काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य सुर्य थापाले दोस्रा अध्यक्ष प्रचण्डबारे कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल मार्फत थापाले अध्यक्ष प्रचण्डलाई ओलीको पखेटा काटेर आफु बलशाली हुन खोजेको टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई कमजोर बनाएर आफुँ प्रभावी हुनसक्ने प्रतिस्पर्धामा अर्का अध्यक्ष लागेको टिप्पणी गरेका छन् । थापाले विदेशी शक्तिकेन्द्रले नेकपामा विभाजन गराउन प्रोत्साहन, मलजल र दानापानी चलाएको बताएका छन् ।
उनले अध्यक्ष प्रचण्डको अभिव्यक्ति एकता प्रक्रियालाई अगाडि बढाउनेभन्दा पनि आगोमा इन्धन हाल्ने जस्तोसमेत भएको बताएका छन् । थापाले पूर्व माओवादी केन्द्रका तर्फबाट भएका मन्त्रीहरुको भूमिका निर्देशित र निहित परिणाममा लक्षितजस्तो देखिएको पनि टिप्पणी गरेका छन् ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारसमेत रहेका थापाको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा निकै बहस चलेको छ ।
यस्तो छ थापाले लेखेको फेसबुक स्टाटस
घेराबन्दी, विरोध र भ्रमको तुवाँलो
एक त्रासदीपूर्ण दुष्कृत्य
यो कसैको व्यक्तिगत विरोध होइन । तर…दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई सनातन गठबन्धन सरकारहरूभन्दा भिन्न हैसियत, भूमिका र स्थिरताका साथ संचालन गर्न र हुन किन कठीनाई परेको होला? जनताको मनमनमा प्रश्नहरू उठेका छन् । किनभने,
१. पूर्व एमालेकै कतिपय नेता र सांसदहरूद्वारा शृङ्खलाबद्ध र नियोजित रूपमा सरकारको बेइमानीपूर्ण आलोचना र भर्त्सना भएको छ । सत्तारूढ सांसदहरू नै पार्टीको अनुशासन र मार्गदर्शनमा नचलिरहेकोजस्तो देखिएको छ ।
२. पूर्व माओवादीकेन्द्रका तर्फबाट मन्त्री भएका केही व्यक्तिहरूको विवादास्पद निर्णय निर्देशित र निहित परिणाम लक्ष्यितजस्तो छ । त्यसो गर्दा कूटनीतिक सम्बन्धको समेत ख्याल नगरी बिगार्नेखालको र संशयपूर्ण गतिविधि रहेको छ ।
३. सरकारका राम्रो कामको प्रतिरक्षा नै नगरी मन्त्रीहरु लोकसेवाबाट नाम निकालेर ३० बर्ष पूरै अवधि र ५८ बर्ष उमेरहदसम्म निरन्तर पदमा विराजमान हुन आएजस्तो रवाफ प्रदर्शन गरिरहेको पाइन्छ । नीति, कार्यक्रम र बजेट मन्त्रीमुखी हुन पुगेको छ, आफ्नो हात जगन्नाथ गरिएको छ र जनमुखी बनाउन कोसिस नै गरेको देखिएन ।
४. मन्त्रीहरू सबै अत्यन्त जान्नेसुन्ने देखिन चाहने, तर खासमा केही नजान्नेजस्तो सावित भएर सूर, ताल र लयबिहीन मन्त्रिपरिषद् प्रतीत हुन्छ । मन्त्रीहरूको कार्यशैली धाकभन्दा धक्कु ठूला, हिड्दाखेरि खुट्टा लुलाजस्तो भएको छ । यसले गर्दा नै सफल कार्यसम्पादन देखिएको छैन ।
५. बोल्नै नपर्ने बिषयमा प्रधानमन्त्री र सल्लाहकारहरूको जवाफी फायरिङ चलेको छ । काममा दिने जवाफ कुराले दिँदा तिक्तता झनै बढ्न बल पुगेको छ ।
भारतमा १० बर्ष मनमोहन सिंह र चीनमा सि जिन पिङको जारी कार्यशैली अनुकरण गरी नेतृत्वले कुराले भन्दा कामले परिणाम देखाउन जरूरी छ । मूल्याङ्कन त कसैको पनि सुन्दर कुरामा होइन, औसत काममा हुने हो ।
६. सारा अपजस प्रधानमन्त्रीमाथि थोपरेर जनमतकै खिल्ली उडाउने प्रपंच रचिएको छ । पहिले (२०१६मा) बीपीले सकेनन्,अहिले(२०७६ मा) केपीले नसकेको भन्ने माहोल बनाउने षड्यन्त्रमूलक सक्रियता र चलखेल जारी छ ।
७. केपी ओलीका पखेटा काटेर र लोकप्रियता कमजोर पारेर मात्र आफू प्रभावी हुनसक्ने प्रतिस्पर्धी विभिषण प्रवृत्तिको गठजोडको प्रयास भएको पाइन्छ । विदेशी शक्तिहरूको सरकारलाई घेराबन्दी र थुनछेक तथा नेकपामा विभाजनकारी कोशिसअन्तर्गत प्रोत्साहन, मलजल र दानापानी चलेको छ ।
८. एकपछि अर्को गरी सरकारविरुद्ध भ्रमको तुवाँलो सिर्जना गरिएको छ । खानेपानी मन्त्री मेलम्चीमा चुर्लुम्मै भएर उपत्यकाबासी आक्रोसित छन्, उद्योग र कृषिमन्त्री विषादी प्रकरणमा निर्वस्त्र हुनु निकै दुखद छ । मलेशियाको रोजगार गन्तव्यको विवादका कारण डेढ बर्षदेखि निरन्तर समस्या भएर श्रममन्त्रीको पुरानो छवि धूमिल भएको छ ।
विधेयकहरूको तयारी र दर्ता एवं कानून निर्माणको प्रक्रियामै केही मन्त्रीहरूको खेलाँची र चरम हेलचक्र्याइ प्रमाणित भएको छ । गुठीआदि विधेयक जनमत, तथ्य र यथार्थ विपरित हुनाले फिर्ता गर्न बाध्य हुनुपरेको छ । लोकसेवाको विग्यापनविरुद्ध गरिएको षड्यन्त्र भने असफल भयो । चिकित्साशास्त्र विधेयक र लोकसेवाको सूचनाको विरोधमा उत्रिने र उतार्नेहरू नाजवाफ र निरूत्तर भएका छन् ।
९. भ्रष्ट, स्वार्थी र माफियाहरूको उछलकूद जारी छ । सरकार दूरी कायम गर्न अनिच्छुक भएर तिनको प्रभाव बढ्दो छ ।
१०. स्थायी सरकार कर्मचारीतन्त्र मणि हराएको सर्पजस्तै काम र परिणाममा असहयोगी र लक्ष्यबिमुख नै सावित छ ।
११. पार्टीको भूमिका शून्यप्राय: रहेको छ । एकता प्रक्रियामा ढिलाइको सरकार संचालनमा प्रत्यक्ष नकारात्मक असर परेको छ । दोस्रा अध्यक्षको सार्वजनिक अभिव्यक्ति सदैव आगोमा पानी हालेर समस्या समाधानमूखी होइन, इन्धन हालेजस्तो अस्थिरता बढाउन लक्ष्यितजस्तो र तरंगित पार्न उद्दत महसुस गर्न सकिन्छ ।
१२. नेकपाको डुंगा डुब्दा सवार कोही सुरक्षित नहुने निश्चितप्रायः छ । डोकाको कथा त व्यवहारमा चरितार्थ हुनेछ नै । हरेक दुष्ट छोराहरू बाबुलाई डोकामा हालेर आफ्नो भीरबाट खुरमु-याउन क्रियाशील भएजस्तै अनुभव हुन्छ यतिबेला । तर नियति त सबका सबले आफ्नो पनि यस्तै बेहोर्नु अनिवार्य हुनेछ भन्ने बुझेकै राम्रो र बुद्धिमत्तापूर्ण हुन्छ होला ।
नागरिक तहमा बेचैनी, छटपटी र आक्रोस बढिरहेको बिडम्बनायुक्त अवस्था स्थिरता, विकास र समृद्धिको लागि धेरै खतरनाक सूचक होइन र ?
प्रतिकृया लेख्नुहोस्: