काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुनस् सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको नेता प्रदीप पौडेलले जानकारी दिए ।
समितिका सदस्य पौडेलले अव ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरे ।
समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो ।
पौडेलका अनुसार छ हजार सात सय ४३ मध्ये एक सय वडामा क्रियाशीलबारे अझै विवाद देखिएका छन्। यी विवाद हल गर्ने जिम्मा अब शीर्ष नेतृत्वलाई छाडेको उनले बताए।
उनका अनुसार सप्तरी र बारा जिल्लाका नयाँ क्रियाशीलबारे शीर्ष नेतृत्वले समाधान खोज्नुपर्नेछ। यस्तै रसुवा र सिन्धुपाल्चोकलगायत जिल्लाका केही क्षेत्रमा देखिएका विवाद हल गर्ने जिम्मेवारी पनि शीर्ष नेतालाई नै दिइएको छ।
विवादित क्षेत्रमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट वडा अधिवेशन गर्न सक्ने विकल्प पनि अगाडि सारिएको छ।
‘अब क्रियाशीलको विवाद देखाएर महाधिवेशन रोकिने अवस्था छैन,’ पौडेलले भने, ‘चार प्रतिशत वडामा मात्रै विवाद छ। १३ औं महाधिवेशनमा पनि ३३ क्षेत्रमा विवाद थियो। त्यसभन्दा पहिले पनि विवाद थियो।’
प्रतिकृया लेख्नुहोस्: