गुल्मी । किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका–५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् । उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी हराएपछि आफन्तजले खोजी गरेका थिए । उनीहरूले वडा कार्यालय र प्रहरीलाई पनि हराएको जानकारी दिएका थिए ।
१९ असारमा रुरु गाउँपालिकाको बम्घा र रिमुवानजिक बडिगाड नदीमा एक पुरुषको शव भेटिएको थियो । शरीरमा लुगा नभएकाले पहिचान गर्न सकिएको थिएन । श्यामशरण हराएकाले प्रहरीले उनको परिवारलाई खबर गर्यो ।
शवसँग उनका धेरै कुरा मिलेका परिवार र आफन्तजनले स्वीकार गरेको छिमेकी धाता पाण्डेयले बताए । ‘उनी जस्तै थिए, त्यसैले परिवार र सिंगो गाउँलेले नै श्यामशरण नै भनेका हुन्,’ पाण्डेयले भने ।
परिवार र गाउँलेले स्वीकारेपछि प्रहरीले पनि मुचुल्का उठायो । त्यही दिन प्राथमिक स्वास्थ्य केन्द्र, खैरेनीमा शवको पोस्टमार्टम गरियो । २० असारमा परिवार र छिमेकीले रुद्रवेणी घाटमा दाहसंस्कार पनि गरे र काजकिरियामा बसे ।
किरिया बसेको नवौँ दिन शनिबार बिहान ८ बजेतिर पाल्पाको रैनादेवी गाउँपालिका–१ अर्चलेमा श्यामशरण जीवित फेलापरेको भन्ने फोन आउँदा भने परिवारजन मात्रै होइन, गाउँले पनि झस्किए ।
सबैभन्दा पहिले अर्चलेबाट रुरु गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई खबर आएको थियो । ‘खबर पाएको केहीबेरमै अर्चले पुगेर मान्छे जीवित देख्दा अचम्म लाग्यो,’ वडाध्यक्ष ज्ञवालीले भने । त्यसपछि आफन्त र प्रहरीलाई खबर गरेर शनिबार साँझ परिवारलाई बुझाएको वडाध्यक्ष ज्ञवालीले बताए ।
रुरु गाउँपालिका–१ रिडीबाट पत्रकार चुरामणि तिमल्सेनासहित स्थानीय बासिन्दा श्यामशरणलाई लिएर बुटवल पुगेका थिए । ‘शनिबार साँझ ६ बजेतिर उनको घर पुग्दा मान्छेको भिडभाड थियो । श्यामशरणलाई देख्ने बित्तिककै त्यहाँ भएका मान्छे मात्रै होइन, परिवारजन पनि झस्किए,’ तिमल्सेनाले भने । उनलाई बुझाएको फोटो खिच्न खोजे पनि परिवारजनले नमानेको उनले बताए ।
किरिया गरिरहेका श्यामशरण जीवित घर फर्किएपछि अचम्म लागेको उनका आफन्त विष्णु भण्डारीले सुनाए । ‘सानोबुबा जीवित आएकाले अचम्मित भएका छौँ । अर्कैको दाहसंस्कार गरिएकाले तनावमा पनि छौँ,’ उनले भने ।
परिवारजनले हचुवाका भरमा शव स्वीकार गरेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका डिएसपी केदारराज पन्तले बताए । ‘परिवारले जीवित भेटेकाले पुनः जाहेरी माग्छौँ । त्यसपछि मात्रै दाहसंस्कार गरिएका व्यक्तिको खोजी गर्छौँ,’ डिएसपी पन्तले भने ।
प्रतिकृया लेख्नुहोस्: