काठमाडौं । कक्षा–१० की छात्रा अनिशा लामा पढ्ने ललितपुर पाटनस्थित श्रीचण्डी माविले अनलाइन कक्षा सञ्चालन गरेको पाँच महिना बित्यो । तर, घरमा मोबाइल र इन्टरनेट नहुँदा उनले पढ्न पाएकी छैनन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शिक्षकले अनलाइनमा पढ्न आउन कर गरेपछि उनी केही दिन इन्टरनेट र मोबाइल भएका साथीहरूको घरसम्म पुगिन् । तर, लकडाउन र निषेधाज्ञाबीच साथीको घरमा पुग्न सम्भव भएन ।
थापाथलीस्थित बागमती किनारको सुकुमबासी बस्तीमा बस्छिन्, उनी । छोरीले पढ्न नपाएको सुनाइरहँदा उनकी आमा कुमारी लामाको अनुहार मलिन थियो । अनिशासहित उनका तीन छोरी छन् । प्रश्न गर्छिन्, ‘खाने अन्न त छैन, छोरीहरूलाई कसरी मोबाइल किनेर पढाउनु ?’
अनिशाका बाबु सुरक्षा गार्डको काम गर्छन् । आमा कुमारी बानेश्वरमा साग बेच्थिन् । तर, कोरोना संकटसँगै आमाको काम रोकियो । मन भएर पनि छोरीलाई पढाउन नसकेकोमा खिन्न छिन्, कुमारी । भन्छिन्, ‘छोरीहरूले हाम्रोजस्तो दुःख नपाऊन् भनेर पढाउन थालेको । तर, अनलाइन पढाउने भनेर गरिबका छोराछोरी त पढ्नै नसक्ने बनाए ।’
उनकी कान्छी छोरी अनिता दुई कक्षामा पढ्छिन् । उनलाई परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी छैन । उनी बारम्बार आमा बुबालाई अनलाइन पढ्न मोबाइल चाहियो भनिरहन्छिन् । उनलाई काखमा च्याप्दै कुमारीले थपिन्, ‘उधारोमा चामल ल्याएर खाएको महिना दिन भयो, कसरी छोराछोरी पढाउनु ?’
यस्तै, गुह्येश्वरी स्कुलमा कक्षा–७ मा पढ्ने पूर्णिमा तामाङ अनलाइन कक्षामा सहभागी हुन सकिनन् । बागमती किनारमा साथीहरूसँग चंगा उडाइरहेकी पूर्णिमा अनलाइन कक्षामा सहभागी हुन नसकेको बाध्यता सुनाउँछिन्, ‘टिचरले अनलाइन क्लासमा आउ भन्छन् । घरमा मोबाइल त छैन ।’ पूर्णिमाका बाबु निर्माण मजदुर हुन्, जोसँग भिडियो कल गर्न नसकिने मोबाइल छ ।
पूर्णिमाका सबै साथी अनलाइन कक्षामा सहभागी हुन्छन् । आफू सहभागी हुन नसकेकोमा उनलाई लाज लागेको छ । त्यसैले त अब उनी स्कुल नै फेर्ने मुडमा छिन् । भन्छिन्, ‘अनलाइन क्लास पढ्न नआएको भनेर साथीहरू गिज्याउँछन् । अब त म त्यो स्कुल पढ्दिनँ ।’
कुहिनै लागेका ६ दर्जनजति केरा बोरामाथि राखेर काठमाडौं डल्लुस्थित चौतारामा बेच्न बसेका थिए, १० वर्षे आशिष अधिकारी । लिटिल बुद्ध एकेडेमीमा कक्षा–४ मा पढ्ने उनी पछिल्ला दिनमा आमाबुबालाई सघाउन थालेका छन् । उनको स्कुलले अनलाइन कक्षा सञ्चालन गरे पनि उनी सहभागी हुन पाएका छैनन् । ‘भिडियो कलवाला मोबाइल त छैन,’ आशिष छोटो जवाफ फर्काउँछन् ।
यस्तै, त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलमा ६ कक्षामा पढ्ने साइमन श्रेष्ठको घरमा मोबाइल र इन्टरनेट छैन । चैतयता उनी एकदिन मात्र अनलाइन कक्षामा उपस्थित भए, त्यो पनि छिमेकीको इन्टरनेट र मोबाइल प्रयोग गरेर । साइमनकी आमा दीपिका श्रेष्ठसँग त मोबाइल पनि छैन । उनका श्रीमानसँग क्यामेरा नभएको मोबाइल छ ।
दूर शिक्षाको पहुँच बाहिर
युनिसेफले गत मे अन्तिममा गरेको अध्ययनअनुसार विद्यालय जानेमध्ये दुई तिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित देखिएका छन् । हरेक १० मध्ये तीन जना बालबालिका मात्रै रेडियो, टेलिभिजन र इन्टरनेटमा आधारित सिकाइ क्रियाकलापको पहुँचमा देखिएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षा मन्त्रालयका अधिकारीहरू भने युनिसेफको प्रतिवेदनसँग सहमत छैनन् । अहिले त्यसभन्दा फरक अवस्था रहेको मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । ‘दुई तिहाइ बालबालिका दूर शिक्षाबाट वञ्चित रहेकोजस्तो मलाई लाग्दैन । हामीले सामग्री उत्पादन गरेर सकेसम्म सबैमा पुग्नेगरी वितरण गरेका छौँ,’ प्रवक्ता शर्मा भन्छन् ।
कोभिड–१९ संकट लामो समय रहने भएपछि मन्त्रालयले रेडियो, टेलिभिजन, अनलाइन र होम स्कुलिङमार्फत सिकाइ गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गरिएको बताएको छ । ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ अनुसार १ असारदेखि वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालनमा छ ।
उक्त निर्देशिकाले १९ भदौमा स्वीकृति पाएको छ । प्रविधिको पहुँचमा भएका र नभएका सबैलाई समेट्ने उद्देश्य निर्देशिकाको छ । तर, गरिबीको स्तरअनुसार दूर शिक्षामा पहुँच हुने विज्ञको भनाइ छ । जस्तो– अति गरिब परिवारका पाँच प्रतिशत बालबालिकाले मात्रै दूर शिक्षामा पहुँच प्राप्त गर्ने उनीहरू बताउँछन् ।
घरमै सिकाउने अभ्यास
धादिङको सत्यवती माविकाले होम स्कुलिङ अभियान चलाएको छ । रेडियो, टेलिभिजनबाट हुने पठनपाठनभन्दा यो विधि प्रभावकारी देखिएको उक्त माविका प्रधानाध्यापक लक्ष्मण शर्मा बताउँछन् ।
उक्त विद्यालयले कक्षा–८ सम्मका विद्यार्थीलाई घरमै पुगेर सहजीकरण गरेको छ भने कक्षा–९ देखि १२ सम्मका छात्रछात्रालाई पालैपालो विद्यालयमै पढाउँछ । चितवनको नारायणी माविले पनि कक्षा–३ सम्मका विद्यार्थीका अभिभावक बोलाएर गृहकार्य दिने गरेको छ ।
पूर्वी नवलपरासी कावासोतीस्थित शिव माविले घरदैलो कार्यक्रम नै चलाएको छ । पर्वतको भवानी विद्यापीठका शिक्षक पनि तल्लो तहका विद्यार्थीलाई गृहकार्य दिन घर–घरमा पुग्छन् । गोरखामा २१ वटा विद्यालयको क्लस्टर बनाएर एकरूपता कायम गर्दै शैक्षिक गतिविधि सञ्चालन गरिएको महेन्द्र माविका प्रअ गोपालबाबु मरहठ्ठाले जानकारी दिए ।
‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका’ले भर्चुअलदेखि घर र टोलमा पुगेर सञ्चालन भएका शैक्षिक गतिविधिलाई पनि मान्यता दिएको छ ।
प्रतिकृया लेख्नुहोस्: