काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् ।
आजको राजधानी दैनिकमा खबर छ - पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरङ्ग सिर्जना भएको छ ।
प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार र पुष्पकमल दाहाल निवास खुमलटारमा जम्मा भई पटक पटक संवाद र वार्ता गर्ने प्रयास गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवास पुगेर पनि नेताहरू समाधानका उपाय खोजिरहेका छन् ।
ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने दाहाल र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको जारी स्थायी कमिटी बैठक समेत प्रभावित भएको छ । बैठक चल्दै गर्दा बीच बीचमै रोक्ने र एकले अर्काप्रति आशंका गर्ने कारणले पार्टी फुटको संघारमा पुग्न सक्ने संकेत देखिएको स्थायी कमिटीका सदस्यले बताएका छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताए । स्थायी कमिटीको बैठकले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको निष्कर्ष निकालेको श्रेष्ठले बताए । पार्टीमा देखिएको संकट समाधान गर्ने उद्देश्यले स्थायी शनिबार कमिटीको अर्काे बैठक बस्नेछ । त्यसयता अध्यक्षद्वय ओली र दाहालका साथै सचिवालयका नेताहरूका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने श्रेष्ठले बताए ।
‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ श्रेष्ठले भने, ‘संकट समाधानका लागि अध्यक्षद्वयका साथै सचिवालय स्तरका नेताका बीच छलफल गर्ने उद्देश्यले शनिबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार स्थायी कमिटीको बैठक ११ बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री ओलीले बालुवाटारमै १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएपछि केही समय स्थायी कमिटी बैठक अवरुद्ध भएको थियो ।
मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपति समक्ष गर्ने निर्णय गरेको थियो । तर, श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठक बस्ने र संसद्को अधिवेशन अन्त्य नगर्ने सहमति अध्यक्षद्वयबीच भएको थियो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार नै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । संसद् अधिवेशन अन्त्यसँगै प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने भन्दै दाहाल पक्ष संशकित देखिएको छ ।
नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यादेश ल्याउन खोजिएको विषयमा दाहालले ओलीसँग छुट्टै छलफल गरे । तर, ओलीले त्यस्तो अध्यादेश नल्याउने बताए पनि दाहाल विश्वस्त हुन सकेका छैनन् । सोहीबीच जारी स्थायी कमिटी बैठक रोकेर दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।
प्रतिकृया लेख्नुहोस्: