राजा वीरेन्द्रको जागिर अस्वीकार गरिदिएँ : सुनील थापा
भाद्र १५ गते, २०७४ बिहिवार 31st August, 2017 Thu०९:३३:०० मा प्रकाशित
छोटो समय राजनीति गरेर मन्त्री बन्ने नेतामा पर्छन्, सुनील थापा । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर राजनीतिक स्थान बनाएका थापाको चर्चा मन्त्री बनेपछि ह्वात्तै बढ्यो । तर, कांग्रेसका तत्कालील सभापति सुशील कोइराला नेतृत्वको सरकारमा उनको मन्त्रीकाल जम्मा चार महिना मात्रै रह्यो । संयुक्त राष्ट्रसंघको जागिर छाडेर राजनीतिमा होमिएका थापालाई छोटो समयमै राजनीतिक केन्द्रमा पुग्न बाबु (पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा)को राजनीतिक छविले पनि सहयोग गर्यो । नयाँ पत्रिकामा प्रकाशित राप्रपा प्रजातान्त्रिकको महामन्त्री पदमा बहाल थापासँगको कुराकानी :कानुन पढोस् भन्ने बाबुको इच्छा लत्याएँ
राजनीतिक घरानामा जन्मिएपछि राजनीतिकै माहोलमा बाल्यकाल बित्नु स्वाभाविक नै हो । मेरो जीवनमा पनि यस्तै भयो । बाल्यकालका हरेकजसो पल राजनीतिक वातावरणमै बिते । राजनीतिक चेतना पनि छिटै भयो र यस्तो चेतनासँगै म राजनीतितिरै आकर्षित भएँ । बाल्यकालको राजनीतिक आकर्षणकै कराण मैले अध्ययन पनि त्यसैअनुसार गरेँ ।
सेन्ट जेभियर स्कुल जावलाखेलमा कक्षा ७ सम्मको अध्ययन सकाएर थप स्कुले अध्ययन पद्मोदय हाइस्कुलमा सुरु गरेँ । ०३२ मा त्यहीँबाट एसएलसी पास गरेँ । त्यसपछि भने के पढ्ने भनेर दोधारमा थिएँ ।
त्यतिवेला क्याम्पसमा नयाँ शिक्षा योजना लागू भएको थियो । मलाई विज्ञान संकायतिर चासो बढिरहेको थियो । तर, एसएलसीसम्म गणित र विज्ञानमा मेरो खासै राम्रो थिएन । पास भए पनि, उत्कृष्ट नतिजा थिएन । तर, चाहना भने यही विषयमा अगाडि बढ्ने थियो ।
बाबु (पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा) भने छोरो राजनीतिमा नै होमिए हुन्थ्यो भन्ने चाहनुहुन्थ्यो । उहाँले मलाई बारम्बार कानुन विषय लिएर उच्च शिक्षा लिन सुझाब दिइरहनुभएको थियो । तर, मेरो इच्छा कानुन विषयतिर पटक्कै थिएन । कानुनप्रति रुचि नहुनुको कारणचाहिँ हरेक दिन संविधानको धारा कण्ठ गर्नुपर्छ भनेर नै हो । उपधारामा के छ भनेर खोजिरहनुपर्ने झन्झट किन लिनु भन्ने भयो । तर, एउटा विषय लिएर त पढ्नैपर्यो । अन्ततः विज्ञान र कानुन सबैलाई छाडेर कमर्स पढ्ने निर्णय गरेँ । ०३३ मा सरस्वती क्याम्पसमा भर्ना भएँ । दुई वर्षमा प्रवीणता प्रमाणपत्र तह पनि पूरा गरेँ ।
दिल्लीमा पढ्ने रहर बाबुले लत्याइदिनुभयो
मैले प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै गर्दा नेपालमा राजनीतिक वातावरण बिग्रिने मेसोमा थियो । बिस्तारै बन्द, हडताल र राजनीतिक परिवर्तनका आन्दोलन चलिरहेका थिए । मेरो रहर भने स्नातक पढ्न दिल्ली जान्छु भन्ने थियो । यो रहर बाबुलाई पनि सुनाएँ । तर, मैले नसोचेको जवाफ उहाँबाट आयो । ‘तेरो चाहना राम्रो छ, तर म दिल्ली पठाउँदिनँ । किनभने त्यहाँ पठाएँ भने तैले पढ्दै नपढी राजनीति सुरु गर्छस्’ भन्ने जवाफ दिनुभयो ।
भारतकै यमुदाबाद हुँदै अमेरिकासम्म पढ्न पुगेँ
तर, नेपालमै बस्नुपर्छ भन्ने जोड पनि उहाँको थिएन । उहाँले साथी डा. रामप्रसाद राजवाग (जो मन्त्री पनि हुनुहुन्थ्यो)लाई बोलाएर परामर्श लिनुभयो । छोराले भारतमा पढ्ने भनेको छ कहाँ पठाउने भनेर सोध्नुभयो । राजवागले यमुदाबादको नगरपुरामा रहेको भारतकै तेस्रो प्रसिद्ध कमर्स क्याम्पस एचएम कलेज अफ कमर्समा पढ्ने व्यवस्था मिलाइदिनुभयो ।
त्यहाँ स्नातक तह र एमबिएस पहिलो वर्षसम्म अध्ययन गरेँ । नेपालमा जनमत संग्रह भएको वर्ष (०३६) म थप अध्ययनका लागि अमेरिका पुगेँ । अमेरिका पुग्दा डा. भेषबहादुर थापा अमेरिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । उहाँको सहयोगमा क्यालिफोर्नियाको
क्लारेमन्ट ग्य्राजुएट स्कुलमा भर्ना भएँ । पहिला ६ महिना एमबिए कोर्स अध्ययनमा लागेँ । त्यो कोर्स हेर्दा दिग्दार लाग्यो । किनभने त्यसवेला नेपालको बजेट बढीमा करोडमा हुन्थ्यो । तर, त्यहाँको कोर्सअनुसार भने अर्बौं, खर्बौंको व्यापारको विषयमा अध्ययन गर्नुपथ्र्यो । यस्तो पढेर त नेपाल फर्किएर पनि काम गर्न सकिँदैन भनेर छाडिदिएँ । र, नेपालका लागि सुहाउँदो जनप्रशासन र सरकारसम्बन्धी विषयको अध्ययन सुरु गरेँ । यो कोर्स सकेर ०४० मा नेपाल फर्किएँ ।
राजाबाट जागिरको प्रस्ताव आयो
अमेरिकाबाट नेपाल फर्किंदा बुबा प्रधानमन्त्री हुनुहुन्थ्यो । नेपाल फर्केपछि तत्कालीन राजा वीरेन्द्रले जागिरको प्रस्ताव गर्नुभयो । उहाँको प्रस्ताव बाबुसँग थियो । ‘तपाईंको छोरो पढेर नेपाल फर्किएछ । यस्ता राम्रा विषय पढेको व्यक्ति परराष्ट्र मन्त्रालयमा आवश्यक पर्छ । म परराष्ट्रको उपसचिवमा हुकुम प्रमांगीबाट जागिर दिलाइदिन्छु’ भन्नुभएछ । बाबुले मलाई यो खबर सुनाउनुभयो ।
तर, मलाई जागिर खाने त्यति चाख थिएन । के गर्ने भन्ने सोचिसकेकै थिइनँ । बाबुको इच्छा भने छोराले जागिर नखाई राजनीति गरोस् भन्ने थियो । राजाले मलाई र भूपालमान सिंह कार्कीका छोरा (लोकमानसिंह कार्की)लाई एकैपटक हुकुम प्रमांगीबाट जागिर लगाउने तयारी गर्नुभएको रहेछ । लोकमानले राजसभामा जागिर खाए, मैले राजाको प्रस्ताव स्विकारिनँ ।
राजनीति गर्ने माध्यम खोजी गर्न थालेँ
बाबुको पनि इच्छा बुझ्दै राजनीति गर्ने माध्यम खोजी गर्न थालेँ । तर, तत्काल धनकुटामा गएर राजनीति गर्न सक्ने अवस्था थिएन । अन्त आफ्नो पकड रहने कुरा भएन । त्यसपछि त्रिभूवन विश्वविद्यालयको सेडा(आर्थिक विकास र प्रशासन केन्द्र)मा काम गरेँ । त्यहाँबाटै राजनीतिक यात्रा सुरु गर्न सकिन्छ भन्ने निष्कर्ष पनि थियो ।
त्यसवेला राजनीतिको केन्द्र नै विद्यालय, क्याम्पसहरू भइसकेको अवस्था थियो । ०३६ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनले क्याम्पसहरूलाई राजनीति सुरुवात गर्ने थलो बनाइदिएको थियो । मैले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेटेर सेडामा खाली भएकाले जागिर दिन आग्रह गरेँ । आग्रहसँगै आफूलाई बाबुले नपठाएको पनि बताएँ । अनुसन्धान गर्ने चाहना भएको र त्यहाँ परियोजना पनि हुने भएकाले जागिर दिन आग्रह गरेको थिएँ । तर, उहाँ जागिर दिन अन्कनाउनुभयो । त्यसको केही दिनपछि फेरि उहाँलाई भेटेर ‘भिसीसाप ! तपार्इंले हामीजस्तो पढेलेखेको मानिसलाई पनि खाली भएको स्थानमा जागिर दिनुभएन भने कसरी मुलुक चल्छ ? किन पञ्चायतसँग फ्रस्टेसन आउँदैन ?’ भनेर प्रश्न राखेपछि उहाँ सेडामा जागिर दिन तयार हुनुभयो ।
जागिर भएपछि कीर्तिपुरमा रहेको सेडाको अफिसमा पुगेर काम गर्ने र भेटघाट गर्ने गर्न थालेँ । त्यतिवेला ०३६ सालका विद्वान् प्राध्यापकहरू भिसी मल्ल, राजेश्वर आचार्यलाई त्रिविले निकालेको थियो । सेडामा रहँदा विकेन्द्रीकरणमा विशेषज्ञता हासिल गरेँ ।
राष्ट्रसंघमा जागिर मिलेपछि श्रीलंकादेखि तान्जानियासम्म पुगेँ
सेडामा जागिर गर्दै गर्दा ०४७ मा संयुक्त राष्ट्रसंघमा जागिर पाएँ । सुरुमा श्रीलंकाबाट काम सुरु गरेँ । २६ वर्षजति राष्ट्रसंघमा काम गर्ने क्रममा ०६९ मा तान्जानिया पुगेर सेवा गरेँ । जागिर अवधिभर युएनलाई सिक्ने थलोका रूपमा प्रयोग गरेँ । कहिल्यै पनि यही जागिरबाट पेन्सन पकाउँला भन्ने सोचेको थिइन, व्यवहारमा पनि त्यस्तै भयो ।
जागिरका क्रममा शरीर उतै भए पनि तन, मन नेपालमै थियो । प्रत्येक दिनका राजनीतिक घटनाक्रमबारे जसरी भए पनि जानकारी लिएकै हुन्थेँ । बाबु, राजनीतिक सहकर्मी र सिनियर पत्रकारसँग राजनीतिबारे कुराकानी चलिरहन्थ्यो । तान्जानियामै रहेको वेला ०६९ को अन्त्यतिर मनमा नयाँ सोच पैदा भयो । अब, जागिर गरेर अर्काको मुलुकमा बस्ने होइन, नेपाल पुगेर मुलुकका लागि कम्मर कस्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ । बुबा र घरपरिवार कसैसँग सल्लाह नगरी जागिरबाट अवकास लिन राजीनामा पत्र बुझाएँ । तर, स्वीकृत भएन । राजीनामा स्वीकृत नभएपछि पाँच महिनाका लागि बेतलबी बिदा स्वीकृत गराएर नेपाल आएँ ।
राजनीति सुरु गरेको दुई वर्षमै मन्त्री
नेपाल आएर ०६९ असोजमा राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाको संयुक्त अधिवेशनमा पार्टीको सदस्यता लिएँ । र, राष्ट्रसंघको मुख्य कार्यालयमा राजनीतिमा लागिसकेकाले राजीनामा स्वीकृत गर्न भनेँ । बल्ल, राजीनामा स्वीकृत भयो । जागिर छाड्ने वेलामा कुनै सेवा, सुविधा र पेन्सन लिइनँ । त्यतिका समय काम गरेर पेन्सन नलिँदा पनि मलाई कुनै पश्चाताप छैन, खुसी छु । त्यसपछि नेपालको राष्ट्रिय राजनीतिमा प्रवेश गरेँ ।
०७० को जेठमा भएको राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएँ । यसै वर्ष मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा–२ बाट प्रत्यक्ष निर्वाचित भएँ । मंसिरमा निर्वाचन जितेपछि चार महिनामै वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने मौका मिल्यो ।
विलासिताको जीवनसहितको संयुक्त राष्ट्रसंघको जागिर त्यागेर राजनीतिमा होमिएको छु । अरू १० वर्ष जागिरलाई निरन्तरता दिएको भए पेन्सन आउँथ्यो । ५३ वर्षको उमेरमा जागिर छाडेँ । राजनीतिमा निष्ठा भएन भने सफल राजनीतिज्ञ नभई बदनाम राजनीतिज्ञ भइन्छ । संयुक्त राष्ट्रसंघमा रहँदा मैले लडाइँबाट क्षतविक्षत भएका मुलुकका शरणार्थीसँग काम गरेकाले राजनीति कसरी गर्नुपर्छ भन्ने अनुभव सँगालेको छु । त्यो अनुभव अहिले राजनीति गर्दा काम लागिरहेको छ ।
नेपालमा राजनीति गर्न गाह्रो दिन आए
राजनीति एउटा कला हो । यसलाई समय र परिस्थितिअनुरूप सदुपयोग गर्न सक्ने मान्छे सफल हुन्छ । त्यस्तै, त्याग र निष्ठाको पूरक शब्द पनि हो, राजनीति । विडम्बना अहिले निष्ठा र सबल पहिचान भएको व्यक्ति नेपालको राजनीतिको मूलधारमा आउन कठिन देखिन्छ । किनभने ०७० को संविधानसभा निर्वाचन र भर्खर मात्र सम्पन्न भएको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनले अबको चुनाव पैसा र मसलले मात्रै जित्ने गरी परिस्थिति बदलिएको छ । हिजोसम्म पार्टीको हितमा काम गर्ने र निष्ठाको आधारमा राजनीति गर्ने व्यक्तिलाई अब कठिन र असम्भव दिन आएको मेरो अनुभव छ ।
भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि ठूलो मात्रामा पैसाको खेल भएको देखिन्छ । नचाहिने विषयमा पनि उम्मेदवार अनावश्यक खर्च गर्नैपर्ने बाध्य भएको देखियो । राजनीति गर्नेले मुलुकलाई कहाँ लैजाने र कुन बिन्दुमा पुर्याउने भन्ने योजना बुन्नैपर्छ । राजनीतिलाई माध्यम बनाउन मुलुकलाई अघि बढाउने दृष्टिकोण आफूसँग छ कि छैन राजनीतिमा होमिनुअघि नै निक्र्योल गर्न आवश्यक छ । मुलुकसामु आइपर्ने जटिल समस्या समाधान कसरी गर्ने भन्ने भिजन पनि राजनीतिज्ञसँग हुन आवश्यक छ । अहिलेका राजनीतिज्ञ म समस्या समाधान गर्न सक्छु भन्ने आँट भएका देखिन्नन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: