काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् ।
बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।
हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।
मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ ।
गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो । यस वर्ष त्रिपालमुनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
कसैले शुल्क उठाएको पाइएमा कारवाही गर्ने उहाँले बताए । यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो ।
यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ । विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्याङ्ग्रिने गरेका थिए ।
पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने विधि छ ।
पशुपतिलगायत देशभरका शिवालयमा आज सोमबार परेकाले पनि पितृका नाममा शतबीज छर्नेबाहेकका भक्तजनको समेत उपस्थितिका कारण बढी भीड छ । शतबीज छरिसकेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ । रासस
प्रतिकृया लेख्नुहोस्: