कार्तिक १४ गते, २०७४ मगलवार 31st October, 2017 Tue१७:३२:११ मा प्रकाशित
भीमदत्तनगर । मलिन अनुहार, शिरमा ढाकाको टोपी, निधारमा बिदाइको सेतो अच्छेता र हातमा कालो रंगको झोलासहित भारतको गड्वाललाई मजदुरीको अन्तिम यात्रा साँधेर सोमबार गड्डाचौकी नाकामा ४८ वर्षीय सर्पे बूढा भेटिए ।
सीमावर्ती भारतीय बजार वनबासासम्मको पैदल यात्रापछि बस चढ्ने भन्दै गड्डाचौकी नाका भएर भारतको गड्वाल रोजगारीका लागि गइरहेका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ का बुढाले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदा पनि रोजगारीको बाध्यताले आफू विदेशिन बाध्य भएको गुनासो गरे ।
विगत डेढ दशकदेखि भारतको गड्वाल क्षेत्रमा मजदुरी गरेर परिवारको खर्च धान्दै आउनुभएका बुढाले आफू दशैँ मनाउन एक महिनाका लागि बिदामा घर आएको बताए । बूढाजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको परबाह नगरी गड्डाचौकी नाकाभएर भारततर्फ गइरहेका छन् ।
“छोटो समयको बिदा छ, ढिलो गरी रोजगारीमा गएपछि साहुले फिर्ता पठाइदिन्छ,” उनले भने– “मतदान गर्न मन भएर के गर्नु ?”
मुलुकको राष्ट्रिय राजनीति दुई धु्रवमा विभाजित भएर आसन्न मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहोल तातिरहेका बेला आर्थिक अवस्थाले ग्रसित मतदाता रोजगारीका लागि विदेशिनु बाध्यता भएको बताउँछन् ।
“एक महिनाको बिदा लिएर दशैँ मनाउन आएको थिएँ,” बुढाले भने– “मंसिरको चुनावका लागि यता फर्के, उता जागिर नै रहन्न ।” यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको बताउँदै उहाँले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताए ।
“घरमा गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नु भनेर सल्लाह दिएको छु,” बुढाले भने– “यतिका चुनावमा मतदान गर्दा केही उन्नति भएजसो लागेन ।” उनले मुलुकमा नयाँ व्यवस्था लागू भए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।
“चुनाव जित्ने नेताका व्यवस्था फेरिए होलान, हाम्रो त अवस्था जस्ताको त्यस्तै छ,” बुढाले गुनासो पोखे ।
उनीसँगै मजदुरीका लागि भारत जान लागेका बेल्डाँडी नगरपालिकाको वैवाहका २६ वर्षीय हस्त बूढाले रोजगारको समस्या भएकाले आफू चुनावको मुखमा विदेशिनु परेको बताए । “भोट दिएर पेट पाल्न सकिएला र ? ।” उनले प्रश्न गर्दै भने– “देशभित्र रोजगारी नभएसम्म हाम्रा लागि चुनावको कुनै वास्ता रहेन ।” दशैँ तिहार मनाउँदै धानखेतीसमेत भित्र्याएर भारत जान लागेका बूढाले पैसा कमाएर घरपरिवारको लालनपालनमा खर्च गर्ने योजना सुनाए ।
त्यसैगरी रोजगारीका लागि भारतको बैंग्लोर जान हिँडेका शुक्लाफाँटा नगरपालिका–८ का २० वर्षीय जीवन देवरले पनि चुनावलाई वास्ता नगरी आफू विदेशिनु बाध्यता रहेको सुनाए । “के हामीलाई चुनावमा भोट हालेर राम्रो नेता छान्ने रहर हुँदैन र ? उनले भने– “मुलुकभित्र रोजगार नभएसम्म म जस्ता हजारौँ युवाले अझै कहिलेसम्म विदेशिनु पर्ने हो, थाहा छैन ।” बैंग्लोरमा विगत दुई वर्षदेखि होटलमा खाना पकाउँदै आएका उनले आफ्नो कमाइले घरपरिवार धानिएको बताए ।
“भाइ÷बहिनीलाई पढाइ खर्च जुटाउनै पनि घर छाड्नुपर्ने अवस्था छ,” उनले भने । आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले अध्ययन गर्न नपाउँदै आफू रोजगारीका लागि भारत जानुपरेको देवरको भनाइ छ ।
त्यसैगरी गड्डाचौकी नाका भएर रोजगारीका लागि भारतको अहदावाद जान लागेका शुक्लाफाँटा नगरपालिकाकै ३० वर्षीय मदन भण्डारीले पनि विदेशिनुको बाध्यता सनाए । “देशमा विदेशि लगानी भित्र्याएर रोजगारीको वातावरण सिर्जना गर्न नेताहरुको ध्यान जाओस्,” उनले भने– “हामीले भारतमा सिकेको सीप समेत स्वदेश आएर प्रयोगमा ल्याउन सक्ने ठाउँ छैन ।” भारतको रोजगारीले आर्थिक लाभसँगै ज्ञान पनि बटुल्ने अवसर मिलेको उनको भनाइ थियो ।
गड्डाचौकी सीमा नाकामा खटिएका सुरक्षाकर्मी निर्वाचनका बेला दैनिक सयौँ नेपाली भारत रोजगारीका लागि जाने गरेका बताउँछन् । “निर्वाचनका बेला त विदेशिनु नपर्ने हो,” गड्डचौकीमा खटिएका एक प्रहरीले भने– “अरु बेलाभन्दा त चुनाव भएरै होला भारत जानेको संख्यामा कमी त आएकै छ ।”
नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले निर्वाचन राष्ट्रिय अभियान भएकाले मतदाता भएका सबै नागरिकले मतदान गर्न पाउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । “मतदान गर्न पाउने नागरिकको अधिकार हो,” अध्यक्ष रेग्मीले भने– “सरकारले वातावरण बनाइदिने हो ।” मतदान गर्न पाउने अन्य विकल्पका विषयमा पनि अध्ययन गर्नुपर्नेमा उनको जोड छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले निर्वाचनमा मतदान गर्ने अधिकार सदुपयोग गर्न आग्रह गरे । “मतदान सदुपयोग गराउन जिल्लामा पनि विभिन्न सचेतनाका कार्यक्रम गर्ने तयारीमा छौँ,” भण्डारीले भने । रासस
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: