नेपालमा पछिल्लो समय मकवानपुर, चितवन र काठमाण्डू जिल्लाका केही पोल्ट्री फर्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएको पशुसेवा विभागले पुष्टि गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको सो विभागकी उपमहानिर्देशक डा. सम्झनाकुमारी काफ्लेका अनुसार सङ्क्रमण देखिएका पोल्ट्री फर्मका कुखुरासहित पशुपक्षीजन्य उत्पादन नष्ट पारी निःसङ्क्रमण गर्ने काम गरिसकिएको छ।
व्यावसायिक रूपमा पालन गरिने कुखुरा र हाँस लगायतबाट मात्रै नभई रैथाने एवम् बसाइँसराइ गर्ने चराहरूबाट पनि बर्ड फ्लुको भाइरस सर्ने गरेको चिकित्सकहरू बताउँछन्। नेपाल भेटनरी काउन्सिलका सदस्य डा. शिशिर भण्डारी भन्छन् - हुन त नेपालमा बसाइँसराइ गर्ने चराहरूबाट बर्ड फ्लुको भाइरस सरेको कुनै औपचारिक तथ्याङ्क छैन, तर प्रभावित क्षेत्रबाट बसाइँसराइ गरी आउने चराबाट यो रोग सजिलै सर्न सक्छ।
विश्व पशु स्वास्थ्य सङ्गठन (ओआईई) का अनुसार \'नोटिफाइअबल एभियन इन्फ्लुएन्जा\' भाइरसको \'सब-टाइप\' बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लु भनिन्छ। सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लुको भाइरस निकै \'अस्थिर\' खालको हुने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार बर्ड फ्लुको सङ्क्रमण देखिनासाथ नेपालमा मात्रै नभई विश्वको जुनसुकै ठाउँमा चालिने कदम भनेको सङ्क्रमण नियन्त्रण तथा रोकथाम नै हो। र, त्यसका लागि सङ्क्रमित पशुपक्षी तथा तिनका उत्पादन लगायत सामग्रीलाई नष्ट गरिन्छ।
विभागकी उपमहानिर्देशक काफ्ले भन्छिन्, \"यसको भाइरसले स्वरूप परिवर्तन गर्ने धेरै अवसर नपाओस् भनेरै जहाँ देखियो त्यही नष्ट गर्ने सबैतिरको अभ्यास हो।\" तर प्रश्न उठ्छ- सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्ने पटकपटक प्रयास भइरहँदा पनि किन बर्ड फ्लुको भाइरस ब्युँतिरहन्छ? डा. शिशिर भण्डारी भन्छन्, आनुवंशिक गुण फेर्न सक्ने सो भाइरसको विशेषता नै त्यसको अस्तित्वको निरन्तरताको प्रमुख कारण हो।
\"सरल भाषामा भन्नुपर्दा बर्ड फ्लुको भाइरसले आफूले मार हान्ने पशुपक्षीको शरीर अनुकूल आफूमा क्षमताको विकास गर्न सक्छ।\" \"अर्थात् कुखुरामा हुँदा त्यसको शरीरमा बाँच्न सक्नेगरी भाइरसले आफूलाई रूपान्तरण गर्न सक्छ भने हाँसमा हुँदा त्यसको शरीरअनुकूल बन्न सक्छ।\"
नेपालमा बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय र क्षेत्रीय नियन्त्रण समन्वय समिति रहेका छन्। पशुसेवा विभागका महानिर्देशक अध्यक्ष रहने केन्द्रीय समन्वय समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय पशु विज्ञान अनुसन्धानका प्रमुख लगायत सदस्य हुन्छन्।
कुनै ठाउँमा बर्ड फ्लूको शङ्का लागेमा जिल्ला पशु सेवा कार्यालयले प्रारम्भिक अनुसन्धान प्रतिवेदनसहित नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउँछ। नमुनाको प्रारम्भिक परीक्षणबाट बर्ड फ्लु भएको देखिएमा उसले थप परीक्षण गरी त्यसको जानकारी पशुसेवा विभाग र पशु स्वास्थ्य निर्देशनालयलाई गराउँछ।
विभागकी उपमहानिर्देशक डा. काफ्लेका अनुसार नमुनाको थप परीक्षणबाट बर्ड फ्लु लागेको सम्भावनालाई अझ पुष्टि गर्ने प्रतिवेदन प्राप्त भएमा नमुना लिइएको ठाउँलाई केन्द्रविन्दु मानी तीन किलोमिटरसम्मको परिधिभित्रको क्षेत्रलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित सङ्कटग्रस्त क्षेत्र घोषणा गर्छ। त्यसपछि सरकारी टोलीले सङ्कटग्रस्त क्षेत्रभित्रका घरपालुवा पक्षी, पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री र त्यससँग सम्बन्धित अन्य वस्तु तथा औजार नष्ट गर्छ।
नष्ट गरिएका पक्षी, पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री लगायतलाई खाल्डो खनेर त्यसभित्र पुरिन्छ। निःसङ्क्रमण प्रक्रियामा भिर्कोन नामक औषधि र चुना लगायतको प्रयोग गर्ने गरिएको चिकित्सकहरू बताउँछन्।
उनीहरूका अनुसार सङ्क्रमणमा परेका बिरामीलाई चाहिँ ट्यामीफ्लु नामक अन्टिभाइरल दिइन्छ। पोल्ट्री फर्मलाई निःसङ्क्रमण गरेपछि त्यसको ४२ दिनसम्म सो क्षेत्रमा पशुपक्षी पालनमा निषेध लगाई १० किलोमिटरको परिधिलाई निगरानीमा राख्ने गरिएको विभागकी उपमहानिर्देशक डा. काफ्ले बताउँछिन्। अनि ४२ दिनसम्म फेरि सो ठाउँमा भाइरस नदेखिएपछि निषेध फुकुवा गर्ने प्रावधान छ।
अधिकारीहरूका अनुसार नष्ट गरिएका पशुपक्षी र पशुपक्षीजन्य उत्पादन सामग्रीको क्षतिको रकम निर्धारण गरी सम्बन्धित धनीलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने गरिएको छ।
चिकित्सकहरूका अनुसार मानिसलाई अरु फ्लू लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्।
सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा देखिने चिकित्सकहरू बताउँछन्।
चिकित्सकहरूका अनुसार खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ। तर त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन।
चिकित्सकहरूका अनुसार निम्न कुरामा मानिसहरूले ध्यान दिनुपर्छः
माथि उल्लेखित कुराहरूमा ध्यान दिन सक्ने बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन्। बिबिसिबाट
प्रतिकृया लेख्नुहोस्: