युवा मनोविज्ञान
युवा अवस्था भन्नासाथ जोश, जाँगर, उत्साह अनी सामथ्र्यले भरिपूर्ण लोभलाग्दो र रहर लाग्दो उमेर हो । शायद कसैले बरदान दिँदो हो त सबैले माग्थे –“म सधैंभरी युवा हुन पाउँ ।” वास्तवमा मानव जीवनको सबैभन्दा उर्जाशील, गतिशील र क्षमतावान उमेर हो युवा अवस्था । प्रत्येक युवा मनोविज्ञानमा एउटा सुन्दर सपना हुन्छ, एउटा विशाल महत्वाकांक्षा हुन्छ, अनि काम गर्ने तिव्र इच्छाशक्ति हुन्छ । त्यहि उर्जाशिल शक्तिलाई देशको मुख्य संवाहक पनि भनिन्छ । तर, हाम्रो देश नेपालमा युवाहरु बेरोजगार मात्र हुँदैनन् संवाहक पनि बन्न पाएका छैनन् ।
बहुसंख्यक वा अधिकांश युवाहरु बेरोजगारको पीडाबाट आक्रान्त छन् । आज हाम्रो समाजमा १८ वर्ष पुग्दै गरेको एउटा युवामा पैसा कसरी कमाउने ? विदेश कसरी जाने भन्ने मात्रै चिन्ता र छटपटी हुन्छ । शायद यस्तै प्रश्नहरुले उसभित्रको उत्साहलाई निराशा र वितृष्णामा परिणत गरिदिन्छ । संसारमा जुनसुकै देशमा छरिएर रहेका नेपाली युवाहरुको एउटै पीडाबोध छ, त्यो हो–“हामी विदेशीन बाध्य छौं ।’
उनीहरु आँखाभरी आँशु झार्दै भनीरहेका छन् –“हाम्रो देश प्राकृतिक रुपमा संसारकै स्वर्ग छ तर बिडम्बना हामी चाहेर पनि त्यहाँ बस्न पाएनौं ।” उनीहरु विलाप गरीरहेका छन् । हामी आफ्नै भूमिमा रगत र पसिना बगाउन चाहन्छौं । हुनपनि नेपालको सामाजिक परिस्थिति कस्तो छ भने १७/१८ वर्ष पुगेपछि प्रत्येक युवाले तीनवटा विकल्प मध्ये एक रोज्नै पर्छ । पहिलो विकल्प हो स्वदेशमै व्यापार व्यवसाय गर्ने, दोश्रो विकल्प हो स्वदेशमै रोजगार वा जागीर खाने र तेस्रो विकल्प हो देशभित्र कतै सम्भावना नभेटीएपछि वैदेशिक रोजगारीमा जाने ।
आज सुनिदैं छ, भारतबाहेक अन्य मध्यपूर्वी देश मलेशिया र खाडी मुलुकमा मात्रै जाने युवाहरुको संख्या ५५ लाखभन्दा बढी छ । एक सरकारी तथ्यांकअनुसार दिनमा एक हजारदेखि पन्ध्र सय युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत मलेसीया लगायतका खाडी मुलुकमा जान्छन् । हामीले जनसंख्याको संरचनालाई हेर्यौं भने आधाभन्दा धेरै संख्या युवाहरुको छ । ०६८ को जनगणनाअनुसार नेपालमा १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको प्रतिशत कुल जनसंख्याको ४०.३४ प्रतिशत छ ।
उता ‘ब्रेन ड्रेन’को समस्या उस्तै डरलाग्दो र भयाभह छ । पढ्नका लागि भन्दै युवाहरु विदेशीने लहड चलेको छ । पढ्नका लागि वा अध्ययनका लागि विदेश जानु केही सहज भएकाले अधिकांश विद्यार्थीहरुको आकर्षण त्यतातिर छ । त्यतिमात्र हैन, यहाँ उत्पादीत उच्च जनशक्तिहरु जस्तै डाक्टर, इन्जीनियर, पाईलट, नर्स, प्राध्यापक, वैज्ञानिकरु पनि काम र कमाईका लागि विदेशीन बाध्य छन् । छिमेकी देश भारतमा कामका लागि भौतारीने युवाहरुको संख्या पनि ठुलो छ ।
विछोडको पीडा
कामका लागि धेरै पुरुष युवाहरु विदेश जाँदा परिवारमा पनि ठूलो असन्तुलन छाएको छ । श्रीमान् विदेश भएपछि श्रीमति बच्चा पढाउनका लागि कोेठा लिएर शहर तरि झरेका छन् । उमेर हो, श्रीमान् श्रीमती सँगै हुन नपाएपछि के हुन्छ ? होला सहजै अनुमान गर्न सकिन्छ । सांस्कृतिक, सामाजिक र आर्थिक विकृतिहरुले हाम्रो समाजलाई आक्रान्त पारेको छ ।
यौन विकृति, आर्थिक दुरुपयोग, सम्बन्ध विच्छेद, बहुविवाह र हिंसा अनि प्रतिहिंसाहरु बढेका छन् । एकातर्फ गाउँ खाली भएका छन् र गाउँमा बुढाबुढी मात्र छन् भने शहरमा अर्को निराशा छ । बुढाबुढीहरु साहारा बिहीन छन् । गाउँमा जग्गाहरु खाली वा बाँझै रहेका छन् । युवाहरुको पलायनले घर, परीवार, गाउँ र समाज पुरै विक्षिप्त र असन्तुलीत बन्दै छ ।
युवारुलाई बेच्ने राज्य संयन्त्र
युवाहरुलाई देशभित्रै व्यवस्थापन गर्ने जिम्मा सरकार र राज्यको हो । हिजो परिवर्तन र राष्ट्रियताका लागि लड्ने, बलिदान गर्ने युवाहरु आज विक्षिप्तता, निराशा र वितृष्णाका शिकार बनेर मगन्ते जीवन बिताउन बाध्य छन् । सरकारी रणनीति के छ भने, भएभरका युवाहरुलाई विदेश पठाउने र रेमिट्यान्समाथि आफुले मोज गर्ने । हामी स्पष्ट ढंगले देखिरहेका छौं, नेताहरुले युवाहरुलाई बेचीरहेका छन् । देशभित्र रोजगारी सृजना गर्ने, उत्पादन बढाउने, उद्योगहरु खोल्ने तर्फ हैन सरकारको ध्यान विदेशी सरकारसँग श्रम सम्झौता गर्ने तर्फ छ ।
कृषि, पर्यटन, उद्योग, जलविद्युतजस्ता रोजगारमुलक अनी उत्पादनमुलक क्षेत्रमा सरकारको भूमिका शुन्य जस्तै छ । आज नेपाली युवाहरुमा या त दलाल बन्ने या त विदेश जाने मात्र विकल्प छ । बाँच्नकै लागि कि त भ्रष्टचारी, तस्कर, कालोबजारीया, माफीया र दलाल बन्नु पर्यो, कि त विदेश जानु पर्यो । अतः नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनका लागि पनि वर्तमान राजनीतिक संरचनाको परिवर्तन अनिवार्य छ । दलाल पुँजीवादको अन्त्य गरे मात्र नेपालमा युवाहरुको भविष्य सुनिश्चित हुन सक्छ । वर्तमान राज्यसत्ताले युवाहरुलाई कि दलाल बनाउने कि विदेश पठाउने नीति लिएको छ ।
राष्ट्रियतामाथिको गम्भीर संकट
कुनै पनि राष्ट्रका लागि खम्बाको रुपमा रहेको युवाशक्तीको विदेश पलायनको समस्याले नेपालको राष्ट्रियता नै गम्भीर संकटमा फस्दै गईरहेका छ । देशभित्रै रहेका युवाहरुमा पनि निराशा, वितृष्णा, बेचैनी र छटपटीले आक्रान्त पारेको छ । काम छैन, आम्दानी छैन तर खर्च आकाशिदों छ । हाम्रा सामाजिक परम्पराहरुमा पनि दलाल संस्कृति हावी भएको छ । हाम्रो समाजमा एकातिर, ईमान्दार, निष्ठा र नियमपूर्वक काम गर्नेहरु बाँच्नै नसक्ने गरी मगन्ते, उत्पीडित र लोपोन्मुख हुँदै छन् भने भ्रष्ट, दलाल, कालोबजारीया, तस्कर र माफियाहरु नयाँ श्रीपेचधारी राजा रजौटाहरुमा परिणत भएका छन् । त्यसकारण एकातर्फ भ्रष्टाचारले र अर्कोतर्फ युवाहरुको विदेश पलायनले हाम्रो राष्ट्रियतामाथि गम्भीर संकट उत्पन्न गरेको छ ।
भावी पुस्तालाई नै पर्न सक्ने संकट
युवाहरुको पलायनको मनोविज्ञानले हाम्रो भावी पुस्तालाई नै चरम संकट उत्पन्न गर्ने खतरा बढेको छ । हामी बिग्रीयौं भने हाम्रो पुस्ता के होला ? हामीले हाम्रा मुल्यमान्यता, आदर्श र सभ्यताहरुलाई बिक्री गर्यौं वा तिलाञ्जली दियौं भने हाम्रो पुस्ताले के गर्ला ? हामीले राष्ट्र, राष्ट्रियता वा समाजलाई जोगाउन सकेनौं भने पछि के होला ? या त भावि पुस्ताले हामीलाई सराप्ने छ या त उ झनै विचलीत हुनेछ ।
अब बेलैमा हामीले आवश्यक पहलकदमी लिनुपर्ने छ । भ्रष्ट मनोविज्ञानलाई बदल्नुपर्ने छ । ठगी खाने, लुटी खानेहरु धनी र समृद्ध बन्ने वर्तमान व्यवस्थालाई भत्काउने गरी खाने वर्ग धनी र समृद्ध बन्ने वैज्ञानिक समाजवादको निर्माण गर्नुपर्ने छ ।
प्रतिकृया लेख्नुहोस्: