नेपाल–भारतबीचको सीमा समस्याको मूख्य कारण भारत हो । छिमेकी राष्ट्रहरु उभन्दा साना र धेरै कमजोर रहेका छन् भन्ने भारतलाई दम्भ रहेको छ । जसरी उ ब्रिटिस कोलोनीबाट पेलीयो त्यहि चिज उसले छिमेकिहरुसँग गर्न खोज्दैछ । यसै कारणले भारतको छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध बन्न सकेको छैन । नेपाल, श्रीलङ्का, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानस्तानलगायत सबै छिमेकी राष्ट्रसँग भारतको सम्बन्ध बिग्रेको छ । नेपाल–भारतसँग सम्बन्ध बिग्रनुमा उसको हेपाह प्रवृत्ति जिम्मेवार छ ।
सीमा समस्यामा भारत मुख्य कारक हुँदाहुँदै पनि हाम्रा शासकले विवाद समाधानको लागि पहलकदमी लिन सकेनन् । राज्यसत्ता भनेको आफ्ना सीमाको रक्षा, जनताको सुरक्षा गर्न बनेको हुन्छ । यसमा हाम्रा शासकको पनि कमिकमजोरी देखियो ।
महाकाली क्षेत्र आजदेखि होइन, बर्षौदेखि भारतले नियन्त्रणमा लिइराखेको छ । तर, नेपालका शासकहरुले भारतीय सुरक्षा बललाई फिर्ता गराउन उचित कदम चालेनन् । कुटनीतिक पहल पनि गरेनन् । नेपालको सीमानाको लागि त्यस क्षेत्रमा एउटा पनि सुरक्षाकर्मी खटाउन सकेका छैनन् । जति मात्रामा खटाएका छन्, अपर्याप्त रहेको छ । हामीसँग एक लाख नेपाली सेना छ, त्यतिकै हाराहारीमा शसस्त्र प्रहरी रहेका छन् । पर्याप्त मात्रामा सुरक्षा निकाय भएपनि नेपालको सीमा र सार्वभौमसत्ता जोगाउन असफल भएको देखिन्छ ।
सीमा समस्या चुनावी स्टन मात्रै
राजनीतक दलका नेताहरु चुनावमा ठुला कुरा गर्छन् । अहिले पनि राजनीतिक दलका नेताहरु विगतको गल्तिबाट पाठ सिकेर राष्ट्रिय सहमति गरेका छैनन् । उपनिर्वाचनको लागि राजनीतिक स्टन लिएका मात्र हुन् । चुनाव नआएको भए यति पनि बोल्ने थिएनन् । उपनिर्वाचन आएकोले राष्ट्रवादी बन्न दलहरुबीच प्रतिस्पर्धा चलेको हो । यथार्थमा यिनीहरु राष्ट्रवादी छैनन् । त्यसैले समस्या उत्पन्न भएको हो ।
विरोधप्रर्दशनबाट समाधान हुँदैन
कालापानी क्षेत्र नेपालको हो भन्ने कुरा पुराना दस्तावेजले प्रष्ट पारेको छ । यसमा भारतले पनि आफ्नो हठ त्यागेर छिमेकीको सम्मानको लागि उसले नक्सा सच्याउनु पर्छ । नेपालले पनि विरोध, भाषण, व्यक्तव्यबाजी नगरी कुटनीतिक पहलमार्फत समस्यालाई सदाको लागि समाधान गर्नुपर्छ । सडकको नारा जुलुसले मात्र समस्याको समाधान हुँदैन । यसो भन्दैमा जनस्तरबाट विरोध र प्रतिरोध गर्न छोड्नु हुँदैन । समस्या समाधानको लागि राज्यस्तरबाट नै पहल गर्नु पर्ने हुन्छ । यसको पहलकदमी सरकारले नै लिनुपर्छ ।
अन्तराष्ट्रियकरण गर्दा चक्रब्यूहमा फसिन्छ
सिमा समस्या समाधानको लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न सकिन्छ । तर, नेपालको हकमा त्यसो गर्नु ठिक छैन । यो मुख्र्याइँ मात्रै हुन्छ । नेपाल सरकारले त्यसो गर्नु हुँदैन । तत्काल नेपाललाई यसले फाइदा दिँदैन । विश्वमञ्चमा भारतको तुलनामा हामी धेरै कमजोर र सानो छौं । अन्तर्राष्ट्रिय राजनीति पनि निष्पक्ष छैन । पूर्वाग्रही रहेको छ । उनीहरुले समर्थन गर्ने भनेको ठुला बलियालाई नै हो ।
संयुक्तराष्ट्र संघमा हेर्ने हो भने कयौं विवादहरु छन् । तर, उनीहरुले साना राष्ट्रहरुलाई साथ दिएका छैनन् । त्यहाँ गएर हामी झन कमजोर हुनुभन्दा दुईदेशबीच उच्च राजनीतिक संवाद गर्नुपर्छ । नेपालको लागि भारतसँगको सम्बन्ध पनि अनिवार्य हुन्छ । छिमेकीको हिसावले मित्रराष्ट्र चीनलाई पनि राख्न सकिन्छ । बाहिर अरुले भनेको जस्तो मध्यस्तकर्ताको रुपमा हुनुहुँदैन ।
छिमेकीहरुको चासो र सरोकारको हिसावले हुनसक्छ । यस हिसाबले अहिलेको मुद्दालाई अन्तर्राष्ट्रिय अदालत वा विश्व मञ्चमा राखियो भने नेपालको भन्दा भारतकै पहुँच बलियो हुन जान्छ । त्यतातिर अहिले नै हामी जानु हुँदैन । पहिले भारत सच्चिनु पर्छ । सरकारले तत्काल सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरी सीमा विवाद हल गर्नुपर्छ । दुई पक्षिय वार्ता संवाद थाल्नु पर्छ ।
सामरिक महत्वको ठाउँ भएकोले अन्य विकल्प खोज्दा नेपाल अन्तर्राष्ट्रिय समुदायको चलखेल गर्ने अखडा पनि हुनसक्छ । यस विषयमा अरुलाई गुहार्नुभन्दा हामी आफँै बसेर मिलाउनु पर्छ । सीमा समस्या समाधानको लागि प्रधानमन्त्रीले जुनसुकै उदेश्यले सर्वपक्षिय बैठक बोलाएको भएपनि त्यो राम्रो पहल हो । राष्ट्रियताको विषयमा सबै एक ठाउँमा आउने वातावरण बन्नु सकारात्मक काम हो ।
तत्कालको चुनावलाई हेरेर निहित स्वार्थ हुनु भएन । यसलाई संवेदनशिल रुपले हेर्नुपर्छ । कारण जेसुकै होस राष्ट्रियता र सीमाको विषयमा राम्रो सन्देश गएको छ । यस अवसरलाई सदुपयोग गरी तत्काल दुईपक्षिय वार्ता अगाडि बढाई समस्याको हल प्रधानमन्त्रीले गर्नुपर्छ ।
भारतीयहरुको नेपाल नीति, उनीहरुको मानसिकता, छिमेकीप्रति उसको रबैयाको कारण सीमा विवाद जटिल मोडमा रहेको छ । भरतको विगत हेर्दा गल्ति सच्याउनुभन्दा पनि पेल्दै जाने प्रवृत्ति भएको हुँदा भारत सच्चिहाल्छ भन्ने लाग्दैन । तरपनि नेपाल सार्वभौम राष्ट्र भएको कारण समस्या सुल्झदैन भन्ने ठान्नु हुँदैन् । प्रयास जारी राख्नु पर्छ ।
(लेख कुराकानीमा आधारित हो)
प्रतिकृया लेख्नुहोस्: