गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार बिहानसम्मै सम्पर्क टुट्यो । सञ्चार सञ्जालको महत्व बढिरहेको समयमा ८÷१० घण्टा नै इन्टरनेट र फोन सेवाबाट धवलागिरिवासी बञ्चित बने । यस्तो समस्या धवलागिरिको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा दोहोरिँदै आएको छ ।
शुक्रबार पर्वत जिल्लाको मोदी गाउँपालिकास्थित पातिचौरमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले सडक विस्तारका क्रममा फाइबर काटिदिएपछि टेलिफोन र इन्टरनेट बन्द भएको नेपाल टेलिकमले बतायो । अहिले लोकमार्गको पोखरा–बागलुङ खण्ड विस्तार र कालोपत्रको काम तीव्रगतिमा चलिरहे पनि लोकमार्ग आयोजनाको कार्यालयले अन्य सेवा प्रदायक कार्यालयसँग समन्वय नगर्दा धवलागिरिमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदै गएको छ । पटक–पटक फाइबर काटिँदा सञ्चार सम्पर्क विच्छेद भइरहेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।
नेपाल टेलिकमको फाइबर पुष्पलाल मध्यपहाडी लोकमार्गको छेउछाउबाट धवलागिरिमा ल्याइएको छ । लोकमार्ग आयोजनाले नेपाल टेलिकमलाई खबर र समन्वय नगरी सडक विस्तार गर्दा पटक–पटक समस्या भइरहेको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताए । धवलागिरिमा हप्तैपिच्छे १०÷१२ घण्टा सञ्चार सम्बन्धविच्छेद हुँदै आएको छ । ‘कहिले कास्कीको हेम्जा, कहिले नौडाँडामा फाइबर काटिन्छ तर सेवा अवरुद्ध भएपछि मात्रै हामीले खबर पाउँछौँ”, कार्यालय प्रमुख शर्माले बताए । ‘इन्टरनेट र फोन सेवा कतिबेला अवरुद्ध हुन्छ पत्तै पाइँदैन, मध्यपहाडी लोकमार्ग आयोजनाले समन्वय नगर्दा फाइबर काटेर टुक्राटुक्रा पारिसक्यो’ टेलिकम प्रमुख शर्माले भने ।
सडक विस्तारका क्रममा विद्युत्को पोल सार्नुपर्ने हुन्छ, त्यही विद्युत्को पोलमा टेलिकमको तार भए पनि विद्युत् सार्ने क्रममा टेलिकमलाई तार सार्न नबोलाउँदा यस्तो समस्या दोहोरिरहेको टेलिकमको भनाइ छ । सडकभन्दा सञ्चार महत्वपूर्ण भए पनि लोकमार्ग आयेजनाले विद्युत्को पोल हटाउँदा टेलिकमलाई खबर गर्नुपर्ने नेपाल टेलिकम बागलुङले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: