बुधबार दशरथ रंगशालाबाट सरकारले भ्रमण बर्ष २०२० को उद्घाटन समारोह सम्पन्न गरेको छ । समारोहलाई सफल बनाउन सरकारले निकै तामझाम गरिएको देखिन्छ । सो समारोहमा म पनि उपस्थित भएको थिएँ । भ्रमण बर्षको यो एउटा औपचारिक घोषणा मात्र हो । यो नै सवैथोक होइन । भ्रमण बर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष लिएको छ । नेपाल भ्रमणमा अहिले आउने पर्यटकको संख्या ५ देखि ६ लाखको हाराहारीमा रहेको छ । यस हिसाबले सरकारले लिएको लक्ष्य पुरा गर्न करिब ६० प्रतिशत पर्यटक बृद्धि हुन आवश्यक छ । रंगशालामा बसेर बाजागाजा बजाएरमात्र पर्यटन आउने होइन । मुख्य कुरा त पहिला विदेशी पर्यटक आउने वातावरण सरकारले बनाउनु पर्छ ।
अहिले पर्यटनको बिषयमा दुई खालको बिचार आएको छ । एक आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने । त्यसले आन्तरिक पर्यटनमा त बृद्धि होला । तर, यसले देशको जिडिपिमा कुनै फरक पार्दैन । आन्तरिक पर्यटकले एक ठाउँको पैसा अर्को ठाउँमा जाने मात्र हो । अर्थतन्त्रलाई चलायमान बनाउन पहिला जिडिपिमा बृद्धि गनुपर्छ । जिडिपि बृद्धि हुन विदेशी मुद्रा आर्जन गर्नुपर्छ । विदेशी मुद्रा आर्जन गर्न विदेशी पर्यटकलाई आकर्षित गर्ने नीति आवश्यक छ ।
पर्यटन क्षेत्रमा अहिले देखिएको समस्या
१. प्रदुषण : यहाँको मूख्य समस्या भनेको काठमाडौमा पर्यटक झर्नासाथ प्रदुषण झेल्नुपर्छ । यसले उनीहरुलाई इरिटेट गर्छ । विमानस्थलबाट बाहिर आउनासाथ धेरै पर्यटकलाई असाध्यै प्रदुषित शहरमा आएछु भन्ने अनुभूती हुन्छ । यहाँको अस्थव्यस्तताको कारण थुप्रै पर्यटक बिरामी हुने अवस्था आउन सक्छ । घुम्न आएको मान्छे माक्स लगाएर हिड्न चाहँदैनन् । सरकारले सामान्य कुरामा ध्यान दिन सकेको छैन । हामीले पर्यटकलाई आकर्षित गर्न भिसामा छुट दिन सकेका छैनौं । पर्यटकलाई एकद्धार प्रणालीबाट सुविधा दिन सकिएको छैन ।
२. नेपाली एयरलाइन्स कालोसूचीमा : युईले अझैपनि नेपाली एयरलाइन्सलाई कालो सूचीबाट हटाएको छैन । कालो सूचीबाट हटाएको भएदेखि नेपाल एयलाइन्स सिधै युरोपका विभिन्न देशमा जान सक्थो, जसको कारण पर्यटकमा अझै बृद्धि हुन्थ्यो । युरोपबाट सिधै मानिसहरु यहाँ आउन सक्थे । तर, त्यसो हुन सकेन ।
३. आवासमा समस्या : काठमाडौंमा केही होटल हुँदैमा सुविधा छ भनेर हुँदैन । विभिन्न गन्तब्य क्षेत्रमा पर्यटकलाई आवश्य सुविधासम्पन्न होटेल, होमस्टे वा अन्य आवासको कमि रहेको छ ।पर्यटक आउँदा होटेलको व्यवस्था कस्तो छ ? आएको भोलीपल्टदेखि गन्तव्यसम्म लैजान सुरक्षा व्यवस्था कस्तो छ ? भौतिक पूर्वाधानरको व्यवस्था कस्तो छ ? खानेकुरा ताजा छ कि छैन ? पर्यटकले त यी सबै कुरा हेर्छन नि । यी कुराहरुमा सरकारको ध्यान पुगेको भए पर्यटकमा बृद्धि हुनसक्थ्यो । सिंगापुरमा जम्मा ५० लाख जनता छन् । काठमाडौं उपत्यका भन्दा सानो देश छ । त्यहाँ बर्षेनी एक करोड ७० लाख पर्यटक आउँछन् । हाम्रो झण्डै तीन करोड जनसंख्या भएको मुलुकमा ५६ लाख मानिस आउन पनि गाह्रो छ । यसको कारण भनेको यहाँको भौतिक पूर्वाधारको राम्रो विकास नहुनु हो ।
४. आकर्षित गर्ने प्याकेज आएन : मुख्यतः पर्यटकलाई आकर्षित गर्न सरकारले राम्रो प्याकेज घोषणा गर्न सकेको छैन । पर्यटक नेपाल किन घुम्न आउने ? खालि सगरमाथामात्र देखाएर त भएन नि । नेपालको परिवेशलाई झल्किने खालको आकर्षक प्याकेज घोषणा गरेको खै ? रंगशालामा रमाइलो गरेरमात्र भएन । सरकारको यहि तरिकाले लक्ष्यमा पुग्न गाह्रो छ ।
५. यातायात र ट्रेकिङ रुटहरुमा समस्या : नेपालको भौतिक पूर्वाधार एकदम कमजोर रहेको छ । पर्यटकले यात्रा अवधिभर सुरक्षा खोज्छ । यहाँ सबै ठाउँमा रोड कनेक्टिभिटि राम्रो छैन । हवाई क्षेत्र पनि सुरक्षित छैन । अर्को, हामी कहाँ ट्रेकिङ रुटहरु पनि सुरक्षित छैन । धेरै मानिसको ज्यान गएको छ । सरकारले यिनीहरुलाई ध्यानमा राख्नु पथ्र्यो । यसमा सरकार चुकेको छ । पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेज बनाउन सकिन्थ्यो । कृषि, राष्ट्रिय निकुञ्ज, भाषा संस्कृतिलाई समेत जमेट्नु पथ्र्यो । यसमा सरकारको कमजोरी रहेको छ ।
लण्डनबाट स्कटल्याण्ड उड्नु पर्यो भने उनीहरुले १५ पाउण्डले टिकट पाउँछन् । काठमाडौंबाट हुम्ला जानुपर्यो भने नेपालीलाई १२ हजार र विदेशीलाई २४ हजार पर्छ । २ सय डलरले त अमेरिकाबाट सनफ्रान्सिको पुग्ने बराबरको रकम हो । नेपालमा २० मिनेटको समयमा यो रकम खर्च भइरहेको छ ।
६. पर्यटन क्षेत्र जोड्ने कुरामा समस्या : हाम्रै छिमेकी मुलुक भुटानले दिनमा दुईसय डलर खर्च गरेकै हुनुपर्छ भन्ने नीति छ । हामी कहाँ एक महिना बसेर दुईसय डलर खर्च गर्ने गरेका छन् । नेपालमा हिमाल मात्र हेर्न पर्यटन ल्याउने हो त ? पक्कै होइन । यहाँ हाम्रो विचित्रका पहाडी चुचुरा, गल्छि खोंच, नदिहरु छन् । त्यहाँ प्याराग्लाइडिङ, बंजिफिङ्ग र र्याफ्टिङ गर्न सकिन्छ ।
यस्तै, विभिन्न संस्कृति, भेषभुषा, धर्म छन् । जनजातिहरु छन् । प्रत्येकका जीवनयापन गर्ने शैली फरक छन् । यसतर्फ पर्यटक आकर्षित गर्न पहिले कनेक्टिभिटी चाहिन्छ । म उद्घाटन समारोहको बेलाको एक दृष्टान्त दिन चाहन्छु । समारोहमा विभिन्न देशबाट पाउना आएका थिए । सरकारले उनीहरुलाई बस्ने व्यवस्था मिलाउनसमेत हम्मेहम्मे परेको थियो । योभन्दा लाजमर्दो कुरा अरु के हुन्छ ? अब सगरमाथा देखाएरमात्र पर्यटक आउँदैनन् । मुस्ताङ, हुम्ला, जुम्ला, रोल्पा, डोल्पा, मुगुलगायत देशका विभिन्न भागमा पर्यटकलाई आकर्षित गर्न धेरै ठाउँ छन् । राज्यले छायाँमा परेको ती ठाउँहरुलाई विश्वस्तरमा प्रचारप्रसार गर्न सकेको छैन ।
७. पर्यटनमैत्री आचारसंहिताको कमी : त्यसकारण पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सरकारले पर्यटनमैत्री आचार सहिंता बनाउनु पर्छ । नेपालको हकमा पर्यटकलाई सुविधा कम छ, मूल्य चर्को छ । काठमाडौं मंहगीको हिसाबले विश्वको लेबलमा पुग्न लागेको छ । तर, स्वास्थ, ताजा खाना उपलब्ध छैन । काठमाडौंलाई गन्तब्य बनाएर आउने पर्यटकलाई महंगो टिकट परिरहेको छ ।
सरकारले बाहिर मिडियावाजी मात्रै गरेको छ जुन पर्यटन क्षेत्रको विकासकोलागि अपनाउनुपर्ने कुनै पनि कुरा अपनाएको छैन । यहाँ भाषण एउटा गर्ने काम अर्कै गर्ने भएको छ । पर्यटन व्यवसाय त देखिने कुरा हो । नाचगान गरेर हुँदैन । व्यवहारीकरुपले नै सकार लाग्नु पर्छ ।
अहिले पनि हुम्लाको सिमिकोट प्रवेश निषेधित क्षेत्र रहेको छ । त्यहाँ पर्यटक प्रवेश गर्ने वित्तिकै अर्को प्रवेसज्ञा लागु गर्नुपर्छ । सरकारको मानसिकता एक प्रतिशत भारत र एक प्रतिशत चीनबाट पर्यटक आयो भने दुई करोड पर्यटक भित्रिन्छ भन्ने छ । ती दुई करोड मानिस ल्याएर नेपालका एटिम कार्ड खोल्ने हो र ? अहिले हामीलाई चाहिएको संख्यामात्र होइन, गुणस्तरपनि पनि हो ।
भ्रमण बर्षमा सरकारको तयारी प्रज्ञाप्रतिष्ठानमा नाटक देखाएजस्तो भयो
सरकारको गतिविधि प्रज्ञाप्रतिष्ठानमा नाटक देखाएको जस्तो भयो । बाहिर के के न गरेजस्तो तामझाम भित्र पुरै खोक्रो रहेको छ । वर्तमान पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रमा केहि पनि काम गर्न सक्नु भएको छैन । पर्यटन क्षेत्रमा जति काम भएको छ । पूर्वमन्त्री रविन्द्र अधिकारीले गरेका हुन् । योगेश जीले भन्दा राम्रो काम अधिकारीले गर्नुभएको थियो । भट्टराईले ठुला व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री, पार्टीका प्रमुख नेतालाई देखाउन के के न गरेजस्तो देखावटीमा लाग्नु भएको छ ।
पर्यटन प्रर्वद्धकालागि सम्भावित क्षेत्रहरुलाई व्यवस्थित गर्नुपर्छ
विविधताको एकता भएको हाम्रो मुलुक पर्यटलाई आकर्षित गर्ने धेरै चिज छन् । विश्वमै नभएका पनि नेपालमा छन् । यो प्रचुर सम्भावनालाई व्यवहारमा लागु गर्न सरकारले अग्रसरता दिन सकियो भनेमात्र पर्यटन क्षेत्रले फट्को मार्छ । हिमाल हेर्दाहेर्दै पर्यटक वाक्क भइसकेका छन् । नेपालको समग्ररुप हेर्न पाए भनेमात्र वाहा भन्ने हुन्छ । त्यो वातावरण सरकारले बनाउन सक्नु पर्यो नि ।
हामीकहाँ पुरातात्विक महत्वको विश्व सम्पदा छन् । तिनीहरु नष्टहुने चरणमा छन् । त्यस्ता चिजमा उनीहरुलाई रुचि हुन्छ । त्यो सम्पदालाई जोगाइ राख्नु पर्यो । नेपालमा हेल्थ टुरिजममा पनि सम्भावना छ । विश्वमा औषधी महंगो छ । उता २ सय डलरमा पाउने औषधी यहाँ ४० डलरमा पाइन्छ । हाम्रो आफ्नै प्राकृतिक उपचार प्रविधि छ । यसमा आकर्षित गर्न सकिन्छ ।
कृषिकै कुरा गर्ने हो भने हामीकहाँ विश्वमा नपाउने बिभिन्न बालीनाली पाइन्छ । विभिन्न जडिबुटीहरु छन् । हामीले खाने खानामा स्वास्थ्य बर्धक तत्वहरु पाइन्छ । जस्तै फापर, कोदो, सिस्नु आदि इत्यादि अनगिन्ति खानाहरु छन्, जुन स्वास्थउपचारमा समेत प्रयोग गरिन्छ ।
भ्रमण बर्ष सन् १९९८ र सन् २०११ को तत्थ्याङक हेर्दा सरकारको लक्ष्य भन्दा धेरै पछिमात्र पुरा भएको देखिन्छ । सरकारको अहिलेकै नीति कायम रहे २० लाख पर्यटन भित्र्याउने उसको लक्ष जुन छ, त्यो पुरा हुन सक्दैन । मेरो विचारमा सरकारले धेरै मेहनत गरेछ भनेपनि १३–१४ भन्दा बढि पर्यटक नेपालमा ल्याउन सकिदैन ।
(प्रस्तुती : गणेश पाण्डे)
प्रतिकृया लेख्नुहोस्: