चितवन । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका थिए ।
आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो । केरुङ मार्ग, रेल मार्ग तथा विभिन्न महत्वपूर्ण विकासका योजनाहरु चितवन छोएरै जाने भएकाले पनि चितवन महत्वपूर्ण जिल्लामा दरिने विश्वास उहाँको थियो । दाहालको थप कथन थियो, ‘चितवन आर्थिक विकासको हब बन्नेवाला छ ।’ अहिले चितवन प्रदेश मुकाम तोकिएन । प्रदेश मुकाम नभएपनि चितवनलाई कुनै विस्मात छैन । चितवनका राजनीतिक दल, उद्योगी व्यवसायी तथा सर्वसधारण समेत यसमा सचेत छन् । जहाँ राजधानी भएपनि जनताको सेवा सर्वसुलभ हुनुपर्छ त्यही भए पुग्छ भन्ने चितवनवासीको धारणा छ । सिंहदरबारको अधिकार स्थानीय तहबाटै प्राप्त हुन्छ । त्यसका लागि मुकामको बाटो ताक्नु पर्दैन । चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य तथा अधिवक्ता कृष्णभक्त पोखरेल चितवन प्रदेश राजधानी हुने अथाह सम्भावना भएको जिल्ला हो भने । मुकाम बन्दैमा विकास हुन्छ भन्नु भ्रम हो । पोखरेल भन्नुहुन्छ, \'अब चितवनलाई आर्थिक विकासको शहर भने बनाउन सकिन्छ, बनाइन्छ ।\' विभिन्न जिल्लामा अहिले प्रदेश मुकाम नबनाइएको आक्रोशमा आन्दोलन चलिरहेको छ । कतिपय मुकाम भौगोलिक हिसाबले अमिल्दो पनि भएको होला । तर अहिलेको केन्द्र भने अस्थायी हो । स्थायी बनाउँदा फेरि मिलाउन सकिने आधार रहेको विज्ञहरु बताउँछन् । तर स्थायी तोक्दा हेटौँडाबाट सरेर भक्तपुर जाने पो हो कि भन्ने थप चिन्ता छ काँग्रेस चितवनका सचिव उत्तम जोशीको । त्यसैले कि चितवन सार्ने नभए हेटौँडा नै कायम गर्न पहल गर्नुपर्नेमा जोड दिंदै जोशी भने, \'चितवनलाई कृषि, औद्योगिक क्षेत्र र मेडिकल सिटीका रुपमा विकास गर्नुपर्छ ।\' मुकामको विषयमा अन्य जिल्ला आन्दोलित रहँदा अहिले चितवन भने शान्त छ । चितवनलाई लिएर विगतमा केन्द्रीय राजधानीको चर्चा पनि नचलेको होइन । प्रान्तीय राजधानी बन्न पूर्वाधार समेत चितवनमा पर्याप्त रहेको कतिपयको दाबी छ । भौगोलिक अवस्था पनि खोट लगाउन सकिने खालको छैन । सरकारले प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौँडा कायम गरेको छ । झिनो आलोचना सुनिए पनि अब चितवनलाई आर्थिक राजधानी बनाउनुपर्नेमा अधिकाँशको मतैक्यता छ । उद्योग वाणिज्य संघ चितवनका नवनिवार्चित अध्यक्ष सहनलाल प्रधान भौगोलिक हिसाबले अमिल्दो भएको भए पनि हेटौँडा मुकामलाई विरोध जनाउनुभन्दा त्यसैबाट सेवा लिँदै चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया लेख्नुहोस्: