हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले देश सुरुङमार्गको युगमा प्रवेश गरेको बताएका छन् ।
आज मन्त्रालयमा आयोजित ‘एशियाकै सबैभन्दा पुरानो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनःनिर्माणको क्रममा भएको अध्ययनको प्रस्तुतीकरण’ कार्यक्रममा उनले पुनःनिर्माणमा खटिने प्राविधिकहरुले चुरिया सुरुङ पुरातात्विक महत्वको सम्पदा हो भन्ने हेक्का राख्नुपर्ने बताए ।
मन्त्री फुयाँलले आधुनिक प्रविधिले मजबुत र परम्परागत हिसाबले सुन्दर पर्यटकीय सम्पदाको रुपमा चुरिया सुरुङलाई विकास गरिने उल्लेख गर्दै हिजो सुरुङमार्ग चाहिन्छ र बनाउनुपर्छ भन्नेहरु नै अहिले सुरुङमार्ग देशलाई आवश्यक नै छैन भन्न थालेकोमा चिन्ता व्यक्त गरे ।
यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले सयवर्ष भन्दा बढी पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्नेकाम आफैँमा संवेदनशील भएको बताए ।
प्रस्तुतीकरणमा सुरुङमार्गको पुनःनिर्माणको अध्ययनमा खटिएका प्रविधिकहरुले निर्माणका बेला ५०० मिटरको लम्बाइको सुरुङलाई २१० मिटर मात्रै कायमगरी पुनःनिर्माण गर्दा उपयुक्त हुने धारणा राखे । त्यसरी पुनःनिर्माण गर्दा रु चार करोड २१ लाख २९ हजार खर्च लाग्ने प्राविधिकको भनाइ थियो ।
उक्त सुरुङ मार्गको प्रदेश सरकारले पुनःनिर्माण गर्न लागेको हो । वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउन लागिएको बताइएको छ ।
करिब १०३ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन् । स्वीट्सजरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङडम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।
नेपालको पहिलो इञ्जिनीयर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किम्बदन्ती पाइन्छ ।
चुरिया सुरुङ, हेटौँडा–काठमाडौँ रोपवे, धरहरा, शीतल निवास र घण्टाघरको पुनःनिर्माण, नेपालको प्रथम रेल्वे जनकपुर–जयनगर रेल्वे निर्माण आदि महत्वपूर्ण निर्माण गरेका इञ्जिनीयर थापाले विदेशबाट महङ्गा उपकरण झिकाएर चुरेको पहाड काटेर फाल्नुभन्दा नेपाली श्रमिक र नेपाली उत्पादनकै प्रयोग गरेर सुरुङ निर्माण गर्नु उपयुक्त र सस्तोसमेत हुने ठानेर सुरुङ निर्माण गरेको बताइएको छ ।
प्रतिकृया लेख्नुहोस्: