पोखरा । छ महिनाअघि न्युजिल्यान्ड जान ठिक्क परेकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै छिन् । कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना वरिष्ता तालीम लिएर सीपयुक्त बनेकी नेपालीको दैनिकी पारखीहरुलाई कफी तयार गर्दै बित्छ । आफूले नसोचेको व्यावसायिक यात्रा अघि बढेपछि उनी दङ्ग छिन् ।
व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययरत नेपालीले बन्दाबन्दीको समयमा पोखराको सभागृहस्थित म्याप इन्टरनेसनलमा सिकेको सीपले यो व्यवसायको ढोका खोलिदिएको हो । यही तालीम आफूलाई वरदान साबित भएको बताउने नेपाली भन्छिन्, “व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र ? तालीमपछि मेरो सोच बदलियो, आत्मबल बढ्यो र व्यवसाय थालेँ ।” “विदेश जाने योजना रोकिएपछि तालीम सिकेँ र एक दिन भाइ सबिनसँग व्यवसाय गर्ने सोच सुनाएँ । भाइ सकारात्मक भयो र हामीले ममीसँग कुरा गयौँ । उनको पनि साथ पाएपछि त ऊर्जा मिल्यो ।”
पोखरा महानगरपालिका–५ मा विन्स क्याफे एन्ड फास्ट फुड सञ्चालनमा ल्याएकी नेपालीले सानो ठाउँ भए पनि मासिक रु १८ हजार भाडा तिरेर रु २० लाखको लगानीमा व्यवसाय सञ्चालन गरेको बताइन । “एक महिनामात्र भयो, दुईजना स्टाफ छन्, दैनिक रु ६ हजारदेखि १५ हजारसम्म व्यापार भएको छ । अहिले उनी विदेश जानुभन्दा सीप सिकेर स्वदेशमै केही गर्न सबैलाई सुझाब दिन्छिन् ।
लेकसाइडस्थित होटल स्विस इन्टरनेसनलमा कार्यरत पोखरा–१७ विरौटाका २१ वर्षीय युवा पवन बोगटी पनि प्राविधिक शिक्षाले रोजगारमा जोडिएको अनुभव सुनाउछन् । “मैले २०७२ सालमा एसएलसी दिएपछि प्राविधिक विषय रोजेँ, पोखरा पर्यटकीय शहर भएकाले यस क्षेत्रमा सम्भावना देखेर पोखरा प्राविधिक शिक्षालयबाट तीनवर्षे होटल म्यानेजमेन्ट विषय अध्ययन गरेको हुँ, लगत्तै रोजगार पाइहालेँ सन्तुष्ट छु, मलाई विदेश जाने मोह जागेको छैन ।”
बोगटीले आजका युवाको सोच नै विदेश हुने र स्वदेशमा केही सम्भावना नदेख्ने गर्दा प्रतिभा पलायन भएको बताए । “परिवारबाट छुटिएर लाखौँ रुपैयाँ खर्च गरेर खाडीमा आठ–दश घण्टा घोटिएरभन्दा आफ्नै मुलुकमा परिवारको साथ मीठो मसिनो खाएर श्रम गर्नु धेरै जाती”, बोगटी भन्छन्, “विदेशमा गएर कमाउने जति पैसा स्वदेशमै कमाउन सकिने भएकाले हातमा सीप भए जागिरका लागि भौँतारिनु पर्दैन ।” विदेश जानै पर्ने भए पनि सीप सिकेरमात्र जान उनको सुझाव छ ।
यसैगरी स्वदेशमै आत्मनिर्भर भएका अर्का युवा हुनुहुन्छ, खुशीराम चौधरी । कञ्चनपुर हरपालका २५ वर्षीय चौधरी २०७१ सालमा होटल म्यानेजमेन्ट पढ्न पोखरा आए । पोखरा प्राविधिक शिक्षालयमा तीनवर्षे कोर्ष पूरा गरेसँगै उनी रोजगारमा जोडिए । हाल पोखरा लामागाउँमा रहेको हिमालयन फ्रन्ट रिसोर्टमा काम गर्छन् । प्राविधिक शिक्षाले रोजगार पाइहालेको अनुभवसँगै चौधरी अन्य युवालाई पनि प्राविधिक शिक्षा लिन सुझाब दिन्छन् । कोभिड –१९ को प्रभाव पर्यटन क्षेत्रमा देखिएकामा चिन्तित चौधरी अब आन्तरिक र बाह्य उडान तथा सडक यातायात सञ्चालनपछि पर्यटन गतिविधि बढ्नेमा आशावादी छन् । उनले सरकारले पनि युवा स्वरोजगार कार्यक्रममार्फत विभिन्न तालीमदेखि न्यूनतम शुल्कमा कर्जा लगानी गरिरहेको भन्दै यसमा युवाहरु लाग्नसके समृद्धि हासिल गर्न सकिने तर्क गरे ।
शिक्षालयले प्राविधिक र व्यावसायिक शिक्षा आर्जन गर्न चाहने निम्न आय भएका जेहेन्दार विद्यार्थीका लागि सहुलियत शुल्क, पूर्ण शुल्क र प्रायोजित शुल्क गरेरसमेत आरक्षण कोटा छुट्याएको छ ।
सन् २००५ देखि सिटिइभिटीअन्तर्गत कान्तिपुर होटल टे«निङ इन्ष्टिच्युट सञ्चालन गर्दै आएका विजय पौडेलले करीब २६ हजारले होटल म्यानेजमेन्ट तालीम लिएको बताए । तीमध्ये ३० प्रतिशत विदेशमा र १५ प्रतिशत स्वदेशमा रोजगार छन् भने २० प्रतिशत स्वरोजगारमा । कोभिड–१९ पछि विदेशबाट आएका युवाहरु पनि तालीमप्रति चासो राख्दै बुझेका र केही तालीम लिन आएका उनले बताए ।
प्रतिकृया लेख्नुहोस्: