एजेन्सी । डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड युरो–२०२० को फाइनलमा पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको १०३औं मिनेटमा डेनमार्कका योकिम मिहलले रहिम स्टर्लिङलाई डिबक्स एरियामा फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुर्याउन सफल भए ।
सन् १९६६ को विश्वकपको उपाधि जितेयता इंग्ल्यान्डले ठूला प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको थिएन । सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डले पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।
इंग्ल्यान्डले अब फाइनलमा इटालीको सामना गर्नेछ । फाइनल खेल पनि आइतबार राति १२:४५ बजे वेम्ब्ली रंगशालामा हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: