काठमाडौं । सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्यौलमा परेको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाच्न प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेकाले बैठक बोलाउने, नबोलाउने अन्यौल बढेको संसद् सचिवालय स्रोतले जनाएको कान्तिपुर दैनिकमा समाचार छ ।
नेकपाका तर्फबाट अहिलेसम्म खबर आएको छैन, सम्भवतः आइतबार पनि सभामुखको चुनवाी प्रक्रियामा जान सकिँदैन होला,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘बैठक बोलाएर सभामुखको चुनावी प्रक्रिया अलि ढिलो सुरु गर्न पनि सकिन्छ ।’ यसअघि दुई पटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिनका तय गरिएको थियो । तर नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
त्यसैगरि नागरिक दैनिकका अनुसार प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । ओली सरकार सञ्चालनमा सहयोग पुग्नेगरी आफूले चाहेको पात्रलाई नै सभामुख बनाउने अडानमा छन् ।
बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि सभामुख चयनबारे कुनै छलफल हुन सकेन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेर मात्रै उक्त बैठक टुङ्गियो । ओली मिर्गौला डायलाइसिस गराएर आरम गरिरहेका कारण बैठकमा उपस्थित नभएका हुन् ।
बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीकै सहमतिमा उपसभामुखलाई पदबाट राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे । नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पनि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । उपसभामुख पदबाट उनले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउन सक्छ ।
अन्नपूर्ण पोष्ट दैनिकका अनुसार उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्। ‘म राजीनामा दिन्न, आइतबारको संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको तुम्बाहाङफेले बताइन्। ‘राजीनामा माग्ने कुरा नियमित प्रक्रिया हो। दलहरू प्रक्रियामा अघि बढ्छन्, मेरो राजीनामा मागिएको विषय मलाई थाहा छैन’, तुम्बाहाङफेले भनिन्।
प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित थिए। ‘तपाईंहरू सल्लाह नै गरिरहनुभएको छ नि १ मिटिङ राख्नुहोस्, सल्लाह गर्नुहोस्। म रेस्टमा हुन्छु’, प्रधानमन्त्री ओलीले बैठकअघि नेताहरूलाई भनेका थिए। शनिबार मिर्गौला डायलासिस गरेपछि प्रधानमन्त्री ‘रेस्ट’ मा रहेका बेला सचिवालय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार तय नगर्दा संसद् बैठक झन्डै एक महिनादेखि अवरुद्ध छ। पुस ४ गते संसद् अधिवेशनको पहिलो दिन औपचारिक पूरा गर्नुबाहेक संसद्का बैठक तीन पटक सूचना टाँसेर स्थगन गरिएका छन्। संसद्को बैठक आइतबार बोलाइएको छ।
प्रतिकृया लेख्नुहोस्: