काठमाडौ । नेपाल प्रहरीमा दर्ता भएका महिला हिंसाका घटनाका आधारमा ‘लकडाउन’ यता महिला हिंसाका घटना घटेको छ । प्रहरीले घटना नै कम भएको दाबी गरिरहँदा महिला अधिकारका क्षेत्रमा कार्यरतले भने घटना बढेपनि बाहिर आउन नसकेको बताएका छन् ।
पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा एक महिनामा सयभन्दा बढी महिला हिंसाका उजुरी आउने गरेकमा ‘लकडाउन’ पछि झण्डै २० वटा मात्रै उजुरी आएका छन् । यो अवधिमा अरु अपराधका घटनासँगै महिला हिंसाका घटनामा पनि कमी आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । अधिकांश घरेलु हिंसाका कारण मादक पदार्थ भएपनि अहिले ‘लकडाउन’ पछि मादिराको किनबेच कम भएकाले सेवनमा कमी आएको छ । उनले भने, “मदिरा कम भएपछि महिलामाथि हुने हिंसा कम भएको छ ।”
त्यस्तै, पहिले श्रीमान वा श्रीमान श्रीमति नै घर बाहिर काममा जाने हुँदा एक अर्काप्रति अविश्वासले पनि झगडा हुने गरेको उनले बताए । ‘लकडाउन’ पछि सबै परिवार सँगै बस्दा पारिवारिक वातावरणमा घर झगडा कम भएको छन् । कोभिड–१९ का त्रासका कारण पनि यी घटनामा कमी आएको उनले बताए । उनले भने, “अहिले सामान्य अवस्थाभन्दा हिंसाका घटना कम भएको छ ।”
कोही महिला पीडित नै हुँदा पनि प्रहरी कार्यालयसम्म जान नसकेको हुन सक्ने भन्दै परिसरले तीनलाई लक्षित गरी विशेष व्यवस्था मिलाइएको बताएको छ । ‘लकडाउन’ को समयमा प्रहरी कार्यालय जान नसकेका पीडित महिलाले मौखिक उजुरी पनि लिइरहेको परिसरले जनाएको छ । प्रहरीले १०० नम्वर वा नजिकैको प्रहरी कार्यालयमा फोन गरेर पनि उजुरी गर्न सक्ने व्यवस्था मिलाएको उनले बताए । पीडित महिलाले यी नम्वरमा फोन गरेपछि प्रहरी आफैँ ती महिलाको घर पुग्ने व्यवस्था मिलाइएको छ । उनले भने, “प्रहरीले घरमा नै पुगेर उजुरी लिन शुरु गरेको छ ।”
यो अवधिमा हिंसाका घटना कम नभएपनि ती प्रहरी वा संस्थासम्म पुग्न नसकेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) की कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले बताइन् । नेपालमा धेरै अध्ययनले महिला हिंसाका घटनामा पीडक परिवारकै सदस्य वा छिमेकी भएको देखिएको छ । ‘लकडाउन’ का समयमा छिमेकीसम्म आउजाउ नभएपनि परिवारका सदस्य घरमै हुँदा हिंसा अझै बढेको हुनसक्ने उनले बताइन्। महिलाले पहिले हिंसा सहन नसकेको अवस्थामा सुरक्षित आवास (सेफ हाउस) मा बसेर पनि मुद्धा अघि बढाएका थिए । उनले भनिन, “अहिले त्यसो गर्न नसक्ने अवस्था भएकाले पनि उजुरीकै लागि नगएको हुनसक्छ ।”
ओरेकले ‘लकडाउन’ को शुरुदेखि नै हटलाइन नम्वर र परामर्शदाताको नम्वर दिएर आवश्यक सुझाव दिइरहेको छ । यी नम्वरमा अहिलेसम्म ८३ जनाले आफ्ना समस्या राखेका छन् । यीमध्ये कतिपय महिला अहिले पनि प्रहरी कार्यालय पुग्न सकेका छैनन् । अहिलेको अवस्था हेरेर कतिपय महिला ‘लकडाउन’ पछि नै उजुरी गर्ने योजनामा रहेको उनले बताइन् । सुकुम्वासी वस्तीमा र मजदूर वर्गमा हिंसाका घटना बढीरहेको उनले बताइन् । उनले विश्वका धेरै देशमा हिंसाका घटना बढेका छन्, नेपालको पनि अवस्था त्यस्तै छ भनिन् ।
प्रहरीले ‘लकडाउन’ मा समाजमा घटिरहेका अरु अपराधको सम्भावित घटना रोक्ने र घटना भइहालेमा त्यसको अनुसन्धान गरी कारवाही अघि बढाइरहेको छ । ‘लकडाउन’ मा अरु अपराधका घटनामा पनि उत्तिकै ध्यान दिइएको प्रवक्ता बोगटीले बताए । यो अवधिमा अपराधका घटनामा भने ह्वात्तै कमी आएको छ । उल्लेखनीय रुपमा आत्महत्याका घटनामा कमी आएको छ । परिसरमा सामान्य अवस्थामा महिनामा ५५ देखि ६० वटासम्म आत्महत्याका घटना भएको देखिन्छ । ‘लकडाउन’ पछिको झण्डै एक महिनामा भने अहिलेसम्म नौ वटा मात्रै आत्महत्याको घटना भएको पाइन्छ ।
प्रतिकृया लेख्नुहोस्: