काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अबौं रुपैयाँ ठगी गर्नेमाथि कारबाही गर्दा सरकारले आफुँहरु माथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । प्रतिबन्ध पश्चात पहिलो पटक सञ्चार माध्यम मार्फत सार्वजनिक भएका विप्लवले करछली, मानवतस्करी, भ्रष्टचारी र मजदुर निकालालाई कारबाही गर्दा सरकारले प्रतिबन्ध लगाएको बताएका हुन् ।
जनता विरोधी गतिविधि गर्नेमाथि कारबाही गर्दा सरकार खुसी हुनुपर्नेमा आफुँहरुमाथि प्रतिबन्ध लगाएर सरकारले आफ्नो वास्तविकता देखाएको विप्लवले बताएका छन् । उनले केपी ओलीको नेतृत्वमा भएको सरकार कम्यूनिष्ट सरकार नभएको र जनविरोध सरकार भएको आरोप लगाए । प्रतिबन्धले सरकार दलाल र भ्रष्टहरुको भएको पुष्टी गरेकाे बताए । उनले भने, ‘हाम्रो पार्टीले करछली, मानव तस्करी, भ्रष्टाचारी, मजदुर निकाला गर्नेहरूलाई कारबाही गर्दा केपी सरकारले हामीमाथि किन प्रतिबन्ध लगाउने ? कम्युनिस्टको सरकार भए त खुसी पो हुनुपथ्र्यो त। यसले सावित गर्योे– केपी–प्रचण्ड नेतृत्वको सरकार श्रमिक जनता, देशभक्त र लोकतन्त्रवादीको होइन, यो दलाल, कमिसनखोर, ठग, तस्कर, भ्रष्टाचारीहरूको सरकार रहेछ।’
सरकारले वार्तामा नआई हिंसात्मक घटनामा संलग्न हुन थालेपछि प्रतिबन्ध लगाएको बताइरहेका बेला विप्लवले आफुहरुलाई वार्ताका लागि आधिकारिक ढंगबाट नबोलाइएको समेत बताएका छन् । उनले सरकारले भनेको कुरा झुट प्रचार मात्रै भएको बताए । उनले जनयुद्धका सारा प्रस्ताव र उपलब्धि सिध्याउन थालेपछि आफुँहरु विद्रोहमा जान बाध्य भएको बताएका छन् ।
उनले आफ्नो पार्टीले कुनै नेताको हत्या गर्ने योजना नबनाएको समेत प्रष्ट्याएका छन् । उनले सरकारको तर्फबाट भएको प्रचारप्रति आश्चर्य व्यक्त गरे । विप्लवले सरकारले आफ्ना नेतालाई मार्ने योजना बनाएको सुन्नमा आएको बताएका छन् ।
हेर्नुहोस महासचिव विप्लबसँग अन्नपूर्णका लागि रामकृष्ण अधिकारीले लिएको अन्तरवार्ता :
चैतभित्रै प्रतिबन्ध फिर्ता नलिए सरकारलाई नै प्रतिबन्ध लगाउने भन्दै वक्तव्य दिनुभयो, सरकारले फिर्ता लिएन, तपाईंहरू प्रतिरोधको कुरा गरिरहनुभएको छ, कस्तो खालको प्रतिरोधको कुरा गर्न खोज्नुभएको हो ?
– यो राज्यले हाम्रो पार्टी र मुक्तिकामी जनताविरुद्ध लादेको फाँसीवादी प्रतिबन्धको प्रतिरोध हो। जस्तालाई त्यस्तै जवाफ दिन हाम्रो स्थायी समितिले यो निर्णय गरेको हो। राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ।
तपाईंहरूलाई वार्तामा बोलाएको तर वार्तामा नआई हिंसात्मक घटनामा संलग्न हुन थालेपछि प्रतिबन्ध लगाउनुपरेको सरकारले बताइरहेको छ, वार्ताप्रति तपाईंहरूको धारणा के हो ?
– यो एकदमै झूटो प्रचार हो। पहिलो कुरा, सरकारले हामीलाई आधिकारिक ढंगले वार्तामा बोलाएको होइन, त्यस अर्थमा वार्तामा आएन भन्न मिलेन। दोस्रो– वार्ताबाट त हामी फर्किंदै छौं। जतिबेलासम्म वार्ताबाट जनअधिकार र देशका प्रस्तावहरू पास होलान् भन्ने थियो त्यसबेलासम्म त प्रचण्डहरूसहित हामी वार्तामै थियौं नि। तर जब वार्ताका नाममा जनयुद्धका सारा प्रस्ताव र उपलब्धिलाई खरानी पार्न थालियो, देशलाई पराधीन र जनतालाई अधिकारविहीन बनाउन थालियो तब न हामीले विद्रोह गरेका हौं। आज पनि वार्ताबाट न हामी तर्सिन्छौं न त वार्ताले क्रान्तिले उठाएका विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौं। जहाँसम्म वार्तामा नआएर हिंसामा गएको भन्ने प्रचार छ, यो त पूरै गलत प्रचार हो। हामीले त देश डुबाउने एनसेल, मानव तस्कर, महिलालाई बोक्सीको आरोप लगाउने फटाहा र मजदुरलाई दमन गर्ने मालिकविरुद्ध कारबाही गरेका थियौं। यसमा प्रतिबन्ध लगाउन मिल्छ ?
सोमनाथ पाण्डे नेतृत्वको सरकारी वार्ता टोलीसँग कुन चरणसम्म तपाईंहरूको वार्ता÷संवाद भएको थियो ?
सोमजी र अन्य साथीहरूसँग हाम्रा कमरेडहरूको भेटघाट र अनौपचारिक कुराकानी नभएको होइन तर सरकारले आधिकारिक पहल त गरेन नि।
वार्ताका लागि तपाईंहरूका एजेन्डा के हुन् ? के मुद्दामा वार्ता गर्ने ? तपाइँहरूका माग के हुन् ?
– वार्ताको कुरा नै नभएको स्थितिमा यहाँ हाम्रो विषय के हुन् भनेर चर्चा गर्नुको के अर्थ छ र ? तैपनि छोटोमा भन्दा हामी देशबाट दलाल पुँजीपति वर्गले जसरी आर्थिक, राजनीतिक, सांस्कृतिक, बजार, जमिन, शिक्षा, स्वास्थ्य सारा कब्जा गरेर देशलाई टाट पल्टाउँदै र जनतालाई कंगाल बनाउँदै छ, त्यसको अन्त्य चाहन्छौं। हामी त दलाल पुँजीवादी सत्तालाई मिल्काउन क्रान्तिको मार्गमा छौं नि।
सरकारको भनाइलाई आधार मान्ने हो भने शीर्ष नेताहरूको समेत हत्या योजना तपाईंहरूले पार्टी बैठकबाटै बनाउनुभयो रे, के भन्नुहुन्छ ?
– यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, यो नै अनौठो लाग्छ। यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेताहरूलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ।
खुलेआम हिंसात्मक संघर्षको घोषणा पनि गर्नुभएको छैन, तर हिंसात्मक घटना पनि तपाईंहरूका नाममा भइरहेको छ, खासमा संघर्षको स्वरूप के हो ?
– पत्रकार मित्र, कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो। हाम्रो देशलाई स्वाधीन बनाउन, देशका श्रमिक जनतालाई राज्यसत्ताको मालिक बनाउन, सबै उत्पीडित, शोषित, दमित श्रमिक वर्ग र जनतालाई मुक्त गर्न दलाल पुँजीवादी सत्तालाई मिल्काउने र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य हो। क्रान्ति त्यस्तो एकीकृत संघर्षको कूल योग हो, जहाँ सबै संघर्षका रूपहरू अनिवार्य हुन्छन्। हामीले जे कारबाही गरेका छौं, प्रस्टै जिम्मा लिएका छौं नि, कहाँ छ भ्रम ?
तपाईंले एउटा अन्तर्वार्ताका क्रममा जनमुक्ति सेना बनेको र त्यो सुदृढीकरणतिर जाँदै गरेको बताउनुभएको थियो, यो कस्तो खालको सेना हो, यसले तत्काल गर्ने के हो ?
– सेना भनेको राज्यसत्ता प्राप्तिका लागि संघर्षरत श्रमिक जनतालाई सफल बनाउन लड्ने शक्ति हो। जनमुक्ति सेना भनेको सबै उमेरका नरनारी आफ्नो अधिकार र मुक्तिका लागि भाग लिने सेना हो। प्रचण्डहरू र एमाले—कांग्रेसहरू मिलेर विसर्जन गर्न खोजेपछि हामीले त्यतिबेलै भनेका थियौं जनमुक्ति सेनाको आवश्यकता सकिएको छैन। यो आवश्यक छ, हुनेछ र संगठित गरिनेछ। त्यही भएको हो अरू के हो र ?
वार्ताका लागि तपाईहरूलाई सरकारका तर्फबाट केही सर्तसहितको प्रस्ताव पनि गएको थियो भनिन्छ, सरकारको तर्फबाट के प्रस्ताव आएको थियो ?
– त्यस्ता सर्त र प्रस्तावबारे हामीलाई कुनै जानकारी छैन। तर वार्ता गर्ने भनेपछि प्रस्ताव त पक्कै भइ नै हाल्छन् नि। वार्ता नभएको स्थितिमा कसरी थाहा हुन्छ र ?
अहिले पनि सरकारका प्रतिनिधिहरूसँग, अझ सरकारको नेतृत्व गरिरहेका नेकपाका नेताहरूसँग तपाईं र तपार्इंका पार्टीका कतिपय नेताका औपचारिक÷अनौपचारिक छलफल भइरहेकै छ भनिन्छ, वास्तविकता के हो ?
– राजनीतिक छलफल आवश्यक र सम्भव भएमा मुद्दाअनुसार जोसँग पनि हुन सक्छ। हामीले छलफललाई सहज बनाएका छौं। यसबारेमा धेरै कुरा गरिहाल्नुपर्ने खास विषय केही छैनन्।
मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत अन्य समूहसँगको एकता पनि तोडियो क्यारे, खासमा तपाईंहरूको संघर्षको मित्रशक्ति को हुन् ?
– एकता प्रक्रिया नै चलेको छैन, कहाँ भाँडिन्छ। उहाँहरूसँग छलफल चलिरहेको छ। विचार—राजनीतिमा मेल खएपछि एकता हुन्छ। तर सयुक्त मोर्चा र कार्यगत एकतामा हामीले काम गरिरहेका छौं। यो खुसीको कुरा हो। मित्रको उल्लेख गर्दा यतिबेला केपी सरकारको राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगी, प्रतिबन्ध र फाँसीवादविरुद्ध जो उत्रिन तयार हुन्छन्, ती सबै मित्रशक्ति हुन्।
एकताका सम्भावना छन् कि छैनन् ? छन् भने केकेका आधारमा एकत वातावरण बन्न सक्छ ?
– एकताका सम्भावना छन् तर मैले माथि भनिसकें कि विचार—राजनीति र कार्यदिशा मिलेपछि एकता हुन्छ।
प्रकाण्डसँगको अन्तरविरोध के हो ? शक्ति पूरै छिन्नभिन्न भइरहेको छ, पार्टीभित्र अन्तरविरोध चुलिएको सुनिन्छ, वास्तविकता के हो ?
– हो, यस्तो प्रचार निरन्तर पत्रिकामा पढ्न पाइन्छ। हामी पनि पत्रिकाबाटै थाहा पाउँछौं। कहिले रमाइलो लाग्छ भने गम्भीर पनि बनाउँछ। सायद हामीलाई विचार, राजनीति र व्यवहार कतैबाट पनि रोक्न र असफल पार्न नसकेपछि संगठनको विषयमा घोच्दा केही निस्किन्छ कि भनेर यसो गरेका होलान् जनताका बैरीले भन्ने लाग्छ। तर उनीहरू आफैं जनतामा उदांगिने र बदनाम हुने बुद्धि हो यो।
हामीले कसरी पार्टीमा दुई लाइन संघर्ष गर्योयौं, कसरी पार्टी बनायौं, कसरी क्रान्तिको खाका खिचेका छौं र कसरी काम गर्दै छौं हामीलाई थाहा छ। यो कुनै लोभीपापी र स्वार्थीहरूको खेलो होइन, नेपालमा क्रान्ति गर्ने र वैज्ञानिक समाजवाद—साम्यवाद ल्याउन गरिएको विशिष्ट पहल हो। हाम्रो पार्टी एकपछि अर्को उचाइमा विस्तार र सुदृढ हँुदै छ र क्रान्तिले यसलाई सार्थक पार्ने छ। कहिले भने काँचो दाउरामा आगो झोस्ने प्रतिक्रियावादीको चाल हेर्दा ओहो यस्तो पनि हुने रैछ, क्रान्तिलाई सफल पार्ने चुनौती सामान्य छैन भन्ने महसुस हुन्छ। अनि हामी झन् एकताबद्ध बन्छौं।
पार्टीभित्र आर्थिक अराजकता देखिएको, आर्थिक नीति एकद्वार प्रणालीका आधारमा बनाउने भन्नेजस्ता विषय तपाईंका कतिपय डकुमेन्टमा उल्लिखित पाइन्छ, यो केलाई संकेत गर्नुभएको हो ?
धेरै नभनौं तर यो कुरा एकदमै स्पष्ट हो कि क्रान्तिको जटिल प्रक्रियामा रहँदारहँदै पनि हामी नै हौंला आर्थिक विषयलाई संस्थागत प्रणालीमा सञ्चालन गर्ने। हामीसँग पार्टी बनेदेखिको हिसाबकिताब पूरै पारदर्शी छ। हामीले महासचिवदेखि कमान्डर, सदस्यसम्मको आर्थिक जीवन संस्थागत गरेका छौं। अब पूर्णकालीन कार्यकर्तासम्मको मिलाउँछौं। हाम्रो अनुसन्धानमा कम्युनिस्टहरू सकिनु र समाजवाद असफल हुनुको पछाडि अर्थ सम्बन्ध र स्वामित्वमा रहेको समस्या नै प्रमुख हो।
साम्यवादको सपना देख्नेले आफ्नै जीवन पारदर्शी गर्न नसक्ने, आवश्यकताअनुसारको दाम भन्नेले पार्टीको पैसा कुम्लो पारेर विदेशी बैंकमा लुकाउने, देशै बेचेर कमिसन खाने र उल्टो चर्का कुरा गर्ने, सरकारी जग्गा निल्न बाँकी नराख्ने हुनु नै यसको समस्या हो। हामी कम्युनिस्ट अर्थदृष्टिकोण, कम्युनिस्ट जीवन, अर्थउत्पादन र वितरणबारे कैयन् महŒवपूर्ण निष्कर्षमा पुग्दै छौं। हामी माक्र्सले अनुसन्धान गरेको साम्यवादी अर्थजीवन दिनुपर्छ भन्नेमा लागिपरेका छौं, जो पुँजीवादभित्रको कथित निजी जीवनभन्दा सयौं गुणा श्रेष्ठ र सभ्य हुन्छ। विश्वास छ– हामी साम्यवाद दिन सक्ने छौं।
तपाईंहरूले लड्न खोजेको सत्तामा त आफ्नै पूर्वकमरेडहरू पुगेका छन्, के यो प्रतिकूलता लाग्दैन ?
यहाँनेर अलिकति भावनातिर गएर भनौं भने हेर्नुस्, यो हाम्रा लागि प्रतिकूलतासगै अनुकूलता पनि त हो। नेतृत्वले गलत कदम चालेपछि कमरेडहरूको ठूलै संख्या त्यहाँ पुगेको छ। तर यी साथीहरू पनि त हिजैदेखि खराब थिए भन्ने होइन नि। हामी सबै अग्निपथमा हिँडेकै कमरेडहरू त हौं। सबैको ज्यान बमगोलाभित्रै त थियो। हामी हिमालको हिउँमा पुरिँदा, हिउँद—बर्खाका नदीमा बग्दा, दर्जनौं कमरेडहरूलाई एउटै खाल्डोमा दफनाउँदा, मोर्चामा रगत र आँसु पुछ्दै देखेका सपना त एउटै त थिए।
हामीले मुक्ति र बलिदानभन्दा अरू के देखेका थियौं र ? एकदमै मिल्ने र काँध जोडेर जीवनका धेरै समय लडेका कमरेडहरू पनि त त्यहाँ छन्। के तिनले हामीलाई क्रान्ति गरेबापत समाप्तै पार्ने मात्र सोच्लान् ? उनीहरू त्यहीं बसेर पनि त क्रान्तिलाई सहयोग गर्न सक्छन्। हामीले वैज्ञानिक समाजवाद ल्याउने अठोट गर्दा बिच्किन र चिढिन किन पर्छ र ? क्रान्तिको निर्ममता आफ्नै ठाउँमा छ। हामी सबै चुनौती सामना गर्न तयार भएर त यो मार्गमा डटेका छौं।
अन्त्यमा थप केही भन्नु छ ?
विषय राख्ने अवसरका लागि तपाईंको पत्रिकालाई धेरै–धेरै धन्यवाद !
प्रतिकृया लेख्नुहोस्: