काठमाडौं । गत आर्थिक वर्ष ०७६–७७ मा मुलुकको आर्थिक वृद्धि माइनस २ प्रतिशतभन्दा पनि कमजोर भएको छ । सरकारले साढे आठ प्रतिशतको लक्ष्य राखेको थियो, तर देशले ६० वर्षयताकै आर्थिक गिरावट भोगेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तथ्यांक विभागले ०२२ देखि मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक राख्दै आएको छ । विश्व बैंकले भने वि.सं. ०१८ सालदेखिको तथ्यांक राखेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक उपलब्ध भएदेखिको अवधिमा सबैभन्दा कमजोर आर्थिक वृद्धि गत आव ०७६–७७ मै भएको हो ।
यसअघि आव ०२३–२४, ०२७–२८ र ०२९–३० अर्थतन्त्र संकुचनमा गएको थियो । ती वर्षहरूमा क्रमशः माइनस १ दशमलव ५७, १ दशमलव ६४ र ० दशमलव ४९ प्रतिशतले अर्थतन्त्र संकुचनमा गएको विभागको तथ्यांक छ । भूकम्प र नाकाबन्दीका कारण आव ०७२(७३ मा आर्थिक वृद्धि ० दशमलव २ प्रतिशत मात्रै भएको थियो ।
जेठको पहिलो सातासम्म लकडाउन रहने अनुमानका आधारमा विभागले २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, वृद्धिदर ऋणात्मक नै भएको छ ।
‘लकडाउनका कारण करिब चार महिना मुलुक अधिकांशतः बन्द रहँदा त्यसले मुलुकको आर्थिक गतिविधिमा गम्भीर आघात परेको छ, सोही कारण आर्थिक वृद्धि ऐतिहासिक कमजोर भएको छ,’ केन्द्रीय तथ्यांक विभाग स्रोत भन्छ । आर्थिक वर्ष सकिएको डेढ महिना बिते पनि गत वर्षको अन्तिम तथ्यांक विभागले सार्वजनिक गरेको छैन ।
कोभिडले अर्थतन्त्रमा असाधारण क्षति पुर्याएको छ । कोभिड सुरु हुनुअघि पनि मुलुकको आर्थिक वृद्धि उत्साहजनक थिएन । गत आर्थिक वर्ष सरकारले साढे आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर, त्यस आवको सुरुका तीन त्रैमासमा समेत वृद्धिदर सुस्त थियो ।
आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर पाँच दशमलव चार प्रतिशत, दोस्रो त्रैमासमा चार दशमलव दुई प्रतिशत मात्रै वृद्धिदर हासिल भएको थियो । कोभिडले प्रारम्भिक रूपमा प्रभावित तेस्रो त्रैमासमा वृद्धिदर एक प्रतिशतभन्दा पनि कम अर्थात् शून्य दशमलव आठ प्रतिशत मात्रै रहेको तथ्यांक विभागले जनाएको छ । तेस्रो त्रैमासको ११ चैतदेखि मसान्तसम्मको १९ दिन मुलुकभर लकडाउन भई आर्थिक गतिविधि शून्यप्रायः भएको थियो ।
अन्तर्राष्ट्रिय मुद्राकोषमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका अर्थशास्त्री तथा तथ्यांकशास्त्री डा. माणिक श्रेष्ठले पनि गत आर्थिक वर्षमा १ दशमलव ६ प्रतिशतले अर्थतन्त्र संकुचन हुने तथ्यांक सार्वजनिक गरेका छन् ।
विभिन्न आधिकारिक स्रोतहरूबाट लिएको गत आर्थिक वर्षको ९ देखि १२ महिनासम्मको तथ्यांक तथा कोरोनाको प्रभाव मूल्यांकनका आधारमा आफूले यो गणना गरेको डा. श्रेष्ठले बताए । ‘लकडाउनका कारण गत आवको अन्तिम त्रैमासमा आर्थिक गतिविधिमा ठूलो मात्रामा अवरोध भयो, त्यसले अर्थतन्त्रमा गम्भीर असर परेको छ,’ डा. श्रेष्ठले भने, ‘मैले अलि बढी नै आशावादी भएर यो गणना गरेको हुँ, वृद्धिदर तथ्यांक विभागले भने जस्तो माइनस २ प्रतिशत वा त्यसभन्दा पनि खराब हुन सक्छ ।’
गत आवमा खासगरी होटेल तथा रेष्टुराँ, यातायात तथा सञ्चार, निर्माण, उत्पादनलगायतका क्षेत्रमा सबैभन्दा ठूलो असर परेको डा. श्रेष्ठको आकलन छ । उनले गरेको आकलनअनुसार गत आवमा सबैभन्दा प्रभावित होटेल तथा रेष्टुराँ क्षेत्र २२ दशमलव ५६ प्रतिशतले खुम्चिएको छ ।
त्यस्तै, यातायात तथा सञ्चार क्षेत्र १३ दशमलव २५ प्रतिशत तथा व्यापार ७ दशमलव १६ प्रतिशतले माइनसमा गएका छन् । अघिल्ला आर्थिक वर्ष ०७५(७६ मा होटेल तथा रेष्टुराँको ७ दशमलव ३३, यातायात तथा सञ्चार ५ दशमलव ९० र व्यापार क्षेत्रको ११ प्रतिशतको वृद्धि भएको थियो ।
तथ्यांक विभाग उच्च स्रोतले बताएअनुसार यही असारमा सकिएको गत आर्थिक वर्षमा होटेल तथा यातायातलगायत क्षेत्र अझै बढेर २५ देखि ३० प्रतिशतसम्म संकुचित भएको हुन सक्छ । समग्रतामा उद्योग क्षेत्र ६ दशमलव २९ र सेवा क्षेत्र २ दशमलव १६ प्रतिशतले संकुचन हुने पनि डा. श्रेष्ठको आकलन छ ।
प्रतिकृया लेख्नुहोस्: