैन । एकपटक भारी वर्षा भयो भने त्यसको करिब तीन दिनसम्म त्यस्तै वर्षा हुने सम्भावना कम हुन्छ । तीन दिनपछि भने त्यो अवस्था दोहोरिन सक्छ । मैले माथि पनि भनिसकेँ– मनसुनको पनि आफ्नै सिस्टम हुने भएकाले यो सिस्टम आउनलाई केही समय लाग्छ । हावामा जलवायु बढी भयो भने पानी भने पर्न सक्छ ।
मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखामा २५ वर्ष सेवा गरेका शाक्य अहिले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा अध्यापनरत छन् । नयाँ पत्रिका
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: